गतिविधि

स्कूल त खुल्यो शिक्षक फर्केनन्

प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद चर्कंदा एक वर्षअघि ९ भदौ २०६६ देखि बन्द रहेको पर्साथिस्त झैवागुठी–७, मधवल टोलको नेपाल राष्ट्रिय प्रावि सर्वोच्च अदालतको हस्तक्षेपपछि पुनः खुलेको छ । तर,गुट उपगुटमा बाँडिएका शिक्षकहरू कक्षामा नआएका कारण पठन–पाठन भने प्रभावित नै छ ।

राप्राविका तत्कालीन प्रअ केपीचन्द्र चौरसियाले ९ पुस २०६५ मा अवकाश पाएपछि विद्यालय व्यवस्थापन समितिले वरिष्ठ शिक्षक कन्हैया चौरसियालाई निमित्त प्रअको जिम्मेवारी दिएको थियो । तर, भ्रष्टाचारको आरोपमा पद मुक्त भएका तत्कालीन शिक्षा मन्त्री रामचन्द्र कुशवाहाले व्यवस्थापन समितिको निर्णय विपरीत २०६६ कात्तिक १३ मा चौरसियाको ठाउँमा हरिनाथ साहलाई प्रअ नियुक्त गरे पछि विद्यालयको पठनपाठन बिथोलिएको थियो ।

२१ साउन २०६७ मा सर्वोच्च अदालतले तत्कालीन शिक्षा मन्त्रीको निर्णय कार्यान्वयन न गर्न अन्तरिम आदेश जारी गरे पछि चौरसिया पुनः निमित्त प्रअ बनेका छन् । अदालतको आदेशबाट असन्तुष्ट पूर्वमन्त्री कुशवाहा समर्थक शिक्षकहरू मन्जु पाण्डे, हरिनाथ साह, सीता देवी र आशकुर्मी साह अझै विद्यालयमा अनुपस्थित छन् । उनीहरूले घरमै बसेर हाजिर गर्ने र तलब बुझने गरेको विद्यालय स्रोतको दाबी छ । पर्साका जिशिअ केदार तिवारीले विद्यालयमा अनुपस्थित शिक्षकलाई कारबाही गर्ने बताए पनि अहिलेसम्म गर्न चाहिँ केही पनि गरेका छैनन् ।

अदालतको आदेशपछि कक्षा ५ सम्म पढाइ हुने सो स्कूल भदौ देखि खुले पनि विद्यार्थी सङ्ख्या ३५२ बाट ७५ मा झ्रेको छ । स्कूलमा प्रअ चौरसिया र एक जना बाल विकास कार्यकर्ता मात्र क्रियाशील छन् । विवादकै कारण शैक्षिक सत्र शुरु भएको ६ महिना बितिसक्दा पनि छात्रछात्राले पाठ्यपुस्तक पाएका छैनन् ।
भूषण यादव

विशेष परीक्षाको नतिजा अझै टाढा

उच्च माध्यमिक शिक्षा परिषद्ले प्राथमिक शिक्षकका लागि २२–२८ माघ २०६६ मा सञ्चालन गरेको कक्षा १२ को ‘विशेष परीक्षा’को नतिजा आठ महिना बितिसक्दा पनि प्रकाशित गर्न सकेको छैन । उक्त परीक्षामा करिब १४ हजार शिक्षक बसेका थिए ।

परीक्षा सञ्चालनका क्रममा चिट चोर्न नपाएको निहुँमा विवाद हुँदा काभ्रे, पर्सा, बाँके, नवलपरासी, कपिलवस्तु र पाल्पा जिल्लामा परीक्षा अवरुद्ध भएको थियो । तर पनि काभ्रेको चैतन्य बहुमुखी क्याम्पस बाहेक अन्य केन्द्रको परीक्षा रद्द गरिएको छैन । काभ्रेमा परिषद् स्वयंले परीक्षा स्थगित गरेकाले त्यहाँ फेरि परीक्षा लिने निर्णय गरिएको छ भने अरू जिल्लामा परीक्षार्थी–शिक्षक आफैंले परीक्षा बहिष्कार गरेकाले ती केन्द्रमा पुनः परीक्षा नहुने जनाइएको छ । परिषद्का उपनि यन्त्रक कृष्णप्रसाद शर्माको भनाईमा “जसले जति लेखेका छन्, त्यही अनुसार उत्तरपुस्तिका परीक्षण भएको छ ।”

शर्माका अनुसार,गत असारमा सम्पन्न कक्षा ११ र आउँदो १३ कात्तिकमा हुने कक्षा १२ को मौका परीक्षाको नतिजा नआएसम्म विशेषको नतिजा प्रकाशित हुने छैन । “यी दुई परीक्षाको नतिजापछि चैतन्य क्याम्पसमा पुनः परीक्षा लिएर विशेषको नतिजा निकाल्ने हराम्रो योजना छ”, शर्माले भने । स्कूलमा पढाइरहेका शिक्षकहरूले नै जाँचमा चिट चोर्न पाउनुपर्ने माग राखी परीक्षा विथोलेका कारण परिषद्ले आउँदो वर्ष देखि यो परीक्षा सञ्चालन न गर्ने निर्णय गरेको छ ।गत साल रजिष्ट्रेशन फारम भरेका नियमित परीक्षार्थीको परीक्षा भने रोकिने छैन ।

लाइसेन्सको आंशिक नतिजा

शिक्षक सेवा आयोगबाट २०६६ फागुनमा सञ्चालित शिक्षण लाइसेन्सको आंशिक नतिजा प्रकाशित भएको छ । आयोगले शिक्षाशास्त्र पढेका र तालिम लिएका परीक्षार्थी समूहको माध्यमिक र प्राथमिक तहको नतिजा २२ असोजमा प्रकाशित गरेको हो ।

आयोगका अध्यक्ष उदयराज सोतीका अनुसार, माध्यमिकतर्फ ११ हजार ९६ परीक्षार्थीमध्ये १० हजार ४४७ जना (९४.१४%) उत्तीर्ण भएका छन् । प्राथमिकका २६ हजार ५५० मध्ये १९ हजार ७४५ अर्थात् ७४.३६% परीक्षार्थी सफल भएका छन् । आयोगले प्राथमिकतर्फ रौतहटका एक र माध्यमिकततर्फ पर्साका ४३ परीक्षार्थीको परीक्षा रद्द गरेको छ ।

शिक्षाशास्त्र पढेका र १० महिने तालिम लिएर निमाविको लाइसेन्सका निम्ति जाँच दिएका परीक्षार्थीको नतिजा दशैं र तिहारको बीचमा निकाल्ने तयारी आयोगको छ । निमाविका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण सकिए पनि रुजु गर्न नभ्याएका कारण प्रावि र माविसँगै नतिजा प्रकाशित गर्न नसकिएको अध्यक्ष सोतीले जनाएका छन् । शिक्षाशास्त्र नपढेका तथा तालिम नलिई ५ मङ्सिर २०६३ सम्म कार्यरत शिक्षकहरूको नतिजा भने तिहारपछि मात्र प्रकाशित हुने जनाइएको छ ।

शिक्षा समितिमा थपिए शिक्षक संस्था

शिक्षा मन्त्रालयले कानुनबमोजिम जिल्लामा दर्ता भएका शिक्षकका सबै संस्थाका अध्यक्ष लाई जिल्ला शिक्षा समितिको बैठकमा आमन्त्रण गर्न सकिने व्यवस्था गरेको छ । ३० असार २०६७ मा शिक्षामन्त्रीले यो निर्णय गरेका हुन् ।
यसअघि बढीमा तीन वटा संस्थाका अध्यक्ष लाई मात्र समितिको बैठकमा बोलाउन सकिने व्यवस्था थियो । मन्त्रीको यो निर्णयले जिल्लामा क्रियाशील र दर्ता भएका शिक्षकका सबै संस्थाका अध्यक्ष हरूलाई समितिको बैठकमा आमन्त्रण गर्न बाटो खोलिदिएको छ ।

ठूला नेता, कमजोर नतिजा

नवलपरासीमा ‘शिक्षक नेता’हरू कार्यरत स्कूलहरूको एसएलसीको नतिजा अत्यन्तै निराशाजनक पाइएको छ । जिशिका नवलपरासीको तथ्याङ्क अनुसार नेपाल शिक्षक युनियन, नवलपरासीका अध्यक्ष मोहन शर्मा प्रअ रहेको जनता उमावि, मनरीबाट गएको एसएलसीमा ४३ जना छात्रछात्रा सामेल भएको मा १ जना मात्र उत्तीर्ण भए । एसएलसीको यस्तो परिणामले गर्दा उक्त उमाविको कक्षा ११ मा कोही पनि भर्ना भएका छैनन् ।

अन्य संघ–संगठनका ‘नेता शिक्षक’हरू कार्यरत विद्यालयहरूको परिणाम पनि उस्तै छ । (हे. तालिका तल)
विद्यालयको गुणस्तर सुधार र अध्ययन/अध्यापन भन्दा राजनीतिलाई बढी महत्व दिने गरेकाले शिक्षक नेताहरू कार्यरत स्कूलको पढाइ ओरालो लागेको नवलपरासीका जिशिअ बरखुप्रसाद रजक बताउँछन् । तर युनियनका अध्यक्ष शर्मा भने शिक्षक नेताका स्कूल बर्बाद हुनुमा अभिभावकलाई दोष दिन्छन् । उनी भन्छन्, “अभिभावकले छोराछोरीको पढाइप्रति वास्तै गर्दैनन् । त्यसैले नतिजा यस्तो भएको हो ।”
बेचुगौड/नवलपरासी

एक लाखलाई टीपीडी

शैक्षिक जनशक्ति विकास केन्द्रले यस वर्ष लगभग एक लाख शिक्षकलाई पेशागत विकास तालिम (टीपीडी) दिने योजना बनाएको छ । त्यस अनुसार आधारभूत तहका ८६ हजार, माध्यमिक तहका १० हजार र चार हजार प्रअले नेतृत्व विकास सम्बन्धी तालिम पाउने छन् ।

टीपीडी तालिम १० दिनको हुन्छ । यो शिक्षकको पुनर्ताजगी तालिम हो । केन्द्रका उपनि र्देशक कृष्णप्रसाद काप्रीका अनुसार, तालिम आउँदो मङ्सिर देखि शुरु हुनेछ ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) मा शिक्षकको पेशागत विकास का निम्ति हरेक शिक्षकलाई पाँच वर्षमा तीन पटक यस्तो तालिम दिने प्रस्ताव गरिएको र अघिल्लो वर्ष करिब ३० हजार शिक्षकले यो तालिम पाएका थिए ।
यस वर्ष माध्यमिक तहका शिक्षकले शैक्षिक तालिम केन्द्र र अगुवा स्रोतकेन्द्रमा तालिम पाउने छन् भने आधारभूत तहका शिक्षकलाई सम्बद्ध स्रोतकेन्द्रमै तालिम दिइनेछ । देशभरिमा १ हजार ५३ वटा स्रोतकेन्द्र सञ्चालनमा छन् ।

नेपालमा पनि विश्व शिक्षक दिवस

अरू देशमा मनाइने गरेको विश्व शिक्षक दिवस यस वर्ष देखि नेपालमा पनि मनाउन थालिएको छ । १९ असोज (५ अक्टोबर) मा परेको यस वर्षको विश्व शिक्षक दिवस, नेपाल शिक्षक युनियन, युनेस्को, शिक्षा पत्रकार समूह र एनइसी नेपाल ले संयुक्त रूपमा ‘शिक्षक र सबैका लागि गुणस्तरीय शिक्षा’ विषयक अन्तरक्रिया गरेर मनाए ।

सो अन्तरक्रियामा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले आफ्नो अधिकारको कुरा गर्दा पढ्न पाउने बालबालिकाको अधिकारप्रति पनि सजग हुन शिक्षकहरूलाई आग्रह गरे । उनले भने, “हामी शिक्षकले शिक्षा व्यावहारिक भएन भनेर मात्रै पुग्दैन, हामीले नै व्यावहारिक बनाउने प्रयास गर्नु पर्छ ।”

नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले सरकारले शिक्षकसँग भएका सहमति कार्यान्वयनमा ध्यान नदिएको गुनासो गरे । उनले १४ बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिन युनियनले प्रधानमन्त्रीसँग भेट्ने समय माग्दा समय नदिइएको जानकारी पनि गराए । युनियनका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराईले दक्ष शिक्षकले मात्र योग्य नागरिक उत्पादन गर्न सक्ने भएकाले शिक्षकले आफ्नो क्षमता अभिवृद्धि गर्ने तिर पनि ध्यान दिनुपर्ने धारणा राखे । यसपटकको शिक्षक दिवसको विश्व नारा ‘सुधार शिक्षकबाटै शुरु हुन्छ’ भन्ने रहेको छ ।

यसै सन्दर्भमा नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीले एक विज्ञप्ति जारी गरी गुणस्तरीय शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारको संरक्षण योग्य, सक्षम, तालिमप्राप्त र गुणस्तरीय शिक्षकबाट मात्र सम्भव हुने बताएका छन् । विज्ञप्तिमा उनले शिक्षकको पेशागत सुरक्षा र स्थायित्व सुनिश्चित गर्न सरकारसमक्ष आग्रह पनि गरेका छन् । त्यस्तै संघकी महिला उपाध्यक्ष तथा विश्व शिक्षक महासंघ एसिया प्रशान्त क्षेत्रीय समितिकी सदस्य इन्दिरा सापकोटाले शिक्षक दिवसका अवसरमा अभिभावक, शिक्षक र छात्रछात्रालाई शुभकामना ज्ञापन गर्दै छात्रछात्रालाई स्तरीय शिक्षा दिलाउनका निम्ति आफैँ अग्रसर हुन शिक्षकहरूलाई अपील गरे की छन् ।

commercial commercial commercial commercial