बर्बादीको जड
शिक्षकहरूलाई सही ठाउँमा ल्याउने र नसिहत दिने जिम्मेवारी बोकेको जिल्ला शिक्षा अधिकारी नै राजनीतिक दलको कार्यक्रममा सहभागी हुन्छन् भने त्यसले तराई–मधेश मात्र होइन मुलुकलाई नै बर्बाद पार्ने पक्का छ ।
मधेशका सरकारी स्कूलको पठनपाठन स्तर कस्तो छ ?
शिक्षकको चयन, योग्य शिक्षकको कमी तथा भएका शिक्षकको क्षमता अभिवृद्धि नभएकाले स्कूलको स्तर गिर्दै गएको छ । राजनीतिक प्रदूषणले त मधेशका स्कूललाई नरराम्रोसँग सताएको छ ।
यहाँका शिक्षकहरू त पढाउन छाडेर दलीय राजनीतिमा बढी लागेको पाइन्छ नि ?
राजनीतिक दलले शैक्षिक संस्थालाई आफ्नो मुठीमा लिन खोज्ने र विभिन्न लोभ राख्ने गरेका कारण विद्यालयमा राजनीति बढेको छ । यसको सीधा असर शिक्षकहरूमा परेको छ । शिक्षकहरूमा पेशागत आचारसंहिता बाहिर गएर राजनीतिक कार्यकर्ता बन्ने प्रवृत्ति बढेकाले समस्या पैदा भएको हो । शिक्षकहरू आचारसंहिताविरुद्ध राजनीतिक दलमा लागे पनि कतैबाट विरोध नहुनु चाहिँ लाजमर्दो कुरा हो ।
मधेश–तराईमा शिक्षकहरू मारिइरहेका छन् । यसमा कसलाई जिम्मेवार मान्ने ?
तराई–मधेशमा हत्या, हिंसा बढेको छ । शिक्षक मारिनुमा शिक्षक स्वयं पनि जिम्मेवार छन् । तर दोषी भनेरै हत्या गर्नु अनुचित हो । विद्यालयमा राजनीतिकगुटबन्दीका कारण पनि शिक्षकहरूको हत्या भएको हुन सक्छ ।
मधेशमा चन्दा आतङ्क र हतियारधारी समूह तथा हतियार बोकेका राजनीतिक दलको कारण पनि शिक्षकहरूको हत्या भइरहेको छ । अर्काे; विद्यालयमागुटबन्दीको स्थिति रहनु हो । तेस्रो, व्यक्तिगत आचरणले पनि शिक्षक मारिएका छन् ।
एसएलसी परीक्षामा हुने चिटिङले तराई–मधेशलाई बदनाम गराउने गरेको छ, यसलाई कसरी रोक्न सकिन्छ ?
मधेशमा शान्ति कायम नभएका कारण पनि मर्यादित परीक्षा नभएको हो । तर, चोरेर पास गरिएका प्रमाणपत्रको औचित्य के ? त्यसैले प्रत्येक सरोकारवालाले यसप्रति चिन्ता लिनु आवश्यक छ ।
जाँचको विकृतिलाई न्यूनीकरण गर्न कडा उपायहरू अवलम्बन गर्नु जरुरी छ । यसमा अभिभावकको पनि उत्तिकै दायित्व छ । विद्यालयको पठनपाठन व्यवस्थित भएमा चोर्नु/चोराउनु आवश्यक छैन ।
राजनीतिक दलका कार्यक्रममा शिक्षक मात्रै होइन अब त जिशिअ समेत सहभागी हुन थालेको पाइन्छ, यस्तो प्रवृत्तिले मधेशको शैक्षिक क्षेत्रलाई कता पु¥याउला ?
यस्तो प्रवृत्तिले समग्र मधेश मात्र नभएर पूरै राष्ट्रको शिक्षामा नै नकारात्मक असर पार्दछ । शिक्षकहरू आचारसंहिताभित्र छन्/छैनन् भनेर अनुगमन गर्ने व्यक्ति नै राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी हुनु निश्चय नै दुः खद् कुरा हो । शिक्षकहरूलाई सही ठाउँमा ल्याउने र नसिहत दिने शिक्षा अधिकारी को कर्तव्य हो तर शिक्षा अधिकारी यस्तो कामबाट विमुख हुँदा तराई–मधेश अरु बर्बाद हुने पक्का छ ।
शिक्षकहरूलाई कक्षाकोठामा फर्काउन के गर्नु पर्ला ?
विद्यालय व्यवस्थापन समिति, शिक्षा कार्यालय एवं अभिभावकले शिक्षकले काम गरे वा न गरेको अनुगमन गर्नु पर्छ । छैन भने प्रश्न उठाउनुपर्छ र स्कूलमा राजनीतिकरण बढ्न दिनुहुँदैन् । स्वच्छ वातावरणको निर्माणले मात्रै शैक्षिक विकास को ढोका खोल्छ ।
मधेशका स्कूलका समस्या के के हुन् ?
तराई, मधेशका प्राथमिक शिक्षाको माध्यम मैथिली, भोजपुरी, अवधी आदि भाषाहरू हुनुपर्नेमा राज्यबाट उदासीनता देखि एको छ । मातृ भाषाको शिक्षा हासिल गर्ने व्यवस्था न गरी तराईका छात्रछात्राको सिकाइ उपलब्धि बढाउन सकिँदैन ।
समग्र समस्याको एकमुष्ठ समाधान के ?
राजनीतिक दलहरूले शिक्षा क्षेत्रमा बढाएको राजनीतिक हात तान्नुपर्छ । शैक्षिक संस्थाहरूलाई भर्ती केन्द्र बनाउनु एवं कार्यरत शिक्षक, कर्मचारीहरूलाई कार्यकर्ता बनाई झ्ण्डा बोकाउने प्रवृत्तिलाई त्याग्नुपर्दछ, लोभ त्यागेर सहयोग गर्नु पर्ने हुन्छ । अभिभावक जागरुक हुनुपर्छ । शिक्षकहरूले आफ्नो पेशागत दायित्वलाई रराम्रो तरिकाले निर्वाह गर्नु पर्छ । राज्यले मातृभाषामा पनि प्रावि तहको पठनपाठन सहज बनाई घर–घरमा शिक्षा पुरयाउने लक्ष्य बनाउनुपर्छ ।
प्रस्तुतिः श्रवण देव



