नेपाली व्याकरणको नयाँ नियम पदवियोगले निम्त्याएको बिचल्ली

नयाँ नियम अनुसार ‘महाकवि’ त लेख्न पाइने भयो, ‘महापुरुष’लाई चाहिँ ‘महा पुरुष’ लेख्नुपर्ने भयो । ‘दिदीभिना’ जोडिन पाउने भए, ‘दिदी भिनाजु’को चाहिँ सम्बन्धविच्छेद हुने भयो । ‘पतिपत्नी, जोईपोइ र लोग्नेस्वास्नी’को योग हुने भयो तर बिचरा ‘श्रीमान् श्रीमती’ले चाहिँ वियोग खप्नुपर्ने अवस्था आउने भयो । ‘फुपू फुपाजु’, ‘सासू ससुरा’ आदि पनि सँगै जोडिएर बस्न नपाउने भए ।

‘सबैको नेपाली, कक्षा–११’ले समस्त पदको पछिल्लो शब्द तीन वा सोभन्दा बढी अक्षरको भएमा पदवियोग गर्ने र दुई अक्षरसम्मको शब्द भए पदयोग गर्ने नियम अघिसारेको यो नियमले तीन बच्चाका आमाबाबुलाई सन्तानबाट छुटाउने र दुई बच्चा भएकालाई चाहिँ सँग सँगै राख्नुपर्ने जस्तो स्थिति पैदा गरिदिएको छ । त्यस्तै, दुवैतिर दुईदुई अक्षरसम्मका शब्द हुँदा समस्तपदको पदयोग हुने अनि एउटा मात्र अक्षर बढी भएमा पदवियोग हुने भन्ने कुरा ले नेपाली व्याकरणमा समासको औचित्य र आवश्यकता नै छ कि छैन भन्ने विवाद निम्त्याएको छ । पदयोग र पदवियोग भन्नाले डिको जोड्नु र नजोड्नु भन्ने मात्रै बुझिँदै; यसबाट त ठाउँ खाली छोड्ने कि नछोड्ने भन्ने पनि जनाउँछ । समास नहुन्जेल मुक्त वा स्वतन्त्र रहने पदहरू समास प्रक्रियामा छिर्नेबित्तिकै बद्ध हुन पुग्छन् । बुझ पचाउनेले बाहेक अरू सबैले ‘समस्तपदको पदयोग हुन्छ र यही नै बद्धता हो’ भन्ने बुझेका छन् । नयाँ नियम अनुसार ‘महाकवि’ त लेख्न पाइने भयो, ‘महापुरुष’लाई चाहिँ ‘महा पुरुष’ लेख्नुपर्ने भयो । त्यस्तै; पादकमल/चरण कमल, थुकदानी/कलम दानी, आदिकवि/आदि मानव जस्ता शब्द लेख्दा पहिला अक्षर गन्नु पर्ने भयो । यो कुरा ले शिक्षक–विद्यार्थी दुवैलाई द्विविधामा पारेको छ । अझ् रोचक सन्दर्भ हेरौं– ‘दिदीभिना’ जोडिन पाउने भए, ‘दिदी भिनाजु’को चाहिँ सम्बन्धविच्छेद हुने भयो । ‘पतिपत्नी, जोईपोइ र लोग्नेस्वास्नी’को योग हुने भयो तर बिचरा ‘श्रीमान् श्रीमती’ले चाहिँ वियोग खप्नुपर्ने अवस्था आउने भयो । ‘फुपू फुपाजु’, ‘सासू ससुरा’ आदि पनि सँगै जोडिएर बस्न नपाउने भए ।

सामान्यतः एउटा पद वा शब्दलाई एकै ठाउँमा योग गरेर लेखिन्छ । तर यता आएर एउटा शब्द वा पदलाई एउटा डिको दिने परम्परामा पनि प्रश्नचिह्न उभ्याइएको छ । जबकि समास नहुन्जेल शब्दहरू मुक्त वा स्वतन्त्र हुन्छन् र समास भएपछि ती बद्ध हुन पुग्छन् ।

१) समस्त पदको योग वा वियोगले तात्पर्यमै पार्न सक्ने प्रभावः क) भानिज= दिदी वा बहिनीको छोरो । भाइ= आफूभन्दा उमेरले कान्छो र आफ्नै बाबुको/ बडाबाबुको वा काकाबाबुको छोरो । भानिजभाइ= आफूभन्दा उमेरले कान्छो फुपूको छोरो । ख) मामा= आमाको दाजु अथवा भाइ । ससुरा= पति अथवा पत्नीको बाबु । मामाससुरा= पति वा पत्नीको मामा ।ग) ‘त्यो राम जानकी मन्दिरमा छ ।’ ‘त्यो रामजानकी मन्दिरमा छ ।’ यी दुईमध्ये अघिल्लो वाक्यले मन्दिर जानकीको मात्रै हो र त्यहाँ रहने ‘राम’ हो भन्ने अर्थ बोकेको छ भने पछिल्लो वाक्यले चाहिँ मन्दिर राम र जानकी दुवैको हो र त्यहाँ रहने ‘त्यो’ अर्थात् कुनै अर्कै व्यक्ति हो भन्ने आशय वहन गरेको छ ।

निम्न लिखित वाक्यहरूको अर्थ ल गाउँदै जाँदा पनि हामी पदयोग र पदवियोग सम्बन्धी व्याकरणको परम्परागत नियम सम्झ्न बाध्य हुनेछौँ– अ) त्यो नेवार पानीमा नुहाउँछ । आ) त्यो नेवारपानीमा नुहाउँछ । अ) पूजा सामग्री ठीक पार्दैगरोस् । आ) पूजासामग्री ठीक पार्दैगरोस् । अ) यो घर भँडुवाले बिगा¥यो । आ) यो घरभँडुवाले बिगार्‍यो । अ) यो कोइला खानीबाट झ्किेको हुँ । आ) यो कोइलाखानीबाट झिकेको हुँ । अ) यो पत्थर हृदयले के चिनोस् ? आ) यो पत्थरहृदयले के चिनोस् ? अ) चिया पसलबाट ल्याऊ । आ) चियापसलबाट ल्याऊ । अ) त्यो बाटुले घरमै बस्छ । अ) त्यो बाटुले घरमै बस्छ । अ) भाइ बुहारीसँग रिसायो । आ) भाइबुहारीसँग रिसायो ।

२) समस्त पदको वियोगले शब्दवर्गमा पार्न सक्ने प्रभावः यो घर हो । घर= नाम । त्यो घर बाहिर छ । बाहिर= क्रियायोगी । त्यो घरबाहिर (अव्ययीभाव समास) छ । बाहिर (घरबाहेकको)= नामयोगी । घरबाहिर= क्रियायोगी । स्थानबोधक क्रियायोगी ‘ माथि, अगाडि , पछाडि’ आदि पदले मुक्त रहुन्जेल क्रियायोगीको, अव्ययीभाव समास भएर अघिल्लो शब्दको पछाडि रहुन्जेल नामयोगीको र अघिल्लो शब्दसमेतको संयुक्त अर्थमा क्रियायोगीको काम गर्द छन् । ‘छोराले पढेन । यस कारणले मलाई निदाउन दिएको छैन ।’ यस= सार्वनामिक विशेषण, कारण= नाम (विशेष्य) । छोराले पढेन यसकारण मलाई निदाउन दिएको छैन । यसकारण (अव्ययीभाव समास)= संयोजक । पूर्वापर सम्बन्धले अर्थ खुलाउँछ भन्ने हो भने ‘म भात खान्छु । हरि प्रसाद पनि खान्छन्’ बाट के बुझएिला ? आशयबोध सकेसम्म शब्दबाटै हुनुपर्छ । त्यसो हुन नसकेमा वाक्यबाट त हुनै पर्छ । अघिल्लो वा पछिल्लो वाक्यको सहयोग लिएर बुझन सकिन्छ भन्दै जाने हो भने अनुच्छेद र त्योभन्दा पनि लामो रचना पढिसकेर मात्र अर्थ बुझनुपर्ने अवस्था आउन सक्छ ।

अतः जतिसुकै अक्षरका भए पनि बद्धार्थ दिने समस्तपदमा पदयोग गर्नै पर्छ, वियोग गर्दा नेपाली भाषाकै बिजोग हुन्छ । विकार नआएको अवस्थामा ‘रातो फरिया’जस्तै  विशेषण र विशेष्यलाई , विशेषणवत् कार्य गर्न सक्ने ‘कृष्ण भतिज/भतिज कृष्ण’जस्तै समानाधिकरण पदहरूलाई , ‘जिल्ला शिक्षा समिति’जस्तै पदावलीका रूपमा आउने पदहरूलाई हामी पदवियोग गरेर लेख्न सक्छौँ । ‘कुन ?’ भन्ने प्रश्नको उत्तरमा आउने नाम पनि विशेषणस्थानिक हुने हुनाले पदावलीका रूपमा प्रयोग हुने निश्चित कार्यालय, संस्था आदिको नामलाई वियोग पचेको हो । कुन समिति ? शिक्षा समिति । कुन शिक्षा समिति ? जिल्ला शिक्षा समिति । कुन सरकार ? नेपाल सरकार । आदि ।

भाइ र भतिजा= भाइभतिजा । यसरी दुई भिन्नभिन्न व्यक्ति बुझाउने अवस्थामा समास न गरी छोड्न पनि सकिन्छ, जस्तैः भाइ र भतिजा आए । तर ‘भाइ अथवा भतिजा= ‘भाइभतिजा’, दिदी अथवा बहिनी= ‘दिदीबहिनी’ जस्ता वैकल्पिक अर्थ दिने समस्त पदको चाहिँ पदयोग गर्नैपर्ने हुन्छ । पदवियोग गरेर लेख्दा भर्खरभर्खर अक्षर चिन्न थालेका पाठकलाई सजिलो हुन सक्छ । त्यही सजिलोका लागि भन्ने निहुँमा अर्थमै बाधा आउने गरी हचुवा निर्णय गरिनु चाहिँ रराम्रो हैन । भाषाको आशयलाई नै विरुप पार्ने अधिकार त झन् कसैलाई पनि हुँदैन ।

३) नामयोगीको वियोगले पार्ने प्रभावः नामयोगी द्वि–अक्षरी जोड्ने र त्रि–अक्षरी वा त्यसभन्दा बढी भए नजोड्ने भन्ने नियमन पनि हचुवामै आएको देखिन्छ । स्थानवाचक क्रियायोगी पनि अव्ययीभाव समास भई अघिल्लो नामिक पदसँग जोडिँदा एक्लै चाहिँ नामयोगी र समस्त पद (संयुक्तरूप) चाहिँ क्रियायोगी हुन पुग्छ— क) त्यो (सार्वनामिक विशेषण) घर (नाम) बाहिर (क्रियायोगी) छ । ख) त्यो (सर्वनाम) घरबाहिर (समस्तपद क्रियायोगी) छ । वाक्य ‘क’मा ‘बाहिर’ हुने ‘घर’ हो भने ‘ख’ मा ‘घरबाहिर’ हुने ‘त्यो’ हो । यस्तै गरी ‘टाउको पछाडि छ’ यस वाक्यले दिने अर्थ र ‘टाउकापछाडि छ’ ले दिने अर्थमा उल्लेख्य भिन्नता हुन्छ । यसर्थ ‘ माथि, मुनि’को योग हुने र ‘अगाडि , पछाडि’को चाहिँ नहुने भन्ने तर्कशास्त्रीहरू एकपल्ट पुनः घोत्लिनु जरुरी देखिन्छ ।

४) विभक्ति र पदवियोगले पार्ने प्रभावः विभक्ति कार्यात्मक दृष्टिले कारक–निर्धारक हो र प्रत्यय पनि हो । शब्दवर्गीय दृष्टिले नामयोगी हो । नामयोगी अविकारी नै हुनुपर्छ भन्ने परम्परालाई मान्दा ‘को, रो, नो’लाई छाडेर बाँकी विभक्ति नामयोगी नै हुन् । ‘द्वारा, निम्ति, निमित्त, खातिर , मार्फत’ आदि केही नामयोगीहरू विभक्तिको पर्यायका रूपमा प्रयुक्त छन् । विभक्तिभन्दा पछाडि अर्को प्रत्यय जोडिन नसक्ने हुनाले ‘तिम्रा लागि’ जस्तै गरी ‘लागि/निम्ति/निमित्त/खातिर ’जस्ता नामयोगीले छुट्टै पछाडि रहेर षष्ठी विभक्तिका पदलाई चतुर्थी विभक्तिको बनाउँछन् । अन्यथा विभक्तिहरू प्रत्ययवत् प्रयुक्त हुन्छन् । प्रत्यय स्वतः बद्ध हुन्छ । क) राम (नाम) आए । रामका (विशेषण) दाइ आए । ख) म (सर्वनाम) आएँ । मेरो (विशेषण) भाइ आयो ।ग) आफू (सर्वनाम) बस । आफ्नो (विशेषण) ठाउँमा बस । ‘को, रो, नो’ विभक्तिप्रत्ययले नाम वा सर्वनामलाई विशेषण बनाउँछन् । घ) पढ्नु (नाम) रराम्रो काम हो । पढ्नाले (क्रियायोगी) हित हुन्छ । ङ) यो घर (नाम) हो । यस घरमा (क्रियायोगी) कोही छैनन् । शब्दवर्ग नै परिवर्तन गर्न सक्ने बद्ध प्रत्ययलाई भिन्दै डिकोमा लेख्नुपर्छ भन्नेले तर्क प्रस्तुत गर्न सक्लान् ? अङ्ग्रेजीमा विभक्ति नामयोगी शब्दवर्गमा पर्दछ, नामयोगी मुक्त भएर प्रयोग गरिन्छ । उहाँ नामयोगी नामिक पदभन्दा अगाडि आउँछ । अङ्ग्रेजी भाषीको प्रभावमा परेर हिन्दी भाषीले मौलिक विशेषता छोडे रे भन्दैमा हामी पनि त्यही बाटोमा हिँड्नु जरुरी छैन ।

५) संयुक्त क्रियाको पदवियोगले पार्ने प्रभावः क) पानी पर्छ (पर्नु=बर्सिनु) । ख) त्यो केटो मेरो सालो पर्छ (नाता लाग्नु) ।ग) तिमीले क्षमायाचना गर्नु पर्छ । पछिल्लो वाक्यमा ‘पर्नु’ को स्वतन्त्र अर्थ छैन; यसैले यो क्रिया प्रत्ययवत् प्रयोग भएकाले मुख्य क्रियासँग जोडेर लेखिन्छ । संयुक्त क्रियामा सहायक क्रियाहरूले मुक्त (स्वतन्त्र) अर्थ दिन सक्तैनन् । ती क्रियाहरूले त मुख्य क्रियालाई विशिष्ट अर्थ दिने प्रत्यय धर्म मात्र निर्वाह गरेका हुन्छन् । क) म खान्छु । म दिन्छु (प्रदान गर्छु) । ख) म खाई (खाएर) दिन्छु (प्रदान गर्छु) ।ग) म खाइदिन्छु (खाएर मन राखिदिन्छु/अरूले नखाए पनि मै खान्छु ।) ‘ग’ वाक्यमा प्रयोग भएको ‘दिनु’ क्रिया मुख्य क्रियासँग बद्ध छ, अतः यो प्रत्ययधर्मी हो । ‘त्यो यहाँ छ’ (स्थितिबोधक क्रियापद) । ‘त्यो यहाँ बसेको छ’ (स्थितिबोधक) । ‘त्यो यहाँ बस्दै छ’ (स्थितिबोधक) । मुक्त अर्थात् स्वतन्त्र अर्थ दिउन्जेल ‘छ’ क्रिया हो । ‘बस्यो, बस्थ्यो, बसेछ, बस्छ, बस्नेछ’ पछिल्ला तीन वटै कालका क्रियापदमा प्रयोग भएको ‘छ’ प्रत्यय हो, क्रिया होइन । प्रत्ययवत् प्रयोग हुनेलाई योग गरेरै लेख्नुपर्छ, वियोग गर्न पाइँदैन ।

नेपाली भाषा र व्याकरणको परम्परा परिवर्तन गर्न कम्मर कसेकाहरूले कुनै परम्परा किन बस्यो होला र परिवर्तन गर्नु पर्नाको तर्कसङ्गत कारण र व्याख्या दिनसक्नु वाञ्छनीय हुन्छ ।

commercial commercial commercial commercial