व्यक्ति र समाज
देवकीः “कहाँ जानुभएको थियो ? यस्तो विरुप किन ?”
वसुदेवः “हराम्रो नवजात पुत्रको हत्यारा कंससँग लड्ने सामथ्र्य आफूभित्र नपाएपछि बाहिरी संसारमा त्यस्तो शक्ति खोज्न गएको थिएँ ।”
देवकीः “फेला परयो त ?”
वसुदेवः “अहँ ! तर धेरै खोजेँ । कंसको बध हामी मानिसको वशको कुरा होइन । त्यसैले श्मसान घाटमा शव–साधना र मन्त्रद्वारा कुनै कृत्या (राक्षसी) जन्माउने प्रयासमा लागेँ, जसले कंसलाई मार्न सकोस् ।”
देवकीः “तपाईंलाई यस्तो गर्न कसले प्रेरित गरयो ?”
वसुदेवः “मेरो आफ्नै निरीहताले ।”
देवकीः “शव–साधना र कृत्याको कुरा चाहिँ कसरी सुझयो नि ?”
वसुदेवः “जब विधि र तर्कसम्मत उपाय तथा प्रकट शक्तिहरूसँग मानिस निरास हुन्छ र सबैतिर बाट असहाय अनुभव गर्न थाल्छ, त्यसपछि ऊ चमत्कारिक र अदृश्य शक्तिको शरण खोज्न थाल्छ । मैले पनि त्यस्तै सोचें तर शव–साधना त के, कुनै लाशको नजिक जान पनि सकिनँ ।”
देवकीः “अनि के भयो ?”
वसुदेवः “ गुरुगर्गाचार्यको आश्रमतिर लागेँ ।”
देवकीः “ गुरुले के भन्नुभयो त ?”
वसुदेवः गुरुले भन्नुभयो, “स्वतन्त्रता, स्वाधीनता र स्वाभिमान की देवीले सधैं त्याग र बलिदान माग्छिन् । साहस र बलिदानविनाको समाज कहिल्यै पनि स्वाभिमानी र समुन्नत भएर बाँच्न सकेको छैन । आज मथुराका बासिन्दामा न साहस छ, न त्याग र बलिदानको भाव नै । सबैलाई भय, स्वार्थ र लोभलेगाँजेको छ । जब मानिस आत्मकेन्द्रित हुन थाल्छ, ऊ एक्लै कमाउन, आफ्नै लागि मात्र बाँच्न चाहन्छ, अरूको निम्ति तृण बराबर पनि त्याग गर्न चाहँदैन । यही प्रवृत्तिले यहाँको समाज लाई नष्ट–भ्रष्ट पारेको छ । यस्तै परिवेशमा जन्मन्छन् कंसहरू !
आज कंसको नाश त जरुरी छ । तर त्योभन्दा पहिले कंसको निर्माण किन र कसरी भयो भन्ने बुझनुपर्छ । यदि हामी कंसको नाश मात्र गर्न लाग्यौं र कंस–निर्माणको प्रक्रिया ज्यूँका त्यूँ रहिरह्यो भने एक हैन, अनेकांै कंस हुर्किन्छन् कायर समाज ले
निरन्तर कंस जन्माइरहन्छ ।”
देवकीः “यस्तो स्थितिमा हामीले के गर्नु पर्छ रे त ?”
वसुदेवः “ गुरुले भने अनुसार, हामी समाज मा सत्व जगाउन लागिपर्नु पर्छ । समाज को भय, स्वार्थ, लोभ, भीरुपन, कायरता र व्यक्तिवादी प्रवृत्ति विरुद्ध लड्नुपर्छ । व्यक्तिले तब मात्र न्याय पाउँछ, जब ऊ समाज को न्यायका निम्ति लड्छ । समाज मै अन्याय, असुरक्षा र अधर्म व्याप्त छ भने त्यहाँ एउटा व्यक्तिले मात्र कसरी न्याय र सुरक्षा पाउन सक्छ र ! गुरुले मेरा आँखा खोलिदिनुभयो । अब म ब्युँझ्एिको छु, देवकी ।”
(नरेन्द्र कोहली रचित ‘वसुदेव’ पुस्तकबाट साभार र सम्पादित)



