सुनको कुरा सुनौ
पहिले–पहिले ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै !’ भनेर दिदी–बहिनीहरू गुनासो गर्ने गर्दथे । यताका दिनमा बढेको बढ्यै गरेको सुनको भाउले झन् धेरै दिदी–बहिनीहरूका कान बुच्चै पार्ने सङ्केत दिन थालेको छ । एकथरी जानिफकारहरूले अबका पाँच महिनामै सुनको भाउ अहिलेको दोब्बर हुने भविष्यवाणी गरिसकेका छन् । अर्थात्, तोलाको रु.५० हजारको सट्टा रु.१ लाख ! अनि नहोलान् त धेरैका कान बुच्चै ?
सुनको भाउ यति छिटो र चर्को दरमा पहिले कहिल्यै बढेको थिएन । गुरुत्वाकर्षणको सिद्धान्तका प्रतिपादक सर आइज्याक न्यूटनले बेलायतको टक्सार प्रमुख हुँदा, सन् १७१७ मा कायम गरेको सुनको मूल्य लण्डनमा २०० वर्षसम्म कायम रहेको थियो । सन् १८०० मा प्रति आउन्स (१ आउन्स= ३१.१०३४ग्राम; करिब तीन तोला) औसत २० अमेरिकी डलरमा बिक्री हुने गरेको सुनको मूल्य सन् १९६८ मा आएर बल्ल दोब्बर (३९.३१ डलर) भएको थियो । (हे. तालिका) सन् १९७३ को तेल सङ्कटपछि पहिलो पटक सुनको मूल्यले १०० डलर छोएको हो । सन् १९८० को दशकमा प्रति आउन्स ६०० डलरसम्म पुगेको मूल्य १९९० को दशकभरि ३०० र ४०० डलरको बीचमा स्थिर भएको पाइन्छ । सन् २०००–२००१ मा त यो दर २७० डलरसम्म झ्रेको थियो । तर त्यसपछि का वर्षमा भने सुनको भाउ बढेको बढ्यै छ । यी पङ्क्ति लेख्दै गर्दा (१४ अगष्ट, २०११) विश्वबजारमा सुनको मूल्य प्रति आउन्स १७५० देखि १८०५ डलर रहेको छ भने नेपालमा प्रति तोला करिब रु.५० हजार ।
यसरी किन बढ्दैछ त सुनको भाउ ? सुनले प्राग्ऐतिहासिक काल देखि आर्जन गरेको ‘विश्वास’ नै अहिलेको मूल्यवृद्धिको प्रमुख कारण हो । संयुक्त राज्य अमेरिका र युरोपियन युनियनका देशहरूले उधारोमा गरेको खर्च अर्थात् राष्ट्रिय ऋणको मात्रा बढ्दै जाँदा तिनका मुद्रा (डलर, यूरो, पाउण्ड आदि)ले अन्तर्राष्ट्रिय बजारमा पाउँदै आएको विश्वास र साख कायम रहन छाड्यो । परिणामतः आफ्नो धन सुरक्षित राख्न संसारभरका ब्याङ्क, व्यापारी र सामान्य मानिस समेत सुन किनेर थुपार्न थाले । ‘दुर्लभता’ त सुनकोगुण हुँदै हो । बढेको माग अनुसार बजारमा सुन आपूर्ति हुनसक्ने नभएपछि भाउ बढ्ने नै भयो ।

सुनप्रतिको मानिसको विश्वास विगत पाँच हजारभन्दा बढी वर्ष देखि अविच्छिन्न कायम रहँदै आएको छ । यो पाउन दुर्लभ र देख्नमा सुन्दर मात्रै छैन; अजर, अमर र अविनासी पनि छ । अहिलेसम्म संसारमा जे–जति सुन उत्खनन् वा उत्पादन भयो, त्यो लगभग सबै अहिले पनि सुरक्षित छ । विश्व सुन परिषद् (वल्र्डगोल्ड काउन्सिल)को अनुमान मा संसारका सबै देश, ब्याङ्क, व्यापारी र व्यक्तिका हात,गला, कान र सेफ तथागोदाममा सजिएको सुनको कुल तौल करिब १ लाख ६६ हजार टन हुन्छ । आजसम्मको विश्वको उत्पादन पनि करिब करिब यही नै हो ।
सुन दुर्लभ छ किनभने एउटा सानो औंठी बनाउन पुग्ने सुन फेला पार्न सुनखानीको २५ ट्रकभन्दा बढी चट्टान र माटो–ढुङ्गा केलाउनु, पगाल्नु र धुनुपर्छ । उच्च मूल्यमा बिक्ने भएकाले मात्र संसारका सुनखानी चलिरहेका हुन् । सुनखानीबाट करिब १० करोड मानिसले रोजीरोटी जुटाउँछन् । सिद्धान्ततः सस्तो खालका धातुहरू प्रयोग गरेर कारखानामा पनि सुन बनाउन सकिन्छ, तर त्यसको प्रशोधन लागत खानीको भन्दा धेरै बढी पर्छ ।
सुन कहिल्यै बूढो वा पुरानो हुँदैन, खिया त लाग्दै लाग्दैन । यो १०६४ डिग्री सेल्सियस तापक्रममा पग्लिन्छ भने २८०८ डिग्रीमा भकभक उम्लिन्छ । त्यसपछि फेरी–फेरी चाहे जस्ता नयाँ गहना वा बिस्कुट बनाउन सकिन्छ । मान्छेको शरीरमा गहनाका रूपमा टाँसिने बित्तिकै यसको तपक्रम मान्छेको शरीरकै तापक्रम (३७ डिग्री सेल्सियस)मा स्थिर भइदिन्छ ।
सुन आफू मात्रै बूढो–पुरानो नहुने हैन, यसको सेवन गर्नेहरू पनि सुन जस्तै चम्किला र हृष्टपुष्ट हुन्छन् भन्ने विश्वास हजारांै वर्ष देखि रहँदै आएको छ । नेपालका पूर्व प्रधानमन्त्रीगिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनका पछिल्ला ८ महिना स्वर्णभष्मको सेवनबाट आर्जन गरेका थिए भन्ने उहाँका निकटवर्तीहरूको दाबी छ । एकखालको बाथको निम्ति स्वर्णभष्मलाई अद्वितीय औषधि मान्ने पूर्वीय विश्वास छ भने पश्चिमीजगतमा मुटुको उपचारमा समेत सुनको प्रयोग भइसकेको छ । यस्तागुणैगुण भएपछि किन नबढोस् त दुर्लभ सुनको भाउ !
राजेन्द्र दाहाल



