जिज्ञासा र जवाफ
आवेदन दिन पाउँछु कि पाउँदिनँ ?
२०६१ सालमा अध्यापन अनुमतिपत्र प्राप्त गरी ६ वर्ष देखि एउटा प्राथमिक स्कूलमा निजीस्रोत शिक्षकका रूपमा पढाइरहेकी छु । तर, मैले अहिलेसम्म कुनै तालिम लिएकी छैन । यो अवस्थामा मैले प्राथमिक तहको रिक्त दरबन्दीको शिक्षक पदमा उम्मेदवार हुन पाउँछु कि पाउँदिनँ ?
सुनिता थापा, ठाडा– ५, अर्घाखाँची
तपाइँले स्थायी वा अस्थायी कुन चाहिँ अनुमतिपत्र लिनुभएको हो भन्ने खुल्न सकेन । यदि स्थायी अनुमतिपत्र लिनुभएको हो भने स्वतः उम्मेदवार हुन पाउनुहुन्छ । अनुमतिपत्र अस्थायी हो भने त्यसको म्याद सकिएको हुनुहुँदैन ।
वैकुण्ठप्रसाद काफ्ले, उपसचिव, शिक्षक सेवा आयोग
पैसा किन आएन ?
सरकार र शिक्षक युनियनबीच ११ कात्तिक २०६६ मा भएको सहमतिको बुँदा १ मा प्राथमिक स्कूललाई कर्मचारी खर्चबापत रु.२२,००० दिने उल्लेख छ । तर, हालसम्म पनि उक्त रकम विद्यालयमा निकासा भएको छैन । यसमा किन ढिलाइ भएको हो ?
बालादुम्जान तामाङ, विद्यालय परिचर, प्युठान
शिक्षक–सरकार सहमतिबमोजिम प्रावि, निमावि र माविलाई क्रमशः रु.२२ हजार, रु.२७ हजार र रु.३१ हजारका दरले जिशिकामार्पmत सम्बन्धित स्कूललाई रकम निकासाको लागि यस विभागबाट १० माघ २०६६ मा नै निर्देशन दिइसकिएको छ ।
कृष्णप्रसाद ढुङ्गाना, उपसचिव, शिक्षा विभाग
के यो साँचो हो ?
अस्थायी र स्थायी शिक्षकको समेत अस्थायी शिक्षण सेवा अवधिको सञ्चित रहेको बिरामी बिदाको रकम नपाउने भन्ने सुन्नमा आएको छ । के यो कुरा साँचो हो ?
ध्रुवप्रसाद पङ्गेनी, बुद्धविकास निमावि, कोलडाँडा, पाल्पा
अस्थायी सेवा अवधिको सञ्चित बिरामी बिदाको रकम नपाउने कुरा साँचो होइन । बरु, शिक्षक किताबखानाले स्थायी शिक्षकको मात्रै सञ्चित रकम दिँदै आएकोमा आउँदा दिनमा अस्थायी शिक्षकको निकासा समेत किताबखानाबाटै गर्ने गरी शिक्षा सचिवस्तरीय निर्णय भइसकेको छ ।
कृपाराम रिज्याल, लेखा अधिकृत, विद्यालय शिक्षक किताबखाना
उपदान लिनुहोस्
मैले २८ वैशाख २०३४ मा नि.मा. तृतीय श्रेणीको अस्थायी शिक्षकका रूपमा शिक्षण थालेको हुँ । यस क्रममा १२ मङ्सिर २०४८ मा सोही श्रेणीमा स्थायी नियुक्ति पाई अटुट रूपमा सेवा गर्दै आएको छु । नागरिकता र शैक्षिक प्रमाणपत्र अनुसार आउँदो १ वैशाख २०६८ मा मेरो उमेर ६० वर्ष पुग्छ । अवकाश पाउँदा मेरो स्थायी सेवा अवधि २० वर्ष नपुग्ने देखिन्छ । यो अवस्थामा मैले पेन्सन पाउँछु कि पाउँदिनँ ? अस्थायी सेवा अवधि जोडेर पेन्सन पाउने व्यवस्था छ कि छैन ?
रेश्मीराज सुवेदी, चुरे उमावि, बगनाहा, बर्दिया
शिक्षा नियमावली, २०५९ मा २० वर्षे स्थायी सेवा पूरा गरेका शिक्षकले मात्रै पेन्सन पाउने व्यवस्था छ । अस्थायी सेवा अवधि जोडेर पेन्सन दिन मिल्दैन । तपाइँले उपदान चाहिँ अवश्य पाउनुहुनेछ ।
दिवाकर अवस्थी, निमित्त महानिर्देशक, विद्यालय शिक्षक किताबखाना
हामीले पेन्सन पाउँछौं ?
हामी २०६२/०६३ मा शिक्षक सेवा आयोगले लिएको ५० प्रतिशत आन्तरिक परीक्षाबाट मा.शि. तृतीय श्रेणीमा स्थायी भएका शिक्षकहरू हौं । उक्त अवधिमा स्थायी भएका हामी जस्ता शिक्षकले निवृत्तभरण (पेन्सन) पाउँछौं कि पाउँदैनौं ?
विष्णु श्रेष्ठ, नारायणप्रसाद काफ्ले, लोकबहादुर गुरुङ
शान्तिनिकुञ्च उमावि, पिठौली, नवलपरासी
प्रकाश राई, पञ्चकन्या प्रावि, श्यामसिला– ५, भोजपुर
गोविन्दप्रसाद ढुङ्गाना, महाँकाल निमावि, ठूलोपर्सेल– १, काभ्रे
सरकारले २०६० सालमा शिक्षा नियमावली—२०५९ मा दोस्रो संशोधनमार्पmत ‘नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिपछि नियुक्त हुने शिक्षकले उपदान वा पेन्सन नपाउने’ व्यवस्था गरेको छ । त्यस्ता शिक्षकका लागि छुट्टै निवृत्तिभरण कोषगठन गर्ने पनि भनिएको छ । तर सरकारले हालसम्म नियमावलीमा उल्लेख भएबमोजिमको सूचना राजपत्रमा प्रकाशित गरेको छैन ।
दिवाकर अवस्थी, निमित्त महानिर्देशक, विद्यालय शिक्षक किताबखाना
मेरो सेवा कहिलेको ?
म १७ माघ २०४० मा उच्च प्रावि तहमा शिक्षण सेवामा प्रवेश गरेको हुँ । मैले १० चैत २०४३ देखि नि.मा. तृतीय श्रेणी (तत्कालीन चतुर्थ श्रेणी) मा सेवा गरें । १ चैत २०४५ मा उच्च प्राविमा स्थायी हुँदै नि.मा. शिक्षक (तत्कालीन चतुर्थ श्रेणी)मा कार्यरत रही हाल माध्यमिक तृतीय श्रेणीमा कार्यरत छु । मेरो सेवा अवधि कहिले देखि गणना हुन्छ ?
गोविन्दप्रसाद आचार्य, जनकल्याण उमावि, पालुङ, मकवानपुर
जुन मितिमा स्थायी नियुक्ति पाउनुभएको हो, सोही मिति देखि नै तपाइँको सेवा अवधिकोगणना हुन्छ ।
दिवाकर अवस्थी, निमित्त महानिर्देशक, विद्यालय शिक्षक किताबखाना
मैले सञ्चित रकम पाउँछु ?
मैले ३२ साउन २०६२ देखि १२ माघ २०६६ सम्म निम्नमाध्यमिक तहको राहत शिक्षक भएर काम गरें । हाल म राहत कोटामा राजिनामा दिएर माध्यमिक तहको अस्थायी दरबन्दीमा कार्यरत छु । मैले राहत शिक्षण अवधिको बिरामी बिदाको सञ्चित रकम पाउँछु कि पाउँदिनँ ?
शिवराम पौडेल, शलिजा मावि, क्याङ– ३, पर्वत
शिक्षा नियमावली, २०५९ को संशोधन मस्यौदामा राहत शिक्षकलाई पनि अन्यसरहको सुविधा दिने प्रस्ताव गरिएको छ । यसबारे अर्थ मन्त्रालयसँग सहमति मागिएको छ । सहमति प्राप्त भइसकेको छैन ।
मेरा दुई प्रश्न
शुद्ध रिक्त दरबन्दीमा नियुक्ति पाएका अस्थायी नि.मा. द्वितीय श्रेणीका शिक्षकलाई सरकारले माध्यमिक तहको १० महिने तालिम र सोही तहको तलब सुविधा पनि दिएको छ । तर,
क) नि.मा. द्वितीय श्रेणीका शिक्षकलाई मा.शि. तृतीय श्रेणीमा समायोजन गर्न किन नमिलेको होला ?
ख) शिक्षक सेवा आयोगले अब खोल्ने विज्ञापनमा नि.मा. द्वितीय श्रेणीका शिक्षकले कुन तहको कुन श्रेणीमा दरखास्त दिन पाउँछ ?
कामेश्वर मण्डल, जनज्योति उमावि, बकुवा, बर्दिया
क) नि.मा. द्वितीय श्रेणीका शिक्षकलाई माध्यमिक तृतीय श्रेणीको दरबन्दीमा कायम गर्नको लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको छ । अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि शिक्षा मन्त्रालयले उक्त प्रस्ताव कार्यान्वयन गर्ने छ ।
विष्णुप्रसाद अधिकारी , उपसचिव, शिक्षा मन्त्रालय
ख) बी.एड. उत्तीर्ण भई अध्यापन अनुमतिपत्र प्राप्त गरेका नि.मा. द्वितीय श्रेणीका शिक्षकले माध्यमिक तृतीय श्रेणीमा दरखास्त दिन सक्नेछन् ।
वैकुण्ठप्रसाद काफ्ले, उपसचिव, शिक्षक सेवा आयोग



