विद्यार्थीको व्यक्तित्व निर्माणमा शिक्षकको भूमिका
शिक्षकहरू राष्ट्रिय संस्कृतिको फूलबारी सजाउने सिपालु बगैंचे मानिन्छन् । उनीहरू संस्कृति र संस्कारका जरामा मल हाल्छन् र आफ्नो श्रम र पसिनाले सिञ्चन गरेर तिनलाई जीवन्त र शक्तिशाली बनाइदिन्छन् । यहाँ संस्कार र संस्कृतिका जरा भनेका विद्यार्थी हुन् । पूर्वीय संस्कृतिमा शिक्षकलाई एक आध्यात्मिक नेता तथा समाज सुधारकको मान्यता दिनुको मूल आधार नै यही हो ।
तर आजको विज्ञान र प्रविधिको चहकिलो युगमा शिक्षकहरूको छवि भनेगिर्दो छ । उनीहरूले बालबालिकाहरूमा सुसंस्कार र आदर्शका मूल्य रोपण गरेर मात्रै आफ्नो हैसियत र छवि सुधार्न सक्छन् । संस्कारयुक्त युवाशक्तिको उदय भएर देशको फूूलबारी सुगन्धित हुन थाल्यो भने मात्र शिक्षकहरूले आफ्नो परिश्रमको उचित प्रतिफल पाउन सक्छन् । देशै मगमग हुन थालेपछि शिक्षकको आत्मा स्वतः आनन्दविभोर हुन्छ ।
भारतीय विद्वान डा. राधाकृष्णनले आजभन्दा पाँच दशकअघिको विश्व समाज को विश्लेषण गर्दै भनेका थिए— “हामीकहाँ मात्र होइन, सम्पूर्ण विश्वमा देखा परिरहेको नैतिक विचलनको एउटा कारण शिक्षामा आएको विकार हो । शिक्षाको सम्बन्ध नैतिक र आध्यात्मिक मूल्य–मान्यतासँग नहुनु नै यो समस्याको जड हो । आजको शिक्षा फगत मस्तिष्क विकास को माध्यम बन्न पुगेको छ ।”
उनले त्यतिवेला बोलेको सत्य आज हामी भोग्दैछौं । विज्ञान र प्रविधिको शक्तिले विश्व समाज र हराम्रो जीवनका प्रत्येक पक्षलाई प्रभावित गरेको छ । शिक्षा क्षेत्र अपवाद रहन सक्ने कुरा थिएन । आज ज्ञान र सूचनाको भण्डार त खुलेको छ तर यहीवेला शिक्षक र विद्यार्थीको सम्बन्ध कक्षाकोठाको औपचारिकतामा सीमित हुनपुगेको छ । उनीहरूबीचको हार्दिकता क्षय भएको छ । विद्यार्थीप्रतिको हार्दिक भावनाका कारण पहिलेका शिक्षकहरू विद्यार्थीको व्यक्तित्व निर्माण गर्ने कार्र्यलाई आफ्नो सर्वोच्च कर्तव्य र उपलब्धि ठान्दथे । त्यसनिम्ति उनीहरू आफ्ना विद्यार्थीलाई सर्वगुणसम्पन्न बनाउन अथक् परिश्रम गर्दथे । राम जस्ता आदर्श व्यक्तित्व र अर्जुन जस्ता वीर धनुर्धारी बनाउन पाउनुमा त्यतिवेलाका शिक्षकहरूलाई गर्व हुन्थ्यो । त्यसैले उनीहरू ’आदर्श शिक्षक’ कहलिन पुगेका थिए । कबीरले आफ्ना गुरुलाई ईश्वर भन्दा पनि महान भनेका थिए । अज्ञानको अन्धकारबाट उज्यालो क्षितिजमा लैजाने शिक्षक नै उनका लागि सर्वपूज्य थिए । त्यस हिसाबमा कबीर एक आदर्श विद्यार्थी थिए । हिजो शिक्षकहरूले सद्गुण सिकाउँथे, विद्यार्थीहरू सद्गुणी हुने लक्ष्य साधना गर्दथे । तर यी दुवै भावना आज छैनन् । यही हो फरक हिजो र आजको शिक्षाको प्रयोजनमा ।
ज्ञानको दायरा; सेवा भावना र विद्यार्थीप्रतिको लगावका दृष्टिले आजका शिक्षकहरू हिजोका गुरु समान छैनन् । त्यसै भएर तिनलाई ’ गुरु’ भनी सम्बोधन पनि गरिएको छैन । तर शिक्षकमा गुरुपन लोप भएकै परिणामस्वरुप आजका विद्यार्थीहरूमा इमान दारी, सरल जीवन, मैत्री; आचरण, अग्रजहरूको सम्मान गर्ने बानी, अध्ययनमा लगाव, सेवा भावना एवं देशप्रेम जस्ता विशेषगुणहरू समेत लोप भएका छन् । विद्यार्थीले आफ्ना शिक्षकबाट यी कुरा हरू सिक्नै पाएका छैनन् भने कसरी आफूमा विकसितगरुन् !
आफ्ना समस्याका पोका देखाएर शिक्षकहरू आफ्नो गुरुत्तर दायित्वबाट विमुख हुन कदापि पाउँदैनन् । किनभने, उनीहरूको काँधमा रहेको राष्ट्रका कर्णधारहरूको व्यक्तित्व निर्माणको दायित्व अन्यत्र सार्न सम्भव नै छैन ।
आज विद्यार्थीहरूमा अनुशासनहीनता, अराजकता र त्यस्तै अरू असामाजिक व्यवहारहरू विकसित भएको गुनासो गर्ने गरिन्छ । एक हिसाबले यो ठूलो समस्या पनि बनिसकेको छ । पहिलेका गुरुहरूले आफ्नो आचरण शुद्धिद्वारा विद्यार्थीहरूलाई सामाजिक मूल्यको शिक्षा दिन्थे— आफैँ उदाहरण बनेर । त्यसवेलाका गुरुकुल, पाठशाला वा मदरसामा सामाजिक मूल्य पढाउने छुट्टै किताब हुँदैनथ्यो । त्यो कामको जिम्मेवारी शिक्षकले स्वतः वहन गर्दथे । आज हामीसँग किताब त प्रशस्त छन् तर सदाचार पढाउने गुरु छैनन् । किताबले गुरुको काम गर्न सक्तैन । यहीँनेर फरक भेटिन्छ, आजको र हिजोको शिक्षा अनि त्यसको उत्पादनमा । किताबले गुरु विस्थापन गरे पछि गुरुको जिम्मेवारी रहेन र महत्व पनि घटेर गयो । यो रराम्रो लक्षण होइन । यसैकारणले अहिले सामाजिक मूल्य प्रवाह गराउने शिक्षा पद्धतिको आवश्यकता छ भनिएको हो । आज पनि आध्यात्मिक नेता समान का त्यस्ता गुरुको खाँचो छ जसले समाज लाई वास्तविक अर्थमै पथ–प्रदर्शन गर्न सकून् । पथप्रदर्शक विना पाथेयको लक्ष्य प्राप्ति सम्भव हुँदैन ।
गुरु हुनुको अर्थ हो, समाज परिवर्तनको अभिभारा वहन गर्नु । आजका शिक्षकलाई त्यस मार्गमा अभिमुख गर्नु जरुरी छ । शिक्षकलाई आफूहरू जनसेवा कार्यमा लागेको छु भन्ने कुरा मा विश्वस्त तुल्याउन सक्नुपर्छ । भारतीय विद्वान श्री अरविन्दले भन्नुभएको थियो, “शिक्षकहरू राष्ट्रिय संस्कृतिको फूलबारी सजाउने सिपालु बगैंचे हुन् । यिनले विद्यार्थीहरूमा सांस्कारिक आत्मानुशासन हुर्काउन मलजल गर्छन्, अनि आफ्ना पसिनाले सिञ्चन गरेर तिनलाई महाप्राण शक्ति बनाइदिन्छन् ।”
कोलम्बिया युनिभर्सिटीका प्रख्यात शिक्षकगिलवर्ट हाईघेटले एक पुस्तक लेखेका थिए— शिक्षण कला (आर्ट अफ टिचिङ १९५२, न्यूयोर्क) । यो ज्यादै चर्चित र उपयोगी रह्यो । पुस्तकमा उनले शिक्षकको परिभाषा यसरी दिएका थिए, “एउटा असल शिक्षक त्यस्तो व्यक्तित्व हो जसमा एउटा असल पुरुष वा महिलामा हुनेगुणहरू विद्यमान हुन्छन्, ऊ विनोदप्रिय र उदार हुन्छ, उसको स्मरणशक्ति रराम्रो हुन्छ । उसमा आफ्नो विषयको रराम्रो ज्ञान त हुनु पर्छ नै । ऊ आफूसँग भएको ज्ञान अनुसारको आचरण पनि गर्द छ, अनि आफ्ना विद्यार्थीहरूसँग सदासर्वदा स्नेही भाव राख्छ ।” यस्तागुण भएका शिक्षकहरूको अभाव दिन पर दिन बढ्दै गइरहेको छ । देशको भावी पिँढीलाई संस्कार दिनुपर्छ भन्ने भावना र प्रतिबद्धता भएका शिक्षकको कमी नै अहिलेको बिडम्वना हो ।
आजका शिक्षकहरू अनेकन समस्यामा जेलिएका छन्, यसमा शङ्का छैन । तर यसको मतलब आफ्ना समस्याका पोका देखाएर शिक्षकहरू आफ्नो गुरुत्तर दायित्वबाट विमुख हुन पाउँछन् भन्ने कदापि होइन । बरु, शिक्षकहरूले आफ्नो कार्यशैली र छवि सुधार्नतिर लाग्नैपर्छ किनभने उनीहरूको काँधमा रहेको राष्ट्रका कर्णधारहरूको व्यक्तित्व निर्माणको दायित्व अन्यत्र सार्न सम्भव नै छैन ।
युग परिवर्तनसँगै विद्यार्थीहरूको सोच्ने र बुझने शैलीमा पनि परिवर्तन आएको छ । आजका विद्यार्थीहरू उपदेश सुन्न मन पराउँदैनन् । यसकारण शिक्षकले नैतिकता, सद्चरित्र वा अन्य ज्ञानको बारेमा विद्यार्थीसामु लामा–लामा लेक्चर दिन छोडेर आफ्नो चरित्र र व्यवहार अनुकरणीय बनाउनेतिर लाग्नुपर्छ । विद्यार्थीहरूलाई चारित्रिकगुण सिकाउने सबैभन्दा उत्तम उपाय नै यही हो । शिक्षकले कक्षा लिइरहेको वेला धेरैजसो विद्यार्थीका आँखा शिक्षककेन्द्रित हुन्छन् । त्यतिवेलै विद्यार्थीले शिक्षकलाई विभिन्न कोणबाट मूल्याङ्कन गरिरहेका हुन्छन् । उनीहरूले शिक्षकको विद्याशक्ति मात्र होइन, उसको हाउभाउ र तौरतरिका, पोशाक आदिमा पनि आँखा लगाइरहेका हुन्छन् । ती सबबाट प्रभावित भए भने मात्र कक्षा सकिएपछि पनि विद्यार्थीहरू आफ्नो शिक्षकसँग थप मार्गनिर्देशन लिन आउँछन् । जबसम्म विद्यार्थीहरूमा शिक्षकप्रति आदरभाव विकसित हुदैन तबसम्म त्यस शिक्षकबाट विद्यार्थीले सिक्न सक्तैनन् । त्यसकारण पनि शिक्षकहरूले विद्यार्थीसँग सहृदयी हुनु आवश्यक हुन्छ ।
शिक्षकहरूले जाति, धर्म, लिङ्ग, आर्थिक, राजनीतिक र सामाजिक आधारमा कुनै पनि किसिमको भेदभाव राख्नुहुदैन । तर हाम्रा शिक्षकहरूलाई उनीहरूको उत्तरदायित्वका बारेमा केही बताइएकै छैन— यो हराम्रो शिक्षा प्रणालीको ठूलो कमजोरी हो । शिक्षाको मूल उद्देश्य जिम्मेवार, कर्तव्यनिष्ठ र चरित्रवान नागरिक उत्पादन गर्नु हो भन्ने कुरा शिक्षकहरूलाई जसरी बुझाउनुपर्ने थियो, बुझइएको छैन । यथेष्ट असल नागरिक उत्पादनमा शिक्षकहरूको पर्याप्त ध्यान जान नसक्नुको एउटा कारण यो पनि हो । जबकि जुनसुकै राष्ट्रको विकास र सुरक्षा उसका चरित्रवान नागरिकमा निर्भर हुने गर्द छ ।
अमेरिकाका समाज सुधार अभियानकर्ता मार्टिन लुथर किङ (जुनियर)ले स्पष्ट भनेका थिए— कुनै पनि राष्ट्रको सम्पन्नता न त धेरै राजस्व सङ्कलन गरेर हुन्छ न सदृढ सुरक्षा व्यवस्था वा सुन्दर सरकारी भवन बनाएर हुन्छ; देशमा साँच्चिकै सम्पन्नता त त्यहाँका प्रबुद्ध, सुशिक्षित एवं चरित्रवान नागरिकहरूबाट आउँछ । यिनै मानिसमा मात्र देशको सच्चा हित र शक्ति रहेको हुन्छ ।
देश र समाज ले चरित्रवान व्यक्तिहरूको छायाँमा मात्र आफूहरूलाई सुरक्षित महसुस गर्छन् । यही कारणले असल र सच्चा नागरिक निर्माणमा शिक्षकहरूको भूमिकालाई सुदृढ बनाउनु अति आवश्यक छ । शिक्षकहरूले नै विद्यार्थीहरूलाई नेकी वदीको ज्ञान दिइरहेका र संस्कारवान नागरिकमा परिणत गरिरहेका हुन्छन् ।
हराम्रो दुर्भाग्य ! हराम्रो देशमा शिक्षा दिने कामलाई व्यक्तित्व निर्माणको कामसँग जोडिएकै छैन । आजसम्म जे जति भएका छन् ती सबै कागजी घोडा भएका छन् । परिणामतः बढ्दो साक्षरतासँगै उच्छृङ्खल जमात बढिरहेको छ । यस्तो पिँढीलाई देशको मूल्य–मान्यता वा संस्कृति–संस्कारसँग कुनै चासो नै छैन ।
हराम्रो शिक्षा नीतिले देशको साझ सांस्कृतिक धरोहर तथा समान तावादी लोकतन्त्रको रक्षा गर्नु को साथै वैज्ञानिक दृष्टिकोणलाई अघि बढाउने पवित्र उद्देश्य लिएको छ । तर विद्यार्थीलाई त्यस्तो शिक्षा चाहिँ दिइएको छैन । अझ् यथार्थ त के हो भने; देशको पहिचान खुल्ने गरी सामाजिक मूल्यमान्यता कायम राख्ने प्रतिबद्ध नागरिक उत्पादन गर्ने पाठ्यवस्तु नै छैन । यस्तो स्थितिमा भावी पिँढीलाई चरित्र निर्माण र कर्तव्यनिष्ठताको पाठ कसले पढाउने ? कोरा सरकारी नीतिले मात्रै त काम गर्दैन ! यसकारण पनि शिक्षकहरू अझ् बढी जिम्मेवार हुनु आवश्यक छ । उनीहरूले आफ्ना प्रयासबाट विद्यार्थीहरूलाई जीवन मूल्य, त्याग, समर्पण, स्वाध्याय, नियमितता, निष्पक्षता, आत्मीयता, इमान दारी, ज्ञानपिपासा जस्ता कुरा सिकाइदिनुपर्छ जुन ज्ञानको अनुसरण गरेर विद्यार्थीहरूले सत्य, सेवा, मानव प्रेम, त्याग, कर्तव्यनिष्ठता, आत्मबल तथा विवेकशीलता जस्तागुण विकास गर्न सकून् । उनीहरूको शक्ति बढ्न सकोस्, हौसला बढोस् र देश निर्माणको काम गर्न सकून् ।
विद्वान राधाकृष्णनले सही नै भनेका थिए— चरित्रले भविष्य निर्माण गर्द छ । चरित्रवान नागरिकमै देशको भविष्य निर्भर हुन्छ । कमजोर चरित्र भएका नागरिकले उन्नत देश बनाउन सक्तैनन् । देशको विकास र संस्कार संचयनका लागि उच्च चरित्र भएका नागरिकहरू आवश्यक पर्दछन् । चरित्रवान नागरिकको भूमिका देश निर्माणका लागि अतुलनीय हुन्छ । नागरिकको चरित्र निर्माणद्वारा नै देशको चरित्रको विकास गर्न सकिन्छ । चरित्र निर्माणको दायित्व विनाको शिक्षा र पवित्रता विनाको चरित्र दुवै अर्थहीन हुन्छन् ।
सरलीकृत अनुवादः हस्त गुरुङ
(शिक्षा–विचार, फेब्रुअरी–मार्च, ०३)



