समस्या धेरै समाधान थोरै
धैर्यता, इमान्दारिता, जागरणपन जस्ता अव्याकरणिक प्रयोगले भाषालाई धुरुधुरु रुवाइरहेको बेलामा वर्णविन्यासका लागि पाठ्यक्रमले नै ‘शब्दकोश’ को प्रयोग गर्न लगाउने भनेको छ । रु.१५० को किताब किन्न नसक्ने विद्यार्थीलाई पहिले नै रु.३६० को पाठ्यपुस्तक तोकिसकेपछि शब्दकोशबापत रु.९५० को भार पनि थपिदिएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद्ले आफ्ना विद्यालयहरूका लागि आधिकारिक पाठ्यपुस्तक निर्धारण गर्न नसकिरहेको गुनासो शिक्षक–अभिभावक तथा विद्यार्थीहरूबाट आइरहेको र बजारमा विभिन्न व्यावसायिक लेखकहरूका स्तर हीन पुस्तकहरूले प्रवेश पाइरहेको अवस्थामा परिषद्ले नेपालीको आधिकारिक पाठ्यपुस्तक निर्धारण गरेर व्यवस्थित गर्ने प्रयास गरेको छ; जुन सराहनीय छ । परिषद्ले यसको जिम्मा साझ प्रकाशनलाई दिएको रहेछ । कक्षा १० सम्मका पुस्तकहरू समयमा उपलब्ध न गराए र गुनासो खेपिरहेको साझलाई दिइएको यो थप जिम्मेवारी कत्तिको प्रभावकारी हुन्छ त्यो पछि देखि एला ।
पुस्तकको आवरण ठीकै छ । भित्रको कागज भने सामान्य र कच्चा छ । पुस्तक कहिले देखि लागू गर्ने भन्ने सङ्केत कतै पाइँदैन । पाठ्यक्रम प्रमुख रामचन्द्र पाण्डेको २०६७/२/२३ को मन्तव्यमा भनिएको “... व्यवस्थापन, मानविकी र शिक्षाका विद्यार्थीका लागि कक्षा ११ मा र विज्ञान विषयका विद्यार्थीका लागि कक्षा १२ मा यो विषय पढाउने व्यवस्था भइआएको छ ।” यसले यसै सत्र देखि लागू गर्ने भन्ने कुनै सङ्केत गर्दैन । कक्षा ११ र कक्षा १२ मा एकसाथ लागू गर्ने कि कक्षा १२ मा यही किताब अर्को वर्ष लागू गर्ने भन्ने सङ्केत पनि गर्दैन जबकि कक्षा १२ को पढाइ शुरु भइसकेको छ र पुरानै किताब पढाइँदैछ ।
पुस्तकमा प्रकाशकीय पढ्दा ‘एक चिहान’ उपन्यासको छुट्टै संस्करण प्रकाशित भएको भन्ने छ । यस मूल पुस्तकको मूल्य रु.२५० र ‘एक चिहान’को रु.११० गरी जम्मा रु.३६० को पाठ्यपुस्तक पढ्नुपर्ने देखिन्छ । यसअघि बजारमा उपलब्ध पुस्तकहरू रु.१०० देखि रु.२०० भित्रै पाइन्थे । महङ्गा विद्यालयहरूमा पढ्ने विद्यार्थीहरूका निम्ति अहिलेको मूल्य नगण्य लागे पनि मासिक शुल्क रु.२०० पनि तिर्नु नसकेर पढाइ छोड्ने विद्यार्थीका लागि यसले ‘पैसा नभए नपढ’ भन्न खोजेको देखिन्छ ।
पुस्तकका अन्तिम चार पृष्ठमा पाठ्यक्रम भनेर जे छापिएको छ त्यसलाई कुनै अर्थमा पाठ्यक्रम भन्न मिल्दैन किनभने पाठ्यक्रमका न्यूनतम तत्वहरूको त्यहाँ अत्तोपत्तो छैन । पाठ्यक्रममा पूरै विषयको पूर्णाङ्क, वार्षिक पाठ्यभार, प्रतिघण्टी समय, उद्देश्य, शिक्षण विधि र मूल्याङ्कन प्रक्रिया समेत हुनुपर्नेमा केवल पाठ्यवस्तुको सूची दिएर पाठ्यक्रम लेख्नु पाठ्यक्रमको अर्थ, अङ्ग र महत्वसित परिचित नहुनु हो । त्यसमा विधागत अङ्क विभाजन छैन, वार्षिक परीक्षाका लागि प्रश्नयोजना छैन ।
पुस्तकमा सबै विधालाई एक–एक पाठका रूपमा लिइएको छ । उपन्यास छुट्टै पढ्नुपर्ने भए पनि अभ्यास का लागि पाठ भनेर छुट्याइएको छ । आभ्यासिक प्रयोगका लागि राम्रै भए पनि पाठ्यवस्तुविनाको पाठ अस्वाभाविक छ । ‘एक चिहान’लाई सङ्क्षेपीकरण गरिएको छ । जुन उपयुक्त छैन र लेखकीय अधिकार माथि अतिक्रमण पनि हो । नाटक र एकाङ्की यथावत् छन् । कवितामा भूपीको ‘मेरो देश’ बाहेक सबै नयाँ छन् तर पाँचवटा कवितामा एउटा पनि छन्दोबद्ध कविता नहुनु ठूलै कमजोरी हो । कथामा ‘सिपाही’ को सट्टा ‘शत्रु’ राखिएको छ भने निबन्धमा ‘आइमाई साथी’ बाहेक अरू फेरिई एउटा थपिएको छ । एउटा पाठ ‘लेख’ भन्ने विधान्तर गरेर पनि राखिएको छ । यसरी कृति समीक्षाको लागि स्पष्टतः दुईवटा पाठहरू थपिएका छन् ।
व्याकरणलाई सिद्धान्तबाट सम्बन्धबिच्छेद गरिएको छ जुन पटक्कै उपयुक्त छैन । १०+२ कक्षामा समेत भाषातत्वको सैद्धान्तिक ज्ञान नदिने हो भने कहिले दिने ? यो पुस्तक अनुसार त विद्यार्थीहरू शब्द, वाक्य, नाम, सर्वनाम आदिको पनि सामान्य परिभाषा दिने अवस्थामा रहँदैनन् । यसबाट नेपाली भाषालाई उठाउन खोजिएको हो कि डुबाउन खोजिएको भन्ने शङ्का पैदा हुन्छ ।
व्याकरणभित्र पनि वर्णविन्यास अहिलेको डरलाग्दो चुनौती हो । धैर्यता, इमान दारिता, जागरणपन जस्ता अव्याकरणिक प्रयोगले भाषालाई धुरुधुरु रुवाइरहेको वर्तमान सन्दर्भमा वर्णविन्यासका लागि पाठ्यक्रमले नै ‘शब्दकोश’ को प्रयोग गर्न लगाउने भनेको छ । रु.१५० को किताब किन्न नसक्ने विद्यार्थीलाई पहिले नै रु.३६० को पाठ्यपुस्तक तोकिसकेपछि शब्दकोशबापत रु.९५० को भार थप्नुले के सङ्केत गर्द छ भन्ने भनिरहनु पर्ने विषय होइन । फेरि आधिकारिक ‘शब्दकोश’ पाउन पनि सकिँदैन र कसलाई आधिकारिक मान्ने भन्ने कुनै आधार पनि छैन । यस अवस्थामा यो राम्रै खेलबाड हो भन्ने मलाई लागेको छ ।
पाठ्यक्रममा परिवर्तित वर्णविन्यासको प्रयोग भएको छ । तर, यो परिवर्तनको सैद्धान्तिक आधार के ? कसले गरयो यो परिवर्तन ? गर्ने व्यक्ति, समूह वा संस्थाको आधिकारिकता के छ ? के निर्णयहरू सर्वस्वीकृत हुन् ? हुन् भने ती कक्षा ११ मा मात्र लागू हुने कि अन्यत्र पनि ? अन्यत्र पनि लागू हुने भए त्यसको परिपत्र खोई ? नहुने भए कक्षा १० सम्म ‘फूल’ कक्षा ११ मा ‘फुल’ र स्नातकमा फेरि ‘फूल’ लेख्न लगाइयो भने नेपाली भाषाको स्वरुप कस्तो होला ? शब्दको तद्भवीकरण भइसकेको सन्दर्भमा ‘फूल’, ‘दूध’, ‘नून’, ‘मीठो’, ‘बूढो’, ‘सीप’ को सट्टामा ‘फुल’, ‘दुध’, ‘नुन’, ‘मिठो’, ‘बुढो’, ‘सिप’ लेखाउनुलाई एकछिन राम्रै मानौंला तर भाषा सरलतामुखी हुन्छ भन्ने सिद्धान्तविपरित नेपाली उच्चार्य व्यवस्थामा नभएका वर्ण ‘ञ’, ‘ण’ को भारी बोकाइरहनु को औचित्य चाहिँ के त ?गङ्गा, शङ्का, शङ्ख, सङ्घ, चञ्चल, मञ्जुल, पण्डित, दण्ड जस्ता जटिल वर्णविन्यासलाई सरल गर्ने तर्फ खै ध्यान गएको ? संस्कृत व्याकरणले समेत वैकल्पिक व्यवस्था गरेको पञ्चम वर्णको प्रयोगलाई हामीले अनिवार्य तुल्याएर ‘मंजुल’, मन्जुल, मञ्जुल’ जस्ता फरक प्रयोगहरूको त्रुटिजन्य अवसर किन दिने ? यस्ता प्रश्नहरूको उत्तर खोज्ने प्रयास किताबमा भएको छैन ।
एउटा शब्द एउटै डिकोमुनि लेखिनु देवना गरी लिपिको विशेषता हो । डिको छुट्टिनु भनेको शब्द छुट्टिनु हो । शब्द छुट्टिनु भनेको उच्चारणमा यति (विश्राम) हुनु हो । जस्तै– ‘खानुहुन्छ’ र ‘खानु हुन्छ’ को उच्चारण र अर्थमा समेत स्पष्ट अन्तर छ । संयुक्त क्रियालाई पदवियोग गरेर ‘बुबा चुरोट खानु हुन्छ ।’ भन्दा त्यसबाट निस्कने ध्वन्यात्मक अर्थको कुनगति होला ? समासले स्वतन्त्र अर्थयुक्त धेरै शब्दहरूलाई मिलाएर एउटै अर्थ दिने सिङ्गो शब्द तयार पार्दछ । तर ‘मुना र मदन’ बाट बन्ने ‘मुनामदन’ लाई ‘मुना मदन’ गर्दा समास प्रक्रियाको उपादेयता कहाँ रहन्छ ? समस्त शब्दहरू सङ्क्षेपीकरणका लागि उपयोगी मानिन्थे । ‘दाल, भात र डुकु’ लाई समास गरी ‘दालभातडुकु’ गरेर एकैपटक तीनवटा शब्दहरूलाई अर्थ नखल्बलिने गरी एउटै शब्दमा समेटिन्थ्यो तर अब त्यो स्थिति रहेन । यो सरलताको खोजी हो कि जटिलतातर्फको प्रतिगमन हो बुझन सकिँदैन ।
पाठ्यपुस्तकको १०९ औं पृष्ठको ‘आ’ बुँदाको एउटा उपबुँदा यस्तो छ– “सार्थक प्रकृतिका द्वित्व शब्दलाई पद वियोग गरी लेख्ने । जस्तै; शुभ कामना, हिउँदे छुट्टी, खाने पानी, समाज शास्त्र, भव्य रुप आदि ।” अब म विद्वान् लेखकहरूसँग के सोध्छु भने ‘शुभ कामना’ मा कुन शब्दको द्वित्व भएको छ ? ‘खाने पानी’ कसरी द्वित्व हो ? हिउँदे र छुट्टी कसरी एउटै प्रकृतिका भए ? भव्य रुप के यस नियममा पर्छ ?
पहिलेका लक्ष्मीप्रसाद लक्ष्मी प्रसाद हुनेभए; किनभने मध्यनाम र आदिनामको पदयोग होइन पदवियोग (पद वियोग) गरी लेख्नुपर्ने भयो । पहिलेका हृदयचन्द्रसिंह प्रधान अब हृदय चन्द्रसिंह प्रधान हुने भए । तर यहाँ चन्द्रसिंहलाई छुट्याउनुको औचित्य प्रस्ट हुँदैन । चन्द्र र सिंह एकैठाउँ आउने नाम हुँदै होइनन् । बरु हृदय र चन्द्र मिल्ने नाम हुन् । बरु हृदयचन्द्र सिंह प्रधान हुन सक्ला ।
धातुमा ‘नु’ लागेपछि ती क्रियामूल हुन्छन् र तिनले भाववाचक नामको कार्य गर्द छन् । जस्तै; बिहान एकछिन घुम्नु रराम्रो हो । जथाभावी बोल्नु ठीक छैन । आदि । जब ‘नु’ लागेका तिनै शब्द सहायक क्रियासँग जोडिन्छन् तब मुख्य क्रिया भई सहायक क्रियाको सहयोगमा विशिष्ट अर्थ दिने संयुक्त क्रिया बन्दछन् । जस्तै; बस्नु+हुन्छ= बस्नुहुन्छ (आदरार्थी क्रिया) । नयाँ नियमले संयुक्त क्रियामा पद वियोग (पदवियोग) गर्ने व्यवस्था गरे अनुरुप ‘बस्नु हुन्छ’ भन्दा यसको अर्थ बस्ने अनुमति छ भन्ने लाग्दछ । ‘तपाइँ यहाँ बस्नुहुन्छ ?’ र ‘तपाइँ यहाँ बस्नु हुन्छ ?’ यी दुई वाक्यहरूले दिने अर्थ एउटै हुँदैन । यसबाट लेखक (सम्प्रेषक) र पाठक (प्रापक) बीचको सम्बन्धबिच्छेद (सम्बन्ध बिच्छेद) भई भाषाको सही उपयोगिता नरहने हुन्छ । यसरी भाषामा झन् बढी विचलन र असन्तुलन आउने देखिन्छ ।
विद्यार्थीका लागि पर्याप्त अभ्यास तथा बोधका लागि थप दृष्टांश सामग्री यस पुस्तकको उज्ज्वल पक्ष हो । पुस्तक अझै कक्षाकोठामा नपसेको सन्दर्भमा कक्षाकोठाका सहजता र असहजताहरूको समीक्षा र मूल्याङ्कन मध्यावधिक र सत्रान्तसम्ममा हुने नै छ । यस प्रारम्भिक र विहङ्गावलोकनमा भने पुस्तकमा समाधान भन्दा समस्या नै बढी देखि एका छन् ।
जनज्योति उमावि, चन्द्रनिगाहपुर, रौतहट



