एक्काइसौं शताब्दीका सीप !
नेपालमा आजकाल जे कुरामा पनि ‘एक्काइसौं शताब्दी’ जोडेर कुरा गर्ने चलन नै बनिसकेको छ । तर त्यो अकारण भने छैन । त्यसलाई हामी नेपालीहरू कति अगाडि बढ्नुछ, कति ठूलो फड्को मार्नुछ या कति धेरै विकास गर्नु छ भन्ने कुरा को प्रतीकात्मक अभिव्यक्तिका रूपमा लिन सकिन्छ । निः सन्देह, एक्काइसौं शताब्दीको विश्व हाराहारीमा पुग्नका लागि हामीले केही महत्वपूर्ण क्षेत्रमा अभूतपूर्व प्रगति हासिल गर्नु जरुरी छ । त्यसनिम्ति हामीलाई नभई नहुने कुरा हो— दिमागी र हाते सीप । तर हाम्रा लागि कुन–कुन र कस्ता सीप आवश्यक होलान् भनेर परिभाषित गर्न सजिलो छैन । हाम्रा आधिकारिक निकायले पनि यसलाई परिभाषित गरेका छैनन् । तथापि संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व स्वास्थ्य सङ्गठन, ‘एक्काइसौं शताब्दीका लागि साझेदारी कार्यक्रम’ नामक अमेरिकी अभियानले सफल जीवन जिउनका लागि एउटा मानिसमा के कस्ता सीपहरू आवश्यक हुन्छन् भनेर केही हदसम्म रेखाङ्कित गरेका छन् । त्यसैमा आधारित भएर यहाँ नेपालको सन्दर्भमा उपयोगी हुनसक्ने केही सीप पहिचान गर्न खोजिएको छः
१. आफूलाई चिनौं
पहिले–पहिले हाम्रा स्कूलहरूमा गुरुहरूले तिमी को जस्तो बन्ने भनेर सोध्थे । “हो, त्यस्तै बन्नु पर्छ बाबु” भनेर सल्लाह दिन्थे । त्यसैले उसबेलाका प्रायः जसो छात्रछात्राहरू आफ्ना आदर्श व्यक्ति जस्तै बन्न कोशिश गर्दथे । तर त्यस्तो सोच र व्यवहार सही थिएन । किनकि कोही पनि मानिस जतिसुकै क्षमतावान् र प्रतिभाशाली भए पनि अर्को जस्तो बन्न सक्दैन । पूर्वीय दर्शन देखि पश्चिमका आधुनिक शिक्षाका सिद्धान्तकारहरूको समेत यस कुरा मा समान धारणा रहेको छः ‘हरेक मानिस आफैँ बन्न जन्मिएको हो, अरू कोही होइन ।’ आदर्श व्यक्तित्वहरूबाट पक्कै पनि धेरै कुरा सिक्न सकिन्छ । सिक्नु पनि पर्छ । तर व्यक्तिले सर्वप्रथम आफैँलाई चिन्नु बुझनु (आफ्नो रुचि, सामथ्र्य र सीमा) पर्छ । आफ्नो क्षमताको पहिचान गरेर त्यसलाई नै फक्राउने फुलाउनेतिर लाग्नुपर्छ । यस मामिलामा बहुसङ्ख्यक नेपालीमा ठूलो अलमल र द्विविधा भेटिन्छ । आफूलाई चिनिसकेपछि मानिसले आफ्नो जीवनको ठोस लक्ष्य आफैँ निर्धारण गर्नु पर्छ, बाबुआमा, शिक्षक वा अरू कसैले होइन । त्यस्तै आत्मनिरीक्षण गर्न पनि समर्थ हुनुपर्दछ ।
२. सिक्ने, सिकेको कुरा छाड्ने र नयाँ कुरा सिकौं
एउटा ‘रुटिन–जीवन’मा हामीलाई केही पनि कुरा नयाँ भइरहेको छैन जस्तो अनुभव हुन्छ । हरेक दिन हामी खाने, काम गर्ने र सुत्ने लगायतका उही क्रियाकलाप दोहोर्याइरहेका छौं, के पो नयाँ भइराखेको छ र जस्तो लाग्छ । तर त्यो सत्य होइन । सत्य त के हो भने हरपल जे भइरहेको हुन्छ, नयाँ भइरहेको हुन्छ, चाहे त्यो हराम्रो व्यक्तिगत जीवनमा होस् वा सामाजिक जीवनमा कुनै पनि कुरा दोहोरिँदैनन् । हराम्रो जीवनमा मात्र होइन, यो संसार र ब्रह्माण्डमै हरपल जे भइरहेछ नयाँ भइरहेको छ । त्यसैले हामीले पनि हरपल नयाँ नयाँ कुरा सिक्न आफूलाई तयार बनाएर राख्नुपर्छ । अतः स्कूल वा विश्वविद्यालयको जीवनमा धेरै कुरा सिक्यौं, पढ्यौँ, जान्यौँ; अब पुग्यो भनेर सोच्नु कुनै पनि दृष्टिले सही र वैज्ञानिक हुँदैन । जो मानिसले आफूलाई समकालीन मान्यता वा विचार बाट सापेक्ष रूपमा खुला राख्छ, उसले नै सबैभन्दा बढी सिक्न सक्छ ।
हिजोसम्म केही नयाँ कुरा मा रराम्रो पकड जमाए जीवन रराम्रोसित चल्न सक्थ्यो भने अब त्यसरी मात्र काम नचल्ने भइसकेको छ । किनकि हिजोका कतिपय ज्ञान आज असान्दर्भिक भइसकेका छन् भने हिजो सिकिएका कैयन् कुरा ले आज काम गर्न छाडिसके । हिजो अँगालिएका कतिपय मूल्यमान्यता, सोच र कार्यशैलीले नै जीवनलाई जटिल बनाइरहेको हुनसक्छ । मूल्यमान्यता, सामाजिक राजनीतिक संरचना र संस्था सबै मानिसको सुखमय र जीवनलाई सहज बनाउन निर्मित हुन् । त्यसले झन् व्यक्तिगत वा सामाजिक जीवन नै दुरुह बनायो भने त्यसलाई त्यागिदिनु पर्छ । त्यसैले अब हामीसँग नयाँ कुरा सिक्ने रुचि र सीप भएर मात्र हुँदैन, सिकेका कुरा छाड्न/बिर्सन (Unlearn) सक्ने सीप र क्षमता पनि चाहिएको छ । सिकेको कुरा छाड्न सकियो भने मात्र नयाँ शिराबाट पुनः सिक्न (relearn) सकिन्छ ।
३. सृजनशीलता एवं नवीनता
कुनै पनि कुरा लाई भिन्न तरिकाले सोच्ने वा भएकै कुनै चीजलाई नयाँ तरिकाले प्रस्तुत गर्ने सीप या कलाको नाम हो, सृजनशीलता । हरेक व्यक्तिसित केही न केही सृजनशीलता पक्कै हुन्छ । यसलाई विभिन्न क्रियाकलाप को माध्यमबाट उजागर गर्न सकिन्छ । व्यक्तिमा सृजनशीलताको विकास गराउने काम मूलतः स्कूलले नै गर्नु पर्दछ । सृजनशील सोचमा मुख्यतः चारवटा कुरा पर्छन्ः
१) नयाँ सम्भावनाको ढोका खोल्नु, २) जोखिम मोल्न उद्यत हुनु, ३) परीक्षण र सम्भावनाको खोजी गर्नु , ४) आफूसित भइरहेको ज्ञानलाई नयाँ तरिकाले प्रयोग गर्नु ।
व्यक्तिले आफूलाई जति बढी खोज्दै (Explore) जान्छ उसको सृजनशीलता उति नै बढ्छ । यही सृजनशीलताले नै मानिसलाई नवीन कुरा सृष्टि गर्न (innovative) समर्थ बनाउँछ । जति बढी सृजनशील भयो, वस्तु वा सेवाको उत्पादन— वितरणमा होस् वा सामाजिक/मानवीय सेवाको क्षेत्रमा होस् ठोस र मौलिक योगदान उति नै बढ्न जान्छ । स्कूलका सन्दर्भमा होस् वा पेशा व्यवसाय गर्दा; अमेरिकीहरू जहिले पनि एउटै शब्द दोहोर्याइरहन्छन्, (भिन्न होऊ, नयाँ कुरा गर, नयाँ कुरा देखाऊ) ‘मेक डिफरेन्स’ । ‘नयाँ छुट्टै केही गर्ने ’ मन्त्रले काम गरेका कारण अमेरिका आज यति समृद्ध बन्न सफल भएको हो ।
४. समालोचनात्मक सोच, निर्णय क्षमता र समस्या समाधान
कान छाम्न छाडेर कागको पछि लाग्नु हुन्न भन्ने नेपाली उखानले समालोचनात्मक सोचलाई गहिरोसित पक्रेको छ । कुरा कानीका क्रममा वा मिडियाबाट आएका आफ्नो चासोका कुरा लाई सोझै स्वीकार न गरी आवश्यकतानुसार सत्यापन जाँच्ने, त्यो कुरा या काम किन भयो भनी कारण खोज्ने र त्यसबाट व्यक्ति या समाज लाई पर्न सक्ने सकारात्मक या नकारात्मक कुरा हरूको विश्लेषण गर्ने सीप चाहिन्छ । समस्या समाधानका वैकल्पिक उपायहरू खोज्न आफैं अग्रसर हुनुपर्छ ।
समालोचनात्मक सोचले परम्परागत कुरा हरूको वस्तुनिष्ठ विश्लेषण गरेर त्यसका सकारात्मक पक्षहरूग्रहण गर्न प्रेरित गर्ने मात्र होइन, पुराना कुरा हरूलाई नयाँ तरिकाले प्रयोगमा ल्याउन पनि मद्दत गर्छ । मानिसमा समस्या समाधानमुखी सोचको विकास युवावयमा प्रवेश न गर्दै गरिदिनुपर्छ । हरेक समस्याको समाधान सम्भव छ । प्रत्येक सङ्कट आफैँमा एउटा अवसर हो; त्यसलाई सकारात्मक अवसरमा बदल्न सकिन्छ भन्ने तरिकाले सोच्न सिकाउनु पर्छ । मानिसलाई समस्या बढाउने नभएर समाधानमुखी तुल्याउनुपर्दछ ।
स्कूले केटाकेटीहरूमा निर्णय क्षमताको विकास हुनु नितान्त आवश्यक छ, किनकि सफल जीवनको लागि यो अत्यावश्यक हुन्छ । स्कूलसँग सम्बन्धित निर्णय प्रक्रियाहरूमा उनीहरूको अधिकतम सहभागिता, समूह कार्य लगायतका शिक्षण सीपहरूमार्फत त्यस्तो क्षमताको विकास गर्न सकिन्छ ।
५. उद्यमशीलता
नेपालका स्कूलहरूमा अझै पनि व्यक्तित्व निर्माणमा भन्दा घोकन्ते विद्यामा जोड दिइन्छ । शायद त्यसैले होला, स्कूल पार गरिसक्दा पनि हाम्रा अधिकांश विद्यार्थीहरूमा ‘केही गर्ने ’ आत्मविश्वास कमै भेटिन्छ । ऊर्जावान उमेरमा ‘केहीगरौं’ भन्ने भावना त हरेकमा हुन्छ, तर बाञ्छित आत्मविश्वासको कमीले त्यसलाई व्यवहारमा अभिव्यक्त गर्न सकेको पाईंदैन । त्यस्तै; ‘म यो काम आफैँ शुरु गर्छु’ वा ‘मैले स्कूल सकेपछि फलानो नयाँ काम गर्ने सोच बनाएको छु’ भन्ने भनाइ सुन्न हत्तपत्त पाइन्न । त्यसको एउटा कारण हो, उद्यमशील अवधारणाको अभाव । खासमा माध्यमिक देखि उच्च माध्यमिक तहको चार वर्षको अवधिमा विद्यार्थीहरूमा उद्यमशीलताको सोच विकसित गराउने काम शिक्षककै हो । त्यसका लागि शिक्षकले सर्वप्रथम विद्यार्थीमा आत्मविश्वास जगाउनुपर्छ । आत्मविश्वासी मानिस मात्रै ‘केही गर्ने ’ अठोट लिन र त्यसलाई सफल पार्न निरन्तर लागिरहन सक्छ । त्यस्तै आफ्नो अठोटलाई सार्थक तुल्याउन आवश्यक साधन–स्रोतको जोहो गर्ने क्षमता, आवश्यक प्रविधिको ज्ञान र त्यसको उपयोग गर्ने दक्षता चाहिन्छ । यी सबै कुरा लार्ई सार्थक नेतृत्व प्रदान गर्ने दक्षता पनि स्कूले शिक्षाले दिनुपर्दछ ।
६. अन्तर वैयक्तिक सीप
प्रभावकारी सञ्चारः मनमा लागेको कुरा बोलेर वा लेखेर प्रभावकारी तरिकाले व्यक्त गर्न सक्षम हुनुपर्दछ । आफ्ना अनुभूतिहरूलाई अभिव्यक्त गर्न समर्थ हुनुपर्दछ । त्यस्तै अरूका कुरा धैर्यपूर्वक सुन्ने क्षमता चाहिन्छ र सुनिसकेपछि कसैलाई आरोप नलगाइकन प्रतिक्रिया वा पृष्ठपोषण दिने सीप हुनुपर्दछ ।
सम्झौता र असहमतिः द्वन्द्व या असहमतिहरूको बीचबाट मिलनबिन्दु खोज्ने र सम्झौता गर्ने सीप चाहिन्छ । यदि सम्झौता गर्न नसकिने अवस्था छ भने सौहार्द वातावरणमा असहमति राख्ने र विना झैंझगडा असहमति राखेर सँगै बस्न या काम गर्न सक्ने क्षमता पनि केटाकेटीहरूमा विकास भइसकेको हुनुपर्दछ ।
सहकार्यः अरूलाई सम्मान गर्ने, अरूका योगदान र भिन्न शैलीलाई पनि उत्तिकै सम्मान गर्ने, आफ्नो क्षमताको मूल्याङ्कन गरी साझा लक्ष्यका लागि समूहमा मिलेर काम गर्ने तथा सकेको योगदान दिने सीप, कला र आँट विद्यार्थीले विद्यालय तहमै सिक्न पाउनुपर्छ ।
अरूलाई सुन्नेः अरूको कुरा (अनुभूति) सुन्ने । भावना बुझने । बुझेको कुरा अभिव्यक्त गर्ने ।
वकालतः आफ्ना दृष्टिकोण या अन्तरात्माको आवाजबाट अरूलाई प्रभावित गर्ने । धेरै मानिसहरूको बीचमा सञ्जाल बनाउने र तिनलाई परिचालन गर्न उत्प्रेरित गर्ने ।
आत्मविश्वासः कसरी आत्मविश्वास जगाउन र बढाउन सकिन्छ भन्ने तरिका थाहा पाएको हुनुपर्छ । जागृतिः आफ्नो अधिकार, कर्तव्य, उत्तरदायित्वहरू थाहा पाएको हुनुपर्छ र त्यसप्रति सजग भएको हुनुपर्दछ । आफ्नो लक्ष्य हासिल गर्ने नाममा मानवीयतालाई कुल्चिने काम हुने छैन भन्नेमा ऊ सजग र सतर्क भएको हुनै पर्छ ।
संवेग र उत्तेजनाको व्यवस्थापनः कारणबस उठ्ने रिसको विवेकसम्मत व्यवस्थापन । परिवारका सदस्य या आफन्तहरूको वियोग हुँदा त्यसबाट विचलित नहुने । दुर्घटनाबस आफ्नो भौतिक क्षति भएमा वा आर्थिक क्षति भएमा वा कसैबाट शोषण भएमा त्यस परिस्थितिमा पनि विचलित नभई त्यसको सहजतापूर्वक सामना (coping) गर्ने क्षमता आदि पर्दछन् । तनाव व्यवस्थापनः हरदम सकारात्मक सोच राखेर बस्ने । समयको सही तरिकाले व्यवस्थापन गर्ने । कामको चापका बीचमा पनि आफूलाई चिन्तामुक्त र फूर्तिलो (relaxation) मा राख्ने तरिकाहरू जानेको हुनुपर्दछ ।
७. डिजिटल साक्षारता
स्मार्ट फोन, कम्प्युटर, इन्टरनेट लगायतका डिजिटल प्रविधि र यसको उपयोगिताबारे ज्ञान हुनुपर्दछ । त्यस्तै यस प्रविधिको उपयोग गरेर ज्ञान हासिल गर्ने देखि व्यावसायिक/पेशागत सफलता हासिल गर्ने सीप पनि आवश्यक पर्दछ । त्यस्तै गरी मिडिया साक्षारता पनि उत्तिकै आवश्यक कुरा हो ।
८. वित्तीय साक्षारता
व्यक्तिगत देखि व्यावसायिक लक्ष्य हासिल गर्नका लागि चाहिने वित्तीय स्रोतको पहिचान देखि त्यसको प्राप्ति र परिचालन गर्ने ज्ञान हुनुपर्दछ ।
९. करिअर
आफू कुन क्षेत्रमा करिअर कहिलेबाट शुरु गर्ने भन्ने कुरा मा सुस्पष्टता र रराम्रो तयारी चाहिन्छ । त्यसैले माध्यमिक वा उच्च मावि तहको शिक्षा पूरा गर्दासम्म विद्यार्थीहरूमा करिअर थालनी गर्नका लागि चाहिने न्यूनतम कुरा हरूबारे जानकार हुनैपर्छ । करिअरमा सफल हुन माथि उल्लिखित अन्तरवैयक्तिकगुणका अतिरिक्त एक जना मानिसमा निम्न कुरा हरू पनि आवश्यक पर्छ । पहिलो, लचकता र परिस्थितिलाई आत्मसात् गर्ने सीप । दोस्रो, आवश्यक देखेको कुरा मा आफैं पहलकदमी गर्ने र स्वनिर्देशित हुने । तेस्रो, सामाजिक र अन्तरसांस्कृतिक वातावरणमा काम गर्ने क्षमता । चौथो, उत्पादकत्व बढाउने क्षमता र उत्तरदायित्व पूरा गर्ने दक्षता । पाँचौं, नेतृत्व क्षमता र आफ्नो जिम्मेवारी पूरा गर्ने दक्षता ।
१०. हीनभावनाबाट मुक्ति
विभिन्न कारणहरूले गर्दा धेरैजसो नेपालीहरू हीनभावनाबाट मुक्त हुनसकेका छैनन् । राजनीतिक अस्थिरता, सुशासनको अभाव, जनमुखी विकास को कमी र प्रजातान्त्रिक पद्धतिको स्थायित्व एवं विकास हुन नसक्दा विकसित देशको दाँजोमा आफूहरू निकै पछि परेको देखेर नेपालीहरूमा हीनभावना बढेको बुझन कठिन छैन । विद्यार्थीमा आत्मविश्वास भर्ने र समाज परिवर्तनको संवाहक बन्ने जिम्मेवारी बोकेको स्कूल स्वयं पनि हीनभावना बढाउनमा कहीँ न कहीँ जिम्मेवार देखिन्छ । अतः म सक्छु, हामी राम्रा छौं, देश पनि रराम्रो बनाउन सक्छौं भन्ने भावनाको बीजारोपण गरेर विद्यार्थीमा हामी देश समृद्ध पार्न सक्छौं भन्ने भावना विकसित गर्नु आवश्यक छ । शिक्षक, अभिभावक मात्र मिलेर आफू पनि हीनभावनालाई त्याग्दै जाने र स–साना नानीहरूमा हीनताबोध सार्न बन्द गर्न सकियो भने आजलाई त्यही काफी हुन्छ होला ।
युरोपियन तथा अमेरिकी युवायुवतीहरू साइकल चलाउने,गाडी हाँक्न देखि घरको बिजुली मर्मतसम्भारसम्मका काम आफैँ गर्न जान्दछन् । त्यस्तै स्वास्थ्य तथा मनोरञ्जनका लागि नाच्ने, पौडी खेल्ने कला पनि उनीहरूमा हुन्छ । दैनन्दिनको लागि आवश्यक सीप भएपछि मानिसमा स्वतः आत्मविश्वास बढ्दोरहेछ । त्यस्तै हाम्रा स्कूलहरूले पनि हरेक विद्यार्थीलाई आत्मनिर्भर बन्न सघाउने साना ठूला सबै सीप सिकाउन ढिलाइ गर्नु हुँदैन ।



