सिकाइ उपलब्धिः नाप्न सकिने कुरा हो ?
शिक्षा वा सिकाइको उपलब्धि मापनीय हुनैपर्छ भन्ने आग्रहले शिक्षाको विस्तृत दायरालाई एकदमै सङ्कुचित र सङ्कीर्ण बनाइदिन्छ । यो सानो चुनौती होइन । उदाहरण लिऊँ, बालबालिकामा सौन्दर्य बोधको विकास गराउने कुरा । अब तिनमा सौन्दर्य बोधको विकास भएको छ कि छैन भनेर थाहा पाउन कुन मापदण्ड प्रयोग गर्ने ?
शिक्षाको गुणात्मकता या गुणात्मक शिक्षाको सन्दर्भमा कुरा गर्दा सिकाइ, उपलब्धि र मापनबीचको अन्तरसम्बन्धलाई कसरी बुझने या लिने भन्ने सवाल सधैँ महत्वपूर्ण रहँदै आएको छ । शिक्षाको गुणात्मक पक्षका बारेमा जे–जति बहस र विवाद भइरहेका छन्, ती सबै यिनै तीन शब्दको आपसी सम्बन्धमा केन्द्रित पाइन्छन् ।
मुख्य विषयमा प्रवेश गर्नु अघि केही अहम् सवालहरू कोट्याऊँः – जस्तो; सिकाइको अर्थ के हो ? के सिकाइ वा सिक्नु भन्ने वित्तिकै त्यसमा उपलब्धि पनि स्वतः निहित हुन्छ ? सिकाइको सिलसिलामा कुनै उपलब्धि प्राप्त भएको रहेछ भने त्यसलाई मापन गर्न सकिन्छ कि सकिँदैन ? र सकिन्छ भने कसरी नाप्ने ?
सिकाइसँग शिक्षाको अपरिहार्य सम्बन्ध छ । शिक्षा पाइरहेको अवस्थामा कुनै व्यक्तिले अवश्य पनि केही सिकेकै होला भन्ने बुझन्छि । कसैले पनि ‘उसले शिक्षा पाइरहेको छ तर केही सिकिरहेको छैन’ भन्दैन । अर्थात् शिक्षा पाउनुको अनिवार्य परिणाम केही सिक्नु/जान्नु हो भन्ने तर्कमा कसैको पनि विमति रहँदैन ।
‘सिकाइ’ शब्दका अनेकन् व्याख्या र परिभाषा दिन सकिए तापनि त्यसको सोझो सम्बन्ध चाहिँ सिकारुसँग नै हुन्छ । उसले सिक्न चाहेको वा आर्जन गर्न चाहेको सीप वा ज्ञान पायो कि पाएन भन्ने कुरा सँग सिकाइको प्रत्यक्ष सम्बन्ध रहन्छ । कुनै विद्यार्थी पढ्न,गुणन गर्न वा पौडी खेल्न सिक्दैछ भन्नुको अर्थ उसले पहिले ती काम गर्न जानेको थिएन भन्ने हुन्छ । जानेको भए त ऊ सिक्न आउने नै थिएन । (मानिसहरू पहिले नै जानिसकेको कुरा नै सिक्न आउने गरेका भए आज ‘सिकाइ’ शब्दको अर्थ नै बेग्लै हुनेथियो ।) ‘सिकाइ’ शब्दसँग मानिसको ज्ञान, बुझाइ, मूल्य, मनोवृत्ति वा रुचिहरू सोझै गाँसिएका हुन्छन् । परिणामतः सिकाइको सोझो सम्बन्ध उपलब्धिसँग जोडिन पुग्छ । सिकाइका लागि गरिएको लगानी अनुरुपको उपलब्धि वा परिणाम आएन भने त्यस्तो सिकाइलाई पनि सिकाइ मानिँदैन । शिक्षकले कुनै विद्यार्थीलाई गुणन गर्ने सीप सिकाएको भए पनि विद्यार्थी गुणन गर्न जान्दैन भने त्यसलाई सिकाइ भन्न सकिँदैन । सिकाइ र उपलब्धिका बीचमा यस्तै सोझे सम्बन्ध रहेको हुन्छ ।
अब; सिकाइ आफैंमा उपलब्धि पनि हो भने त्यस्तो सिकाइको मापन गर्न सकिन्छ त ? अर्थात् शिक्षा लिने प्रक्रियामा जे जति सिकाइ भएको छ, त्यसलाई मापन गर्न सकिन्छ कि सकिँदैन ? यो प्रश्नको सोझो जवाफ पाउन गाह्रो छ । तैपनि सिकाइको प्रक्रियामा उपलब्धि हासिल भएको भए त्यसलाई पत्ता लगाउने कुनै मापदण्ड त हुनैपर्छ, जसको सहायताबाट कति उपलब्धि भएछ भन्ने कुरा निर्धारण गर्न सम्भव होस् । अन्यथा कति उपलब्धि भयो वा केही सिकियो कि सिकिएन भन्ने जानकारी पाउन सकिँदैन । तर शिक्षाको क्षेत्रमा भ्रान्ति उत्पन्न गर्ने समस्या पनि यहीबाट शुरु हुन्छ– सिकाइको उपलब्धि मापन गर्ने समस्या, मापदण्ड पहिल्याउने समस्या । के कुनै व्यक्तिका हरेक सिकाइ, सीप वा ज्ञान मापन गर्न सम्भव हुन्छ त ? के हामीसँग त्यस्ता मापदण्ड छन् त ? यी वा यस्तै प्रश्नबाट शुरु हुन्छ सिकाइ उपलब्धि मापन गर्ने समस्या ।
सिकाइ, उपलब्धि र मापनलाई व्यवहारको कसीमा घोटेर हेर्ने हो भने यी तीनवटै विषयमा गहिरो अन्तरसम्बन्ध र सङ्गति भेट्न सकिन्छ । सिकाइको क्रममा व्यक्तिमा आउने परिवर्तनलाई उपलब्धिका रूपमा लिन सकिन्छ । यस विधिबाट नै मानिसमा आएको व्यवहारगत परिवर्तनलाई मापन वा आकलन गर्न सकिन्छ । तर यहाँ ‘उपलब्धि पत्ता लगाउन सम्भव’ र ‘मापन योग्य सिकाइ’का बीचमा रहेको अवधारणात्मक भिन्नतालाई मसिनो गरी बुझनु जरुरी हुन्छ । ‘मापन योग्य सिकाइ’ नाप्न र निष्कर्ष निकाल्न वस्तुनिष्ठ मापदण्डहरू प्रयोग गरिन्छन् । यस्तो मापदण्ड प्रयोग गरेर कसैको शिक्षा वा सिकाइको प्राप्ति जसले मापन गरे पनि उही परिणाम वा निष्कर्ष निस्कन्छ ।
तर कसैको सिकाइ ‘उपलब्धि’ पत्ता लगाउन त्यति सहज हुँदैन । यसमा कुनै एउटा मापदण्डले काम न गर्न सक्छ । आफ्ना विद्यार्थीहरूले के जाने वा के सिके भन्ने जानकारी पाउनाका लागि शिक्षकले फरक फरक तरिका वा उपाय लगाउनुपर्ने हुनसक्छ । त्यसनिम्ति अपनाइने केही मापदण्ड ठोस र वस्तुनिष्ठ पनि हुन सक्लान् । तर सिकाइ उपलब्धिका कतिपय पक्ष थाहा पाउन शिक्षकले अड्कल, अनुमान वा अन्तरज्ञानमा भर पर्नुपर्ने पनि हुनसक्छ । अनि कतिपय अवस्थामा शिक्षकसँग विद्यार्थीको ‘उपलब्धि’ बताउन सक्ने कुनै स्पष्ट आधार नहुन पनि सक्छ । तर पनि एउटा शिक्षकले घुलमिल गरेको आधारमा आफ्ना विद्यार्थीहरूमा भएको समझदारी, बुझाइको क्षमता, सामाजिक व्यवहार, आनीबानी र रुचि आदिबारे केही जानकारी भने दिन सक्छन् । यस्तो जानकारीका आधारमा सिकाइको वस्तुनिष्ठ मापन गर्न सकिँदेन तर विद्यार्थीमा आएका परिवर्तनलाई ‘उपलब्धि’ का रूपमागणना गर्नसम्म सकिन्छ ।
‘सिकाइ उपलब्धि’ र ‘मापन’लाई आपसमा जोड्न खोज्दा ‘आखिर शिक्षाको माध्यमबाट हामी कुनै व्यक्तिलाई के सिकाउन चाहन्छौं ?” भन्ने प्रश्नले अर्को समस्या पैदा गरिदिन्छ । यसको जवाफ फेला नपार्दासम्म शिक्षाको उपलब्धि नाप्न सकिने कुरै हुँदैन । अर्थात् यो विषय शिक्षाको उद्देश्यसँग सम्बन्धित भइदिन्छ । शिक्षाको क्षेत्रमा ‘सिक्ने र सिकाउने काम सुविचारित र निश्चित उद्देश्यद्वारा अभिप्रेरित हुन्छ’ भन्ने स्पष्ट दृष्टिकोण मात्रै शैक्षिक प्रक्रियाबाट हुने सिकाइ बालबालिकाको सामाजिकीकरणको प्रक्रियामा हुने सिकाइको भेद छुट्याउन सम्भव हुन्छ ।
शिक्षाको उद्देश्य विद्यार्थीहरूलाई जोड–घटाउ गर्ने, पढ्न र लेख्न सक्ने वा केही प्रयोगात्मक काम गर्न जान्ने मात्र बनाउने राखिएको भए उपलब्धि नाप्न मापदण्ड समस्या बन्दैन । तर शिक्षाको उद्देश्य, विद्यार्थीहरूलाई समालोचनात्मक चिन्तन गर्न सिकाउने, सौन्दर्य बोध गराउने, तिनका मस्तिष्कमा कल्पनाशीलता र संवेदनशीलताको विकास गराउने रहेको छ भने त्यहाँ ठोस मापनविधि वा मापदण्ड काम लाग्दैन । यसबारेमा भारतीय शिक्षाविद् रोहित धनकरले लेखेका छन्, “स्कुलमा सिक्नु भनेको किताबी विषयवस्तुका ज्ञान सिक्नु मात्र होइन । विश्वलाई , छिमेकलाई र आफैँलाई समेत हेर्न वा जाँच्न सक्ने दृष्टिकोण वा सीपको विकास गर्नु पनि हो । एउटा मानिसले सिकाइकै सिलसिलामा ‘कसरी’ सिक्न सकिन्छ, सिकाइलाई कसरी व्यवस्थित गर्न सकिन्छ र सिकेका कुरा हरूलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरा पनि सिक्न सक्दछ ।” यस्तो मान्यतालाई शिक्षाको उद्देश्य बनाइएको अवस्थामा शिक्षाको–मापन विधि अवश्य पनि जटिल हुन पुग्छ । त्यसबेला सिकाइ मापन गर्ने कुनै सीमा नै देखिँदैन, भेटिँदैन ।
विश्व श्रमबजारले श्रमिकको क्षमता मापनको लागि अनेकन् सिद्धान्त र मापदण्ड बनाएको छ । हराम्रो शिक्षाको उद्देश्य त्यही सिद्धान्तमा आधारित भएकाले सिपालु व्यवस्थापक, सीपयुक्त र अनुशासित श्रमिकहरू उत्पादन गर्दैछौं । यहाँ उत्पादन गरिएका श्रमिकहरू विश्वभर व्याप्त छन् । तर यता आफ्नै देश र समाज को लागि काम गर्ने असल नागरिकहरू तयार पार्ने कारखानामा चाहि खिया परिसकेको छ ।
अब प्रश्न उठ्छ; यदि शिक्षा र सिकाइका बीच अपरिहार्य सम्बन्ध रहेको छ भने विद्यार्थीले केही सिकेको वा जानेको छ भनेर कसरी पत्ता लगाउने त ? जहाँसम्म बालबालिकाले कति सिके भनेर पत्ता लगाउने सवाल छ, त्यसनिम्ति सर्वप्रथम सिकाइका त्यस्ता मापनयोग्य क्षेत्रहरू पहिल्याउनुपर्छ जसलाई सजिलै नाप्न सकियोस् । उदाहरणको लागि, विद्यार्थीले कुनै पाठ पढेर त्यसको सार बुझयो कि बुझेन भन्ने कुरा सहजै मापन गर्न सकिन्छ । त्यसनिम्ति वस्तुनिष्ठ प्रकारका प्रश्न सोध्न वा उद्देश्यमूलक अभ्यास को विधि पनि लागू गर्न सकिन्छ ।
तर, ‘शिक्षाको सम्पूर्ण अवधारणालाई ‘मापनीय मापदण्ड’ भित्र सीमित गर्दा समस्या पैदा हुन्छ । शिक्षा वा सिकाइको उपलब्धि मापनीय हुनैपर्छ भन्ने आग्रहले शिक्षाको विस्तृत दायरालाई एकदमै सङ्कुचित र सङ्कीर्ण बनाइदिन्छ । यो सानो चुनौती होइन । उदाहरण लिऊँ, बालबालिकामा सौन्दर्य बोधको विकास गराउने कुरा । अब तिनमा सौन्दर्य बोधको विकास भएको छ कि छैन भनेर थाहा पाउन कुन मापदण्ड प्रयोग गर्ने ? आलोचनात्मक वा रचनात्मक चिन्तनको विकास कुन स्तर मा भइरहेको छ भन्ने थाहा पाउन कुन मापदण्ड लगाउने ?
अझ् चर्को सवाल पैदा हुन्छ– बालबालिकामा मानवीयताको विकास कसरी गर्ने ? तिनले कसरी मानवीयता सिक्छन् वा विकास गर्छन् ? आज मानवीयतालाई ज्यादै सङ्कुचित अर्थमा बुझने/बुझाउने गरिएको पनि पाइन्छ । तर साँचो अर्थमा मानवीयता सिक्न वा सिकाउन सरल छैन । व्यक्तिमा मानवीयताको विकास वा मानव ता बोध सरलरेखा ताने जस्तो सीधा तरिकाबाट हुने गर्दैन । सिकाइमा प्रसस्त उतारचढाव हुन्छ र प्रत्येक पछिल्लो सिकाइ पहिलेको भन्दा उन्नत या भिन्न हुन्छ । हरेक पटक बुझइको अलग तरिका र स्तर को विकास न गरी मानवीयता बुझन सकिँदैन । यस्तो गुण वा व्यवहार बालबालिकामा कसरी विकास गर्ने ? यही हो शिक्षाको चुनौती । केहीले साहित्यको माध्यमबाट पनि मानवीयतालाई बुझाउन सक्छन् । कथा, कविता वा उपन्यासमा तात्कालिक समयको प्रतिनिधित्व गर्ने खालका भावनात्मक अर्थहरू समेट्ने शब्द, व्याख्या वा वर्णन गरिएका हुन्छन् । समयको अन्तरालमा ती सबैमा अर्थान्तर भइसकेको हुन्छ, जसले बुझइमा फरक पार्दछ । यसकारण मानिसको सिक्ने वा बुझने चाहना वा क्षमताका अगाडि कुनै पनि तरिकाका मापनयन्त्रहरूको तगारो तेस्र्याउनु न्यायोचित हुँदैन ।
शिक्षाको ‘उपलब्धि’ मापन गर्ने सिद्धान्तले अर्को समस्या पनि ल्याएको छ । ‘उपलब्धि’ मापनको मान्यताले शिक्षाको सम्पूर्ण अवधारणा र प्रक्रियालाई नै मापदण्डको परिधि भित्रको कैदी बनाइदिएको छ । आज जुन विषयलाई वस्तुनिष्ठ परिणाममा मापन गर्न सकिन्छ, तिनै विषय मात्र शिक्षाका प्रमुख विषय रहन गएका छन् । परिणामतः मानवीयता र व्यक्तित्व विकास का लागि अत्यन्त आवश्यक पर्ने गहन विषयहरू शिक्षाको घेरा बाहिर मिल्किन पुगेका छन् । यसनिम्ति धेरै टाढाको उदाहरण लिनै पर्दैन । हराम्रो शिक्षा व्यवस्थाले सिर्जनात्मक कलाको विकास गर्ने , हातको सीप बढाउने, उद्यमशील बनाउने, श्रमप्रति सम्मान जनाउने, साहित्य सिर्जना गर्ने तथा रचनात्मक कामप्रति विद्यार्थी–नागरिकको झुकाव र जागरुकता अभिवृद्धि गर्ने दायित्वलाई पूर्णतः उपेक्षा गरेको छ । यी विषय शिक्षाको घेरा बाहिर परेका छन् । अर्कोतिर परीक्षाको व्यवस्था पनि विद्यार्थीको स्मरणशक्ति मात्र नाप्ने प्रकृतिको छ, जसमा विद्यार्थीले आफ्नो बुझइ र क्षमता होइन; किताबी ज्ञान प्रदर्शन गर्नु पर्दछ । विद्यार्थीलाई परीक्षामा रचनात्मक भएर उत्तर लेख्ने खालका प्रश्न सोधिँदै सोधिँदैन ।
यहीँनेर एउटा प्रश्न उठ्छ– यदि शिक्षाको उपलब्धि मापन गर्ने काम यति ठूलो समस्या बनेको छ भने शिक्षा व्यवस्थामा यसले (मापन विधि) नै किन प्रमुखता पाइरहेको छ त ? यसको जवाफ सरल छ, हाम्रा शिक्षाविद् र समाज शास्त्रीहरू शिक्षाको उपलब्धिलाई रोजगार बजारको मापदण्ड लगाएर मापन वा मूल्याङ्कन गर्ने गर्छन् । उनीहरू त्यो बजारलाई चाहिने जनशक्ति उपलब्ध भएको अवस्थामा शिक्षा उपलब्धिमूलक भएको मान्यता राख्छन् । अर्थात् शिक्षाको मूल्याङ्कन शैक्षिक क्षेत्रले होइन, रोजगारीको क्षेत्रले गरिरहेको छ । यस किसिमको शिक्षाले रोजगारीको अन्तर्राष्ट्रिय बजारमा श्रमशक्तिको अभाव नहोस् भन्ने कुरा लाई मात्र महत्व दिन्छ ।
विश्व श्रमबजारले श्रमिकको क्षमता मापनको लागि अनेकन् सिद्धान्त र मापदण्ड बनाएको छ । हराम्रो शिक्षाको उद्देश्य त्यही सिद्धान्तमा आधारित भएकाले सिपालु व्यवस्थापक, सीपयुक्त र अनुशासित श्रमिकहरू उत्पादन गर्दैछौं । यहाँ उत्पादन गरिएका श्रमिकहरू विश्वभर व्याप्त छन् । तर यता आफ्नै देश र आफ्नै समाज को लागि काम गर्ने असल नागरिकहरू तयार पार्ने कारखानामा चाहि खिया परिसकेको छ । आज हराम्रो शिक्षाको सबैभन्दा ठूलो समस्या शायद यही नै होला ।
(विश्वम्भरद्वारा सम्पादित हिन्दी मासिक शिक्षा विचार को नोभेम्बर–डिसेम्बर, २०१० को सम्पादकीय ।)
अनुवादः हस्त गुरुङ



