शिक्षक – साहित्य
बस्नु राम्रो
– पुण्य कार्की

जहाँ नउभिँदा हुन्छ, त्यहाँ बसे हुन्छ । जहाँ नबस्दा पनि हुन्छ, त्यहाँ सुते हुन्छ । जहाँ नकुद्दा हुन्छ, त्यहाँ बिस्तारै हिँडे हुन्छ । जहाँ नबोल्दा हुन्छ, त्यहाँ मौन रहे हुन्छ । जहाँ विचार न गर्दा हुन्छ, त्यहाँ निर्विचार रहे हुन्छ । मेरो यस विचार मा तपाईं सहमत हुनुहुन्छ/हुनुहुन्न त्यो मलाई थाहा छैन । तर मेरो विचार मा शरीरलाई बढी भन्दा बढी आराम दिनुछ । अझ् धेरै वर्ष यो शरीरलाई बचाउनुछ । यो शरीरबाट अझ् धेरै काम गराउनु छ । त्यसैले छिट्टै थोत्रे बनाउनुभएको छैन यो शरीरलाई । विरोधाभास त्यहाँनेर हुन्छ, एकातिर यो शरीरलाई जतन गर्नु छ भनिरहेको हुन्छु, अर्कोतिर लत वा स्वादको संस्कारले यही शरीरलाई हानि हुने चिज पनि खाइरहेको हुन्छु । निर्दोष शरीरउपर अत्याचार लादिरहेको हुन्छु । शरीरलाई अनावश्यक रुपमा सताइरहेको हुन्छु । जसले गर्दा शरीरभित्र रोग पस्ने प्वाल खनिँदै छन् ।
मास्टरी गर्दा धेरै समय उभिनुपर्छ । विद्यार्थीसामु धेरै बोल्नुपर्छ । मेरा गुरु तथा अग्रजहरू जसले चालीस–चालीस वर्ष अध्यापन कार्यमा आयु लगानी गरिसकेका छन् । अझ् उनीहरूले कति करोड शब्द सङ्ख्या बोलिसके होलान् । उनीहरूको दाँजोमा पुग्न त मलाई अरू धेरै वर्ष लाग्नेछ । तर पनि बीस वर्षको अध्यापन कालमा यो मुखबाट धेरै शब्द निकालियो होला ।
बोल्दा शरीरमा भएको शक्ति व्यय भइरहेको हुन्छ । अनावश्यक ठाउँमा अनावश्यक कुरा धेरै बोलेर म शक्तिको व्यय गर्ने पक्षमा छुइनँ । त्यसैले जहाँ नबोल्दा पनि हुन्छ, त्यहाँ चुपचाप टोलाएर बस्छु । त्यस्तो क्षणमा पूर्ण मौनमा रहन्छु । उहिले उहिले वाणीको साधना गर्ने मानिस थिए, मौनताको साधना गर्ने मानिस थिए । उनीहरू धेरै धेरै वर्ष मौन रहेर ऊर्जाको सञ्चिति बढाउँथे । मौनताको साधनाले नै उनीहरू मुनि भएका होलान् भन्ने लख काट्छु । तर अहिले जमाना ठीक उल्टो छ । नबोल्ने मानिसको त कुनै पनि ठाउँमा खैरियत रहँदैन । अनि त उखान बनेको छ– बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।
अर्को पक्षबाट सोच्दा बोल्नु भनेको एकप्रकारले आफू भित्रको पागलपनको रेचन पनि हो । आफू भित्रको विक्षिप्तताको विरेचन पनि हो । भित्रका असन्तुष्टिहरू, गुनासा र सिकायतहरू, विरोध र स्वीकृतिहरू बोल्दाखेरी छताछुल्ल पोखिने गर्छन् । यसबाट मान्छेलाई सन्च हुन्छ । मन हलुङ्गो बन्छ । धेरै बोल्ने बानी परेका मान्छेहरूलाई नबोल्दाखेरी उकुसमुकुस र छटपटीलेगाँज्छ ।
आफूलाई भने बोल्न भन्दा सुन्न मजा लाग्ने भएकाले वक्ता हुनुभन्दा श्रावक हुनुमा बढी कुशलता देखेको छु । फेरि धेरै बोल्न धेरै शक्तिको खाँचो पर्दोरहेछ । कम बोल्दा कम शक्तिको व्ययीकरण भएको कुरा घरको रेडियोबाट थाहा पाउँछु । रेडियोलाई चौबीसै घण्टा बोल्न लाइराख्यो भने ब्याट्रीको पाइन दुवै दिनमा खलास बन्छ । थोरै बजायो भने धेरै दिन टिक्छ । मान्छेको शरीर भित्रको ऊर्जा पनि त रेडियोको ब्याट्री जस्तै होला ।
फेरि कम बोल्दा शक्ति सञ्चय हुँदोरहेछ भन्ने कुरा भदौ महिनामा विशेष रूपमा अनुभूति गर्न सक्छु । साउन महिनामा मैले शिक्षण गर्ने शिक्षण संस्थाहरू प्रायः बन्द रहन्छन् । एक/डेढ महिनाको बर्खे बिदामा मैले करिब–करिब कम बोल्दा हुन्छ । फेरि म बढीभन्दा बढी मौन रहने चेष्टा गर्द छु । जब भदौमा स्कूल खुल्छ, अनि अलिबार पढाउन, काम गर्न बढी ऊर्जावान् भएको महसुस गर्छु । त्यतिखेरको वाणीमा ओज र माधुर्य पनि अर्कै अर्कै हुन्छ । यसबाट तपाईंको लागिगलतै होस्, एउटा झ्निो निष्कर्ष निकाल्छु– साउन महिनाको मौनताबाट शक्तिसञ्चय भएर म बढी ऊर्जावान् भएको हुँदो हुँ ।
ठाउँ कुठाउँ धेरै बोल्ने बानी नभएकाले मलाई कसैकसैले यो ठ्याप्पै बोल्दैन भनेर आलोचना गरेको पनि सुनेको छु । कसै कसैले घोसे भनेको पनि थाहा पाएको छु । तर नियतवश नबोलेर घोसे भएको चाहिँ होइन । बोल्न भन्दा चुप लाग्न मन पराउने स्वभाव भएकाले यस्तो भान परेको मात्र हो । यो स्वभावले कति ठाउँमा मलाई असफल बनाएको छ । जीवनको बाटोमा यही स्वभावले कति ठाउँमा पछि पनि परेको छु । तर पनि मलाई बोल्न भन्दा मौन रहन नै मजा लागिरहेको छ ।
अनि अलिकति ओछ्यान मिल्यो कि लम्पसार सुतिदिन्छु । कतिपय अवस्थामा पत्नीको गुनासो हुन्छ– के लडिका बनेर सुतिहाल्नु परेको होला ? यो बूढाको त सीधा बस्ने बानी नै छैन । बस्नुभन्दा सुत्नु जातिको आफ्नो पुराण सुनाउँछु । यस कुरा ले उनको दिमागी पारो अरू माथि चढ्छ । उनले जति भने पनि मैले आफ्नो बानी नफेरेपछि उनले मेरो ओछ्यानमा ढल्किने बानीलाई स्वीकारभावले हेर्न थालेकी छिन् ।
अचेल म बिहान पाँच बजे उठ्छु । उठ्ने बित्तिकै आफ्नो नित्यकर्म सकेर स्कूल कुदिहाल्छु । बिहान पाँच बजे घरबाट निस्केको मान्छे मावि देखि मास्टर डिग्रीसम्मका कक्षा भ्याएर राति सात/आठ बजे घर फर्किंदा थाकेर लोथ हुन्छु । घर आएरगाँस टिपेर नौ नबज्दै ओछ्यानमा पुर्लुक्क पल्टिन्छु । त्यो वेला श्रीमतीजीका वचनबाण कानमा ठोक्किन्छन्– सुत्ने र पढाउने बाहेक तपाईंको अर्थोक काम केही भएन । म सुत्न आतुर भएको कारण शक्तिसञ्चय नै हो भन्ने कुरा बुझाउन मलाई गाह्रो परिरहेछ ।
कक्षामा उभिएर प्रस्तुत गर्नु पर्ने विषयवस्तु बाहेक अरू कुरा पढाउँदा आरामसित बसेरै पढाउँदा पनि हुन्छ भन्ने मान्यता राख्छु । सहज ढङ्गले बसेर पढाउन मिल्ने ठाउँमा म त्यो अवसरलाई पनि उपयोग गरिदिन्छु । मेरो बानी बुझेका कतिपय चेलाचेलीले मलाई सहज रूपमा बस्ने चाँजोपाँजो पनि मिलाइदिन्छन् । उनीहरूले बुझसिकेका छन्, जहाँ नउभिँदा हुन्छ, त्यहाँ सजिलोसित बसेरै काम गर्नु पर्छ । जहाँ नबस्ता हुन्छ त्यहाँ सुतेर शरीरलाई आराम दिँदा हुन्छ ।
यो उमेरमा पढाउनु को अलावा कमाउने र बालबच्चा पाल्ने व्यवसायका अन्य उपाय केही गरिएन । व्यापार सिकिनँ, ठेकेदारी गर्न जानिनँ । मान्छेको व्यापारमा हात हालिनँ । खेतीपातीको ख पनि शरीरले स्वीकार गरे न । विद्यार्थीलाई गोटागन्ती शब्द सिकाउनु , कापी काट्नु, अक्षरमा अनुभूति पोख्नु बाहेक अरू केही गर्न जानिनँ । यति गर्न पनि दुईदुई चोटि सर्वाकल अपरेशन व्यहोरेको मेरो कमजोर शरीरलाई धेरै धेरै ऊर्जाको आवश्यकता छ । त्यही ऊर्जा सञ्चय गर्न म जहाँ नउभिँदा हुन्छ त्यहाँ बसिदिन्छु । जहाँ नबस्दा हुन्छ त्यहाँ सुतिदिन्छु । जहाँ नदगुर्दा हुन्छ त्यहाँ सुस्तरी हिँडिदिन्छु । जहाँ नबोल्दा हुन्छ त्यहाँ मौनतामा डुबिदिन्छु । जहाँ नसोच्दा हुन्छ त्यहाँ निर्विचार भइदिन्छु ।
जनज्योति उमावि, चुहाडे, उदयपुर

प्रियजन भेट
– रोहिणीप्रसाद घिमिरे
‘प्रियजन भेट !’
अनायासै उसका आँखा ठोक्किए राशिफलमा । त्यसो त ऊ पत्रिकामा छापिने राशिफलमा विश्वास गर्दैन तर आजको राशिफल भने उसले दोहो¥याई तेहे¥याई पढ्यो । आजको अखबारमा उसको राशिको राशिफल लेखिएको थियो– ‘प्रियजन भेट ।’
उठ्नेबित्तिकै अखबार पढ्दै चियाको चुस्की लिनु उसको पुरानो आदत हो । सधैं झै आज पनि उसले त्यसै गरयो । पहिलो पृष्ठमा छापिएका सबै समाचारका शीर्षक हे¥यो । मुख्य–मुख्य समाचार पढ्यो र पृष्ठ पल्टायो । मध्यपृष्ठमा छापिएका लेखहरू सर्सर्ती पढिसकेर पाना पल्टाउन लाग्दा त्यसै पृष्ठको तल्लो कुनामा छापिएको राशिफलमा अनायासै उसका आँखा ठोक्किए । हुन त अखबारको त्यो कुनामा सधैं राशिफल छापिएको हुन्थ्यो तर ऊ कहिल्यै राशिफल हेर्दैनथ्यो । तर आज भने उसले राशिफल निकै चाख मानेर हे¥यो । किन किन उसलाई आजको राशिफलले कोही न कोही प्रियजनसँग भेट गराउला जस्तो लाग्यो ।
को हुन सक्छ त त्यो प्रियजन ? उसले आफ्ना इष्टमित्रहरू सम्झयो, नातागोता सम्झयो तर कुनै सम्भाव्यता फेला पार्न सकेन ।
आज शनिबार अर्थात् बिदाको दिन । कतै जानुपर्ने पनि थिएन । हिजो अबेरसम्मको धपेडीलेगलाएको उसको शरीरमा अझै स्फूर्ति पलाउन सकेको थिएन । त्यसैले आज कतै नगई डेरामै बसेर थकाइ मार्न चाहन्थ्यो ऊ । तर राशिफलले उसको मथिङ्गलमा बारम्बार घोचिरहेको थियो ।
ऊ बसिरहेको ठाउँबाट उठ्यो । को प्रियजनसँग भेट हुनसक्ला भनेर सोच्न थाल्यो । उसले आफ्ना नातेदारहरू सम्झ्ँदै आज भेट हुनसक्ने सम्भाव्य व्यक्ति निक्र्योल गर्न खोज्यो तर कुनै नातेदारहरूसँग आज भेट हुन सक्ने सम्भावना देखेन । उसले आफ्ना धेरै साथीसँग ीहरू पनि सम्झयो र आजको राशिफल साकार गराउन सक्ने मित्रबारे टुङ्गोमा पुग्न खोज्यो तर त्यस्तो कुनै साथीभाइ उसको मगजमा झुल्किएन ।
‘जाबो राशिफलमा पनि विश्वास गर्ने !’ एक मनले त बित्थामा टाउको नदुखाउन उसलाई आग्रह पनि गरयो तर अर्को मनले भने आजको राशिफलमा विश्वास गर्न कता कता कर गरिरह्यो । त्यस्तो को प्रियजनसँग भेट होला भन्ने अन्तद्र्वन्द्वमा ऊ निकैबेर अल्झ्यिो, अल्झ्रिह्यो ।
‘आ, राशिफल नरराम्रो भए पो टाउको दुखाउनु’ – उसले राशिफलबाट ध्यान अन्यत्रै हटाउन कापीकलम झ्क्यिो र केही लेख्न चाह्यो । तर के लेख्ने ? जति बिर्सन खोजे पनि आजको राशिफलले बारम्बार उसको पिछा गर्न छाडेन । कहिल्यै राशिफलमा विश्वास न गर्ने ऊ आज दिनभरजसो नै राशिफलकै विषयमा घोत्लिरह्यो ।
‘कतै अर्कैको राशिफल त हेरिएन !’ उसले पुनः अखबार पल्टायो र हे¥यो । राशिफल झूटो हुने कुरै थिएन । उसको नाम चिरञ्जीवी । दे, दो, चा, चि, ... मीन राशि । मीन राशिको आजको राशिफल स्पष्टसँग लेखिएको थियो – ‘प्रियजन भेट ।’
राशिफलका सम्बन्धमा उसलाई सहकर्मीहरूले केही दिन पहिले सुनाएका रमाइला प्रसङ्गहरूको सम्झना आयो । राशिफलमा ‘मिष्टान्न भोजन’ लेखिएको दिन दिनभर भोकै बस्नुपरेको रमाइलो यथार्थ सुनाएर रमेशले खूब हँसाएको थियो । अर्को सहकर्मी मनोजले राशिफलमा ‘धनप्राप्ति’ लेखिएको दिन पाकेटमारले आफ्नो पाँच हजार रुपैयाँ चट् पारिदिएको मार्मिक घटना सुनाएको थियो ।
सहकर्मीहरूका उल्लिखित अनुभवहरू सम्झेर उसले आफ्नो आजको राशिफलबाट ध्यान अन्यत्रै मोड्न खोज्यो तर जति गर्दा पनि आजको राशिफलले उसलाई लखेटिरह्यो, लखेटिरह्यो । राशिफलकै विषयमा सोच्दासोच्दै पूरा दिन बितिसकेको समेत उसलाई पत्तै भएन । घडी हेर्दा पो ऊ झ्सङ्ग भयो । किनभने घडीले साँझ्को ६ बजाउनै आँटेको थियो ।
“दिन बितिसक्यो, कसैसँग भेट भएन । राशिफल सत्य भए त कोही न कोहीसँग अवश्य भेट हुनुपर्ने”, उसले मनमनै सोच्यो ।
साँझ् परिसकेको र अरु केही काम पनि नभएको ले चाँडै खाना खाएर चाँडै सुत्ने विचार ले ऊ खाना पकाउने तरखर गर्न थाल्यो । चामल झ्क्नि के लागेको थियो त्यति नै वेला उसको ढोकामा बाहिरबाट ढक्ढक्याएको आवाज आयो । ऊ हठात् रोकियो र ढोकातिर फर्कियो ।
“को हो ?” उसले उत्सुकताबस सोध्यो ।
बाहिरबाट कुनै आवाज आएन । प्रत्युत्तरमा पुनः ढोका ढक्ढकियो ।
“ढोका खुलै छ, भित्रै आए हुन्छ”, उसले ढोका खोलिरहनु आवश्यक ठानेन र चामल झ्क्नि ठीक परयो ।
“ढक् ढक् ढक् !” ढोका अर्कोचोटि ढक्ढकियो ।
“को हो ?” ऊ अलि चर्कै बोल्यो ।
अहँ, बाहिरबाट अझै कुनै प्रतिक्रिया आएन ।
उसलाई झ्ट्ट आजको राशिफलको सम्झना भयो र बडो फूर्तिका साथ ढोका उघा¥यो । बाहिर उभिएको आगन्तुकलाई देखेर ऊ झन्डै चिच्यायो । उसका ओठमुख सुके । निधारमा चिटचिट पसिना आयो । शरीरै सिरिङ्ग भयो । टेकिरहेको धर्ती एक्कासि भासिए जस्तो भयो । सँघारमा सुत्केरी हुने वेला पुगेकी एउटीगर्भवती युवती उभिएकी थिई । त्यो युवती पोखिनै लागेका टिलपिल टिलपिल आँसु भरिएका आँखाले ऊसँग मौन भाषामा भित्र पस्ने अनुमति माग्दै थिई ।
त्यो त्यही ‘प्रिय’ युवती थिई, जोसँग उसले आठ महिनाअघि ‘चोखो माया’ गर्दै कैयौं रात बिताएको थियो ।
बालकल्याण निमावि, शनिश्चरे–६, मोरङ

यो राष्ट्रका रक्षक
– धनराज सापकोटा
शिक्षाक्रान्ति गरेर उन्नतिमहाँ लैजान्छ यो शिक्षक
थोत्रा रीति बिगारि सभ्य समता निर्माणको सर्जक ।
आफू मैनसरी खिएर अरूमा विज्ञान यो छर्दछ
रराम्रो भाव नयाँ सुसंस्कृतिकला सञ्चारले भर्दछ ।।
पूर्वी ज्ञान र पश्चिमी जगतको मिश्रण गरी पस्किँदा
खुशी हुन्छ अहो ! भविष्य युगको स्रष्टा बनी टक्रिँदा ।
शैली शिल्प नयाँ विचार बलले फली अँध्यारो छटा
रराम्रो मार्ग बनाउने मति लिई हिँड्द्यौ हटोस् दुर्दशा ।।
तिम्रो धर्म निभाउ दण्ड नदिई रक्षा गरी धर्मको
रक्षा गर्नु सधैं स्वदेश चिनिने यी नैष्ठिकी कर्मको ।
गार्गी बन्नु नबन्नु कर्कश हठी ज्ञानी बनून् शिक्षिका
दानी भाव दया र मूल–कुलका खानी बनून् शिक्षक ।।
तिम्रो कर्म बनोस् र बालहितका चर्चा चलून् देशमा
शिक्षा नाम लिई कतै नठगियोस् व्यापारीको भेषमा ।
रराम्रो पाठ दिई अबोधहरूमा सोझेगरौं राष्ट्रको
खोक्रो देश गराउने नियतिको नङ्गागरौं भ्रष्टको ।।
तार्ने माझी बनेर चिन्न सकियो अज्ञानको सागर
खोक्रो पेट लिई बढ्यो धरतिमा संज्ञानको खातिर ।
के गर्छौ जन हो ! अपार हियका यस्तै भए देशमा
चम्किन्थ्यो बिजुलीसरी प्रगतिका बाटाहरू तेजमा ।।
धेरै रक्त बगेरगो मुलुकमा मर्का परे शिक्षक
आफ्नो सान बचाई लम्क अब ता नेपालका सेवक ।
पाखण्डीपनका अगस्तिहरूले छाती लुकाउन् अब
उच्च शिर गरेर उन्नतितिर लम्कौं र जागौं सब ।।
विश्वामित्र–वशिष्ठ–सान्दिपनि का आदर्श फैलाउनु
नेपालीपनका नवीन युगका आदर्श मौलाउनु ।
थोत्रा रीति बढारि लम्कनु सधैं हे क्रान्तिका सर्जक
नौलो क्रान्ति परेगरौं अघि सरौं यो राष्ट्रका रक्षक ।।
(शार्दूलविक्रीडित छन्द)
कालिका कन्या मन्दिर मावि, बागलुङ
घोडामार्गी हामी
– शिवशरण ज्ञवाली

श्यामश्वेत घोडा । पौराणिक कथा अनुसार विश्वविजयी सम्राटहरूले विश्वविजय गरेको निश्चित गर्न तेजी र सुन्दर अश्वहरू छाड्थे । अश्वमेध यज्ञपछि रामले छाडेको यस्तै घोडालाई उनकै छोराहरूले समातेको कथा रामायणमा छ । मदनमणि दीक्षितको उपन्यास माधवी मा वर्णित यस्ता चारवटा घोडा प्राप्त गर्नका लागि कथा नायिकाले अलग अलग राजाहरूबाट चारवटा छोरा पाइदिनुपर्छ । मलाई श्यामश्वेत घोडा मनपर्छ तर ती विश्वविजयको चाहना राख्ने व्यक्ति मन पर्दैन ।
विद्यार्थी छँदा भन्थेँ, म विश्वविजयको सूचना बटुल्न हिँडेको श्यामश्वेत घोडा हुँ । फर्केर हेर्छु– मेरो धूले पाठशाला देखि विश्वविद्यालयको शिक्षक हुँदासम्मको यात्रालाई । आजभोलि म आफूलाई ‘विश्वविद्यालयको निम्न बेतनभोगी शिक्षक’ मात्र भन्छु । म न शास्त्रीय मजदुर न आधुनिक नै । कतै परिभाषामा नपरेको मजदुर, जसले निम्न बेतनमा जीवनयापन गर्छ । कसैले सङ्घर्षको उदाहरण दिँदा मेरो नाम लिएको सुन्छु । खुसी लाग्छ, उदाहरण दिने साथीलाई । म ठूल्ठूला भौतिक र मान सिक दुर्घटनाबाट उम्केर अघि बढेको छु । तापनि आज म जुन स्थानमा छु त्यो मेरो परिश्रम, साधनाका साथसाथ शिक्षा र आर्थिक बन्दोबस्तको परिणति हो भन्ने लाग्छ ।
आज बिहान एउटी गाउँले चेलीको इमेल पाएँ, “म बाहिर छु यूकेमा” लेखेकी रहिछिन् । चानचुन दुई वर्ष अघि काठमाडौँ झ्रेपछि उनले स्थगित अध्ययनलाई गति दिइन्, स्नातक भइन्, केही महिना जागिरको अनुभव बटुलिन्, केही सीप सिकिन् र आज बेलायत पुगिछन् । महत्वाकांक्षा र मेहनतले उनलाई सात समुद्रपार पु¥यायो । हिजोसम्म गाउँमा घाँसको भारी बोकेर काम गर्ने चेली बेलायत पुगी भनेर म भने फुरुङ्ग छु । त्यसो त बेलायत पुग्दैमा सबै कुरा ठीक भन्ने होइन । त्यहाँ पनि जागिरको समस्या होला, महँगी होला । जेहोस् उनी आँट बोकेर त्यहाँ पुग्नु उनको शिक्षा र आर्थिक बन्दोबस्तको परिणाम हो ।
गत जेठमा अचानक स्कूल पढ्दाका एकजना साथीसँग भेट भयो । उनले हराम्रो कक्षाका फस्र्ट ब्वाई र आफू सँग सँगै भएको बताए । हाम्रा फस्र्ट ब्वाई दिल्लीको कुनै होटलमा काम गर्छन् रे । उनले एसएलसीपछि आफ्नो पढाइलाई अगाडि बढाउन सकेनन् । पढाइमा अब्बल हुँदाहुँदै पनि उनी दिल्लीमा निम्नस्तर को जागिर गर्न विवश छन् । उनको जीवनमा शिक्षा र आर्थिक बन्दोबस्तको उचित संयोजन हुन सकेन, जसको परिणति उनको शैक्षिक यात्रा समाप्त भयो ।
श्यामश्वेत घोडा कर्मको एउटा बिम्व हो । हामी कर्म गर्न हिँडेका श्यामश्वेत घोडाहरू हौं । मेरो गाउँ वा समाज पनि श्यामश्वेत घोडाजस्तै विश्व भ्रमण गर्ने प्रयत्न गर्दैछ तर आफ्नै विरोधाभासले जकडिएको पनि छ । अशिक्षा, गरिबी र रोग छ । हाम्रा केही भाइबहिनी कम्प्युटर र टेलिभिजनमा रमाइरहेका छन् तर कतिपय त अहिले पनि अघिल्लो पुस्ताकै नियति भोग्न विवश छन् । आमाबाबुलाई साँझ्–बिहानको छाक टार्ने समस्या नै पहाड बनिरहेको बेला छोराछोरी पढाउ अनि सुखी हुन्छौ पनि कसरी भन्ने ।
विद्यालय पढ्दै गर्दा धन ठूलो कि विद्या ठूलो भनेर वादविवाद वा वक्तृत्वकला गराइन्थ्यो । वास्तवमा धन र विद्या भनेको न वादविवादका विषय रहेछन् न त वक्तृत्वकलाका नै । धनले विद्या दिनुपर्दो रहेछ, विद्याले चेतना, सक्षमता र रोजगारी दिनुपर्दो रहेछ । न कोरा र फोस्रो शिक्षाको कुनै औचित्य छ न थुपारिएको धनको । त्यसो त उल्लिखित पात्रहरू कोही पनि समाज मा रहेका तमाम समस्याहरूका विरुद्ध उत्रन सक्ने अवस्थामा छैनन् । भर्खर–भर्खर जीवन निर्वाहका बाटा खोज्दै छन् । तर पनि कोही समस्याका बारेमा चिन्तनसम्म गर्ने अवस्थामा छन् कोहीलाई त्यही चिन्तन पनि गर्न नसक्ने बाध्यता छ । तापनि यथार्थ के हो भने कोही उडेका छौँ कोही घस्रिएका छौँ । उडे पनि घस्रिए पनि सिकाउने त त्यही परिवार नै हो, त्यही समाज नै हो, त्यही गाउँ नै हो । तसर्थ त्यो परिवार, त्यो समाज वा त्यो गाउँप्रति हाम्रा निश्चित कर्तव्यहरू छन् । भावी दिनमा त्यस्ता कर्तव्यहरू पूरा गर्न र गाउँलाई अग्रगति दिन विश्व डुलिरहेका श्यामश्वेत घोडामार्गीहरू सफल हौंला वा नहौंला ? चुनौती छ ।
सबैलाई दशैं, तिहार र छठको शुभकामना ।
धौलागिरी बहुमुखी क्याम्पस, बाग्लुङ






