क्षमता र सीमा
एउटा गधा दाउराको भारी बोकेर खोलो तर्दैथियो । अचानक खुट्टा चिप्लिएर ऊ पानीमा पल्ट्यो । गह्रुँगो भारीले गर्दा उठ्न नसकेपछि ऊ बेस्सरी चिच्याउन थाल्यो ।
गधा कराएको सुनेपछि खोलाका केही भ्यागुता उसको नजिक पुगे । तिनले गधाको स्थिति देखेपछि उसलाई व्यङ्ग्य गर्दै भने, “हामीजस्तै जीवनभर हिलो र पानीमा बस्नु परेको भए तिमीले के गथ्र्यौ ? एकछिन पानीमा डुब्दैमा यस्तो हल्ला गर्न सुहाउँछ ?”
अप्ठ्यारोमा परेका बेला भ्यागुताहरूको अर्ती सुन्नुपर्दा गधालाई खपिनसक्नु भयो । रिसको झोंकमा न्वारानदेखिको बल लगाएर पानीबाट निस्कने प्रयत्न गर्न थाल्यो । नभन्दै त्यहाँबाट निस्कन सफल पनि भयो । बाहिर निस्किएपछि उसले अघिका भ्यागुताहरूलाई आफ्नो छेउमा डाक्यो । सबै भ्यागुता नजिक आइपुगेपछि उसले आफ्नो भारीबाट जानाजान केही दाउरा भ्यागुताहरू माथि खसाइदियो ।
दाउराको बोझले थिचिएर भ्यागुताहरू छटपटाउन थाले । अनि गधाले पहिले उनीहरूले नै भनेको कुरा दोहोर्यायो, “मैले जस्तै जीवनभर भारी बोक्नु परेको भए तिमीहरूले के गथ्र्यौ ? एक–दुईवटा दाउरा बोक्दैमा यसरी छटपटाउन सुहाउँछ ?”
सबैले मूर्ख ठानेको गधाका बुद्धिमान कुरा सुनेर चेप्टिएकै अवस्थामा पनि भ्यागुताहरू छक्क परे । उनीहरूलाई आफ्नो अहङ्कार थाहा भयो ।
एकछिनमा भ्यागुता माथिका दाउरा हटाइ दिएर गधा आफ्नो बाटो लाग्यो । भ्यागुताले गधाको क्षमता मात्र होइन, सद्व्यवहारको पनि परिचय पाए ।
शिक्षाः सबैका आ–आफ्ना क्षमता र सीमा हुन्छन् । अर्कालाई आफ्नो क्षमतासित तुलना गर्नेले आफ्नो सीमा र अर्काको क्षमताको पनि हेक्का राख्नुपर्छ ।
शिक्षक मासिक, २०६८ असार अंकमा प्रकाशित ।



