खिया पुछौं धूलो टक्टक्याऊँ

नेपालीहरूको औसत आयु ६५ वर्ष मान्दा, आजको एउटा विद्यार्थीले उच्च माध्यमिक तह (१२ कक्षा) उत्तीर्ण गर्न आफ्नो जीवनको १८ प्रतिशत समय लगानी गरिसकेको हुन्छ । त्यस्तै, सरासर एसएलसी पास गर्ने किशोर–किशोरीहरूको १५ प्रतिशत आयु सकिइसकेको हुन्छ । अर्थात्, एउटा व्यक्तिका निति १० वा १२ वर्ष छोटो अवधि होइन । तर, त्यति धेरै समय र अन्य साधन–स्रोत समेत लगानीपछि प्राप्त हुने एसएलसी वा उमाविको प्रमाणपत्रले किशोर–किशोरी तथा अभिभावकहरूलाई के कति प्रतिफल दिन सक्छ त ? उनीहरू के कस्ता काम गर्न जान्ने वा गर्न सक्ने हुन्छन् त ?

सरकारी जागिर वा माथिल्लो तहको अध्ययनका निम्ति उनीहरू योग्य भएका हुनसक्छन् । तर, न्यून हुँदै गइरहेको सरकारी जागिरको अवसर कति जनालाई जुर्न सक्छ ? अथवा आफैं आर्जन न गरी उच्च शिक्षा हासिल गर्न सक्षम आर्थिक हैसियत कतिको होला ? केही काम गरेर कमाउँदै पढ्दै गर्न पनि कतिपय तत्पर होलान् । तर तिनले एसएलसी वा उमावि तह पढ्दासम्ममा हात वा दिमागले गर्ने त्यस्ता के सीप सिकेका वा जानेका होलान्— जसले उनीहरूलाई रोजगारी जुराइदेओस् !
निरन्तरको राजनीतिक अन्योल र अस्थिरता, स्थिर र दूरगामी शिक्षा नीतिको अभाव, राज्यले सदुपयोग गर्नै नसक्ने गरी शिक्षामा ओइरिएको विदेशी पैसा र प्रभाव, असङ्गत आर्थिक नीतिले उत्पन्न गरेको सामाजिक विश्रृङ्खलता र घट्दो नैेतिक–सामाजिक मूल्य तथा आत्माभिमान का कारण नेपालको स्कूल तहमा सीपमूलक शिक्षाको अस्तित्व सङ्कटमा पर्दै आएको छ । हुँदाहुँदा सीपमूलक विषयको पठनपाठन हुने सार्वजनिक स्कूल भेट्न समेत मुश्किल पर्न थालेको छ । सीपमूलक विषयप्रति सरकार, अभिभावक, शिक्षक, छात्रछात्रा सबैको रुचि र चासो ह्रासोन्मुख छ । परिणामतः आज सीप सिकेर स्वरोजगारमा लाग्ने भन्दा औपचारिक अध्ययन पूरा गरेको प्रमाणपत्र बोकेर जागिर खोज्ने जमातको भीड बाक्लो भएको छ ।

काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक उमाविबाट भर्खरै एसएलसी दिएकी छात्रा विनिता तिमिल्सेनाले ऐच्छिक दोस्रो समूहमा गृह –विज्ञान विषय लिएकी थिइन् । कक्षा ९ र १० मा पढेको गृह –विज्ञानले उनलाई व्यावसायिक रूपमा खानाका विभिन्न परिकार बनाउने, गृह सजाउने, कपडा नाप्ने, काट्ने र सिलाउने, साना नानीहरूका लागि ऊनीका खेलौना, ऊनी कपडा बनाउने आदि सीप सिकाएको छ । गृह –विज्ञान अध्ययन गरे कै कारण विनिताले पढाइ पूरा गरे पछि काठमाडौंमै ‘टेलरिङ’ खोल्ने सपना बुनेकी छन् । उनी भन्छिन्, “कुकिङ, टेलरिङ र ऊनी कपडा तथा खेलौना बनाउन जानेकाले जागिर खोज्नेतिर भन्दा टेलरिङ खोल्ने सोच बनाएकी छु ।”   

तर, कार्यालय सञ्चालन तथा लेखा विषय लिएका विनिताका सहपाठीहरू सुनिता महर्जन र कञ्चन मगरमा पढाइ सकेपछि व्यवसाय गर्ने भन्दा जागिर खोज्ने मनस्थिति बन्दै गएको छ । उनीहरूले अध्ययन गरेको विषय ‘व्यावसायिक’ विधाभित्र परे पनि महर्जन र मगरमा पेशा वा व्यवसाय गर्ने आत्मविश्वास पलाउन सकेको छैन । सुनिता र कञ्चनले कक्षा ९ र १० मा कार्यालय सञ्चालन र लेखामा सिकेकागोश्वारा भौचर, बासलात, नाफा तथा नोक्सान, खर्चको फाँटबारी आदि विषय कुनै कम्पनी/कार्यालयमा रोजगारी पाएपछि मात्र काम लाग्छन् ।

तर व्यावहारिक जीवनमा तुरुन्तै काम लाग्ने विषय भए पनि गृह –विज्ञान जस्ता सीपमूलक विषयहरू अभिभावक र छात्रछात्राको रोजाइमा पर्न छाडेको छ । २०३५ साल देखि विजय स्मारकमा गृह –विज्ञान पढाउँदै आएकी भावना चित्रकार आफूले पढाउने विषय पढ्दापढ्दै उपयोगमा आउने खालको भए पनि सरकार र समाज को उपेक्षाको सिकार भएको ठान्छिन् । उनको कथन छ, “यो विषयले मानिसलाई काम गर्न सिकाउँछ तर जागिर खोज्नेहरूको भीडले गृह –विज्ञानप्रति छात्रछात्राको रुचि र आकर्षण घट्दै गएको छ ।” चित्रकारले २०३३ सालमा सानोठिमी क्याम्पसबाट बस्त्र सिलाइ–बुनाइमा स्नातक सकेर बाँकेको मङ्गलप्रसाद विद्यालयबाट गृह –विज्ञान पढाउन थालेकी थिइन् । उनी थप्छिन्, “मैले पढाएकी काठमाडौंकी करुणा महर्जनले मेरै घरनजिकै टेलरिङ खोलेकी छन्, अरू धेरैले विभिन्न पेशा अपनाएर रराम्रोसँग जीवन निर्वाह गरेका छन् ।”

गृह –विज्ञान अध्ययन गर्ने छात्रछात्रा र उक्त विषय पढाइ हुने विद्यालय घट्दै गएकाले अहिले उक्त विषयका पाठ्यपुस्तक छापिन छाडेका छन् । कक्षा १० को पाठ्यपुस्तक नपाएका कारण विनिताले शिक्षकसँग रहेको पुरानो पुस्तक फोटोकपी गरेर पढिन् । किताब मात्रै अभाव भएको नभई विजय स्मारकमा गृह –विज्ञानको पठनपाठनका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीहरू समेत तितरबितर हुँदै गएका छन् ।

कक्षा १० को गृह –विज्ञानमा खाना, खानाको परिचय, खानाको काम र महत्व, खाद्यवस्तुको वर्गीकरण, सन्तुलित भोजन, पोषण तत्व, कार्बोहाइडेड, प्रोटिन, भिटामिन, खनिज पदार्थ, चिल्लो पदार्थ, सन्तुलित भोजन र दैनिक खानाको योजना आदिका बारेमा दैनिक जीवनमा उपयोगी हुने विषयवस्तु राखिएको छ । त्यस्तै पानी र पानीको महत्व, पानी शुद्ध बनाउने तरिका पनि उक्त विषयमा समेटिएको छ । विनिता भन्छिन्, “पानी शुद्ध बनाउने तरिका, मिश्रित तरकारीको रेसिपी, मकैको रोटीको रेसिपी, बाराको रेसिपी, सन्तुलित जाउलोको रेसिपी बनाउन पनि सिकेकी छु । खाना बनाउने र घरको प्रबन्ध गर्ने बारे धेरै कुरा मा आत्मविश्वास छ ।”

गृह –विज्ञानमा दिइएका शौचालयको व्यवस्था, शौचालयका प्रकार, पारिवारिक बजेट, समय, शक्ति र श्रमलाई बचाउन घरेलु उपकरण, घरेलु दुर्घटना, फुर्सदको समयको सदुपयोग जस्ता पाठहरू जो सुकैका निम्ति सीपमूलक लाग्छन् । उदाहरणका लागि कक्षा १० को गृह –विज्ञानको घरेलु दुर्घटना पाठ अन्तर्गत पृष्ठ ७७ माग्यास चुल्होबाट हुने दुर्घटनाबाट बच्ने उपाय यसरी सुझइएको छ– “ग्यासको चुल्हो राखिने ठाउँमा हावा आवतजावत हुने खालका झयालहरू हुनुपर्छ । किनभनेग्यास झयालबाट बाहिरगइराखोस् र कोठा नगुम्सियोस् । केही गरीग्यास चुहिएको भएगन्ध थाहा पाउनुपर्छ रग्यासको स्टोभ बाल्नुभन्दा पहिला झयालढोका थुनिराखेको भए खोलेर पाँच मिनेट जति छोड्नुपर्छ ताकिग्यास सबै बाहिर जाओस् अनि मात्र चुल्हो बाल्नुपर्छ । यसरी होस पुर्‍याई काम गरे मा दुर्घटना कमै हुन्छ ।”

काठमाडौंको क्षेत्रपाटीस्थित कन्या मन्दिर उमाविमा पनि कक्षा ९ र १० मा व्यावसायिक विषयको रूपमा गृह –विज्ञान विषयको पढाइ हुने गरेको छ । तर, सामाजिक उपेक्षाका कारण गृह –विज्ञानका शिक्षक र छात्रछात्राको उक्त विषयप्रतिको अभिरुचि र पढ्ने जाँगर मर्दै गएको छ । उक्त विषयको पठनपाठनका लागि किनिएका सामग्री स्कूलमा त्यसै थन्किएका पाइन्छन् ।

दुई वर्षअघिसम्म लैनचौरको शान्ति विद्या गृह मा औद्योगिक शिक्षा पठनपाठन हुन्थ्योे । तर, छात्रछात्राले उक्त विषय अध्ययन गर्ने रुचि देखाउन छोडेपछि सो विद्यालयले औद्योगिक शिक्षा हटाएको छ । औद्योगिक शिक्षा विषयका शिक्षक समेत रहेका उक्त विद्यालयका प्रअ मुकुन्दप्रसाद श्रेष्ठका अनुसार औद्योगिक शिक्षा पढ्ने छात्रछात्राको सङ्ख्या अन्तिम वर्षमा पनि ११५ थियो । अभिभावकले आफ्ना छोराछोरीले पढेर काम गर्नु को साटो जागिर खाउन भन्ने ठानेको र सीपमूलक विषयप्रति सरकारले बेवास्ता गरेका कारण हटाउनु परेको उनको कथन छ । औद्योगिक शिक्षाको पठनपाठनका निम्ति स्कूलले किनेका फलामे औजार अहिले दराजमा थन्किएर खिया लागिसकेका छन् । उक्त विषयको सट्टामा अहिले शान्ति विद्या गृह मा लेखा तथा कार्यालय सञ्चालन विषयको पठनपाठन हुने गरेको छ ।  

सार्वजनिक स्कूलमा अहिले मुस्किलले पढाइ हुने गृह –विज्ञान, कृषि शिक्षा, कम्युटर शिक्षा तथा औद्योगिक शिक्षा जस्ता विषय सीपमूलक तथा व्यावसायिक हुन् । तर, विद्यार्थीको जीवनमा तत्कालै उपयोग हुनसक्ने अनि पढेपछि जागिर खोज्ने झन्झ्टमा लाग्नुको सट्टा आफैंले काम गर्न सकिने यस्ता विषयलाई विद्यालयहरूले धमाधम हटाउन थालेका छन् । छात्रछात्राको अनाकर्षण, सम्बन्धित विषय पढाउने शिक्षक र व्यावसायिक विषय पढाउनका लागि स्कूलमा अनुकूल वातावरणको अभाव तथा व्यावसायिक विषयप्रति सरकारी उदासीनता आदि कारणले सामुदायिक विद्यालयमा व्यावसायिक विषयको अस्तित्व समाप्त हुन थालेको छ । व्यावसायिक विषयका पुराना शिक्षकको अस्तित्वका निम्ति केही स्कूलले त्यस्ता विषय निरन्तरता दिए पनि ती विषय पढ्ने विद्यार्थीको सङ्ख्या भने निराशाजनक रूपमा घट्दै गएको छ ।

पाठ्यक्रम/पाठ्यपुस्तक छैन
माध्यमिक शिक्षा पाठ्यक्रममा कक्षा ९ र १० को ऐच्छिक द्वितीय पत्रमा जम्मा २४ वटा सीप तथा व्यावसायिक विषय सूचीकृत छन् । तर, २४ मध्ये देशभरिका सरकारी स्कूलमा जम्मा १४ वटा विषय मात्र पढाइ हुने गरेका तथ्य परीक्षा नियन्त्रण कार्यालयले एसएसलीमा जम्मा १४ वटा विषयको मात्र प्रश्नपत्र बनाएबाट स्पष्ट हुन्छ । पनि काको रेकर्डमा १०० पूर्णाङ्कको ऐच्छिक दोस्रो पत्रमा कार्यालय सञ्चालन तथा लेखा, कृषि शिक्षा, शिक्षा, कम्प्युटर विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा, गृह –विज्ञान, औद्योगिक शिक्षा, बेतबाँस शिल्प कला, खाद्य विज्ञान, बस्त्र सिलाइ–बुनाइ, सङ्गीत, चित्रकला, लेखा–परीक्षण र पत्रकारिता विषय अस्तित्वमा देखिन्छन् । पनि काको परीक्षा शाखाका अधिकृत देवीरञ्जन हुमागाईंका अनुसार यी १४ विषयमध्ये तुलनात्मक रूपमा कार्यालय सञ्चालन तथा लेखा, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, कृषि शिक्षा र कम्प्युटर विज्ञानमा छात्रछात्राको चाप बढी छ ।

ऐच्छिक दोस्रोमा राखिएकामध्ये धेरैजसो सीपमूलक विषयको अस्तित्व सकिँदै गएको पाठ्यक्रम विकास केन्द्रले पनि स्वीकार गरेको छ । आफ्नो सूचीमा रहेका २४ विषयमध्ये २०६४ सालमा केन्द्रले कक्षा ९ र १० का ऐच्छिक दोस्रो समूह (जसलाई औपचारिक रूपमा व्यावसायिक विषय भनिएको छैन) मा शिक्षा, कार्यालय सञ्चालन र लेखा, कृषि शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र कम्प्युटर विज्ञानलाई मात्र राखेको छ ।  पाविके र पनि काको सूची भिडाउँदा पाविकेको सूचीका टाइपिङ र सर्टह्यान्ड, प्राकृतिक चिकित्सा, वाद्यवादन, वास्तुकला, फोटोग्राफी, योग शिक्षा, हस्तकला, आयुर्वेद र प्रारम्भिक बालविकास शिक्षाको अस्तित्व नै समाप्त भइसकेको देखिन्छ । विद्यालयले यी विषयको पठनपाठन गर्न छाडेकाले अथवा कति विषयको पढाइ नै शुरु नभएकाले केन्द्रले पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्न समेत छाडेको छ । २०६४ मा छापिएको माध्यमिक शिक्षा पाठ्यक्रम भाग २ मा शिक्षा, कार्यालय सञ्चालन र लेखा, कृषि शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र कम्प्युटर विज्ञानका मात्र पाठ्यक्रम समेटिएका छन् ।

हिजोको व्यावसायिक शिक्षा
व्यावसायिक विषय अन्तर्गत कृषि शिक्षा लिएर २०२८ सालमा एसएलसी उत्तीर्ण शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक ज्ञानी यादव त्यतिबेला सरकारी नोकरीमा नलागेको भए कृषि पेशा अपनाउने अवस्थामा रहेको बताउँछन् । उनले भने, “हराम्रो पालामा स्कूलमा व्यावसायिक विषयको पढाइ धेरै रराम्रो थियो, म किसानको छोरो हुँ, कृषि शिक्षा पढेँ, जागिरतिर नआएको भए म कृषि पेशामा लाग्थें ।” आफ्ना सहपाठीमध्ये धेरैले कृषि शिक्षा, बागबानी, कुखुरा तथा माछापालन जस्ता विषय पढेर धनुषामा विभिन्न व्यवसाय अँगालेको यादव बताउँछन् । उनका अनुसार सरकारी स्कूलमा व्यावसायिक विषयको पठनपाठन २०२८ साल देखि २०३८ सालसम्म धेरै रराम्रोसँग चलेको थियो । सरकारी स्कूलमा व्यावसायिक विषयको पठनपाठन ध्वस्त भएकै कारण देशमा बेरोजगारी र हिंसा उकालो लागेको ठान्नेहरू धेरै भेटिन्छन् ।

नेपालमा व्यावसायिक विषयको औपचारिक पढाइ २०१६ साल देखि बहुउद्देश्यीय विद्यालयको माध्यमबाट शुरु भए पनि राष्ट्रिय पाठ्यक्रमले व्यावसायिक विषयलाई आत्मसात् गर्नु मा नयाँ शिक्षा पद्धति योजना २०२८ को ठूलो भूमिका छ । उक्त योजना अनुसार पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको माध्यमिक शिक्षाको पाठ्यक्रमको भूमिकामा भनिएको छ– ‘माध्यमिक तहका पाठ्यक्रमको उद्देश्य विद्यालयहरूमा विभिन्न व्यावसायिक विषयहरूको ज्ञान छात्रछात्राहरूलाई दिई उत्पादनशील र उपयोगी नागरिक तयारी पारी राष्ट्र विकास को निम्ति दक्ष कार्यकर्ता तयार गर्दैै जनशक्तिको बढ्दो आवश्यकता पूर्ति गर्नु हो ।

यस तहमा प्रवेश गर्ने छात्रछात्राले व्यावसायिक विषयको प्रारम्भिक ज्ञान प्राप्त गरी सक्ने छन् ।’ नयाँ शिक्षा पद्धति योजना २०२८ ले शिक्षाको उक्त उद्देश्य पूर्ति गर्नका लागि विद्यालय संरचनालाई साधारण, व्यावसायिक र संस्कृत माध्यमिक गरी तीन वर्गमा विभाजन गरेको थियो । साधारण विद्यालयमा विद्यालय घण्टीको २० प्रतिशत समय व्यावसायिक विषय र ८० प्रतिशत समय अरू विषय पढाउन निर्धारण गरिएको थियो । त्यस्तै व्यावसायिक विद्यालयमा चाहिँ व्यावसायिक विषयको पढाइका निम्ति ३०–४० प्रतिशत समय खर्चिने गरिएको थियो । त्यस योजना अनुसार साधारण र व्यावसायिक स्कूलमा अन्नखेती, बागवानी, कुखुरापालन, पशुपालन र दुग्ध व्यवसाय, बस्त्र सिलाइ–बुनाइ, टाइप तथा संकेत लिपि, लेखा, शिक्षा, बिजुली फिटिङ जस्ता सीप र व्यवसायमूलक विषयको पठनपाठनको व्यवस्था गरिएको थियो । तर, नयाँ शिक्षा पद्धति योजनाको आवधिक मूल्याङ्कनपछि सरकारले २०३८ सालमा व्यावसायिक विषयलाई सरकारी विद्यालयबाट हटाएको थियो । यसपछि विद्यालय शिक्षामा व्यावसायिक विषयको अभाव हुँदै गएको पाइन्छ ।

खाँचो अग्रसरताको
विद्यालय तहमा व्यावसायिक विषय हटाएको २८ वर्षपछि लागू गरिएको विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी २०६६–७२) मा प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षालाई परीक्षणका निम्ति मात्र समेटिएको छ । उक्त योजनामा कक्षा ६–८ सम्मको पाठ्यक्रममा आधारभूत जीवनोपयोगी सीप र व्यावसायिक सीपका प्रारम्भिक विषयवस्तुलाई एकीकृत गर्ने , माध्यमिक शिक्षाका लागि व्यावसायिक पाठ्यक्रमको विकास गर्ने , देशभरिका १०० सामुदायिक स्कूलमा सीप, पेशा र व्यवसायमूलक विषयको प्रयोग र परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । यसका निम्ति पाँच वर्षमा डेढ करोड अमेरिकी डलर खर्च लाग्ने सरकारी अनुमान छ । दाताको इशारा र सहयोगमा लागू गरिएको एसएसआरपी पूर्णतः कार्यान्वयन हुने वा नहुने द्विविधा बाँकी नै रहेको अवस्थामा पेशा, व्यवसाय र प्रविधि विषय देशभरिका १०० स्कूलमा परीक्षण हुन्छ भनेर ढुक्क हुने आधार छैन । त्यस्तै शङ्का व्यक्त गर्दै शिक्षाविद् डा. भवानीशङ्कर सुवेदी भन्छन्, “शिक्षक संस्था र सरोकारवालाले आत्मसात् गर्न नसकेको एसएसआरपीको भविष्य नै अनिश्चित छ भने व्यावसायिक शिक्षा कसरी सबै स्कूलमा होला र !” उक्त योजना अनुसार, सरकारले कक्षा ६ देखि ८ सम्मका निम्ति पूर्वव्यावसायिक शिक्षाको साटो पेशा, व्यवसाय र प्रविधि शिक्षाको पठनपाठनका निम्ति पाठ्यक्रम तयार गरेको छ । ती विषय शिक्षणका निम्ति योग्य शिक्षक तयार पार्ने काम भने बाँकी नै देखिन्छ ।

स्कूलमा सीपमूलक विषयको अस्तित्व समाप्त भए पनि सरकारले शिक्षाको उद्देश्यमा सीपयुक्त जनशक्ति तयार गर्ने कुरा लाई प्राथमिकता दिन छाडेको छैन । स्थानीय, राष्ट्रिय स्तर का व्यवसाय, पेशा एवं रोजगारीका साथै आवश्यकता अनुसार अन्तर्राष्ट्रिय रोजगारीतर्फ उन्मूख उत्पादनमुखी र सीपयुक्त नागरिक तयार गर्न सहयोग गर्ने कुरा लाई शिक्षाको एउटा महत्वपूर्ण राष्ट्रिय उद्देश्यको रूपमा अङ्गीकार गरिएको छ । त्यस्तै माध्यमिक शिक्षाका विभिन्न उद्देश्यमध्ये राष्ट्र विकास का लागि सक्षम, आत्मनिर्भर, सीपयुक्त र तालिमप्राप्त मानव स्रोत उत्पादन गर्ने , यसका लागि छात्रछात्रामा प्राविधिक र व्यावसायिक सीप विकास गर्ने तथा श्रमप्रति सम्मान गर्न सिकाइ आत्मनिर्भर हुन जीवन निर्वाहका लागि आयआर्जन गर्न प्रेरित गर्ने आदि रहेका छन् । तर, उद्देश्य अनुसारको योजना र कार्यक्रम बनाउन सरकारले देखाएको उदासीनताले शिक्षाको उल्लिखित उद्देश्य पूरा हुनसकेको छैन । परिणामतः सरकारी स्कूलमा पढाइ हुने धेरैजसो विषयले विद्यार्थीलाई स्वावलम्वी र आत्मनिर्भर हुन प्रेरित गर्नु को सट्टा प्रमाणपत्र झेलामा बोकेर जागिर खोज्नतिर लाग्न बाध्य पारेको देखिन्छ ।

commercial commercial commercial commercial