जिज्ञासा र जवाफ
स्रोत शिक्षकले भत्ता पाउँछ ?
१. विशेष शिक्षा परिषद्बाट सञ्चालित स्रोत कक्षामा अध्यापन गर्ने स्रोत शिक्षकले भत्ता पाउँछ कि पाउँदैन ?
२. के ‘स्रोत शिक्षक भत्ता’ विद्यालय तह अनुसार फरक पर्छ ? यदि फरक पर्छ भने माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको स्रोत शिक्षक भत्ता कति हो ?
वैदेहीशरण यादव
श्री उमावि, बसबिट्टी, महोत्तरी
विशेष शिक्षा परिषद्बाट सञ्चालन हुने कक्षाका स्रोत शिक्षकलाई भत्ता दिने व्यवस्था छैन ।
अरुण कुमार तिवारी
उप–निर्देशक, शिक्षा विभाग, भक्तपुर
आयोग र जिशिकाको फरक निर्णय !
म शिक्षक सेवा आयोगबाट २०६६ मा विज्ञापन गरिएको नि.मा. द्वितीय श्रेणीको बढुवाको २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा तथा अन्तरवार्तामा समेत सफल भएको छु । आयोगले २५ असार २०६७ मा मेरो बढुवाको निर्णय गरेको छ । तर, जिशिका, पाल्पाले दिएको बढुवा नियुक्तिपत्रमा ‘१२ साउन २०६७ देखि लागू हुने गरी बढुवा नियुक्ति दिइएको’ उल्लेख छ । जिशिकाले आयोगको सिफारिस मिति अनुसार नै नियुक्ति दिन मिल्ने थिएन र ? यो अवस्थामा मेरो ज्येष्ठताक्रम रग्रेडगणना कुन मिति देखि हुन्छ ?
ध्रुवप्रसाद पङ्गेनी
बुद्धविकास निमावि, कोलडाँडा, पाल्पा
आन्तरिक प्रतियोगितात्मक बढुवा नियुक्ति सम्बन्धमा शिक्षक सेवा आयोगले जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने र त्यसैका आधारमा जिशिकाबाट शिक्षकलाई बढुवा नियुक्ति दिनुपर्ने व्यवस्था छ । त्यसरी बढुवा नियुक्ति लिएको पदमा हाजिर भएको मितिबाट ज्येष्ठताक्रमगणना गरिने रग्रेडको सम्बन्धमा शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार एक शैक्षिक सत्र पूरा गरेको हुनुपर्छ ।
वैकुण्ठप्रसाद काफ्ले
उपसचिव, शिक्षक सेवा आयोग, भक्तपुर

अङ्ग्रेजी शिक्षक मागिएला ?
म ५ वैशाख २०६१ मा मुस्ताङको चराङ निमाविका लागि नि.मा. तृतीय श्रेणीको शिक्षक पदमा नियुक्त भएँ । त्यसपछि कात्तिक २०६३ मा दिव्यदीप मावि, छोसेरमा सरुवा भएँ र १७ वैशाख २०६४ मा मावि तृतीय(अङ्ग्रेजी) शिक्षकमा नियुक्ति पाएँ । २०६२/६३ मा आन्तरिक प्रतिस्पर्धाको विज्ञापनमा मुस्ताङका लागि माध्यमिक तह(अङ्ग्रेजी)तर्फ एक जना पनि मागिएन । अब खुल्ने आन्तरिक प्रतिस्पर्धामा मैले उक्त पदमा आवेदन दिन पाउँला कि नपाउँला ?
ध्रुवबाबु पोखरेल
दिव्यदीप मावि, छोसेर, मुस्ताङ
सर्वप्रथम त शिक्षक सेवा आयोग नियमावली संशोधन भएपछि मात्रै विज्ञापनको प्रक्रिया अगाडि बढ्नेछ । साथै, जिल्लाबाट पदपूर्तिका लागि कुन–कुन विषयका शिक्षकको माग आउँछ, त्यही अनुरुप आयोगले विषयगत शिक्षकको विज्ञापन गर्ने छ । अङ्ग्रेजी विषयको माग भएको खण्डमा तपाईंले आवेदन दिन पाउनुहुनेछ ।
वैकुण्ठप्रसाद काफ्ले
उपसचिव, शिक्षक सेवा आयोग, भक्तपुर
थुना अवधिको तलब पाउँला ?
म प्राथमिक तहको स्थायी शिक्षक हुँ । म २० साउन २०५५ देखि ५ साउन २०५८ सम्म कर्तव्य ज्यानको अभियोगमा थुनामा परेको थिएँ । थुनामुक्त भएपछि म शिक्षकमा पुनर्वहाली भएँ । तर, मैले थुनामा रहेको अवधिभरको तलब पाएको छैन । उक्त अवधिको तलब मैले पाउँछु कि पाउँदिनँ ?
सर्वजीत केसी
बालशिक्षा प्रावि, गैरीनेटा, रुकुम
तपाईं कसरी पुनर्वहाली हुनुभयो भन्ने कुरा प्रस्ट भएन । कर्तव्य ज्यानको अभियोगमा अदालतबाट निर्दोष ठहर भई तपाईंले सफाई पाएको भए शिक्षा नियमावली, २०५९ को नियम १४१ बमोजिम थुनामा रहेको अवधिको तलब/भत्ता पाउनुहुन्छ । अन्यथा पाइँदैन ।
हरिप्रसादगौतम
उपनि र्देशक, शिक्षा विभाग
कुन विषय प्राथमिकतामा पर्छ ?
शिक्षक भर्ना प्रक्रियामा नयाँ नीति ल्याइएको भन्ने सुनेको छु । जस अनुसार, विषयगत प्राथमिकता (अङ्ग्रेजी, विज्ञान, गणित...) आधारमा शिक्षक नियुक्त गर्ने भन्ने नीति सबै स्कूलका लागि सुहाउँदो हुन्छ ? राहत वा पीसीएफ दरबन्दीमा शिक्षक नियुक्त गर्दा कारणवश व्यवस्थापन समितिले पहिले अङ्ग्रेजी विषयको विज्ञापन न गरी विज्ञान विषयमा विज्ञापन गर्दा जिशिकाबाट स्वीकृत हुन्छ कि हुँदैन ?
सुरेश कुमार शर्मा
सिद्धार्थ निमावि, मोतीपुर– १, बर्दिया
शिक्षक नियुक्ति प्रक्रियामा तत्काललाई नयाँ नीति ल्याइएको छैन । शिक्षा नियमावली, २०५९ को अनुसूची १२ अनुसार, निमावि र मावि तहमा नियुक्ति गर्दा क्रमशः अङ्ग्रेजी, विज्ञान, गणित, नेपाली लगायतका विषयको शिक्षक नियुक्ति गर्ने प्रावधान छ । यसमा कुनै व्यावहारिक कठिनाई पर्दा जिशिकासँग अग्रिम सल्लाह लिन सकिन्छ ।
हरिप्रसादगौतम
उपनि र्देशक, शिक्षा विभाग
प्रस्ट भइएन
१ भदौ २०६६ मा गोरखापत्र मा प्रकाशित ‘विद्यालय शिक्षा सम्बन्धी गतिविधि (६७)’ मा प्रअ तथा निमित्त प्रअ नियुक्त गर्ने सम्बन्धमा जिल्ला शिक्षा कार्यालयलाई दिइएको निर्देशनमा शिक्षा विभागको ३० साउन २०६६ को निर्णयानुसार अनुरोध गरिएको सूचना अवगत भयो । तर, सो व्यवस्था प्राथमिक तहका लागि मात्र हो वा निम्न माध्यमिक र माध्यमिक तहमा पनि लागू हुन्छ ? निमित्त प्रअको व्यवस्था बारे शिक्षा ऐन/नियमावलीमा के कस्तो व्यवस्था छ ?
रामप्रसाद पाण्डेय (नेपाली)
भगवती नमुना उमावि, मिर्मिढाव, स्याङ्जा
उक्त व्यवस्था सबै तहका लागि गरिएको हो । शिक्षा नियमावलीको नियम ९३ बमोजिम प्रअ नियुक्ति नभएसम्मका लागि व्यवस्थापन समितिको निर्णयबाट अधिकतम तीन महिनासम्मको लागि ज्येष्ठताका आधारमा स्कूलकै शिक्षकहरूमध्येबाट एक जनालाई निमित्त प्रअको जिम्मेवारी दिन सकिन्छ । यसको परिपत्र हासिल गरिसकेका छौं ।
हरिप्रसादगौतम
उपनि र्देशक, शिक्षा विभाग
उमाविको शुल्क कति हो ?
शिक्षा मन्त्रालयले प्रवीणता प्रमाणपत्र तह हटाएपछि उमाविले प्रति महिना अधिकतम कति शुल्क लिन पाउने निर्णय गरेको छ ?
निर्मला सुवेदी
दल गाउँ– १, भोजपुर
उमाविको शुल्क तोकिइसकेको छैन । त्यसको लागि हामी गृह कार्य गर्दैर्छौं ।
जनार्दन नेपाल, सहसचिव, शिक्षा मन्त्रालय
(द्रष्टव्यः यस स्तम्भमा जिज्ञासा राख्ने शिक्षक तथा अन्य पाठकहरूले आफ्नो जिज्ञासा छरितो र स्पष्टसँग पठाउनुहोला । साथमा आफ्नो पूरा परिचय र स्पष्ट ठेगाना समेत उल्लेख गर्नु होला । अस्पष्ट र परिचय नखुलेका जिज्ञासाको जवाफ खोज्न हामी असमर्थ हुनेछौं । यस अङ्कमा अट्न नसकेका जिज्ञासाहरूलाई आगामी अङ्कमा समेटिनेछ । – सं)



