त्यहाँ के छ त्यस्तो ? के’पो छैन र !
चित्त प्रसन्न हुने वन नै चित्तवन हो । अङ्ग्रेजहरूको चित्त प्रसन्न पार्न चितवनको सिकारमा अलमल्याएर आफ्नो सत्ता टिकाउन जङ्गबहादुर मात्र होइन जुद्धशमशेर पनि चुकेनन् । त्यतिवेला चितवनमा कस्तो वन थियो, कति बाघ,गैंडा, भालु, बँदेल अनि हरिण, मृग र हात्तीहरू थिए भन्ने कतै आँकडा छैन । सिकारमा मारिएका वन्यजन्तुको आँकडाको भरमा त्यतिवेलाको अवस्था कल्पना गर्नु पर्ने हुन्छ । श्री ३ हरूको तथ्यवृत्तान्त नामक पुस्तकमा पुरुषोत्तमशमशेर जबरा एउटा सिकारको बयान यसरी गर्नु हुन्छः
“उपरोक्त सिकार सवारीमा वि.सं. १९१८, तदनुसार १८६१ ई. सिकारमा श्री ३ जङ्गले जम्मा २१ वटा हात्ती पक्राउमा पारे भने ३१ बाघ, २७ जरायो, १गैंडा, १ अजिङ्गर, ११ अर्ना, १० बँदेल, ११गोही, २२ चित्तल, ४ भालु, ३ चितुवा मारी मार्च ३१ तारिख १८६२ ई. का दिन काठमाडौं फर्की आइपुगे ।” (भाग १, पृष्ठ १३५)
यस्तै सिकारको सिलसिलामा श्री ३ जुद्धशमशेरले अङ्ग्रेज पाहुना लर्ड लिनलिथगो (Lord Linlithgow) का साथमा चितवन जङ्गलमा १२० बाघ, ३८गैंडा, १५ भालु, २७ चितुवा लगायत अनेकौं वन्यजन्तुको सिकार गरेको तथ्याङ्कले आजभन्दा ७२ वर्ष पहिलेको चितवनको जैविक सम्पन्नता झल्काउँछ । राणाशासनको अन्त्यपछि तराई र मधेशबाट लामखुट्टे निर्मूल गर्ने काम भयो । औलो हट्यो । त्यसपछि मानिसको ओइरोले चितवनलाई छोप्यो । वन विनाशको कहाली र वन्यजन्तुको तस्करीले गर्दा वन र वन्यजन्तुहरू लोप हुने क्रम दिन पर दिन तीव्रगतिमा बढ्न थाल्यो । गैंडा त सयवटा पनि बाँकी रहेनन् । लोपै हुने स्थिति आइपुग्यो । अन्ततः २०३० साल (सन् १९७३) मा शाही चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो । त्यतिवेला गैंडाको सङ्ख्या १७७ थियो । वर्तमानमा चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९३२ वर्ग किमी फैलिएको छ । त्यसमा चितवन वाहेक मकवानपुर, नवलपरासी र पर्सा जिल्लाका भू–भागहरू पर्छन् । आज त्यही ९३२ वर्ग किमीभित्र मात्र हाम्रा वन्यजन्तुहरू बाँच्न बाध्य छन्; त्यो पनि दुर्लभ अवशेषका रूपमा ।

गैंडा, बाघ, भालु लगायत विभिन्न वन्यजन्तुको बासस्थान अरू मुलुकहरूमा पनि सुरक्षित रहेनन् । विश्व संरक्षण संघ (आईयूसीएन) को वैज्ञानिक विश्लेषणले विश्वमा सङ्कटापन्न (Endangered) स्थितिमा पुगेका वन्यजन्तुमा बाघ,गैंडा, हात्ती, सोंस तथा खस्रे खरायो (Hispid Hare) पनि पर्न गए । यस्ता दुर्लभ वन्यजन्तुका अवयवहरू (खाग, हस्तीहाड, हाड, छाला इत्यादि) अन्तर्राष्ट्रिय बजारमा किनबेच तथा ओसारपसारमा निषेध भयो । नेपाल सरकारले पनि यी वन्यजन्तुलाई कानूनी रूपमा नै संरक्षण दिन थाल्यो । वस्तुतः चितवन राष्ट्रिय निकुञ्ज राष्ट्रिय मात्र नरही अन्तर्राष्ट्रिय रूपमा नै एक महत्वपूर्ण संरक्षित क्षेत्रको रूपमा स्थापित भयो । त्यसको फलस्वरुप सन् १९८४ मा यस निकुञ्जले विश्व सम्पदा सूचीमा प्रवेश पायो ।
जैविक विविधता संरक्षणको निम्ति उच्च महत्व बोकेको यो प्राकृतिक क्षेत्र पर्या–पर्यटनको एक आकर्षक केन्द्र पनि बन्न पुग्यो ।गत वर्ष (सन् २००९) निकुञ्ज प्रवेश गरेका १,१३,७८८ व्यक्तिमध्ये ७८,६८२ विदेशी पर्यटक थिए । पर्यटक प्रवेश शुल्कबाट उठ्ने रकमको ५० प्रतिशत निकुञ्ज वरिपरि मध्यवर्ती क्षेत्रको सामुदायिक विकास मा जाने गरेको छ । निकुञ्ज व्यवस्थापन र सामुदायिक विकास को द्वन्द्वलाई यस व्यवस्थाले केही मत्थर पारेको भए तापनि गैंडा र बाघको अवैध सिकार रोकिएको छैन । गैंडा तथा हात्ती र अरू वन्यजन्तुले आसपासका खेतीबाली नष्ट गर्ने र मानिसको जीउधनको खति समेत हुनजाने घटनाहरूले गर्दा निकुञ्ज व्यवस्थापनले चर्को समस्याको सामना गर्नु परेको छ । अर्को समस्या बढ्दो पर्यटन पनि हो । निकुञ्ज परिसरभित्रै पनि सातवटा पर्यटन रिसोर्ट सञ्चालनमा छन् । अरू सयौं होटल, लज र सफारी क्याम्पहरू निकुञ्ज वरिपरि तैनाथ छन् । पर्यटन सेवामा १७० हात्ती र लगभग ५० वटा जीप मोटरगाडी निकुञ्जभित्रै चहार्दछन् । तिनका अतिरिक्त रिसोर्ट, होटल, लजका कर्मचारी, सरकारी कर्मचारी, सुरक्षार्थ तैनाथ नेपाली सेनाका जवानसमेत मिलाउँदा अन्दाजी १७०० व्यक्तिहरूको चहलपहल पनि निकुञ्जभित्रका वन्यजन्तुले व्यहोर्नुपर्ने नियति रहिआएको छ । यही परिदृश्यमा विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जको भविष्यलाई नियाल्नु परेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज रगैंडा एकअर्काका पर्यायवाचीको रूपमा स्थापित छन् । चोरी–सिकारीको मुख्य तारो पनि गैंडा, पर्यटकहरूले हेर्न चाहने प्रमुख आकर्षणको जन्तु पनि गैंडा, सञ्चारमाध्यमको मूल विषय पनि गैंडा अनि यहाँका होटल, रेस्टुराँ र पाहुना घरहरूका नाम र विज्ञापन पनि गैंडासँगै जोडिएका हुन्छन् । चितवनको कारागारमा पनि गैंडाका चोरीसिकारीहरू नै अधिक भेटिन्छन् । निकुञ्जको प्रगति र अधोगति गैंडाको सङ्ख्याको उतारचढावमा मूल्याङ्कन हुन्छ । स्थापना कालमा निकुञ्जभित्र २०० गैंडा पनि थिएनन् । सन् १९९४ मागणना गर्दा ४६६ को सङ्ख्यामा पुगेको गैंडा सन् २००० मा बढेर ६१२ पुग्यो तर ‘जनक्रान्ति’पछि को अस्थिर तथा कमजोर सुरक्षाको माहोलमा चितवनले पाँच वर्षभित्रै १५७ गैंडा गुमाउनु पर्यो । सन् २००८ को पछिल्लोगणनामा ४३५ गैंडाको उपस्थिति देखिन्छ । तर चोरी, सिकारी र तस्करीको सिलसिला अझै पनि कायम छ ।
सन् २०१० लाई बाघ वर्ष मनाउने सिलसिलामा सार्वजनिक भएको तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या १२५ पुगेको छ । सामान्यतः जङ्गलमा बाघ देख्न र भेट्न दुर्लभ हुन्छ । तर बाघका आहारमागनिने विभिन्न मृग जाति जस्तै चित्तल, रतुवा, ल गुना, जरायो, चौसिङ्गे (चौका) र यस्तै अन्य चौपायामा गौरीगाई, बँदेल भने यहाँ सहजै देख्न सकिन्छन् । विभिन्न सिमसार, नदी र जलाशयमा गोही र घडियाल पनि वेलाबखत भेटिन्छन् । निकुञ्ज कार्यालय; कसरास्थित गोही प्रजनन् केन्द्रमा गोही दर्शन ज्यादै सुलभ छ । सोंस (डल्फिन) भने चितवनमा ज्यादै दुर्लभ भइसकेको छ । वनजङ्गल चहार्दा अवसरकै कुरो हो भालु वा जङ्गली हात्ती र अजिङ्गर पनि आमने–सामने हुन बेर लाग्दैन । हात्ती प्रेमीहरूका लागि हात्ती प्रजनन् केन्द्र एउटा दर्शनीय स्थल बनेको छ । हात्तीका छावासँग खेल्न रुचाउनेहरूको भीडभाड पनि लाग्छ । यहाँका सबै छावाका पिता हात्ती जङ्गलबाटै आउने गर्द छन् । पाल्तु हात्तीले पिता बन्ने अवसर पाउँदैनन् ।

जैविक विविधताको फेहरिस्त गर्दा यहाँ स्तनधारी पशुको सङ्ख्या ५८ पुग्छ । तीमध्ये २३ प्रजाति (५८ प्रतिशत) अन्तर्राष्ट्रिय व्यापारमा प्रतिबन्धित दुर्लभ प्राणीको कोटिमा पर्छन् । यस्ता थुप्रै दुर्लभ वन्यजन्तुको बासस्थान भएकै कारण चितवनको अन्तर्राष्ट्रिय महत्व बढेको हो । चरा प्रजातिको सङ्ख्या ५३९ पुग्न आउँछ । तीमध्ये जाडो छल्न हिमालपारिबाट आउने चखेवाचखेवी, कर्याङकुरुङ, खोया हाँस र अरू विभिन्न पानी हाँसहरू निकुञ्जका विशेष आकर्षण हुन् । यस्तै, धनेस, भुँडीफोर, सारस, सीमकुखुरा, लुईचे, ठेउवा, हुट्टिट्याउँ र अन्य विभिन्न चराचुरुङ्गी जस्तै तोता, मैना, जुरेली पनि प्रचुर छन् । तर चितवनको विशेष शृङ्गार पन्छी भने मयुरलाई नै मान्नुपर्छ । यो दुर्लभ छैन, सानो पनि हैन र सौन्दर्यको दृष्टिले पनि अनुपम छ ।
चितवन राष्ट्रिय निकुञ्जको केही भाग चुरेमा, केही महाभारतमा र केही भाग समथर मधेशमा पर्छ । अनि नदी प्रणालीमा नारायणी, राप्ती र रिउ नदीको बदलिँदो स्वभाव र त्यसको प्रभाव क्षेत्रभित्र पर्ने हुनाले वन, जङ्गल र बगर तथा ताल, तलैया, घोल आदि सिमसारमा वन–वनस्पतिको विविधता पनि उत्तिकै पाइन्छ । सालका घना वन र खयर–सिसौका फाँट तथा विभिन्न खालका घाँसेमैदानहरूले गर्दा यो निकुञ्जको बासस्थान–विविधता विश्व प्रसिद्ध छ । यहाँका हात्ती डुबाउने अग्ला–अग्ला ढड्डी र नरकटका घारी दक्षिण एसियाका उत्कृष्ट घाँसेमैदानका उदाहरण हुन् । त्यस्तै सिरु घाँसका सेताम्य चउर र दूबोका हरिया फाँटहरू दुर्लभ वन्यजन्तुका लागि अपरिहार्य आहारा भण्डारका रूपमा रहेका छन् । सिमल, पलाँस, फलेदो आदि वृक्षमा फूल फुल्दा राताम्य हुने वन र तिनमा झुम्ने अनगिन्ती चराचुरुङ्गी, माहुरी र कीटपतङ्गको चहलपहलले वनगुञ्जायमान हुन्छ । यी वनमा भेलरका फलहरू खाँदै गरेका गैंडा र तिनले विष्ट्याएका विष्टा परीक्षण गर्यौ भनेगैंडा र भेलर वृक्षको रोचक सम्बन्ध उजागर हुन्छ । भेलर फलभित्र रहेका बीउका दानालाई गैंडाको पाचन प्रणालीले शुद्ध गरे पछि मात्र जमिनमा अङ्कुरा उन योग्य हुन्छन् । नत्र यी बीउहरू आफैं अङ्कुरा उन सक्दैनन् । यस्तो अन्तरनिर्भरता प्रकृतिको खेल रचनाभित्र धेरै देख्न पाइन्छन् ।
हाम्रा राष्ट्रिय निकुञ्जहरू झट्ट हेर्दा दुर्लभ वन्यजन्तुका संरक्षण थलोका रूपमा चिनिन्छन् । यसले गर्दा त्यहाँ वनजङ्गल र वनस्पतिको वैभव संरक्षण भएको कुरा गौण हुने गर्द छ । जबकि ती वन्यजन्तु र चराचुरुङ्गीहरू भने विभिन्न वनस्पतिमा आश्रित हुन्छन् । चितवन निकुञ्जमा दुर्लभ प्राणीहरूसँगै खयर, बयर, हर्रा, बर्रा, अमला, नीम, कुरिलो, पलास, राजवृक्ष, सर्पगन्धा, जामुनो, क्यामुनो, बेल लगायत अनेकौं वनौषधि तथा जडिबुटी पनि संरक्षित भएका छन् । घाँस परिवारभित्रका ५० भन्दा बढी प्रजातिका वनस्पति निकुञ्जभित्र मौजुद छन् । तिनमा खसखस, काँस, कुश, विभिन्न प्रकारका खर, दूबो, नरकट र अन्य बाँस, बाबियो, सवाई घाँस, सिरु विशेष उल्लेखनीय छन् । यहाँको वृक्ष प्रजातिको बाहुल्य पनि उल्लेखनीय छ । साल, सतीसाल, सिसौ र सिमल लगायत कर्मा, कुम्भी, कदम, टुनी, टाँटरी, असना र उत्तिस लगायत ५०/६० प्रजातिका वृक्ष सहजै भेट्न सकिन्छ । झर, बुटा र लहरा जातका वनस्पतिको त लेखाजोखा पनि भएको छैन । कोइरालो, टाँकी, भोर्लाका लहराहरूमध्ये सबैको दृष्टिमा पर्ने लहरा देब्रे लहरा हो । एउटा विशाल अजिङ्गरले बेरे जस्तैरूख वृक्षलाई देब्रेतिर बाट बेर्दै आकाशतिर पुग्ने होडमा यो लहरारूख माथि पुग्छ । यसको कोसाभित्र ठूल्ठूलो पाङ्ग्रे बीउ लाग्दछ । धनेस चराले यसको बीउ खाँदा ‘हाङ्ग्राले पाङ्ग्रा खायो’ भन्ने उक्ति निर्माण हुन्छ ।
विश्वसम्पदा सूचीमा परेको चितवन राष्ट्रिय निकुञ्जको सर्वाधिक चासोको विषय यता आएर वनमासा (मिकानिया) लहरे झरको बिगबिगी र पर्यटन विकास को पासो बन्न थालेको छ । १५/१६ वर्ष पहिले फाट्टफुट्ट देखि एको वनमासा झरले अहिले निकुञ्जको सेरोफेरोलाई चारैतिर बाट बेरिसकेको छ । यसको नियन्त्रण गर्न सकिएन भने यो विश्वसम्पदा खतराको सँघारमा छिट्टै पुग्ने सम्भावना छ ।
अव्यवस्थित पर्यटन विकास विशेष गरेर सौराहाको ठमेल प्रवृत्ति, निकुञ्जभित्रका होटल व्यवसायी र उच्च ओहोदाका सरकारी कर्मचारीको मिलेमतोमा विकास हुने मिचाहा प्रवृत्तिले गर्दा निकुञ्जलाई खतराको दिशामा धकेल्न थालेको छ । स्थापना भएको ३७ वर्ष पुगिसक्दा पनि निकुञ्जभित्रका होटल, लज र टेन्टेड क्याम्पहरूको प्रभाव मूल्याङ्कन हुन सकेको छैन । निकुञ्ज वरपर, आसपास र मध्यवर्ती क्षेत्रमा बाटोघाटो र भवनहरूको विकास –निर्माण, उद्योगधन्दा र कृषि व्यवसायले समेत अपनाउनुपर्ने सतर्कता वा पालना गर्नु पर्ने नियम र आचारसंहिता स्थलगत रूपमा कहीँ कतै देखिँदैन । पर्यटक आकर्षण गर्ने नाममा मरुभूमिबाट ऊँटहरू समेत झ्किाइएका छन् । अरू विकास र विलासका क्रियाकलाप पनि निरन्तर बढ्दैछन् । यस परिदृश्यमा विश्वसम्पदामा रहेको हराम्रो राष्ट्रिय निकुञ्जको व्यवस्थापनमा केही नौलो, आँटिलो र प्रभावकारी निर्णय लिन सक्नु परेको छ ।
समयमै त्यसो गर्न सकेनौं भने यो निकुञ्जको भविष्य एउटा अजायवखाना, एउटा चिडिया घर र एउटा मनोरञ्जन पार्कमा परिणत हुन्छ—जहाँ बार बन्देजभित्रगैंडा, खोरभित्र बाघ, प्रजनन् केन्द्रमा साङ्लोले बाँधिएका हात्ती, जटायु रेस्टुराँमा सिनो खान आउनेगिद्ध, खोरभित्र पालिएकागोही र कछुवा अनि अनगिन्ती क्यामेरा भिरेका पर्यटकहरूको कोलाहल मात्र भेटिन सक्छ । यो अवस्थामा त्यहाँ विश्व सम्पदा चाहिँ बाँकी रहने छैन ।



