गुणस्तर मापनका १६ आधार
१. गणित
गणितको आधारभूत ज्ञान पाठ्यक्रमको अभिन्न अङ्ग मानिन्छ । गणितको अध्ययनले बालबालिकामा तार्किक र विश्लेषणात्मक क्षमताको विकास गराउँछ । बालबालिकालाई दिइने गणितको ज्ञान तथा सीपले उनीहरूलाई समाज मा सहभागी हुन, राष्ट्रिय स्तर मा प्रतिस्पर्धा गर्न योग्य बनाउँछ । यसले ज्ञानमा आधारित समाज निर्माणको वातावरण निर्माण गर्द छ । त्यसैले गणित शिक्षालाई सिकाइको प्रारम्भिक चरण देखि नै अनिवार्य विषयको रूपमा समाविष्ट गर्ने गरिएको हो ।
२. पढाइ
हरेक बालबालिकाको सिकाइको लागि पढाइ सीप (वाचन र बोध) को ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । पढाइमा सफलता हासिल गर्नका लागि शिक्षकले पढाएको र किताबका पाठहरू बुझने र पढ्ने क्षमता हुनु आवश्यक छ । साक्षारता सीप विद्यालयभित्र मात्र सीमित रहँदैन, यो त जीवनपर्यन्त शिक्षाको लागि अति नै आवश्यक हुन्छ । जसले व्यक्तिलाई समाज सित घुलमिल (Integration) गर्न र व्यक्तित्व विकास (personal development) गर्न सघाउँछ ।
३. विज्ञान
विज्ञानले विद्यार्थीहरूलाई आफ्नो वरिपरिको वातावरणबारे खोजी गर्न र परीक्षण गर्ने साधन प्रदान गर्द छ । यसले विद्यार्थीहरूमा विश्लेषण गर्ने क्षमताको विकास गराउँछ, जसले उनीहरूलाई आफू वरिपरिको प्रकृति र वातावरणबारे ‘सेन्स’ दिन्छ । यसले वातावरण, सजीव वस्तुहरू, स्वास्थ्य तथा अरू मुद्दाहरूमा उनीहरूलाई जिज्ञासु बनाउँछ र विश्लेषणात्मक तरिकाले सोच्न प्रेरित गर्द छ । विज्ञानले विद्यार्थीहरूमा प्रकृति र मानिसबीचको अन्तरसम्बन्ध तथा प्राकृतिक स्रोतहरूको सीमितता बारे जागरुकता विकास गर्द छ । विज्ञानसित सम्बन्धित विषयहरूले उद्योग र व्यवसायको आधारस्तम्भको काम गर्छ । राष्ट्रिय दृष्टिकोणबाट सोच्दा, प्रविधिको विकास को लागि दक्ष अनुसन्धानकर्ताहरू अपरिहार्य छन् । जसले देशलाई विकास को उच्चतम् अवस्थामा पुर्याउन सक्छन् ।
४. सूचना तथा सञ्चारप्रविधि
नयाँ प्रविधिको महत्वको बारेमा द्विविधा र अन्योल छ । सूचना तथा सञ्चारप्रविधिले वर्तमान लाई मात्र प्रभावित तुल्याइरहेको छैन, भविष्यमा त सामाजिक संरचनामै असर पार्ने देखिन्छ । यसले सिक्ने, बाँच्ने, काम गर्ने , उपभोग गर्ने , मनोरञ्जन गर्ने र यहाँसम्म कि आफूलाई अभिव्यक्त गर्ने तरिकामा समेत द्रूतगतिले परिवर्तन गरिरहेको छ । त्यसैले, शिक्षकले विद्यालय भित्र र बाहिर हुने सिकाइमा तालमेल मिलाउन सक्नै पर्दछ । यदि स्कूलले सूचना तथा सञ्चारका नवीनतम् र अन्तरक्रियामुखी प्रविधिहरूको अनन्त सम्भावनाको दोहन गर्न सकेनन् भने प्रभावकारी सिकाइ हुनसक्दैन ।
५. विदेशी भाषा
विश्व बजारका पेशागत तथा व्यक्तिगत अवसरहरू प्राप्त गर्न विभिन्न विदेशी भाषाहरूमा प्रवीणता हासिल गर्नु आवश्यक छ । हाल युरोपका देशहरूमा पूँजी र सामान हरूको प्रवेश र परिचालनको तुलनामा मानिस र विचार हरूको आवतजावत न्यून छ । भाषिक कठिनाइका कारण युवाहरू विदेशमा अध्ययन गर्न र काम गर्न जान हच्किन्छन् । विदेशी भाषाको महत्व भविष्यमा झन्–झन् बढ्दै जाने देखिन्छ ।
विदेशी भाषाको दक्षता नवीन ज्ञान तथा प्रविधि सिक्ने महत्वपूर्ण औजार हो । एक–अर्को देशका नागरिकहरूबीच आपसी समझ्दारी कायम गर्न तथा एकअर्काको सभ्यताबाट सिक्ने अवसर पनि भाषाले प्रदान गर्द छ । विदेशी भाषाको ज्ञान राजनीतिक रूपमा समेत महत्वपूर्ण छ ।
६ . सिक्ने तरिका सिक्नु
औपचारिक शिक्षाको समाप्तिपछि पनि व्यक्तिले जीवनको हरेक क्षणहरूमा आफूलाई आवश्यक पर्ने ज्ञान तथा सीपहरू हासिल गर्न सक्नुपर्दछ । सिक्ने व्यक्तिले त्यतिबेला मात्र प्रभावकारी रूपमा सिक्न सक्दछ जब उसलाई कसरी सिक्ने र कुन–कुन साधनहरू प्रयोग गरेर सिक्ने भन्ने कुरा को ज्ञान हुन्छ ।
सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने तथा त्यसको विश्लेषण, संश्लेषण र मूल्याङ्कन सम्बन्धी सीपहरू बौद्धिक सीप हुन् । यो सीपहरू बाहेक सिक्ने उत्प्रेरणा र अभिवृत्ति पनि सिक्ने तरिका भित्रै पर्दछन् ।
अन्तर्राष्ट्रिय स्तर मा बढ्दो घुलमिल, नयाँ सूचनाहरूको अत्यधिक वृद्धि र प्रवाहले गर्दा नसोचिएकोगतिमा परिवर्तन आइरहेको छ, जसले विद्यालय शिक्षा र जीवनपर्यन्त सिकाइबीच निकटको सम्बन्ध अझै गहन बनाइदिएको छ । सफल हुन, पेशागत संसारमा प्रविष्ट गर्न र भविष्यको समाज मा पदार्पण गर्न यी कुरा हरू जरुरी छ ।
७. नागरिक शिक्षा
नागरिक कहलिन योग्य युवा युवतीहरूले सार्वजनिक सरोकारका कुरा हरूबाट के सिकिरहेका छन् र त्यसलाई कसरी लिइरहेका छन् भनी जान्न हरेक समाज उत्सुक हुन्छ । धेरै जसो देशहरूमा जनसमुदायको ठूलो हिस्साले वास्तविकता नबुझी अरूलाई हिंसा, बेरोजगारी र आपराधिक क्रियाकलाप जस्ता विषयमा लागेका आक्षेप लगाउने गर्द छ । असल नागरिक कसलाई भनिन्छ भनेर बुझइदिने देखि नागरिक संस्कृति (civic culture) को विकास गराउने काम औपचारिक शिक्षाकै हो । सरकार र नीतिनिर्माता मात्र होइन, जनसाधारणको लागि पनि यो उत्तिकै महत्वको विषय हो ।
८. पढाइ छाड्ने दर
आर्थिक विकास र बढ्दो प्रतिस्पर्धाले समाज का केही व्यक्तिहरू किनारामा पर्न जान्छन् । ज्ञानमा आधारित समाज ले मानिसलाई दुई भागमा विभक्त गर्न थालेको छ– पर्याप्त योग्यता र सीप भएका र नभएका । तीव्रगतिमा परिवर्तित भइरहेको यस्तो वातावरणले हरेक व्यक्तिले आफ्ना ज्ञान र सीपहरूलाई हरबखत अद्यावधिक गर्न अपरिहार्य तुल्याइदिएको छ । यसका लागि न्यूनतम ज्ञानको आवश्यकता पर्दछ । अनिवार्य शिक्षा पूरा न गरेका व्यक्तिहरू जीवनपर्यन्त सिकाइमा सहभागिता हुनसक्ने सम्भावना न्यून रहन्छ । रराम्रोसित स्कूले शिक्षा पूरा न गरेका र सिक्ने सवालमा नकारात्मक प्रवृत्ति भएका युवायुवतीहरूको जीवनका घुम्तीहरूमा अनेकन समस्याहरू आइरहन सक्छन् ।
९. उच्च माध्यमिक शिक्षा उत्तीर्ण दर
उच्च माध्यमिक शिक्षा उत्तीर्ण दर उच्च हुनु सफल शैक्षिक प्रणालीको महत्वपूर्ण सूचक हो । श्रम बजारमा प्रवेश पाउन, उच्च शिक्षा आर्जन गर्ने र तालिम हासिल गर्ने मौका पाउनका लागि उच्च माध्यमिक शिक्षा उत्तिकै जरुरी छ । युवाहरूलाई आधुनिक समाज का मागहरू सामना गर्न स्कूले शिक्षाको योगदान छ भन्ने कुरा लाई बेवास्ता गर्न मिल्दैन । व्यापारको अन्तर्राष्ट्रिय करण, प्रविधिको विश्वव्यापीकरण र सूचनाप्रविधिको द्रूत विकास ले समाज लाई थप जटिलतातर्फ लगिरहेको छ । सिकाइमा आधारित समाज मा सफलतापूर्वक सहभागी हुन उच्च माध्यमिक शिक्षाले आधार तयार गरेको हुन्छ ।
१०. उच्च शिक्षामा सहभागिता
उच्च शिक्षाबाट प्राप्त हुने अवसरहरूको महत्व दिनानुदिन बढ्दै गइरहेको छ । सन् १९९० को दशकको श्रमबजारको माग र अहिलेको श्रमबजारको माग बिल्कुलै भिन्न छ । बढ्दो प्रतिस्पर्धा र विश्व वातारणमा युवाहरूले सफलता हासिल गर्नका लागि अरू ज्यादा सीप र दक्षताको जरुरत पर्दछ, जसले उनीहरूलाई अरूसित प्रतिस्पर्धा गर्न सक्षम बनाउँदछ ।
११. विद्यालय शिक्षाको मूल्यांकन र परिचालन
सबै खालका शिक्षा प्रणालीलाई मूल्याङ्कन र परिचालनको आवश्यकता पर्दछ । मूल्याङ्कन विद्यालय तह, क्षेत्रीय तह र राष्ट्रिय तहमा विभिन्न प्रयोजनका लागि गरिन्छन् । मूल्याङ्कनले शिक्षाको उद्देश्यहरू हासिल भए कि भएनन् भनेर भनेर जाँच्छ । यसले शिक्षाका कर्मचारीहरू देखि , प्रअ, शिक्षक र आम नागरिकहरूलाई समेत समाधानमुखी र सुधारात्मक सूचना तथा जानकारीहरू उपलब्धगराउँछ । मूल्याङ्कनले विद्यालयको योजना बनाउने र सुधारका लागि छलफल गर्ने आधार तयार गर्छ । मूल्याङ्कनका सूचकहरूले स्कूललाई अरू स्कूलसित तुलना गर्ने अवसर प्रदान गर्द छ । निरीक्षक वा अन्य अध्ययनकर्ताहरूले हरेक विद्यालयको उपलब्धिको तुलनात्मक अध्ययन गर्न सक्छन् । यिनीहरूले इच्छित लक्ष्य र उपलब्धि हासिल गर्ने प्रक्रियामा आफ्नो ध्यान केन्द्रित गर्न सघाउँछन् । आन्तरिक वा बाह्य दुवैखाले मूल्याङ्कनले स्रोत साधनहरू र तालिमको आवश्यकता एवं उपयोगको के कस्तो प्रभाव परयो भन्ने कुरा उजागर गर्द छ । बाह्य र आन्तरिक दुवै खालका मूल्याङ्कनहरू एकअर्काको लागि परिपूरकको रूपमा काम गर्द छन् ।
१२. अभिभावकको सहभागिता
आफ्ना बालबालिकाको शिक्षाप्रति अभिभावकमा गहिरो लगाव रहेको हुन्छ । उनीहरू विद्यालय शिक्षाको सवालमा आलोचनात्मकरूपले हेर्ने र नयाँ नयाँ कुरा को माग गर्ने उपभोक्ता हुन् । उनीहरूले विद्यालयको व्यवस्थापन र शिक्षकहरू आवश्यक सहयोग गरी विद्यालय सुधारमा योगदान पुर्याउन सक्छन् । वा उनीहरू विद्यालयमा बाधा/व्यवधान खडा गर्न र द्वन्द्व सृजना गर्न सक्छन् । बालबालिकाको गुणस्तरीय शिक्षाका लागि अभिभावकहरू राष्ट्रिय वा स्थानीयस्तर मा विभिन्न किसिमले सहभागिता जनाउन सक्छन् ।
१३. शिक्षकको योग्यता र तालिम
शिक्षकहरूले उनीहरूको भूमिका र मर्यादामा अभूतपूर्व रूपमा परिवर्तनको महसुस गरेका छन् । शिक्षकहरूसितको अपेक्षा पनि बहुआयामिक हुन पुगेको छ । विद्यार्थीलाई छनोट र लचकताको जति बढी अवसर दियो, शिक्षकहरू पनि विद्यार्थीको बदलिँदो आवश्यकता र अपेक्षाहरूलाई सम्बोधन गर्न उत्तिकै लचकदार हुन जरुरी छ । सामाजिक तथा आर्थिक अवस्थामा आएको परिवर्तनले अरू चुनौतीहरू सृजना गरेको छ । कतिपय अवस्थामा यसलाई पारिवारिक तथा सामाजिक विघटनले समस्याहरू थपिदिएको छ । परिवर्तित अवस्थालाई सम्बोधन गर्न कतिपय शिक्षकहरूसित यथेष्ट तालिम वा अनुभव नहुन सक्छ ।
१४. पूर्व प्राथमिक शिक्षामा सहभागिता
पूर्वप्राथमिक शिक्षाले विभिन्न कोणबाट गहन महत्व छ । सर्वप्रथम, यसले बालबालिकाको संवेगात्मक तथा संज्ञानात्मक विकास र सामाजिक एकीकरणमा महत्वपूर्ण योगदान पुर्याउँछ । जसका कारण बालबालिकाहरू विद्यालय वातावरणमा समाहित हुन र माथिल्ला कक्षाहरूमा असफल हुनबाट जोगिन सक्छन् । दोस्रो, यसले परिवारलाई महत्वपूर्ण सहयोग पुर्याइरहेको हुन्छ । सामाजिक संस्थाका रूपमा परिवारको बदलिँदो भूमिका निर्वाह गर्न अभिभावकहरू असमर्थ बन्दैगइरहेका छन् । जसको कारण उनीहरूले आफ्ना छोराछोरीलार्ई शैक्षिक तथा सामाजिक वातावरण उपलब्ध गराउन सकेका छनन् ।
१५. कम्प्युटरमा विद्यार्थीको पहुँच
सूचनामा आधारित समाज ले एकअर्काबीच सञ्चारको मार्ग प्रशस्त मात्र गर्दैन, यसले जीवनशैली, काम, उपभोग, मनोरञ्जन र अभिव्यक्तिमा समेत महत्वपूर्ण प्रभाव पार्दछ । सबै विद्यार्थीहरूलाई कम्प्युटरको प्रभावकारी उपयोग गर्न सक्षम बनाउने हो भने उनीहरूलाई त्यसको सञ्चालन गर्ने उपयुक्त अवसर पनि दिनुपर्दछ । इन्टरनेट र शैक्षिक सफ्टवेयरहरूको अधिकतम दोहन गर्ने हो भने शिक्षक र विद्यार्थीलाई पर्याप्त मात्रामा रराम्रो क्षमता भएका कम्प्युटर उपलब्ध गराउनु पर्दछ । पूर्वाधार मात्रले विद्यार्थीहरूमा उच्चस्तर को प्रतिस्पर्धात्मक क्षमता विकास गर्छ भन्ने छैन । विद्यालयको वातावरण, प्रविधिको व्यवस्थापन, स्तरीय सफ्टवेयरहरू र शिक्षकको प्रतिस्पर्धात्मक क्षमता ज्यादै महत्वपूर्ण पक्ष हुन् ।
१६. प्रतिविद्यार्थी लगानी
कुल वित्तीय स्रोतमा शिक्षा क्षेत्रको हिस्सा कति हुने भन्ने निर्णय सरकारको लागि महत्वपूर्ण हुन्छ । शिक्षामा लगानी दीर्घकालीन प्रतिफलका लागि गरिन्छ । सामाजिक सद्भाव कायम गर्न, अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन र दिगो विकास का लागि शिक्षामा गरिने लगानीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले प्रति–विद्यार्थी लगानी जति बढी हुन सक्यो, उपलब्धि उति नै रराम्रो हासिल हुन सक्छ ।
(युरोपियन कमिसनद्वारा सन् २००० मा प्रकाशित प्रतिवेदन ‘युरोपियन रिपोर्ट अन दि क्वालिटी अफ स्कूल एजुकेशन’मा आधारित)



