हेराइ र बुझाइ
रटेको प्रश्न, रटेको उत्तर
एउटा राजा नागरिकलाई दर्शनभेट दिँदै गाउँ– गाउँ घुम्थे । अमरपुरका बासिन्दाले राजासित भेट गर्नका लागि गाउँमै बस्ने एउटा जोगीलाई आफ्नो प्रतिनिधि छाने । डरभरविनाको जोगीले नचाहिने कुरा गरिदेलान् भनेर राजाका कर्मचारीले उनलाई ‘सिकाएको कुरा मात्रै भन्न’ राजी गराए । उनीहरूले जोगीलाई राजासित सीधा–सीधा कुरा गर्न पनि भने; जस्तो— राजाले उमेर सोधे भने “यो नश्वर शरीरको उमेरको के कुरा ” भन्ने खालका उत्तर नदिएर “साठी वर्ष” भन्न र राजाले तपस्या गरेको अवधिका बारेमा सोधे भने कुरा नघुमाइकन “तीस वर्ष” भन्न सिकाए । तिनका सबै कुरा जोगीले स्वीकारे । दरबारका कर्मचारीले जोगीसँग गर्नु पर्ने प्रश्नको सूची राजालाई पनि दिए ।
भोलिपल्ट जोगीसँग भेट हुने बित्तिकै राजाले प्रश्न गरे , “तपाईंले तपस्या गर्नु भएको कति भयो ?”
जोगीका मुखबाट सिकाएकै क्रममा उत्तर खुस्क्यो— “६० वर्ष ।” आफ्नो मुखबाट गलत उत्तर निस्केको जोगीलाई थाहा भयो । तर, सही उत्तर दिन उनी स्वतन्त्र थिएनन् ।
राजाले फेरि सोधे, “अनि तपाईंको उमेर चाहिँ कति भयो नि ?” रटेको कुरा न हो, फेरि निस्क्यो, “तीस वर्ष ।” राजा छक्क परे । तर, उनले सम्हालिएर सोधे, “यस्तो पनि कहीँ हुन्छ ? तपाइँ पागल हो कि म पागल हुँ ?”
जोगीले भने, “महाराज, तपाईं र म दुवै पागल हौँ । तपाईं राजा भएर पनि प्रश्न रटेर आउनु हुन्छ र रटेको कुरा पनि सही ढङ्गले सोध्न जान्नुहुन्न । म अर्को पागल छु जो राजासित बोल्ने मौका पाउँदा पनि अर्काले रटाएको जवाफ बाहेक बोल्ने हिम्मत गर्द िनँ ।गलत प्रश्नकोगलत जवाफ नभएर के होस् त ?गलत प्रश्नोत्तरले हामीलाई पागल त बनाउने नै भयो नि !”
जोगीको पछिल्लो उत्तरले राजाको चेत खोलिदियो— रटेका प्रश्न र उत्तरले कुनै पनि कुरा सिकाउँदैन ।



