नतिजा खस्किनुमा सबै जिम्मेवार
एसएलसीको परिणाम सन्तोषजनक नहुनुमा शैक्षिक संरचना, पाठ्यक्रम र पाठ्यपुस्तक, मूल्याङ्कन विधि, शिक्षण विधि, शिक्षकका योग्यता, क्षमता तथा शिक्षक व्यवस्थापन पक्ष समेत समान रूपमा जिम्मेवार देखिन्छन् ।
६असारमा सार्वजनिक एसएलसी परीक्षाको परिणामबारे विभिन्न विचार र तर्कहरू बाहिर आउन थालेका छन् । यो क्रम अरू केही साता चलेर विस्तारै हराउँदै जान्छ । अर्को वर्ष पनि एसएलसीको नतिजा सार्वजनिक हुँदा यसरी नै बहस चल्ला । अघिपछि कुनै चासो नदिने अनि बितेपछि चाहिँ ‘जा !’ भन्ने प्रवृत्ति हाम्रानिम्ति परिचायक जस्तै बनेको छ ।
विद्यालय शिक्षाको अन्तिम मापनको आधार एसएलसीलाई मानिएको छ । तर, एसएलसी उत्तीर्ण भइसक्दा विद्यार्थीले प्राप्त गर्नु पर्ने योग्यता, दक्षता र क्षमता कस्तो हुनुपर्ने हो भन्ने स्पष्ट छैन । विद्यार्थीले एसएलसीमा कुन श्रेणी ल्यायो भन्ने कुरा ले मात्र महत्व राख्ने गरेको छ । उसले के सिक्यो, सिकेको सीपलाई बाँकी जीवनमा कसरी लागू गरयो भन्ने कुरा को खोजी गरिँदैन । त्यसैले एसएलसीको परिणामपछि गरिने प्रचारात्मक र निष्कर्षविहीन बहसको कुनै तुक छैन ।
२०६१ साल देखि बढ्न थालेको एसएलसीको नतिजा २०६५ मा सबैभन्दा बढी ६८.४७ प्रतिशतमा पुगेर फेरि ओरालो लाग्यो । यो वर्ष बढी अनुपातमा घट्यो । नेपालका शिक्षाविद्हरूबाट एसएलसीको परिणाम खस्कनुमा शिक्षक नै बढी दोषी रहेको तर्क र टिप्पणी बाहिर आएका छन् । तिनको भनाइमा, ‘सामुदायिक विद्यालयका शिक्षक पढाउँदैनन् । उनीहरू योग्य छैनन् । राजनीति गर्छन् ।’
शिक्षा मन्त्रालयका अधिकारी हरू चाहिँ परीक्षाको कडाइ र चिटिङको नियन्त्रणका कारण एसएलसीको परिणाम घटेको दलिल दिइरहेका छन् । ‘चोर्न पाएनन् र बढी फेल भए । यसअघि चोर्न पाउँथे, त्यसैले बढी पास भए’ भन्दै गर्दा उत्तीर्ण भएका विद्यार्थीलाई चाहिँ के गर्ने त ? उनीहरूको परिणाम माथि प्रश्नचिन्ह लगाउने ? कि कुनै विधिद्वारा तिनको योग्यता नाप्न पुनः परीक्षण गर्ने ? साँच्चै मिहिनेत गरेर रराम्रो अङ्क ल्याउने विद्यार्थीमा पर्न जाने मनोवैज्ञानिक असरप्रति को जिम्मेवार हुने ? शिक्षा मन्त्रालय र मातहतका निकाय तथा त्रिभुवन विश्वविद्यालयमा स्थायी जागिरे भई निजी कलेजहरू खोल्ने र त्यहाँ पढाउने अनि विदेशी दाताको पैसा लिएरगैससमार्फत खोज/अनुसन्धान गर्ने सरकारी अधिकारी र शिक्षाविद्को माथि उल्लिखित संश्लेषण पनि पर्याप्त छैन ।
एसएलसीको नतिजा बिग्रनुमा शिक्षकलाई मात्रै खोट लगाउन मिल्दैन । त्यसका पछाडि अरू कारणहरू पनि छन् । शिक्षकलाई दोषी देखाउनुमा केही सत्यता भए त्यसलाई मनन् गर्न सकिन्छ । तर, शिक्षकमा के कारणले समस्या देखि यो पाटोमा पनि गहन अध्ययन गरिनुपर्छ ।
सामुदायिक विद्यालयमा एकै किसिमका शिक्षक छैनन् । एउटै विद्यालयको छानामुनि स्थायी, अस्थायी, राहत, पीसीएफ, निजीस्रोत, महिला परियोजना, बालविकास , राष्ट्रिय र अन्तर्राष्ट्रिय गैससबाट अनुदान पाउने जस्ता बहुरङ्गी शिक्षक छन् । तिनले पाउने सुविधा र नियुक्ति प्रक्रिया पनि फरक–फरक छ । महिनाको रु.१,८०० देखि रु.१५,४०० सम्म तलब बुझने शिक्षक छन् । समान योग्यता र समान जिम्मेवारी वहन गर्ने का बीचमा व्याप्त विभेदले शिक्षकहरूमा पारेको मनोवैज्ञानिक असरको प्रभाव शिक्षण क्रियाकलाप मा स्वाभाविक रूपमा पर्न जान्छ ।
२०५७ सालमा शिक्षक सेवा आयोगकोगठन त भयो, तर यो पनि स्वतन्त्र, अधिकारसम्पन्न र संवैधानिक ढाँचाको छैन । ३५ वर्ष देखि पढाउँदै आएका शिक्षक अहिले पनि अस्थायी नै छन् । केही वर्ष देखि विद्यालय व्यवस्थापन समितिलाई नै शिक्षक नियुक्त गर्ने अधिकार दिइएको छ । त्यो अधिकारको चरम दुरुपयोग भएको छ । राहत अनुदान कोटा वितरणमा अनियमितता गरेको आरोपमा शिक्षा मन्त्री नै निकालिएका छन् । शिक्षक नियुक्तिका निम्ति तोकिएका मापदण्ड पूरा गरिँदैन । राजनीतिक दलको हस्तक्षेपमा विद्यालयमा शिक्षक भर्ती गर्ने काम हुन्छ । स्थायी पदमा योग्य शिक्षक नियुक्ति नहुँदा पठनपाठनमा समस्या पर्ने गरेको छ । शिक्षक स्थायी गर्ने माग गर्दा देशका प्रधानमन्त्री समेत ‘विश्व ब्याङ्क, एडीबी वा अरू दातृ निकायले मान्दैनन्’ भन्ने तर्क राख्छन् ।
२०६७ को एसएलसीमा सबैभन्दा बढी गणितमा ६४ हजार ५१७ परीक्षार्थी फेल भएका छन् । त्यसपछि अङ्ग्रेजीमा ५२ हजार ७४३ र विज्ञानमा ४० हजार ९१४ जना असफल देखि एका छन् ।गत साल अङ्ग्रेजीमा बढी फेल भएका थिए । किन अङ्ग्रेजी, गणित र विज्ञानमा बढी फेल हुन्छन् त ? अब यसको लेखाजोखा गरिनै पर्छ । यदि यी विषयलाई अनिवार्य नबनाइएको भए ९८ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुने रहेछन् भन्ने दृष्टिकोणबाट पनि एसएलसी परीक्षालाई हेरिनुपर्छ ।
अङ्ग्रेजीमा अहिले २५ अङ्कको मौखिक परीक्षा लिइन्छ । त्यसमा बोलाइका लागि १५ र सुनाइका लागि १० अङ्क छुट्याइएको छ । पढाइका लागि ४० र बाँकी लेखाइका लागि छुट्याइएको छ । अङ्ग्रेजीमा चारवटा सिकाइ उपलब्धिमध्ये सबैभन्दा कठिन मानिने लेखाइलाई बढी अङ्क छुट्याइएका कारण यो विषयमा बढी विद्यार्थी फेल हुने गरेका छन् ।
जहाँसम्म विज्ञान र गणितको कुरा छ, ठोस नेपाली पदावलीको अभाव हुनु, शिक्षण विधि परम्परागत हुनु, शिक्षकले नवीन विधिहरू प्रयोग न गर्नु जस्ता कारणले यी दुई विषय विद्यार्थीले राम्ररी बुझन सकेका छैनन्, जसले गर्दा बढी फेल भइरहेका छन् । उदाहरणका लागि न्यूटनको ‘फस्ट ल अफ मोसन’ पढ्दै गर्दा त्यो नियमले विद्यार्थी जीवनमा के असर पार्छ र के उपयोग छ भन्ने बुझन पाउँदैन । जसका कारण त्यो नियमसँग सम्बन्धित सूत्र र समस्याप्रति विद्यार्थीको खासै चासो रहँदैन । ठीक त्यसै गरी गणितमा १६ वटा एकाई छन् । ती सबैको व्यावहारिक पक्षबारे विद्यार्थीलाई जानकारी दिईंदैन । विद्यार्थीले गणितलाई हाउगुजीका रूपमा लिने कारण पनि यही हो ।
अर्कोतिर , हराम्रो मूल्याङ्कन पद्धति पनि अव्यावहारिक छ । विद्यार्थीको १० वर्षे सिकाइ प्रक्रियालाई जम्मा २४ घण्टाको परीक्षाबाट कसरी मापन गर्न सकिन्छ ? वास्तवमा यो विद्यार्थीले सिकेको सिकाइको केही अंश मात्र हुन्छ । यो त जुरेलीले समुद्रबाट चुच्चोले पानी उबाए बराबर हो । रराम्रो तयारी गरेको विद्यार्थीले कुनै कारणवश परीक्षा बिगार्न पनि सक्छ । त्यस्तै, रराम्रो तयारी न गरेको विद्यार्थीले तीन घण्टाको परीक्षामा रराम्रो नतिजा निकाल्न पनि सक्छ । के यी दुवैलाई एउटै पद्धतिमा मूल्याङ्कन गर्न मिल्छ ? एसएलसीमा सर्वोत्कृष्ट गरेका धेरै विद्यार्थीलाई कलेज वा विश्वविद्यालयमा अरू विद्यार्थीले पनि उछिनेका छन् । त्यसैले निरन्तर मूल्याङ्कनलाई आधार मान्नु जरुरी छ ।
यसबाट के निचोड निकाल्न सकिन्छ भने एसएलसीको परिणाम सन्तोषजनक नहुनुमा शैक्षिक संरचना, पाठ्यक्रम र पाठ्यपुस्तक, मूल्याङ्कन विधि, शिक्षण विधि, शिक्षकका योग्यता, क्षमता तथा शिक्षक व्यवस्थापन पक्ष समेत समान रूपमा जिम्मेवार देखिन्छन् ।
(लोहनी अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष हुन् ।)



