जिज्ञासा र जवाफ
अनुमतिपत्र अनिवार्य छ
माध्यमिक र निम्नमाध्यमिक तहमा विज्ञान विषयका राहत शिक्षक नियुक्त गर्दा अध्यापन अनुमतिपत्र अनिवार्य गरिएको पाइँदैन । के अब शिक्षक सेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक परीक्षामा पनि अनुमतिपत्र नभएका उम्मेदवारले विज्ञान विषयमा आवेदन गर्न पाउँछन् ? साथै; शिक्षण अनुभवका आधारमा अनुमतिपत्र दिने व्यवस्था यस वर्ष लागू हुन्छ कि हुँदैन ?
लक्ष्मणप्रसाद भट्टराई
शोभा बस्याल
जनता उमावि, डैनहवा, नवलपरासी
सुरेश कुमार शर्मा
सिद्धार्थ निमावि, मोतीपुर–१ बर्दिया
विकट गाउँका स्कूलमा विज्ञान विषयमा अनुमतिप्राप्त शिक्षक नपाएर शिक्षणमै व्यवधान परेको अवस्थामा अनुमतिपत्र नभएका व्यक्तिबाट पनि काम चलाइएको हुनसक्छ । तर, कानुनतः अनुमतिपत्र अनिवार्य हो । त्यसैले अनुमतिपत्र नभई खुला प्रतियोगितामा आवेदन दिन पाइँदैन । साथै, अनुभवका आधारमा अनुमतिपत्र दिने व्यवस्था यस वर्ष लागू हुने छैन ।
वैकुण्ठप्रसाद काफ्ले
उपसचिव, शिक्षक सेवा आयोग
राहतको सेवागणना हुन्छ कि हुन्न ?
मेरो उमेर स्थायी पदमा नियुक्त हुनको लागि अयोग्य भइसकेको छ । तर, म उमेर छँदै राहत शिक्षक पदमा नियुक्ति पाएर शिक्षण गर्दै आएको छु । पछि गएर स्थायी हुने प्रक्रियामा मेरो सेवा अवधिगणना हुन्छ कि हुँदैन ?
रुपेन्द्र केसी (दङ्गाली)
त्रि.ज. मावि, लक्ष्मीपुर, सल्यान
तपाईंको जिज्ञासा सरकार र शिक्षक युनियनबीचगत वर्ष भएको सहमतिका बुँदासँग सम्बन्धित रहेको देखिन्छ । कानुनतः ४० वर्ष उमेर पूरा भएको व्यक्ति शिक्षकको उम्मेदवार हुन योग्य मानिँदैन ।गत वर्षको सहमति अनुसार, शिक्षा ऐन संशोधन भएको अवस्थामा २१ साउन २०६१ सम्म कार्यरत अस्थायी शिक्षकलाई मात्रै उमेरको हद लाग्ने छैन ।
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय
एम.एड. नै चाहिने हो ?
विद्यालय क्षेत्र सुधार योजनाले कक्षा १–८ लाई आधारभूत तह र कक्षा ९–१२ लाई माध्यमिक मानेको छ । जस अनुसार, माध्यमिक तहमा पढाउन स्नातकोत्तर तह उत्तीर्ण गर्नु पर्ने व्यवस्था गरिएको छ । बी.एड. गरेर अरू नै सङ्कायबाट स्नातकोत्तर गरेको शिक्षकले माध्यमिक तहमा पढाउन पाउँछ कि पाउँदैन ?
नवराज भट्टराई
कनकाई मावि, सुरुङ्गा– ५, झपा
माध्यमिक तह (कक्षा ९–१२)का लागि एम.एड. वा सो सरहको योग्यता आवश्यक पर्नेछ । शिक्षा बाहेकका सङ्कायबाट स्नातकोत्तर गरेकाले एकवर्षे शिक्षक तयारी कोर्स गर्नु पर्छ । त्यो कोर्स त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायमार्पmत दिने व्यवस्था मिलाइनेछ ।
शिवकमार सापकोटा
उपनि र्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र
म केगरुँ ?
म २०४० सालमा स्थायी नियुक्ति पाएको प्राथमिक तृतीय श्रेणीको शिक्षक हुँ । हालसम्म मेरो बढुवा भएको छैन । उमेर हदका कारण मैले आउँदो २०६८/०३/१४ गते अनिवार्य अवकाश पाउँदैछु । शिक्षा नियमावली अनुसार मैले एक श्रेणी बढुवा पाउँला । तर, अहिले प्राथमिक तृतीयको भन्दा द्वितीय श्रेणीको तलब कम भएको सुनिएको छ । त्यसो भए मैले यो प्रक्रियाबाट नभई तृतीय श्रेणीबाटै अवकाश पाउन मिल्दैन ?
वासुदेव शर्मा
जनकल्याण प्रावि, दार्माकोट–८, सल्यान
प्राथमिक तृतीय श्रेणीको शिक्षक द्वितीय श्रेणीमा बढुवा हुँदा उसले तृतीय श्रेणीको तलब रग्रेड रकमभन्दा द्वितीय श्रेणीको तलब कम भएमा तल्लो पदमा खाईपाई आएको रकमभन्दा कम नहुने गरीग्रेड वृद्धि गर्ने व्यवस्था शिक्षा नियमावलीमा छ । त्यसैले तपाईंले द्वितीय श्रेणीमा बढुवा भई अवकाश लिँदा नै रराम्रो होला ।
मधुसूदन अधिकारी
उपसचिव, विद्यालय शिक्षक किताबखाना
मेरो सिटरोल नम्बर कता परयो ?
मैले २०६३/०८/२९ मा जिशिका, रोल्पाबाट स्थायी नियुक्ति पाएपछि त्यही साल ७ चैतमा तीन प्रति सिटरोल फारम बुझएको थिएँ । मसँगै फारम बुझएका साथीहरूको सिटरोल नम्बर आइसक्यो । मेरो भने अझै प्राप्त भएको छैन । जिशिकामा सोध्दा शिक्षक किताबखानाबाटै आएको छैन भन्ने जवाफ पाइयो । मेरो सिटरोल नम्बर किन आएन ?
कृष्णबहादुर वली
भृकुटी प्रावि, राङ्सी–१, रोल्पा
जिशिका, रोल्पामार्पmत शिक्षक किताबखानामा प्राप्त तपाईंको सिटरोल फारम प्रमाणित भई तपाईंको सिटरोल नम्बर १२६३५६ कायम गरिएको छ । प्रमाणित गरिएको सिटरोल फारम छिट्टै नै जिशिकामा पठाउने तयारीमा छौं ।
मधुसूदन अधिकारी
उपसचिव, विद्यालय शिक्षक किताबखाना
राहत बन्द भएकै हो ?
म निम्नमाध्यमिक तहको राहत शिक्षक हुँ । अब राहत शिक्षक कोटा बन्द भयो भन्ने सुनेको छु । के यो सत्य हो ?
तुलाबहादुर माझी
श्री मावि, कपिलाकोट–२, सिन्धुली
आव २०६६/६७ देखि नै राहत अनुदान वितरण बन्द गरिएको हो । तथापि यसअघि दिँदै आइएको अनुदान यथावत नै रहनेछ । हाल राहतको सट्टा प्रति विद्यार्थी लागत(पीसीएफ)का आधारमा शिक्षक अनुदान दिने गरिएको छ ।
हरिगौतम
उपनि र्देशक, शिक्षा विभाग
६० वर्ष पर्खन गाह्रो भयो
म २०३७/०३/२२ मा स्थायी नियुक्ति पाएको प्राथमिक तृतीय श्रेणीको शिक्षक हुँ । मैले प्राथमिक शिक्षक तालिम प्रथम श्रेणीमा उत्तीर्ण गरेको छु । तर, पनि मैले बढुवा पाइनँ । मलाई ६० वर्ष उमेर पुर्याउन गाह्रो भइसक्यो । त्यसैले स्वेच्छिक अवकाश लिने सोचाइमा छु । मैले अवकाश लिँदा एक तह बढुवाको सुविधा पाउँला ?
गणेश कुमार खत्री
सरस्वती निमावि, काँडासिम्ता, सुर्खेत
६० वर्ष उमेर हद अनुसार अनिवार्य अवकाश पाउँदा मात्रै त्यसरी एक तह बढुवा पाइन्छ, बीचैमा अवकाश लिँदा पाइँदैन । बरु हालै संशोधित शिक्षा सेवा आयोग नियमावलीमा थपिएको ‘समयबद्ध बढुवा’को प्रावधानबाट तपाईंले स्वतः एक श्रेणी बढुवा पाउनुहुनेछ ।
मधुसूदन अधिकारी
उपसचिव, विद्यालय शिक्षक किताबखाना
समायोजन कसरी गरिएला ?
विद्यालय क्षेत्र सुधार योजना लागू भएपछि हाल प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा कार्यरत प्रथम, द्वितीय र तृतीय श्रेणीका स्थायी शिक्षक तथा अस्थायी, राहत र पीसीएफ अनुदानका शिक्षकहरूलाई आधारभूत तह र माध्यमिक तहमा कसरी समायोजन गरिन्छ ?
शोभा भट्टराई
बंजरिया–९, धरमपुर, नवलपरासी
शिक्षक व्यवस्थापन सम्बन्धी सुझाव दिनका निम्ति शिक्षा विभागका निर्देशक डिल्लीराम रिमालको संयोजकत्वमा गठित कार्यदलले अध्ययन गरिरहेको छ । उक्त कार्यदलले दिने सुझाव प्रतिवेदन र त्यस माथि नीतिगत छलफल भएपछि मात्रै समायोजनको ठोस खाका बन्नेछ ।
हरिगौतम
उपनि र्देशक, शिक्षा विभाग
राहतका प्रअलाई खोई भत्ता ?
स्थायी स्वीकृति नपाई अनुमति प्राप्त कतिपय विद्यालयमा राहत कोटाका शिक्षक पनि प्रअ छन् । तर, उनीहरूका लागि चाहिँ किन प्रअ भत्ता दिइँदैन ? यो त विभेद भयो नि ?
एल.पी. शर्मा
सुनकोशी प्रावि, रातमाटा, सिन्धुली
दीपक खासु
जन्मभूमि प्रावि, ढिकुरा –९, अर्घाखाँची
राहत कोटाबाट प्रअ भएका शिक्षकलाई पनि प्रअ भत्ता दिइँदै आइएको छ । यदि तपाईंहरूले पाउनुभएको छैन भने जिल्ला शिक्षा कार्यालयमा सम्पर्क राख्नुहोला ।
हरिगौतम
उपनि र्देशक, शिक्षा विभाग
सबैले पाउँछन् पोशाक–भत्ता ?
आव २०६७/६८ मा शिक्षक र कर्मचारीलाई रु.७ हजार ५०० पोशाक भत्ता दिने भन्ने सुनिएको छ । स्थायी, अस्थायी, राहतमध्ये कस्ता शिक्षकहरू पोशाक भत्ताको दायरामा पर्छन् ?
दीपक भट्टराई
जोगवाणी प्रावि, भुवनपोखरी–३, पाल्पा
रामचन्द्र अधिकारी
जलकन्या निमावि, बैरेनी–६, धादिङ
मन्त्रिपरिषद्बाट उक्त निर्णय भए पनि शिक्षा क्षेत्रका लागि विनियोजित बजेटमा पोशाक भत्ताको कार्यक्रम समेटिएको छैन । यसका लागि अर्थ मन्त्रालयबाट छुट्टै बजेट निकासा भएमा मात्रै पोशाक भत्ताबारे थप बताउन सकिनेछ ।
नवराज रिजाल
शाखा अधिकृत, शिक्षा मन्त्रालय
दुई प्रश्न
१. विशेष शिक्षा परिषद्अन्तर्गत कार्यरत शिक्षक, कर्मचारीले तलब बाहेक सञ्चयकोष,ग्रेड जस्ता सुविधाहरू पाउने व्यवस्था छ कि छैन ?
२. शिक्षा विभागको सूचनामूलक पुस्तिका (२०६०) मा विशेष शिक्षा परिषद् अन्तर्गतका शिक्षकलाई जागरण, आधारभूत र विशेष तालिम दिने उल्लेख छ । तर, २०६१ सालमा नियुक्ति पाएयता त्यस्तो तालिम लिने अवसर पाइएको छैन । यो अवधिमा कहिले तालिम सञ्चालन भयो ?
वैदेहीशरण यादव
उमावि बसबिट्टी, महोत्तरी
१. परिषद्बाट अनुदान उपलब्ध पाउँदै आएका विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन विद्यालय तथा अपाङ्ग हकहितसँग सम्बन्धित संघ/संस्थाबाट हुँदै आएको छ । तलब,ग्रेड, सञ्चयकोष जस्ता सुविधा तिनैले निर्धारण गर्छन् । परिषद्ले तलब/भत्ता र विविध शीर्षकमा एकमुष्ट रूपमा अनुदान निकासा दिँदै आएको छ ।
२. तालिम नपाएका शिक्षकका लागि शैक्षिक जनशक्ति विकास केन्द्रले तालिम केन्द्रमार्पmत विशेष विद्यालयमा कार्यरत शिक्षकका लागि पनि तालिम सञ्चालन गर्दै आएको छ । यसर्थ तपाईंले पनि सम्बन्धित जिशिकामा बुझेर तालिमको अवसरबारे जानकारी लिन सक्नुहुन्छ ।
नारायणप्रसाद सुवेदी
उपसचिव, शिक्षा विभाग
स्थायीलाई उमेरको हद लाग्दैन
म प्राथमिक तहको स्थायी शिक्षक हुँ । अहिले ४२ वर्षको भएँ र बी.एड. पास गरेको छु । मैले माध्यमिक तहको शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षा दिन पाउँछु ? साथै शिक्षक सेवा आयोगले लिने खुला प्रतिस्पर्धामा निम्नमाध्यमिक वा माध्यमिक शिक्षकका लागि आवेदन दिन पाउँछु कि पाउँदिनँ ?
ऋषिराम चिलुवाल
लताकुञ्ज निमावि, खुदी लमजुङ
स्थायी शिक्षकलाई अध्यापन अनुमतिपत्रको परीक्षामा आवेदन दिन उमेरको हद लाग्दैन । योग्यता पुगेको तहको लागि परीक्षा दिन पाइन्छ । साथै, सम्बन्धित तहको अनुमतिपत्र लिएपछि खुला प्रतिस्पर्धामा समेत आवेदन दिन सक्नुहुनेछ ।
विष्णुप्रसाद नेपाल
सहसचिव, शिक्षक सेवा आयोग
अनुरोधः यस स्तम्भमा शिक्षक मित्रहरूले जान्न चाहेका ज्ञान–विज्ञान सम्बन्धी कुरा , स्कूलमा सामना गर्नु परेका शैक्षिक र प्रशासनिक समस्या, चुनौती वा जटिलताको आधिकारिक जवाफ पहिल्याएर प्रकाशित गरिनेछ । – सम्पादक



