नयाँ नयाँ पाठ्यक्रम पुराना पुराना शिक्षक
विद्यालय तहको पाठ्यक्रम/पाठ्यपुस्तक हरेक पाँच–दश वर्षमा परिमार्जन तथा संशोधन गर्ने गरिएको छ तर परिमार्जित पाठ्यक्रम/पाठ्यपुस्तकका विषयवस्तुलाई कक्षाकोठासम्म पुरयाउने जिम्मेवारी बोकेका शिक्षकहरूलाई स्वतः (इनबिल्ट) अद्यावधिक तुल्याउने निर्देशिका/प्रशिक्षण कार्यक्रम भने प्रभावकारी ढङ्गले हुने गरेको छैन । फलतः परिमार्जित पाठ्यक्रम/पाठ्यपुस्तक सार्वजनिक स्कूलका शिक्षकका लागि बोझ् बन्ने गरेको छ ।
स्कूलको पाठ्यक्रम/पाठ्यपुस्तकको परिमार्जन/संशोधनलाई एउटा स्वाभाविक र नियमित क्रिया मानिन्छ । पाठ्यक्रम विकास केन्द्रले नेपालको विद्यालय तहको पाठ्यक्रम तथा पाठ्यवस्तु हरेक पाँच–दश वर्षमा परिमार्जन तथा संशोधन गर्दै आएको पनि छ । तर कक्षाकोठाको पठनपाठनमा समयानुकूल सुधार ल्याई शिक्षाको स्तर ोन्नति गर्ने लक्ष्यले गर्ने गरिएको पाठ्यक्रम/पाठ्यपुस्तकको परिमार्जन आफैं समस्या पनि बन्ने गरेको छ ।
माइक्रोसफ्टले आफ्नो कम्प्युटर सफ्टवेयरको परिमार्जित संस्करण बजारमा पठाउँदा त्यसका प्रयोगकर्तालाई नयाँ कार्यक्रम कसरी ‘इन्स्टल’ गर्ने र कसरी चलाउने भन्ने जानकारी सँग सँगै पठाउँछ । यसबाट पुरानो संस्करण चलाइरहेका माइक्रोसफ्टका प्रयोगकर्ताहरू स्वाभाविक र सहज रूपमा नयाँ संस्करण चलाउन सक्षम हुन्छन् । त्यस्तै कुनै जहाज कम्पनीले नयाँ एअरक्राफ्ट बनाएपछि पुराना चालकलाई नयाँ जहाज चलाउन स्वतः प्रशिक्षण दिन्छ । यथार्थमा पाइलटलाई प्रशिक्षण–पुनः प्रशिक्षण दिने कुरा विमान को निर्माण र बिक्री प्रक्रियामै अन्तरनिहित हुन्छ । यस्तो प्रक्रियाले नयाँ उत्पादन र त्यसका प्रयोगकर्ताबीच तादात्म्यता सृजना हुन्छ । यही कुरा नयाँ पाठ्यक्रम/पाठ्यवस्तु र शिक्षकहरूको हकमा पनि लागू हुनुपर्ने हुन्छ । तर परिमार्जित पाठ्यक्रम/पाठ्यपुस्तक अनुरुप शिक्षकहरूलाई दीक्षित तुल्याउने जिम्मेवारी पाएको शैक्षिक जनशक्ति विकास केन्द्रले सञ्चालन गर्ने तालिमले शिक्षक र परिमार्जित पाठ्यक्रम/पाठ्यपुस्तकबीचको खाडल पुर्न सकेको पाइँदैन ।
पाठ्यक्रम/पाठ्यपुस्तक परिमार्जन तथा संशोधन भइरहने तर शिक्षक तयारी सम्बन्धी प्रशिक्षणहरू फितलो हुने गरेका कारण सरकारी स्कूलका शिक्षकलाई परिमार्जित पाठ्यपुस्तक बोझलिो लाग्ने गरेको छ । विषय–विज्ञहरूले परिमार्जन गरेका पाठ्यक्रम/पाठ्यपुस्तक पढाउन धेरै शिक्षकलाई कठिन भएको पाइन्छ । पाठ्यक्रम/पाठ्यवस्तुमा थपिएका नयाँ पाठ अनुरुप आफूलाई ‘अपडेट/अपग्रेड’ गर्न शिक्षकहरू स्वयं अग्रसर पनि नहुने परिस्थितिका कारण यो समस्या अरू जटिल बनेको छ ।
खास गरी सार्वजनिक विद्यालयका शिक्षकले नयाँ पाठ्यक्रम/पाठ्यपुस्तक पढाउने क्रममा के–कस्ता कठिनाई झेलेका होलान् भन्ने जिज्ञासाको जवाफ फेला पार्न शिक्षक मासिक ले पूर्वाधारका हिसाबले सुविधासम्पन्न राजधानीका केही सार्वजनिक स्कूलका शिक्षकको अनुभव खोज्ने जमर्को गरयो । शिक्षक मासिक सँग को कुरा कानीमा ती स्कूलका शिक्षकले परिमार्जित पाठ्यपुस्तकका केही पाठ नबुझेकाले कक्षाकोठामा पुर्याउन नसकिएको गुनासो सजिलै गरे ।

नयाँ पाठ्यपुस्तक लागू भएपछि कक्षा–शिक्षणमा कठिनाई झेलिरहेकी शिक्षकमा पर्छिन् काठमाडौंको धुम्बाराहीस्थित धुम्रबराह माविमा सामाजिक अध्ययन (सोसल स्टडी) पढाउँदै आएकी शिक्षक इन्दिरागौतम । अर्थशास्त्रमा बीएड उत्तीर्ण इन्दिरालाई कक्षा ६ को सामाजिक अध्ययन शिक्षण गर्न समस्या परेको छ ।
उक्त विषयको पृष्ठ १४ मा दिइएको ‘शिक्षाको उपयोगिता र आजको आवश्यकता’ पाठको अध्ययनपछि छात्रछात्राले पाँच विकास क्षेत्रको साक्षरता प्रतिशत बताउन सक्ने उद्देश्य पाठ्यक्रममा राखिएको छ । तर, पाठ्यपुस्तकमा पाँच विकास क्षेत्रको साक्षरता सम्बन्धी आँकडा दिइएको छैन । इन्दिरा एक वर्षअघि साक्षरता आँकडा खोज्न जिशिका काठमाडौं पुगिन् । जिशिकाले उनलाई साक्षरता सम्बन्धी विवरण लिन शिक्षा विभाग जान आग्रह गरयो । विभागले आफूसँग क्षेत्रगत साक्षरता आँकडा नभएको जानकारी दिएपछि उनले आजसम्म छात्रछात्रालाई पाँच विकास क्षेत्रको साक्षरता प्रतिशत बताउन सकेकी छैनन् ।
धुम्रबराह माविकै प्रावि तहमा सामाजिक विषय पढाउने केही शिक्षक आफूहरूले इन्दिराको भन्दा चर्को समस्या झेल्नु परेको बताउँछन् । उक्त स्कूलमा कक्षा ३ मा सामाजिक अध्ययनसँगै सृजनात्मक कला पढाउँदै आएकी सावित्री फुँयाल आफैंले सो विषय नबुझेका कारण पढाउन सकेकी छैनन् । उक्त विषयमा कक्षा १ देखि नै सङ्गीत, नृत्य, पेन्टिङ, माटो र कागजबाट विभिन्न सामग्रीको निर्माण गर्नु पर्ने जस्ता सृजनात्मक कला सम्बन्धी पाठहरू दिइएको छ । कक्षा २ को मेरो सामाजिक अध्ययन तथा सृजनात्मक कलाको पृष्ठ ५७ मा ‘कोलाज बनाऔं’ भनिएको छ ।
तर प्रावि तहका धेरै शिक्षकले कोलाज भन्ने शब्दलाई अथ्र्याउन सकेको पाइँदैन । त्यस्तै उक्त पुस्तकको पृष्ठ ६० मा दिइएको ‘माटोको कामगरौ, विभिन्न आकारका वस्तु बनाऔं’ शीर्षकको पाठ पढाउन शिक्षकहरूले कामचलाउ शैली अपनाउने गरेका छन् । सोही पुस्तकको पृष्ठ ६३ मा कागज काटेर काग, चुच्चे टोपी, हाँस, कागजको तारा, पुतली, खरायो, पाटेबाघ बनाउने जस्ता कला छात्रछात्रालाई सिकाउन शिक्षकलाई निर्देशन दिइएको छ । तर, कागजका उल्लिखित सामग्री बनाउने जाँगर र आत्मविश्वास उक्त स्कूलका कुनै शिक्षकहरूमा भेटिँदैन ।
कक्षा २ कै सामाजिक अध्ययन तथा सृजनात्मक कला अन्तर्गत पृष्ठ ६८ मा दिइएको सङ्गीत पाठ पढाउने शिक्षक सरकारी स्कूलहरूमा भेटिँदैनन् । उक्त पाठ अन्तर्गत छात्रछात्रालाई स्वरको आरोह, अवरोहको अभ्यास गराउन भनिएको छ । साथै हार्मोनियमको मध्य सप्तक, सारेगम पधनिसा, सानिधप म गरे सा, मादलको आठ मात्रा (कहरवा) को तालमा नृत्य गराउन शिक्षकलाई निर्देशन दिइएको छ । तर, कक्षा १ देखि ५ सम्मै राखिएका यी पाठहरूको अभ्यास पाठ्यक्रम र पाठ्यपुस्तकको उद्देश्य अनुसार भएको विरलै भेटिन्छ । सृजनात्मक अभिव्यक्ति कला पढाउनका लागि विद्यालयमा हार्मोनियम, मादल, बाँसुरी, पियानो आदिको आवश्यकता पर्छ । धेरै स्कूलहरूमा सङ्गीत र वाद्यवादन सम्बन्धी उपकरणको व्यवस्था छैन । सङ्गीत सिकाउने उपकरण स्कूलमा नभए पनि शिक्षकहरूमा उक्त विषय शिक्षण गर्ने जाँगर र तत्परता भएमा यस्ता सामग्रीको अभावकै कारण पठनपाठन रोकिँदैन । तर त्यस्ता शिक्षक तयार पार्न बाँकी नै छ ।
ललितपुरको शान्ति विद्याश्रम प्राविका प्रअ निर्मला थापाले प्राविमा शिक्षण गर्न थालेको झण्डै ३५ वर्ष पुग्न लागेको छ । उनले १० महिने शिक्षक तालिम पनि लिएकी छन् । तर, पाठ्यपुस्तक परिमार्जन गरिएका कारण उनलाई उक्त विषय बोझलिो लाग्छ । पाँच वर्षअघि परिमार्जन भएको प्रावि तहको सामाजिक अध्ययनअन्तर्गतको सृजनात्मक कला पढाउन थापालाई समस्या परेको पनि पाँचै वर्ष भएको छ । आफ्नो समस्या स्रोतव्यक्ति तथा विनिसमक्ष राखेको उनको कथन छ । तर, समाधान कतैबाट निस्किएको छैन । थापा भन्छिन्, “सङ्गीत, नृत्य जस्ता विधा हामीले नै बुझेका छैनौं । शिक्षक तालिमबाट पनि कक्षा शिक्षणमा आइपर्ने समस्या समाधान गर्न सकिएन । अनि कसरी पढाउने ?” सामाजिक अध्ययनबाट सृजनात्मक कलालाई अलग गरेर छुट्टै शिक्षकको व्यवस्था न गरी आफूले भोगेको समस्याको दिगो समाधान ननिक्लने थापा जस्ता धेरै शिक्षकको भनाइ छ । “आफूले जे जानेको छ, त्यही सिकाउने गरिएकाले परीक्षामा छात्रछात्राले जे लेख्छन् त्यसैलाई सही मानेर अङ्क दिनुपर्ने बाध्यता छ”, थापा थप्छिन् ।

तालिम नपाएको वा छुट्टै शिक्षकको व्यवस्था न गरिएकाले परिमार्जित पाठ्यक्रम पढाउन कठिन भएको शिक्षकहरूको भनाइ रहे पनि कतिपय जाँ गरिला र जागरुक शिक्षकले आफ्नै प्रयासमा पहिले नपढेका विषय पनि पढाउँदै आएको पाइन्छ । कालीमाटीको नीलबाराही माविका शिक्षक लक्ष्मी महर्जनलाई प्राविको सृजनात्मक कला विषय पढाउन कुनै कठिनाई छैन किनभने सङ्गीतमा रुचि भएकी महर्जनले व्यक्तिगत खर्चमा त्यस सम्बन्धी तालिम लिएर छात्रछात्रालाई सिकाउने गरे की छन् । तैपनि लक्ष्मी भन्छिन्, “पाठ्यक्रम र पाठ्यपुस्तकमा नयाँ विषय समावेश गर्नु अघि उक्त विषय पढाउने शिक्षकको व्यवस्था गरिनु जरुरी छ ।” पाठ्यक्रम विकास केन्द्रको तर्फबाट सृजनात्मक कला विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणमा संलग्न टार्जन राई पनि उक्त विषय प्राविधिक भएकाले प्राविका शिक्षकहरूलाई पढाउन कठिन भएको स्वीकार गर्छन् ।
सामाजिक अध्ययन प्रावि शिक्षकहरूका निम्ति मात्र होइन, निमावि र मावि शिक्षकहरूका निम्ति पनि टाउकोदुखाइको विषय भएको पाइन्छ । काठमाडौंको भीमसेनस्थानको परोपकार आदर्श माविमा पाँच वर्ष देखि कक्षा ६ लाई सामाजिक अध्ययन अध्यापन गर्दै आएकी मेनुका ढकाललाई एसियाको जनजीवन, नेपालको नक्सा, साइबर नदी जस्ता पाठ पढाउन गाह्रो लाग्छ; किनभने किताबमा छापिएका चित्र, नक्सा, तस्बिर स्पष्ट छैनन् । धेरैजसो पाठमा छात्रछात्रालाई किताबमा दिइएका नक्सा तथा चित्र हेरेर त्यस्तो चित्र तथा नक्सा बनाउन आग्रह गरिएको छ । तर पुस्तकमा दिइएका चित्र तथा नक्साहरूमा मसी पोतिएका काला धब्बा मात्र देखिन्छन् ।
बीए/बीएड उत्तीर्ण गरी परोपकार माविका कक्षा ९ र १० मा सामाजिक विषय पढाउने यदुमाया पाठकलाई पनि आफूले पढाउँदै आएको पाठ्यपुस्तकका केही पाठ शिक्षण गर्न गाह्रो लाग्छ । नेपाली, गणित, अङ्ग्रेजी, भूगोल, नागरिक शास्त्र, इतिहास जस्ता धेरै विषय मिसाइएकाले एउटा विषयमा स्नातक वा स्नातकोत्तर गरेका आफू जस्ता शिक्षकलाई माविको सामाजिक अध्ययन पढाउन कठिन हुने गरेको पाठक बताउँछिन् । उनले सामाजिक अध्ययनमा दिइएको भूगोलका पाठहरू पढाउनका निम्ति भूगोल पृष्ठभूमिका उक्त स्कूलका सहायक प्रअ चूडामणि बज्राचार्य र अरू विषयसँग सम्बन्धित पाठ पढाउनका निम्ति सम्बन्धित विषयका शिक्षकको मद्दत लिने गरे की छन् । सहायक प्र्रअ बज्राचार्य कुनै एउटा शिक्षकले मात्र सामाजिक अध्ययन पढाउन नसक्ने हुनाले विभिन्न विषयका शिक्षकले सामूहिक रूपमा सो विषय पढाउनु पर्ने धारणा राख्छन् ।
पाठ्यक्रम निर्माण तथा परिमार्जनमा संलग्न पाठ्यक्रम विकास केन्द्रका सामाजिक अध्ययन उपसमितिका पाठ्यक्रम अधिकृत डिकबहादुर राई पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक र शिक्षक तालिमबीच ठूलो खाडल रहेको स्वीकार गर्दै भन्छन्, “पाठ्यक्रम निर्माता र शिक्षकबीचग्याप छ, पाठ्यपुस्तक तयार गर्ने ले नै सबै बुझेको हुन्छ भन्ने छैन, त्यसैले शिक्षकहरूले पाठ्यक्रमका आधारमा शिक्षण गर्नु पर्छ, न कि पाठ्यपुस्तकका आधारमा ।” माविको सामाजिक अध्ययन पाठ्यक्रम तथा पाठ्यपुस्तकको लेखनमा संलग्न विजय स्मारक उमाविका सामाजिक अध्ययन विषयका शिक्षक डिल्लीप्रसाद शर्मा चाहिँ सामाजिक अध्ययन शिक्षणका समस्याको स्थायी समाधानका निम्ति विश्वविद्यालयले सामाजिक अध्ययन विषयको पठनपाठन शुरु गरी विषय शिक्षक उत्पादन गर्नु पर्ने प्रस्ताव राख्छन् । “अहिलेको शैलीमा पढाएर पाठ्यक्रम र पाठ्यपुस्तकको लक्ष्य हासिल गर्न सकिँदैन । सामाजिक अध्ययन विषय पढाउने शिक्षकको उत्पादन आजको खाँचो हो”, उनको जोड छ ।
विज्ञान पनि बोझ्
पाठ्यपुस्तक परिमार्जन र शिक्षकको मौजुदा क्षमताबीच तालमेल नमिलेकाले अरू विषय पढाउने शिक्षकले पनि समस्या झेल्दै आएका छन् । २१ वर्ष देखि शिक्षण पेशामा रहेकी शान्ति विद्याश्रम प्रावि, ललितपुरकी शिक्षक सिद्ध कुमारी खनालले कक्षा ५ को मेरो विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा को पृष्ठ ६९ को सौर्यमण्डल पाठ बुझन सकेकी छैनन् । तर पनि उनले कामचलाउ तरिकाले विद्यार्थीलाई उक्त पाठ पढाउँदै आएकी छन् । प्रावि तहको विज्ञान पढाउनका लागि नयाँ पाठ्यपुस्तक अनुसार विज्ञान शिक्षक आवश्यक पर्ने उक्त विषय पढाउँदै आएका शिक्षकहरू बताउँछन् । तर, सरकारले तत्कालै प्रावि तहलाई विषयगत शिक्षक व्यवस्था गर्न सक्ने अवस्था देखिँदैन । विज्ञानका धेरै पाठ पुरानो कोर्ष पढेका शिक्षकले नबुझने किसिमका छन् । विज्ञानको आधारभूत अवधारणा बुझाउन खोजिएको उक्त प्राविको विज्ञान सम्बन्धी पाठ्यक्रम/पाठ्यपुस्तकलाई एसएलसी उत्तीर्ण पुराना प्रावि शिक्षकले आफूले जे जानेको छ, त्यसकै भरमा अध्यापनगराइरहेका छन् ।
विज्ञानसँगै राखिएको स्वास्थ्य र शारीरिक शिक्षा पनि पढाउन नसकिएको सोही विद्यालयकी प्रावि शिक्षक रमा न्यौपानेको अनुभव छ । स्वास्थ्य शिक्षामा दिइएका धेरै पाठहरू स्वास्थ्य विषय पढेका शिक्षकले मात्र बुझने खालका रहेकाले उक्त विषयलाई विज्ञानबाट अलग गरेर छुट्टै शिक्षकले पढाउनु पर्ने उनको प्रस्ताव छ । त्यस्तै शारीरिक शिक्षामा दिइएका जिम्न्यास्ट्रिक, पल्टनबाजी, खेलकुद र शारीरिक व्यायाम सम्बन्धी पाठहरू शिक्षक स्वयंले अभ्यास गरेर छात्रछात्रालाई अभ्यास गराउनु पर्ने किसिमका छन् । तर, प्रावि तहको शारीरिक शिक्षामा राखिएका पाठहरू खेल तथा व्यायाम सम्बन्धी कुनै अभ्यास नभएका र उमेर ढल्किसकेका शिक्षकहरूले अभ्यास गरेर विद्यार्थीलाई सिकाउने सम्भावना देखिँदैन ।
नेपालीलाई कठिन लाग्ने अङ्ग्रेजी विषयको पाठ्यपुस्तक व्यावहारिक नभएकाले शब्द सिकाएर अक्षर सिकाउन थाल्नु परेको ललितपुर, पाटनको शान्ति विद्याश्रम प्राविकी शिक्षक प्रभा पोख्रेलको गुनासो छ । शुरु मा अङ्ग्रेजी अक्षर सिकाएर त्यसपछि शब्द अनि वाक्य सिकाउने व्यवस्था पाठ्यपुस्तकमा भए आफूहरूलाई सजिलो हुने तिनको कथन छ । धुम्रबराह माविकी अङ्ग्रेजी शिक्षक सिमन श्रेष्ठ चाहिँ कक्षा २ को अङ्ग्रेजी पाठ्यपुस्तकमा ए, एन र द तथा एक्जुलरी भर्व को प्रयोग सम्बन्धी कुनै पाठ नराखिएकाले कलिला नानीहरूलाई अङ्ग्रेजी वाक्यको आधारभूत अवधारणा बुझाउन नसकिएको अनुभव सुनाउँछिन् । सोही विद्यालयको कक्षा ३ मा गणित शिक्षण गर्दै आएकी दुर्गा न्यौपानेलाई तीन अङ्कको भाग सिकाउन हम्मे पर्छ ।
गणितका मावि शिक्षकहरूले पनि गणित शिक्षणका क्रममा समस्या भोगेको पाइन्छ । धुम्रबराह मावि धुम्बाराहीमा विगत २१ वर्ष देखि गणित अध्यापन गर्दै आएका बीकम/एमएड रतन कुमार थापाले कक्षा ७ को ज्यामितिको ‘दिशा स्थिति र स्केल ड्रोइङ’ पढाउन सकेका छैनन् । उनी आफैँले उक्त पाठ नबुझेका कारण उक्त पाठ छोड्ने गरेका छन् । आफ्नो समस्या तालिम तथागोष्ठीहरूमा पनि राखेको तर कतैबाट समाधान नपाएको थापाको गुनासो छ । मावि तहको गणितको पुरानो पाठ्यपुस्तकमा अङ्क गणित, बीज गणित र ज्यामिति मात्र समेटिएको थियो । तर, परिमार्जित पाठ्यक्रम/पाठ्यपुस्तकमा त्रिकोण मिति, समूह, तथ्याङ्कशास्त्र र सम्भाव्यता थपिएको छ । गणित पढाउने शिक्षकहरूको अनुभवमा अनिवार्य गणितमा समेटिएका धेरै पाठहरू बोझलिो र अव्यावहारिक भएका कारण धेरैजसो छात्रछात्रा गणितमै असफल हुने गरेका छन् । परोपकार आदर्श माविका विज्ञान तथा गणित शिक्षक लक्ष्मणगिरी भन्छन्, “उच्च शिक्षामा गणित लिएर अध्ययन न गर्ने का लागि मौजुदा गणितको पाठ्यक्रम बोझ्युक्त छ ।” नेपाल शिक्षक युनियनका महासचिव रहेका गणित शिक्षक चुन्नीशरण यादव पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षकबीच ठूलो खाडल रहेको बताउँदै नयाँ पाठ्यपुस्तकका कतिपय पाठ आफूले पनि नबुझेका कारण आफ्ना चेलालाई ती पाठ पढाउन लगाउने गरेको अनुभव सुनाउँछन् ।

मोफसलमा झन् समस्या
कक्षा उही, विद्यार्थी तिनै । शिक्षक शान्ता कँडेललाई भने सबै नौला र अपरिचित झैँ लागिरहेका थिए । परिणामस्वरुप– पढाउन भनेर कोठाभित्र पसेकी उनी नपढाएरै बाहिरिइन् । “किन हो खै, मैले विद्यार्थीलाई पढाउने हिम्मत नै गर्न सकिनँ”, उनले भनिन् । सुर्खेतको मोहटीस्थित सामुदायिक माविकी शिक्षक शान्ताले दुई वर्षअघि भोगेको समस्या हो यो । एक दशक देखि प्राथमिक तहमा पढाउँदै आएकी शान्तालाई सोही वर्ष बदलिएको पाठ्यक्रमले अलमलमा पारेको थियो । “परिवर्तित पाठ्यक्रम अनुसार पुस्तक फेरियो तर कसरी पढाउने भन्नेबारे जानकारी दिइएन, त्यसैले शिक्षक नै आफूले पढाउने पुस्तकसँग अलमलमा पर्नु परयो”, उनले भनिन् । कक्षा ३ को पुस्तक परिवर्तन भएको वर्षको अनुभव सुनाउँदै शान्ताले भनिन्, “पढाउन त जसोतसो पढाइयो, तर परीक्षामा प्रश्नपत्रै बनाउन सकिएन ।” पहिलाको तुलनामा चित्रको प्रयोग बढी गर्नु पर्ने भएकाले पढाउन र प्रश्नपत्र निर्माण गर्न समस्या भएको उनले बताइन् ।
शनिमोर निमाविका शिक्षक पवन कोइरालाले पनि पाठ्यक्रम परिवर्तनका कारण सास्ती भोग्नुपरेको छ । नयाँ पाठ्यक्रममा अधिकतम शैक्षिक सामग्रीको प्रयोग गर्नु पर्ने भए पनि सामग्रीको प्रयोग विधिबारे जानकारी नहुँदा पाठ उद्देश्य अनुसार पढाउन नसकिएको उनले बताए ।
जिशिकाले परिवर्तित पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण दिने गरेका कारण शिक्षकहरूले मिहिनेत गरे अध्यापनमा समस्या नहुने सुर्खेतका जिशिअ भक्तबहादुर ढकाल बताउँछन् । उनी भन्छन्, “अधिकांश शिक्षकहरू शिक्षाशास्त्र पढेरै आएका छन्, नपढेकालाई पनि लामो तालिम दिइएको छ, यस्तो अवस्थामा आफैँ तल्लीन हुने हो भने गाह्रो छैन ।” उनले यस वर्ष सुर्खेतका १४ वटै स्रोतकेन्द्रमार्फत शिक्षकहरूलाई अभिमुखीकरण तालिम दिएको जानकारी दिए । तथापि सुर्खेतको जस्तै अवस्था सबैतिर छैन । काठमाडौँको धुम्रबराह माविका शिक्षकहरूले जिशिकाले स्रोतकेन्द्रमार्फत आयोजना गर्ने तालिम हतारहतार सक्ने गरिएको र आफूले त्यसबाट केही सिक्न नसकिएको गुनासो गरेका छन् । “तालिम त हुन्छ, तर १० दिनको तालिम दुई दिनमै सक्ने गरिएको छ”, उक्त स्कूलका शिक्षक बैजन्ती श्रेष्ठले भनिन् ।
समाधान शिक्षक तयारी
शिक्षक प्रतिनिधि ले रिपोर्टिङका क्रममा भेटेका सरकारी स्कूलका शिक्षकले परिमार्जित पाठ्यपुस्तकलाई अन्तर्राष्ट्रिय स्तर को तुल्याउनका निम्ति अद्यावधिक गरिएको तर, शिक्षकलाई नयाँ पाठ्यपुस्तक सहज रूपमा पढाउन सक्ने तुल्याउन त्यस अनुसार तालिम सञ्चालन न गरिएकाले धेरै शिक्षकलाई कक्षा शिक्षणमा समस्या परेको बताएका छन् । परिमार्जित नयाँ पाठ्यक्रम क्रियाकलाप मुखी भएको तर अभ्यास गराउनका निम्ति विद्यालयमा शैक्षिक सामग्री, भौतिक पूर्वाधार र समय अभाव भएकाले पाठ्यक्रम/पाठ्यपुस्तक परिमार्जन नै समस्या बन्दै गएको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम/पाठ्यपुस्तक परिमार्जनपछि त्यसबारे शिक्षक निर्देशिका जारी गर्ने गरेको छ । त्यस्तै पाठ्यक्रम/पाठ्यपुस्तकमा भएको परिमार्जनबारे स्रोतकेन्द्रको माध्यमबाट शिक्षकलाई जानकारी दिने गरिएको छ । परिमार्जित पाठ्यक्रम/पाठ्यपुस्तकका बारेमा शैक्षिक जनशक्ति विकास केन्द्रले शिक्षकहरूलाई तालिम पनि दिने गरेको छ । तर, यस्ता प्रयासले शिक्षकहरूले भोगेका समस्या समाधान गर्न सकेका छैनन् । धेरै विद्यालयका शिक्षकले पाठ्यक्रम, शिक्षक निर्देशिका, शिक्षक तालिम तथा पाठ्यक्रम/पाठ्यवस्तु परिमार्जन भएको जानकारी समेत समयमा पाउन सकेका छैनन् ।
पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम र पाठ्यपुस्तकमा हुने परिवर्तनले शिक्षकलाई कक्षा शिक्षणमा ठूलो चुनौती र समस्या थपिएका गुनासा आफूसमक्ष पनि आउने गरेको जनाएको छ । केन्द्रका निमित्त निर्देशक टेकनारायण पाण्डेका अनुसार स्कूल तहको पाठ्यक्रम र पाठ्यपुस्तकलाई अन्तर्राष्ट्रिय स्तर को तुल्याउनका निम्ति समयअनुकूल परिमार्जन र अद्यावधिक गरिएको तर पाठ्यक्रमको बोझ् उठाउन सक्ने शिक्षक सिष्टमले दिन नसकिएकाले समस्या उत्पन्न भएको हो । उनले भने, “हामीले स्तरीय पाठ्यक्रम र पाठ्यपुस्तक उत्पादन गरेका छौं तर त्यस्तो पाठ्यक्रम र पाठ्यपुस्तक पढाउन सक्ने शिक्षकको व्यवस्था गर्न सकिएको छैन, भएका शिक्षकलाई पनि पाठ्यक्रम/पाठ्यवस्तु सहज रूपमा शिक्षण गर्न सक्ने सीप दिन सकिएको छैन ।” प्रावि तहको पाठ्यक्रम पढाउन विगतमा झैँ एसएलसी उत्तीर्ण शिक्षकले नसक्ने देखि एको छ, त्यसनिम्ति विषयगत शिक्षकको व्यवस्था एवं भएका शिक्षकको अपग्रेड/अपडेट, तालिम जस्ता तरिका अपनाउन जरुरी देखिन्छ ।
शिक्षा मन्त्रालयले सरकारी स्कूलमा लागू भएका पाठ्यक्रम र पाठ्यपुस्तकलाई समयअनुकूल परिवर्तन गरी अद्यावधिक गर्नु अघि नयाँ पाठ्यपुस्तक पढाउने शिक्षकको योग्यता, ज्ञान र क्षमताको लेखाजोखा न गर्दा पाठ्यक्रम र शिक्षकबीच दूरी बढ्दै गएको हो । पाठ्यक्रम, पाठ्यपुस्तकको परिमार्जनसँगै शिक्षकको क्षमता अभिवृद्धि गर्नु मौजुदा समस्या समाधानको भरपर्दो उपाय हुनसक्छ । दीर्घकालीन रूपमा योग्य तथा विषयगत शिक्षकको व्यवस्था गर्नु उत्तम विकल्प हुन्छ । यसतर्फ शिक्षा मन्त्रालयका अधिकारी हरूको ध्यान पुग्न ढिलो भइरहेको छ । पाठ्यक्रम, पाठ्यपुस्तक परिमार्जन मात्र गरिरहने तर शिक्षकको क्षमतालाई बेवास्ता गर्ने हो भने पाठ्यक्रम/पाठ्यपुस्तक परिमार्जन तथा अद्यावधिक गरिरहनु को औचित्य हुने देखिँदैन ।
साथमा कलेन्द्र सेजुवाल, सुर्खेत
‘प्रावि शिक्षक स्नातक हुनुपर्छ’

बदलिँदो देश, काल, परिस्थिति र ज्ञान–विज्ञानको प्रगतिसँगै विद्यालयको पाठ्यक्रम/पाठ्यवस्तु अद्यावधिक/परिमार्जन गर्नु एउटा स्वाभाविक प्रक्रिया हुन्छ । पाँच–दश वर्षको अन्तरालमा हामीकहाँ यो काम हुँदै पनि आएको छ । तर, त्यसरी परिमार्जित पाठ्यक्रमको उद्देश्य प्राप्तिका निम्ति संशोधित पाठ्यपुस्तक पढाउने शिक्षकहरूलाई त्यहीअनुरुप अद्यावधिक गरिनु पनि उत्तिकै अपरिहार्य हुन्छ ।
यहाँको विचार मा हराम्रो पाठ्यक्रम/पाठ्यपुस्तकको परिमार्जन र शिक्षकको योग्यता/क्षमता अभिवृद्धिबीच कत्तिको तादात्म्यता छ ?
परिमार्जित पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक पढाउन सक्ने तुल्याउन शैक्षिक जनशक्ति विकास केन्द्रले शिक्षकहरूलाई तालिम त दिइरहेको छ तर, त्यो पर्याप्त छैन । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी)मा पनि शिक्षकको क्षमता विकास का कुरा हरू राखिएका छन् । तर, त्यो अनुरुप काम हुनसकेको छैन । त्यसैले परिमार्जित पाठ्यक्रम/पाठ्यपुस्तक र शिक्षकको योग्यताबीच वाञ्छित तादात्म्यता कायम हुनसकेको छैन ।
यसको अर्थ परिमार्जित पाठ्यपुस्तक पढाउन शिक्षकहरूलाई कठिन भइरहेको छ भन्ने हो ?
यो कुरा चाहिँ शिक्षक आफू पेशागत रूपमा कत्तिको दक्ष बन्न चाहन्छ भन्ने कुरा मा पनि निर्भर गर्छ । अर्काले दिएको तालिमबाट मात्रै होइन, शिक्षक आफूले पनि नयाँ–नयाँ विषयवस्तुसँग ‘अपडेट’ भइरहनु पर्छ । त्यो दायित्व शिक्षकको पनि हो ।
एसएसआरपीले आधारभूत तहको शिक्षकका लागि स्नातक र माध्यमिक तहको लागि स्नातकोत्तर शैक्षिक योग्यता तोकेको छ । तर, यसलाई हामीले अझै व्यवहारमा ल्याउन सकेका छैनौं । हालको पाठ्यक्रम/पाठ्यपुस्तकसँग साँच्चिकै तादात्म्यता कायम गर्नका लागि कक्षा पाँचसम्म पढाउने शिक्षकले पनि स्नातक गरेको र प्राथमिक शिक्षणको तालिम लिएको हुनुपर्छ ।
अर्को कुरा कस्ता व्यक्ति चाहिँ शिक्षक हुने भन्ने महत्वपूर्ण प्रश्न हो । शिक्षणका लागि विशेष क्षमता राख्ने व्यक्ति मात्रै शिक्षक बन्न सक्छ । विद्यार्थीसँग घुलमिल हुनसक्ने, बुझाउन सक्ने, विद्यार्थीको मनोवैज्ञानिक पाटोलाई समातेर शिक्षण गर्न सक्ने क्षमता भएको व्यक्तिलाई हामीले शिक्षणमा ल्याउन सकेका छैनौं । त्यसैले शिक्षकको कमजोर क्षमताका कारणले पनि पाठ्यपुस्तक र शिक्षकबीच खाडल रहेको देखिन्छ ।
‘मैले यो कुरा चाहिँ पढाउन सकिनँ’ भनेर शिक्षकले कहिल्यै सोध्दैन । तालिम लिएपछि बढुवा भइन्छ र भत्ता पाइन्छ भन्ने मान सिकताले तालिम लिने प्रवृत्ति छ । यो एउटा विडम्बना हो । तालिममा सिकेका कुरा लाई पनि उनीहरूले व्यवहारमा उतारेको पाइँदैन ।
संशोधन/परिमार्जन गरिँदै आएका हाम्रा पाठ्यक्रम/पाठ्यपुस्तकहरू समयको माग अनुसार कत्तिको व्यावहारिक र वैज्ञानिक छन् ?
अहिलेको पाठ्यक्रमको विषयवस्तु त्यति कमजोर छैन । अन्य मुलुकसँग मिल्दोजुल्दो नै छ । तर, पाठ्यक्रमले कक्षागत तहमा हासिल गर्ने उपलब्धिको स्तर मा भने हामी धेरै पछि छौं । पाठ्यक्रम र पाठ्यपुस्तकबीच त्यति खाडल छैन, तर शिक्षकको ज्ञानको दायरा र पाठ्यपुस्तकबीच चाहिँ ठूलो समस्या छ ।
पाठ्यपुस्तक परिमार्जनपछि निर्देशिका र अन्य सामग्री पनि तयार गरेको देखिन्छ । तर, यसको पनि व्यावहारिक पाटो कमजोर छ । सुविधासम्पन्न ठाउँकै एउटै शिक्षकले दशौं पटक तालिम र निर्देशिका जस्ता सामग्रीहरू पाउने गरेको अनि दूरदराजका शिक्षकले त्यस्तो अवसर नपाएको अवस्था छ ।
सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के हो भने शिक्षकलाई अर्को कुनै संस्थाले ‘अपग्रेड’गराइदिने भन्दा पनि ऊ आपैंm ‘अपगे्रड’ हुने पद्धतिको विकास हुनु जरुरी छ । अहिलेको शैक्षिक उद्देश्य भन्नु नै ‘लर्निङ टु लर्न’ (सिक्नका लागि सिकिरहने) हो । भनाइको मतलब शिक्षकलाई माछा मारेर दिने होइन । माछा मार्ने कला सिकाउने हो । तर, हामीले त्यसो गर्न सकेका छैनौं । नयाँ ज्ञानका स्रोतहरू शिक्षक आफूले कसरी खोज्न सक्छ भन्नेतर्फ हामीले ध्यान दिएनौं । हराम्रो पाठ्यक्रम र तालिमको मुख्य कमजोरी हो यो ।
सरकारी स्कूलका धेरैजसो शिक्षकले आफूलाई परिमार्जित पाठ्यक्रम/पाठ्यपुस्तक बोझलिो भएको र कतिपय पाठ पढाउन समेत नसकिएको गुनासो गर्ने गरेका छन् । यस्तो समस्या किन उत्पन्न भएको हो जस्तो लाग्छ ?
प्राथमिक तहका शिक्षकमा यस्तो समस्या बढी देखिन्छ । पुराना शिक्षकहरूसँग शिक्षणका लागि पर्याप्त शैक्षिक योग्यता र आधारभूत ज्ञानकै अभाव छ । त्यसैले म फेरि भन्छु प्राथमिक शिक्षकले पनि कम्तीमा स्नातक गर्नै पर्छ । भविष्यमा यो समस्या झन् बढ्ने देख्छु म । शिक्षक बन्नका लागि परिपक्वता चाहिन्छ । अहिले एसएलसी सक्नासाथ शिक्षाशास्त्र पढ्न लगाइन्छ । त्यो उमेरमा शिक्षाशास्त्र पढिँदैन । कम्तीमा १८–२० वर्ष त पुग्नैपर्छ । जो आफू स्वयं मनोवैज्ञानिक रूपमा परिपक्व हुँदैन, उसले बालबालिकाको मनोविज्ञान कसरी बुझछ र शिक्षण गर्छ ?
शिक्षकले पाठ्यक्रम र पाठ्यपुस्तकलाई कसरी लिनुपर्छ त ?
पाठ्यक्रम र पाठ्यपुस्तक भनेका शिक्षकका अभिन्न अङ्ग हुन् । त्यसैले शिक्षकले हरबखत पाठ्यक्रम र पाठ्यपुस्तकलाई आत्मसात् गर्न सक्नुपर्छ । शिक्षक सधैँ त्यसैमा रमाउनुपर्ने हुन्छ । तर, हामीकहाँ त्यस्तो देखिँदैन । पाठ्यक्रमको बारेमा शिक्षकले पर्याप्त जानकारी नै पाएको हुँदैन । अर्कोतिर , पाठ्यक्रमको जानकारी पाउने शिक्षकले पनि त्यसमा त्यति चिन्तन गरेको पाइँदैन ।
पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षकबीचको खाडललाई कसरी पुर्न सकिएला ?
पाठ्यक्रम र पाठ्यपुस्तकबीचमा त्यति खाडल त छैन । तर, पाठ्यक्रमको मर्मअनुरुप शिक्षकले गर्ने कक्षा–शिक्षणमा चाहिँ खाडल छ । पाठ्यक्रम र पाठ्यपुस्तकको प्रयोगकर्ता शिक्षक नै हो । यसमा खाडल पुर्न मुख्यतः शिक्षक आफूमा प्रतिबद्धता चाहियो । दोस्रो कुरा , शिक्षकहरूलाई नियमित रूपमा ‘अपग्रेड’ गराउने संयन्त्रको विकास सरकारले गर्नु पर्छ ।
शैक्षिक सत्र शुरु हुनुअघि आफ्नै स्कूलमा स्रोतव्यक्ति वा अन्य जानकार व्यक्तिलाई बोलाएर परिमार्जित पाठ्यक्रम र पाठ्यपुस्तकबारे छलफल गर्ने परिपाटी मात्रै बसाले पनि धेरै शिक्षकका समस्या सहजै हल हुनसक्छन् ।



