शिक्षक र सपना

शिक्षकहरू सपनाका मुहान हुन् । तिनले अनेकथरी सपनाका धागाहरू बुन्न सिकाउँछन् । र तिनै छ्यासमिसे मूर्त–अमूर्त त्यान्द्रे सपनाका पछि –पछि दौडन सिकाउँछन् विद्यार्थीहरूलाई । मानौं कालोपाटी एउटा अन्धकार हो र एउटा शिक्षक उज्याला अक्षरहरूले त्यहाँ सपनाका बिम्वहरू कुँदिरहेको हुन्छ ।

पुराणमा अनेकन पात्रहरू शिक्षकको खोजीमा भौँतारिएको हामीले पढेका छौँ । त्यो कालमा शिक्षकहरूको अभाव थियो कि ? तीन/चारवटा अलग–अलग पुस्ताका एउटै गुरु भएको हामीले सुनेका छौँ । तिनताकाका ती दुर्लभ शिक्षकहरू आफ्ना विद्यार्थीलाई दार्शनिक सपना देखाउँथे वा देख्न सिकाउँथे । शायद ती शिक्षकहरू कतै–कतै अभिमानी पनि थिए कि ?

महाभारतमा द्रोणाचार्यले कर्णलाई पढाउन मानेनन् । द्रोणाचार्य एउटा महान् शिक्षक थिए होलान्– उनका शिष्यहरूको लागि । तर कर्णको लागि ती अभिमानी पनि त बने । विचरा कर्ण शिक्षक खोज्दै दौडिए । अन्त्यमा आफू ब्राम्हण हुँ भनेर झुटो बोल्दै गुरु परशुरामबाट विद्या सिके । जब उनी ब्राम्हण नभएको कुरा प्रस्टियो परशुरामले कर्णलाई श्राप दिए । यहाँ गुरुको उपेक्षा र अभिमान ले कर्णलाई सपना बुन्न सिकायो । अर्जुनको प्रतिस्पर्धी बन्ने सपनाले उनलाई कैयौं पटक अभिमानी पनि बनायो ।
पौराणिककालमा मात्र होइन इतिहासका हरेक कालखण्डमा शिक्षकहरूले आफ्ना शिष्यहरूमा सपनाको बिजारोपण गरेको पढ्न पाइन्छ । सुकरातले आफ्नो चेला प्लेटोको मगजमा दार्शनिक सपनाको बीउ रोपिदिए । त्यसैको फलस्वरुप प्लेटोले आधुनिक राजनीतिशास्त्रको बिरुवा उमारे । चाणक्य विष्णुगुप्तले एउटा सामान्यगोठालोलाई भारत वर्षको महान् सम्राट (चन्द्रगुप्त) बन्ने सपना मात्र देखाएनन्, त्यसको बाटो पनि पहिल्याइदिए । ती अभूतपूर्व र महान् शिक्षकहरू हुन् । तिनले सिर्जेका सपनाले विश्वमा उथलपुथल निम्त्यायो । शाक्यमुनिगौतम बुद्ध यस्ता गुरु हुन् जो एकपछि का अर्का युगहरूलाई नै शून्यवादी सिद्धान्तमा थुन्न सफल भए । डाँकू रत्नाकरलाई साधु वाल्मीकि बन्न प्रेरणा दिने ती शिक्षक कम महान होइनन् ।
पौराणिक र ऐतिहासिक कालखण्डमा जस्तै आज पनि शिक्षकहरू आफ्ना विद्यार्थीलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सपना बुन्न सिकाइनै रहेका छन् । सफलताका हरेक कथाका पानामा शिक्षकले महत्वपूर्ण अध्याय ओगटेकै हुन्छन् ।

शिक्षक बनेर बाँच्नु एउटा अत्यन्तै अलग खालको संवेग छातीभित्र पाल्नु हो । भाषाको पहिलो अक्षर चिनाउँदा शिक्षकले विद्यार्थीभित्र एक धर्सो प्रकाशपुञ्ज रोपिदिएको हुन्छ । त्यो मसिनो पुञ्जले पूर्वमा मधुरो सूर्य उदाइरहेको कमलो बिहानीको प्रतीक दर्साउँछ । पछि त्यै प्रकाशपुञ्ज बाक्लिँदै र झङ्गिदै पारिलो घाम बनेर फैलिन्छ । त्यही घामको उज्यालोमा विद्यार्थीले आफू हिँड्नुपर्ने बाटो पहिल्याउँछ ।

यद्यपि शिक्षक उभिइरहन्छ कतै एउटा डिलमा जहाँबाट तल्लो र माथ्लो दुवैगोरेटो नियाल्न सकिन्छ । तल्लो बाटोबाट चिचिले विद्यार्थीहरू धर्मराउँदै आइरहेका छन् । माथ्लो बाटो अलि बढेका केटाकेटीका हुलहरू पङ्ति मिलाएर आ–आफ्नो मेसो समाएर उँभो लागेका छन् ।

शिक्षक आफैँ चाहिँ सपनाविहीन भएर बितिर हेको छ । विद्यार्थीका आँखामा उसले आकाङ्क्षाहरू रोपेको हुन्छ । आफ्ना पूरा नभएका र हुन नसकेका मनोकाङ्क्षा अरूमा मौलाउँदै गरेको हेरेर ऊ खुशी हुन्छ । बाल्यकालका छिचिमिरे सपनाहरू उहिल्यै बतासमा उडेर कता पुगे कता । अब तिनका विपनाहरू नै रङ्गीन छन् । धुलौटे माटोमा लडीबुडी खेल्ने बालबालिकाको कमिजमा लागेको धूलोमा रङ्गिएको हुन्छ शिक्षकको सपना ।

कुनै एक्ले भीरको पट्यारलाग्दो उकालोमा उभिने एउटा चौतारो जस्तै अनि ढुङ्गे बगरको बीचमा लाखौँ पदचापले कुँदेको मसिनोगोरेटो जस्तै बनेर शिक्षक अडिएको हुन्छ कतै । समयको पाङ्ग्रो ऊ माथिबाट पार भइरहन्छ । युगले नक्साहरू बदलिइरहन्छ । अघिका चिचिले विद्यार्थीका पङ्क्तिमय लाम नेटो काटेर पार भइसक्छन् आफ्ना कमला बिहानीहरू त्यतै छाडेर । ती दिनको चर्को घाम खप्न सक्ने गरी छिप्पिइसकेको हुन्छ ।

तर त्यो चौतारो र दोबाटोरुपी शिक्षकले बाँचेका पलहरूमा बिहानी कहिल्यै आउँदैन । तल्लो डिलतिर बाट फेरि अर्का हुल चिचिले विद्यार्थीहरू धर्मराउँदै उकालो लागेका हुन्छन् । तिनका खाली अञ्जुली लालायित छन् सपना बुन्न । हामी शिक्षकले अब तिनलाई पनि सपना बुन्न सिकाउनु छ ।

सञ्जय अधिकारी
मल्पी इन्टरनेशनल स्कूल

commercial commercial commercial commercial