आत्मनिर्भर नागरिक बनाउन आत्मनिर्भर शिक्षक

हालको किताबी र घोकन्ते ज्ञानमा आधारित नेपाली शिक्षाले आत्मनिर्भर नेपाली बनाउन सक्दैन । शिक्षकहरू बालबालिकाका ‘रोल मोडल’ हुन् । जस्ता शिक्षक हुन्छन्, त्यस्तै विद्यार्थी हुन्छन् ।

शिक्षा केका लागि ? विद्वानका लागि कि व्यावसायिकका लागि ? यी दुवैमा समान कुरा हो, आत्मनिर्भरता । शिक्षा हासिल गरे पछि मानिसले ज्ञान आफैं आर्जन गर्न सक्छन् कि सक्दैनन् ? नयाँ सीप आफैं सिक्न सक्छन् कि सक्दैनन् ? यस्ता कुरा आत्मनिर्भरतामा भर पर्ने कुरा हुन् । शिक्षाले कति बालबालिकालाई ज्ञान जान्ने ‘तरिका’ तथा ‘खुसी’ सिकाएका छन् भन्ने कुरा महत्वपूर्ण छ । किनभने यसले नै उनीहरूलाई आत्मनिर्भर हुन मद्दत गर्द छ ।

एक्काइसौं शताब्दीको समाज ज्ञानमा आधारित समाज ९प्लयधभिमनभ दबकभम कयअष्भतथ० हो । इन्टरनेट प्रविधिको विकास ले गर्दा सूचना हासिल गर्न एकदम सजिलो भएको छ । एकगिगा बाइटको मेमोरी कार्डमा एउटा कक्षामा पढाइने सबै किताबहरू राखेर हिँड्न सकिन्छ । यस्तो युगमा किताबी ज्ञानले मात्र पुग्दैन । आफूसँग भएको सूचना प्रयोग गरी कसरी ज्ञान आर्जन गर्ने भन्ने बारेमा जानकारी राख्नु आवश्यक छ । हामी ज्ञानको समुद्रमा बाँचिरहेका छौं । जहाँ जीउनको लागि नयाँ ज्ञान तथा प्रविधि जान्ने तरिका नजानी हुँदैन ।

हालको किताबी र घोकन्ते ज्ञानमा आधारित नेपाली शिक्षाले आत्मनिर्भर नेपाली बनाउन सक्दैन । नीति–नियम तथा पाठ्यक्रममा बालबालिकालाई कसरी आत्मनिर्भर बनाउने हो भन्ने बारेमा ठोस् आधार चाहिएको छ । साथै, विद्यार्थीलाई ज्ञान बाँड्न बसेका शिक्षकहरू कत्तिको आत्मनिर्भर छन् भन्ने प्रश्न उठाउनु पनि जरुरी छ । किनकि शिक्षकहरू बालबालिकाका ‘रोल मोडल’ हुन् । जस्ता शिक्षक हुन्छन्, त्यस्तै विद्यार्थी हुन्छन् ।

हुनतः पाठ्यक्रममा आधारित भएर पढाउनु पर्ने विद्यालय शिक्षकहरूले कसरी आत्मनिर्भर भएर पढाउने त ? भन्ने प्रश्न उठ्न सक्ला । नेपालका शिक्षकहरूलाई स्थानीय पाठ्यक्रम बनाउन सीमित अधिकार भए पनि कसरी पढाउने भन्ने बारेमा शिक्षक आत्मनिर्भर छ । पाठ्यक्रममा भएका विषयवस्तुलाई पढाउने तरिका हजारौं हुन सक्छन् । बालबालिकाको क्षमता अनुसार कुन तरिका प्रयोग गरी कसरी बुझएमा रराम्रोसित सिकाउन सकिएला भन्ने कुरा शिक्षक आफैंमा भर पर्छ ।

दुर्भाग्य, थोरै नेपाली शिक्षकहरूलाई मात्र विद्यार्थीको आत्मनिर्भरता, शिक्षकको आत्मनिर्भरतामा भर पर्छ भन्ने कुरा को बोध छ । तर, कतिले यो कुरा बुझेर पनि बुझ पचाएका छन् । ज्ञान जान्ने आधारभूत तरिका, किताब पढ्नु हो तर किताब पढ्ने शिक्षकहरू थोरै रहेको तथ्य यस शिक्षक मासिकको २०६५ साउन अङ्कले पनि देखाउँछ । बीसौं वर्ष पुरानो ज्ञानमा आधारित शिक्षकहरूले भविष्यका आत्मनिर्भर नागरिक तयार पार्न सक्लान् र ?

शैक्षिक जनशक्ति विकास केन्द्रबाट सबै शिक्षकहरूलाई दश महिने तालिम प्रदान गरी नयाँ शैक्षिक ज्ञान तथा सीप सिकाउने प्रयास त भएको हो । तर, यस्ता तालिम उपयुक्त रुपमा कक्षाकोठामा रुपान्तरण हुन सकेका छैनन्  । वैशाख २०६८ अङ्कको शिक्षक मासिकमा छापिएको बाल कुमार जमरकट्टेलको “हाम्रा पाँच कमजोरी”ले शिक्षकको अध्ययनशीलताको कमीलाई यसको कारण देखाउँछ । सरकारी तालिमलाई ज्ञान तथा सीप आर्जनभन्दा भत्ता, बिदा र बढुवाको माध्यम ठान्ने प्रचलन नेपाली शिक्षकहरूमा देखिन्छ ।

अमेरिकाका शिक्षक शिक्षाविद् क्रिष्टोफर क्र्लाकले पनि शिक्षकहरू आत्मनिर्भर भई स्वाधीन रुपको तालिम हुनु आवश्यक ठम्याएका छन् । किनकि; १. नचाहने मान्छेलाई जबर्जस्ती कसैले सिकाउन सक्दैन । २. सबै शिक्षकमा आ–आफ्ना विशेषता हुन्छन् त्यसैले सबैलाई एउटै खाले तालिमले काम दिदैंन । ३. राम्रा शिक्षकहरू आत्मनिर्भर भई स्वाधीन रुपमा तालिम लिन सक्छन् भन्ने कुरा धेरै अध्ययनबाट पुष्टि भएको छ । त्यसैले होला, अमेरिकाका शिक्षकहरू आफूलाई चाहिएको अनुसार विश्वविद्यालयमा आफैं तालिम लिन्छन् ।

जापानी नागरिकहरू बढी किताब पढ्ने समुदायका रुपमा संसारमा नै प्रसिद्ध छन् । एउटा विषयवस्तु पढाउन पनि जापानी शिक्षकहरू विभिन्न किताबहरूको अध्ययन गर्छन् । साथै, विद्यार्थीलाई कसरी आत्मनिर्भर बनाउन सकिएला भनी आफ्ना तथा विद्यार्थीका व्यावहारिक अध्ययन पनि गर्छन् । यस किसिमका तालीमहरू शिक्षकहरू आफैं मिली स्वाधीन रुपमा स्कूलभित्र या बाहिर आयोजना गरिएको छ । विकसित देश भएको ले यस्ता स्वाधीन रुपका तालिम भएका जस्तो हामीलाई लाग्ला । तर, यस्ता तालीमहरूको इतिहास जापानमा स्रोत र साधन कम भएका बखतबाट नै पाइन्छ । जापानमा आधुनिक शिक्षा शुरु भएको सन् १८७२ को केही वर्षपछि नै यस्ता तालीमहरू शिक्षकहरू स्वयंले नै सञ्चालन गरेको पाइन्छ । यस्ता आत्मनिर्भर शिक्षकका कारण नै जापानले शैक्षिक तथा आर्थिक रुपमा विकास गर्न सकेको हो ।

नेपाली शिक्षकहरू स्रोत र साधनको कमीलाई आत्मनिर्भर हुन नसक्ने कारकका रुपमा देखाउँछन् । तर, आत्मनिर्भर हुन स्रोत र साधनले नछेक्ने कुरा जापानको शैक्षिक इतिहासले सिकाउँछ । हामी नेपाली पनि भविष्यका आत्मनिर्भर नागरिक बनाउनका लागि, आत्मनिर्भर शिक्षक बन्न शुरु गर्ने हो कि ?  

commercial commercial commercial commercial