मनका कुरा

साथीहरू ! सही कुरा सिकाऔं, चिटिङ नगरौं

गंगासागर पन्त

प्रिय शिक्षक मित्रहरू;
यसपटक तपाईंहरूको धेरै याद आयो । उच्च माध्यमिक शिक्षा परिषद्तिर भेटिन सक्छु म आजभोलि । ज्यालादारीमा व्यस्त छु । जतिजति विद्यार्थीका उत्तरपुस्तिका काट्छु, लाग्छ त्यति नै जिन्दगीलाई ढाँटिरहेछु म एक ‘शिक्षक’ । एक दिन गएर अतिरिक्त कमाइ बुझदा खुसी लागे पनि हप्ताभरी उत्तरपुस्तिका परीक्षण गर्दा म केवल दुः खी हुन थालेको छु । पहिलो हप्ता परीक्षण गरेका ४३७ परीक्षार्थीमध्ये मुश्किलले १३७ पास होलान् । म वेलावेलामा झ्स्कन्थेँ पनि कतै मैले नै फेल बनाइरहेको त छैन यी विचराहरूलाई ? होइन । ३० कटाउने जो सुकैलाई पनि ५ थपेर ३५ बनाइदिएको छु । एक नम्बरले पनि कसैको जीवनमा ठूलो फरक पार्न सक्छ भन्ने कुरा म महसुस गर्न सक्छु । बीस वर्ष नाघिसक्यो विद्यार्थीहरूको संवेदना र सम्भावना पढेको– त्यसकारण म विद्यार्थीहरू माथि अन्याय हुन दिन्नँ परीक्षापत्र परीक्षण गर्ने सवालमा । तर पनि तीन चौथाई विद्यार्थी कसरी फेल भए ?

प्रश्नपत्रमा केही व्याकरण खण्डका प्रश्न थिए, जुन प्रश्नहरूको जवाफ ४३७ मध्ये मुश्किलले पाँच जनाले मिलाएका होलान् । जस्तै तलको वाक्य हेरौंः –
"Do not let him go to casino."
यो वाक्यमा शब्दहरू यताउता पारेर दिइएकोे छ र भनिएको छ– वाक्य पुनर्लेखनगर । अरू कतिपय प्रश्न छन् जुन ४३७ विद्यार्थीमध्ये २०/२५ ले मात्र मिलाएका छन् । यहीँनेर शिक्षक मित्रहरूलाई सोध्न मन लाग्यो– के यहाँ विद्यार्थी मात्रै दोषी होलान् ? अनि सबै विद्यार्थी कसरी दोषी हुन सक्छन् ? शिक्षकले ‘सही’ र ‘सम्पूर्ण’ पढाउँदा–पढाउँदै पनि सबै विद्यार्थीले गल्ती गर्न सक्छन् त ? होइन भने; हामी शिक्षकहरूले आफूलाई पनि परीक्षण गर्ने हो कि ?

हामी जागिरका लागि मात्र ‘शिक्षक’ भएर नबसौं । आफूले लिएको जिम्मेवारी पूरा गर्न आफूलाई सक्षम पनि बनाऔं । आफूले पनि नियमित अध्ययनगरौं । मलाई थाहा छ—मैले परीक्षण गरेका उत्तरपुस्तिकाहरू दुर्गम तथाग्रामीण क्षेत्रका छन् ।ग्रामीण क्षेत्रमा शिक्षक केवल शिक्षक मात्र भएर सुख पाउँदैनन् । कतिपय शिक्षक खेतबारीमा काम सकेर उतैबाट विद्यालय जान्छन् । गाउँका कतिपय उमाविहरूमा स्कूलकै पुराना शिक्षकले ‘प्लस टु’ का पाठ्यक्रम पढाइरहेका छन् । त्यहाँ ‘प्लस टु’ चलाउनेले पैसा र सान कमाएका होलान् । शिक्षकको तलब भत्ता पनि बढेकै होला । तर फेरि पनि सोध्छु— के हामीले आफूलाई तयार पा¥यौँ त नयाँ जिम्मेवारीका लागि ? सरकारले नि ? पहिले पहिले त्रिभुवन विश्वविद्यालयले गर्ने काम अहिले गाउँ गाउँका विद्यालयलाई सुम्पिँदा सरकार आफ्नो टाउको मात्र हलुका बनाएर बसेको छ कि शिक्षाको गुणस्तर खस्किन नदिन सम्बन्धित शिक्षकहरूको ज्ञान एवं दक्षता अभिवृद्धिमा पनि लागेको छ ? विचरा विद्यार्थीहरू ! परीक्षाको कापी हेर्दा रुन मन लाग्छ । बैतडीका विद्यार्थीले शुल्क तिरेरै त पढेका होलान् यसरी फेल हुनका लागि !

बिल्कुल टुहुरा देखिन्छन् विद्यार्थी । एघार वर्षसम्म पढ्दा एउटा वाक्य पनि शुद्ध लेख्न आउँदैन । उच्च माध्यमिक शिक्षा परिषद्ले लाखौं घोटाला गरेर बडो होसियारीपूर्वक २/३ सेन्टिमिटर आकार घटाइदिएको उत्तर पुस्तिकाका आधा पाना भर्नेहरू आधा भन्दा कम छन् । १०० मा ४ नम्बर मात्रै प्राप्त गर्ने विद्यार्थी पाउँदा अर्को प्रश्न जुरुक्क उठ्छ—उसले एसएलसी चाहिँ कसरी पास गरयो होला ? हो; ४३७ मध्ये करिब १०० जना एसएलसीमा पास हुनै नसक्ने छन् अङ्ग्रेजीमा ।

मैले नम्बर ठगेको छैन । दुर्गमग्रामीण क्षेत्रका विद्यार्थी पनि त खेतबारी, घाँस, दाउरा सबै गरेर विद्यालय जानुपर्ने हुन्छ । धेरैजसोलाई मैले घाँसदाउरा मेलापातको क्षतिपूर्ति भनुँ वा सहानुभूतिस्वरुप ३/४ नम्बर माथि नै तन्काइदिएको छु; जुन शहरी क्षेत्रका विद्यार्थीहरूले पाउँदैनन् । तर प्रश्नपत्रमै शहरीकरण भएको छ । तलका मानिसहरूको काम के हो ‘विवरण देऊ’ भनेर सोधिएको छः
–गार्डेनर
– सेक्रेटरी
– एयरहोस्टेज
– रिसेप्सनिष्ट
– प्लम्बर
बैतडीतिर छाउपडी बस्नुपर्ने आमाकी छोरी र काठमाडौंमा बस्ने एयरहोस्टेजकी छोरी दुवैलाई बराबर न्याय गर्छ त  एयरहोस्टेजको कामको विवरण दिनुपर्ने प्रश्नले ? माथिका सबै शब्द शहरीकृत छन् ।

पाठ्यक्रम एवं प्रश्नपत्रका यस्तै अव्यावहारिक एवं पक्षपातपूर्ण पक्षलाई ध्यानमा राखेर बैतडीका विद्यार्थीसँग मैले पूर्णवाक्यको अपेक्षालाई ‘न्यून’ महत्व दिँदै नम्बर दिएको छु । कतिपयले ती व्यक्तिहरूका कामको विवरण पूर्णरूपले लेख्न नसकी कनिकुथी हलुका शब्द—सम्बन्ध मात्र दर्शाएका छन् । जस्तैः

gardener – flower, water, yard
secretary – boss, write letter
air hostage – in the air, tea, coffee, passenger…
receptionist – welcome, see photo …
plumber – in the house, underground, water pipes…

यसो हेर्दा विद्यार्थीले लेखेका वा लेख्न खोजेका शब्द वा वाक्यले मूल शब्दसँग सम्बन्ध राख्न खोज्यो भने पनि नम्बर दिएकै छु– ‘विचरा’ भनेर । दुईवटा चिट उत्तरपुस्तिकाभित्रै फेला परेर पनि कारबाही गरिनँ । किन गर्ने ? विचरा आफैं फेल भएकालाई !
उत्तरपुस्तिका परीक्षण गरेर उमाविको सम्बन्धित ठाउँमा बुझाउन जाँदा एकजना कर्मचारीले गुनासो गरे , “ओ हो !! यतिका कपी... यति छिट्टै ? विद्यार्थी माथि न्याय भएन कि सर ?” उनको चासोको प्रशंसा गर्दै मैले आफ्नो बचाउ गरें, “विद्यार्थीले आधाआधी पाना पनि भरेका छैनन् । अनि के गर्ने ? चिन्ता न गर्नु स्; विद्यार्थीप्रति म जति संवेदनशील तपाईं हुनुहुन्न ।”
ती कर्मचारीको विद्यार्थीप्रति न्याय भएन कि भन्ने चिन्ता मलाई रराम्रो लाग्यो । तर, शङ्का गर्ने ठाउँ प्रशस्त छ । कहिलेकाहीँ हामी शिक्षकहरूले अतिरिक्त कमाइमा मरिहत्ते हाल्नु नरराम्रो पक्कै होइन । आखिर दुः खै गरेर खाने हो; भ्रष्टाचार गरेको त होइन ! तर भ्रष्टाचार हामी शिक्षकबाट पनि भइरहेको छ कि भन्ने शङ्का त्यतिखेर उब्जिन्छ जतिखेर म उत्तरपुस्तिका जाँच गरिरहँदा एकजना चिनजानको २२/२५ वर्षको भाइ आउँछ र भन्छ, “...ए, कापी जाँच्नु भा’को.... मेरो साथीले नि जाँच्दो रै’छ नि, थुप्रै छ कोठामा । उसको त छोराछोरी, श्रीमती सबैले जाँच्दा रै’छन्... ।” जबकि उसको त्यो साथी स्नातक तहमा अध्ययनरत रहेछ ।
अर्को एकदिन उत्तरपुस्तिका वितरण गर्ने कोठामा हाकिम कुर्दाकुर्दा दिक्क भएकी शिक्षक पनि भन्दै थिइन्, “कहिल्यै डिग्री भर्नासम्म नभएका, कहिल्यै क्याम्पस नपढाएकाले धमाधम कापी काटिरा’छन्, हाम्लाई चैँ कापी पाउनै गाह्रो !”
यहाँनेर आउँछ अत्यन्त संवेदनशील प्रश्न—के विद्यार्थी माथि न्याय भएको छ त ? अक्षम शिक्षकलेगालबाट बच्न फेल हुनै पर्नेलाई अन्धाधुन्द पास नम्बर दिएर पठाउने सम्भावना कत्तिको हुन्छ ?

यस्ता अक्षम र नक्कली शिक्षक पनि प्रश्नपत्र जाँच्नका लागि आउँदा रहेछन् भन्ने कुरा मैले आँखै अगाडि देखेको हो । उमाविको उ.पु. दिने टेबुलमा उसले आफ्नो योग्यताको प्रमाणपत्र पेश गर्दै कपी माग गरयो । कपी दिने कर्मचारीले थप केही परिचयपत्र मागेपछि त्यो नक्कली शिक्षक टाप ठोक्यो । शायद उसले अरू कसैको शैक्षिक योग्यताको कागज बोकेर आएको थियो ।
अनि भ्रष्टाचारको कुरा गर्दा मैले दोस्रो हप्ता तराईका २५० जति कपी परीक्षण गरें । त्यस केन्द्रमा पूरै भ्रष्टाचार भएको अनुमान गर्न सकिन्छ । किनभने सबै विद्यार्थीलाई पूर्ण रूपमा चिट,गाइड, पुस्तक नै खुला एवं स्वतन्त्र रूपमा हेर्न दिइएको पाइन्छ । जस्तो तलका उदाहरणहरू हेरौं र के हुन सक्छ भनी विचार गरौंः
उदाहरण १
आफ्नो पढ्ने कोठा (Study Room) को बारेमा वार्तालाप (Conversation) तयारगर भन्ने प्रश्नको जवाफको बान्कीः
Hari : Hi, Shyam, how are you ?
Lok : I am fine

झण्डै ७०–८० जना परीक्षार्थीको कपीमा यही उत्तर दोहोरिएको दोहोरिएकै गर्छ ।
उदाहरण २
Cashier को व्यद Job description मा सबैले एउटै Spelling गल्ती गर्छन् । Monetaryको ठाउँमा  Mantory/manotary लेखेर ।
उदाहरण ३
He got wet हुनुपर्नेमा He got Get लेख्छन् ५०/६० जनाले मेसैसँग ।
चिट,गाइड, हुबहु सार्नेहरूलेगाइडमा बुझाउनका लागि दिइएको नेपाली उल्था पनि सार्न भ्याएका छन् । करिब एक दर्जनमा त्यो समस्या छ । एकल वा मौलिक उत्तर एकजनाको पनि छैन । कमसेकम ४/५ जनाको समूह त मिलेकै भेटिन्छ ठीक एउटै गल्ती गर्ने मा ।

यसरी जनकपुरको कुनै केन्द्रमा सबै विद्यार्थीहरूलाई चिट,गाइड हेर्न र एकआपसमा सहयोग लिन पूर्ण रूपमा छुट दिइएको देखिन्छ । त्यहाँका प्रायः सबै पास पनि हुन्छन् । उता बैतडीको एउटा केन्द्रमा परीक्षाको नियम पालना गरिन्छ; फेला पारेको चिट पनि कापीमा नत्थी गरेर पठाइन्छ । कमजोर पढाइ र कडा परीक्षाले गर्दा त्यहाँका प्रायः सबै फेल हुन्छन् ।

डा. मन वाग्लेले लेखेजस्तो (कान्तिुपर, सेप्टेम्बर २८, २०१०), सीधा पैसाको लेनदेनमा मात्र सीमित छैन शिक्षा क्षेत्रको भ्रष्टाचार । यसपटक कुनै परीक्षा केन्द्रमा एउटागाइडको खुलेआम मार्केटिङ गराई सबै विद्यार्थीहरूलाई पास गराउनु भनेको अर्को साल त्योगाइडले लाखौँको बजार पाउनु हो ।

सन् २००२ मा म पशुपति क्याम्पस, चाबहिलमा पढाउँदाको कुरा हो—शिक्षक कक्षामा नियमित पढाउन नआउँदा एकपटक विद्यार्थीहरूले उक्त शिक्षकसँग गुनासो गरे । शिक्षकले मसिनो स्वरमा भनेछन्, “प्रश्न निकाल्ने पनि मै हो, जाँच्ने पनि मै हो । किन चिन्ता गर्नु परयो ? बरु पढ्ने भए मकहाँ (ट्युसन पढ्न) आए हुन्छ ।” विद्यार्थीहरू सचेत रहेछन्, ती शिक्षकलाई निकाले, जो पद्मकन्या क्याम्पसमा स्थायी अङ्गे्रजी शिक्षक पनि थिए ।

शिक्षक मित्रहरू ! गम्भीर भएर सोचौं; न्याय र अन्यायको खेलमा हामी कत्तिको सक्रिय छौं । कत्तिको दोषी छौं । कति भ्रष्ट छौँ । डा. मन वाग्लेको ‘शैक्षिक माफिया’ भित्र हामी कुन तहमा पर्छौं ?

शिक्षकको काम जति कठिन भए पनि यो रातदिन निरन्तर चलिरहन्छ । आजीवन चलिरहन्छ । यो पेशा अपजसपूर्ण छ, तर गहन जिम्मेवारीपूर्ण पनि । एउटा सिङ्गै मान्छेले आफ्नो भविष्य सुम्पन्छ हराम्रो हातमा । समय, पैसा, पसिना, विश्वास सबै दिन्छ । त्यसैले विद्यार्थीहरूलाई सही कुरा दिऊँ, समय दिऊँ, भरोसा दिऊँ, भविष्य दिऊँ, उनीहरूको जीवनमा चिटिङ नगरौं !
ताङ्लिन्चोक–१, गोरखा
(M.A., M.Phil., MEDLE)

commercial commercial commercial commercial