जलवायु परिवर्तन प्रारम्भ र चुनौती
जोन टिन्डल (सन् १८२०–१८९३) बेलायतको राजधानीका स्कूल–कलेजमा पढाउने शिक्षकका साथै एक मेधावी वैज्ञानिक थिए । उनी विज्ञानका सिद्धान्तलाई अत्यन्त सरल ढङ्गले सार्वजनिक रूपमा प्रस्तुतगर्थे । शिक्षण कार्य सँग सँगै टिन्डल आफ्ना अग्रज वैज्ञानिक जोसेफ फुरनियरले उठाएका प्रश्नको जवाफ खोज्न लागेका थिए । पृथ्वीले सूर्यबाट प्राप्त गर्ने र फेरि फ्याल्ने ऊर्जाको हिसाब गर्दै फुरनियरले पृथ्वीको तापक्रम शून्यभन्दा १५ डिग्री सेल्सियस तल हुन्छ भनेका थिए । यदि फुरनियरको यो हिसाब ठीक भएको भए पृथ्वी हिउँको ठूलो पिण्ड झैँ हुनेथियो । तर वास्तविकता यस्तो थिएन । टिन्डलले आफ्नो अनुसन्धानद्वारा कार्बनडाइअक्साइड, मिथेन र वाफले पृथ्वीमा रहेको तापलाई पूरै बाहिर फर्किन नदिने रहेछ भन्ने पत्ता लगाए । अर्थात् केही ऊर्जा वायुमण्डलमै रहिरहन्छ जसका कारण पृथ्वी एकदमै चिसो हुन पाउँदैन । यसरी सन् १८५९ मै टिन्डलले ‘ग्रीन हाउसग्यास’ को प्रभाव र त्यसको प्रक्रिया पत्ता लगाएका थिए । हिजो–आज चर्चामा रहेको जलवायु परिवर्तनको विज्ञान यही आविष्कारमा आधारित छ ।
टिन्डलले त्यो प्रयोग गर्नु भन्दा करिब पाँच वर्षअघि अमेरिकाको येल विश्वविद्यालयका प्रोफेसर वेन्जमिन सिलिम्यान खनिज तेल सम्बन्धी प्रयोग गर्दैथिए । अमेरिकाको एउटा सानो व्यापारिक कम्पनीले सिलिम्यानलाई चट्टानबाट निस्कने कालो, चिल्लो रगन्धयुक्त पदार्थ बाल्न योग्य छ वा छैन भन्ने पत्ता लगाउने जिम्मा दिएको थियो । सिलिम्यानको प्रतिवेदनले सो बाल्न योग्य छ भन्ने निक्र्योल गरयो र विश्वमा शुरु भयो खनिज तेलको व्यापारिक दोहन र प्रयोग । खनिज तेल आविष्कारले औद्योगिक क्रान्तिलाई सहयोग पु¥यायो, पश्चिमी मुलुकहरूले अभूतपूर्व भौतिक प्रगति गरे । तर विस्तारै ती मुलुकहरूको अर्थ–राजनीति खनिज तेलको दोहन र प्रयोगमा जकडिन पुग्यो ।
आफ्नो प्रतिवेदनमा सिलिम्यानले त्यो पदार्थ बाल्दा कार्बनडाइअक्साइड निस्कने र त्यसबाट ‘हरित गृह प्रभाव’ पैदा हुने कुरा उल्लेख गरे कि गरेनन् भन्ने तथ्य ऐतिहासिक दस्तावेजबाट स्पष्ट हुँदैन । तर त्यसको केही वर्षपछि नै टिण्डलको अध्ययनले देखाए झै खनिज तेलको प्रयोगबाट निरन्तर ‘हरित गृह प्रभाव’ पैदा हुँदै आएको छ । वर्तमान विश्व कार्बनडाइअक्साइड जस्ता हरित गृह ग्यासका कारण शुरु भएको जलवायु परिवर्तनको प्रभाव र जोखिमको चपेटामा छ । सिलिम्यान र टिण्डलले गरेको आविष्कारको झण्डै १४० वर्षपछि ; १९९० दशकको शुरु मा संयुक्त राष्ट्रसंघको तत्वावधानमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने युएनएफसीसीसीको प्रक्रिया शुरु भयो ।
डेढ सय वर्षअघिको त्यस कालखण्डमा हाम्रा प्रधानमन्त्री जङ्गबहादुर बेलायतको यात्रामा रहेका भए पनि यता नेपाली समाज पश्चिमी समाज मा हुँदै गरेको त्यस्तो वैज्ञानिक परिवर्तन बारे पूरै बेखबर थियो । जङ्गबहादुरले मुगल वादशाहलाई हराउने अङ्ग्रेजी शासकको प्रविधि र त्यसको तागतबारे केही बुझे र पानी तान्ने पम्पको प्रविधि नेपाल भित्र्याए पनि । तर त्यतिकै भरमा नेपालमा वैज्ञानिक संस्कार भित्रिन सम्भव थिएन, भित्रिएन । हिजो आजको वास्तविकता पनि खासै फरक छैन । हामीमा त्यस्तो संस्कारको कमी छँदैछ । भाषणबाजीमा ‘वैज्ञानिक’ शब्दको अन्धाधुन्द प्रयोग हुनु बेग्लै कुरा हो ।
जङ्गबहादुरले साथमा ल्याएको पानी तान्ने पम्प पनि प्रयोगमा आएन । तिनले बेलायत यात्रा गरेको केही दशकपछि खनिज तेलबाट चल्नेगाडी चन्द्रागिरि पहाडको बाटो छिचोल्दै मानिसको पिठ्यूँमा बोकिएर काठमाडौं भित्रियो । आज काठमाडौँमा लाखौं आयातीत सवारी साधनगुड्छन्, पेट्रोल डलरमा किनिन्छ, पेट्रोल ढुवानीकर्ता हड्तालमा उत्रन्छन्, सावाँ र ब्याज तिर्नु नसक्दा तेल आपूर्ति समयमा हुँदैन, तेल लिने ताँतीमा कुर्दा–कुर्दा घण्टौँ समय नास हुन्छ । तथापि पश्चिमी मुलुकहरूले अनुभव गरेको खनिज तेलको अर्थ–राजनीति र प्रविधिको जटिल चक्रमा हामी अझै परिसकेका छैनौं, वैकल्पिक पथहरू छान्न र प्रयोगमा ल्याउन तिनलाई जस्तो आर्थिक कठिनाई हामीलाई छैन । तर हामीले त्यतापट्टि सोच्नै थालेका छैनौँ । यो चाहिँ हराम्रो विडम्बना हो । यसैले नयाँ पुस्ता र तिनलाई बाटो देखाउने शिक्षकहरूले नै यस्ता विकल्पबारे चिन्तन शुरु गर्नु वाञ्छनीय भएको छ ।
औद्योगिक क्रान्ति शुरु हुनुअघि २८० पीपीएम (१० लाखमा २८० भाग) को स्तर मा रहेको विश्वव्यापी कार्बनडाइअक्साइडको मात्रा हिजोआज ३९० पीपीएम पुगेको छ । यसको असर जलवायु परिवर्तनमा देखि एको छ । औसत तापक्रम बढेको छ, पानी पर्ने चरित्रमा फेरबदल भएको छ, समुद्र सतह माथि उठ्दैछ, वनस्पतिको चरित्र समेत परिवर्तन हुँदैछ । यस्तो प्रभाव अरूले जस्तै हामी नेपालीले पनि भोग्दैछौं; यद्यपि नेपालले उत्सर्जन गर्ने हरित गृह ग्यास विकसित मुलुकको तुलनामा एकदमै नगण्य छ । जलवायु परिवर्तनले हराम्रो मुलुक र मुलुकवासीको जीवनमा कस्तो प्रभाव पर्ला ? यो क्रम बढ्दै जाँदा भविष्यका जोखिम के–कस्ता होलान् ? यस्ता प्रश्नमा हामीले धेरै सोच–विचार गरेका छैनौं; तर अब गर्नै पर्छ ।
ऐतिहासिक, राजनीतिक र भौगोलिक सन्दर्भका कारण धेरै नेपालीहरू खाननेपानी, बिजुली, स्वास्थ्य सेवा, यातायात, शिक्षा, वैकल्पिक जनजीविका, खाद्य सुरक्षा जस्ता सेवाबाट अझै वञ्चित छन् । प्रचलित भाषामा भन्ने हो भने हामी अविकसित छौँ, पछाडि परेका छौँ । यो स्थिति परिवर्तन गर्नु हराम्रो सामूहिक चुनौती हो । योसँग जुध्न सजिलो छैन । हामीसँग आर्थिक स्रोतहरू पर्याप्त छैनन्, संस्थागत सीमितताहरू जँघारको रूपमा छन्, क्षमता छैन, हामी सुसङ्गठित र अनुशासित पनि छैनौँ । जलवायु परिवर्तनको असरले यो चुनौतीमा अर्को बोझ् थपिदिएको छ । जलवायु परिवर्तनका समस्या सिर्जनामा हराम्रो कुनै भूमिका नभए पनि त्यसको प्रभाव भोग्न भने हामी अभिशप्त छौँ ।
धनी– गरिब, विकसित–अविकसित सबै मुलुकका बासिन्दालाई प्रभाव पार्ने जलवायु परिवर्तनको निम्ति जिम्मेवार ठानिएका मानवीय बानी–व्यवहार सुधार्ने कि नसुधार्ने ? हरित गृह प्रभाव सिर्जना गर्ने कार्बनडाइअक्साइड जस्ता हानिकारकग्यासको उत्सर्जन घटाउने कि न घटाउने ? घटाउने भए कसले कहिले कति घटाउने ? जलवायु परिवर्तन सम्बन्धी समस्याको समाधान खोज्ने सन्दर्भमा विश्व राजनीति यिनै प्रश्नको वरिपरि घुमिरहेको छ । हानिकारकग्यासको उत्सर्जन घटाउने कुरा होस् वा उपयोग र जीवनशैली परिवर्तन– सबै सवाल मूलतः सम्पन्न र शक्तिशाली राष्ट्रहरूसँगै सम्बन्धित छन् । यस्तै सवालमा उनीहरुबीच लेनदेन, मोलमोलाइ र विवाद चलिरहेको छ । नेपाल जस्ता मुलुकको स्थिति ‘साँढेको जुधाइमा परेको बाच्छो’ को जस्तो छ । तर यो जुधाइबाट मिचिनेमा बाच्छो अर्थात् कमजोर मुलुक मात्र पर्दैनन्, सम्पन्न र शक्तिशाली मुलुकका बासिन्दा पनि मिचिन्छन् । धेर–थोर जे भए पनि जलवायु परिवर्तनको असर पृथ्वीका सबै बासिन्दाले व्यहोर्नै पर्ने हुन्छ ।
अमेरिकी राष्ट्रपति ओबामाका वैज्ञानिक सल्लाहकार प्रोफेसर जोन होल्ड्रेन भन्छन्, “मानव को सामु जलवायु परिवर्तनसँग जुध्ने तीनवटा विकल्प छन्ः न्यूनीकरण गर्नु अर्थात् घटाउनु, अप्ठ्यारो परिस्थितिसँगै बाँच्ने बानी पार्दै जानु, अभ्यस्त हुनु या सङ्कट व्यहोर्नु ।” न्यूनीकरण त गर्नैपर्छ, कोही अभ्यस्त हुन पनि सक्षम होलान् तर धेरै चाहिँ सङ्कट बेहोर्नेमै पर्नेछन् । जलवायु परिवर्तनले ल्याएको सङ्कट व्यहोर्न बाध्य वा विवश हुने ठूलो जमातमा सामाजिक, आर्थिक र अन्य कारणले पिछडिएका अहिलेकै कमजोर वर्ग वा समूह वा देशहरू नै पर्नेछन् ।
जलवायु परिवर्तनको समस्याका अतिरिक्त विकास को परम्परागत परिभाषा र शैलीको असफलताका कारण पनि विकल्पका बारेमा सोच्नु जरुरी भइसकेको छ । प्रचलित विकास को बाटोले पिछडिएका मुलुकमा सकारात्मक परिवर्तन ल्याउन सकेको छैन । त्यसले जलवायु जस्ता बृहत् पक्षलाई स्थिर मानेर काम कारबाही अघि बढाउँछ । जबकि जलवायु परिवर्तनले स्थितिलाई अस्थिर, अनिश्चित वा चलायमान बनाइरहेको छ । यसर्थ पुराना विधिको स्थानमा नयाँ विधि खोज्नैपर्ने भएको हो । तर त्यस्तो विकल्पको प्रस्ताव कसले राख्ने ? कसरी राख्ने ?
जलवायु परिवर्तन अत्यन्त अप्ठ्यारो समस्या हो । विश्लेषकहरू यसलाई ‘दुष्ट’ वा नरराम्रोसँग जेलिएको समस्या सम्म भन्छन् । यसको एउटा तह खोल्दा अर्को समस्या निस्किन्छ, त्यो तह केलाउन थाल्यो, फेरि अर्को नयाँ समस्या निस्किन्छ । त्यसको समाधान खोज्दा विज्ञान, प्रविधि, आर्थिक पद्धति, आनीबानी, सामाजिक व्यवस्था, भौगोलिक स्थिति, प्रचलित विकास को बाटो, राजनीति जस्ता यावत् विषयहरूगाँसिएर आउँछन् । यो समस्यासँग जुध्न कुनै एउटा खास अस्त्र, विधि या उपाय काम लाग्दैन ,। त्यैसैले धेरै थरी मानिसहरु आ–आफ्नै ढङ्गले यो समस्याको समाधान खोज्न तल्लीन छन् । यहाँनेर के बिर्सनुहुँदैन भने यो समस्याको सिर्जना पनि यसरी नै विभिन्न तहमा भइरहेको छ ।
आज समग्र विश्व प्रणाली फितलो र अनिश्चित भएको छ । भविष्य यस्तै हुन्छ भन्न सक्ने अवस्था छैन । त्यसो भए जलवायु परिवर्तनका कारण सिर्जित समस्या समाधान गर्न के गर्ने त ? ल्याटिन भाषामा एउटा भनाइ छ, ‘ड्यूस एक्स मकिना’ अर्थात् ‘मेसिनबाट आएका भगवानले यस्तो अप्ठ्यारोबाट निकाल्छन् ।’ हराम्रो भाषामा चाहिँ ‘रामबाण’ भनौं । तर न त ‘ड्यूस एक्स मकिना’ सम्भव छ, न ‘रामबाण’ नै । वर्तमान विश्वका जलवायु परिवर्तन लगायतका समस्या समाधान गर्ने बृहत् अवधारणा प्रस्तुत गर्न सक्ने कुनै एउटा नेता छैनन् र हुने पनि छैनन्, न त यस्ता योजना बनाउने विशेषज्ञ नै छन् । एक–दुई व्यक्तिबाटै समग्र समाधान आउने जमानागइसकेको छ । हराम्रो सन्दर्भमा भनौँः जङ्गबहादुर फेरि जन्मिँदैनन्, त्यो स्वीकार्य पनि छैन, आवश्यक पनि छैन । न तगान्धीले नै पुनः अवतार लिएर नयाँ आन्दोलन शुरु गर्छन् ।
त्यसो भए के गर्ने त ? यो प्रश्नको जवाफ चित्ताकर्षक छैन तर सरल छः ‘समस्या समाधानका लागि भिन्नै र थुप्रै तरिकाहरू खोज्ने, चरण–चरणमा समाधान पहिल्याउन प्रयत्नरत रहने ।’ यसो गर्नका लागि निश्चित तर लचिलो कार्यविधि तयार गर्ने । एउटा चरणको प्रयास काम नलागे अर्को चरणमा नयाँ विधि प्रयोग गर्ने । एकअर्काबाट सिक्ने; सिक्दै जाने । यसो गर्नु नै हामी सबैको हितमा हुनेछ ।



