प्रसङ्ग अमेरिकाको चिन्ता नेपालको
असफल शिक्षकबाट हामी किन त्राण पाउन सक्दैनौं ? यो जल्दोबल्दो प्रश्नबाट जति नेपाल जस्ता विकास ोन्मुख मुलुकहरू पीडित छन् त्यति नै पीडित अमेरिका जस्तो शक्तिशाली राष्ट्र पनि रहेछ । १५ मार्च, २०१० को न्यूजविक पत्रिकामा इभान थोमस र प्याट विङ्गर्टले यो विषयमा लामो लेख लेखेका छन् । उनीहरूका अनुसार अमेरिकामा प्राथमिक र माध्यमिक विद्यालयको पढाइको औसत स्तर लज्जाजनक किसिमले घटेको छ । कुनै वेला संसारका सबैभन्दा प्रतिस्पर्धी विद्यार्थीहरू भएको ठानिएको अमेरिकाको स्तर आज युरोपियन केटाकेटीहरू भन्दा निकै पछि परिसकेको छ । विश्व सूचीमा अमेरिकी विद्यालयको शैक्षिक स्तर १०औं स्थानभन्दा तल परेको छ । अमेरिकाभित्रै पनि गोरा विद्यार्थीको तुलनामा गरीब र अल्पसङ्ख्यक विद्यार्थीहरू अझ् पछि परेका छन् । र; कमजोर तप्काका विद्यार्थीको सङ्ख्या जति बढ्दैछ त्यति नै अमेरिकाको सरदर शैक्षिक स्तर घट्ने क्रम जारी छ ।
यी अनुसन्धानकर्ताहरूको निष्कर्ष के छ भने; शिक्षाको स्तर उकास्न कक्षामा पढ्ने विद्यार्थी सङ्ख्या, पुस्तक, पढाउने तरिका र पाठ्यक्रमभन्दा शिक्षकको क्षमता र सक्रियताले बढी महत्व राख्दछ ।
उक्त अनुसन्धानले के पनि देखाएको छ भने जहाँ कमजोर विद्यार्थीहरू पढ्छन्, त्यहाँ छाँटिएका (अर्थात् कमजोर) शिक्षकहरू खटाइन्छन् । यस्ता विद्यालयहरूमा शिक्षककै कारण विद्यार्थीहरू ‘बन्न’ र ‘बिग्रन’ बाध्य भइरहेका हुन्छन् । लगातार पढाउने दुई, तीन वा चार जना राम्रा शिक्षकका कारण कमजोर विद्यार्थीहरूले पनि पढाइमा रराम्रो गरेका छन् भने लगातार दुई जना असक्षम शिक्षक व्यहोर्न बाध्य केटाकेटीहरू पढाइमा कहिल्यै उठ्न नसक्ने गरी थलिने गरेको पाइएको छ । त्यसैले अमेरिकी अधिकारी हरूका निम्ति सक्षम शिक्षक चयन गर्नु र असक्षमलाई हटाउनु अति नै महत्वको काम हुन पुगेको छ । तर, यो त्यति सजिलो भने छैन । धेरै सार्वजनिक विद्यालयहरूले प्रतिभाशाली र सक्षम शिक्षकलाई आकर्षित गर्न सकेका छैनन् । अर्को एउटा अध्ययनले के देखाएको छ भने प्राज्ञिक हिसाबले तल परेका विद्यार्थीहरू अमेरिकामा शिक्षक बन्दैछन्, जबकि फिनल्याण्डमा माथिल्लो १० प्रतिशत विद्यार्थीहरूबाट शिक्षक छनोट हुने गर्दछ ।
शिक्षकका दुईवटा सङ्गठन अमेरिकामा निकै शक्तिशाली छन् । यता आएर यी शक्तिशाली सङ्गठनका पदाधिकारीहरू पनि अगतिला र कमजोर शिक्षकहरूको पक्षमा धेरै अडान लिन नसकिने कुरा मा सहमत हुन थालेका छन् । शिक्षकको उत्तरदायित्व विद्यार्थी प्रति रहने कुरा मा आम सहमति बन्दै गएको छ ।
अमेरिकामा शिक्षकका सङ्गठनहरू धेरै शक्तिशाली छन् । अमेरिकाका धेरै राज्यहरूमा दुई वा तीन वर्ष पढाउने शिक्षकलाई स्थायी प्रकृतिको जागिर दिइने गरिन्छ । एकचोटि स्थायी भएका शिक्षकलाई पदमुक्त गर्नु भनेको त्यहाँ पनि फलामको चिउरा चपाउनुसरह हुन्छ । सन् २००८ मा न्यूयोर्क शहरमा कार्यरत ३०,००० स्थायी शिक्षकमध्ये तीन जनालाई मात्र कारण देखाएर हटाउन त्यहाँका अधिकारी हरू सफल भएका थिए । शिकागो शहरमा सन् २००५ देखि २००८ सम्म कुल शिक्षकहरूको ०.१ प्रतिशत शिक्षकलाई अनैतिक कार्य गरे बापत पद मुक्त गरियो । ओहिओ राज्यको आक्रन शहरमा त यो सङ्ख्या शून्य प्रतिशत थियो । टोलेडो भन्ने शहरमा ०.०१ प्रतिशत थियो भने डेनभरमा पनि शून्य प्रतिशत थियो ।
अन्य कुनै पनि पेशा भन्दा शिक्षकको पेशा बढी सुरक्षित छ अमेरिकामा । यसो हुनुको पछाडि शिक्षक सङ्गठनहरू मात्र पनि जिम्मेवार छैनन् । स्कूलका धेरै प्रधानाध्यापकहरू असक्षम शिक्षकहरूलाई हटाउने प्रयत्न नै गर्दैनन् । बढी गरे मा सरुवासम्म गर्ने गरिन्छ । प्रत्येक वर्ष अमेरिकाका झण्डै ९९ प्रतिशत शिक्षकहरूले ‘सन्तोषजनक’ काम गरेको प्रमाणित गर्ने गरिन्छ । कुनै शिक्षकलाई हटाउनु भनेको स्थानीय शिक्षक सङ्गठनसँग महँगो कानूनी लडाइँ लड्न तत्पर हुनु हो भन्ने त्यहाँको आम बुझइ पाइन्छ ।
परिणामतः अमेरिकामा मध्यम वर्गका लागि एकखाले र गरिब तप्काका लागि अर्कोखाले शिक्षण पद्धति विकास हुँदैछ । विद्यालय भर्ना भएकामध्ये करिब ६० प्रतिशत मात्र काला र हिस्पानिक विद्यार्थीहरू माध्यमिक विद्यालय उत्तीर्ण हुन्छन् । त्यसैले अमेरिकीहरू हालको स्कूल पद्धतिमा सुधार ल्याउन वैकल्पिक उपायहरू खोज्दैछन् । शिक्षक सङ्गठनहरू भन्दा बाहिर रहने गरी विद्यालय सञ्चालन गर्नु लाई एउटा विकल्पका रूपमा लिइएको छ । त्यसरी सञ्चालित विद्यालयमा पढ्ने विद्यार्थीहरू ८५ प्रतिशतसम्म सफल हुन समेतथालेका छन् । १९ वटा राज्यमा यस्ता ८२ वटा विद्यालय खुली पनि सकेका छन् । यस्ता विद्यालयमा धेरै दिन पढाइ हुन्छ र त्यो गुणात्मक पनि हुन्छ ।
शिक्षकका दुईवटा सङ्गठन अमेरिकामा निकै शक्तिशाली छन् । ती मध्येको राष्ट्रिय शिक्षक संघमा बत्तीस लाख सदस्य छन् भने अमेरिकी शिक्षकहरूको सङ्गठनभित्र चौध लाख सदस्य छन् । यता आएर यी शक्तिशाली सङ्गठनका पदाधिकारीहरू पनि अगतिला र कमजोर शिक्षकहरूको पक्षमा धेरै अडान लिन नसकिने कुरा मा सहमत हुन थालेका छन् । शिक्षकको उत्तरदायित्व विद्यार्थी प्रति रहने कुरा मा आम सहमति बन्दै गएको छ । कमजोर शिक्षकका निम्ति आँखा चिम्लेर पक्ष लिँदाको दोष शिक्षक सङ्गठनले पनि लिनुपर्ने हुन्छ भन्ने कुरा मा संघ–सङ्गठनका पदाधिकारीहरू सचेत पाइन्छन् ।
अमेरिकी शिक्षकहरूको हालको अवस्थामा सुधार ल्याउनु पर्ने/नपर्ने कुरा मा त्यहाँका शिक्षकहरूबीच नै पनि मतभेद छ । एकथरी असल एवंगतिला शिक्षकहरू पनि सुधार गर्नु पर्ने कुरा सँग सहमत छैनन्, किनभने उनीहरूले रराम्रो काम गरिनै रहेका छन् । तर, अगतिला शिक्षकका कारण पठन–पाठनमा परिरहेको नकारात्मक असर घटाउनका निम्ति शिक्षक छनोट एवं कारबाही प्रक्रियामा सुधार न गरी नहुने कुरा मा कसैको विमति पाइँदैन ।
अमेरिकी सार्वजनिक शिक्षा प्रणालीलाई पहिलेकोगौरवयुक्त स्थितिमा पुर्याउन स्थानीय राजनीतिज्ञ र विद्यालय व्यवस्थापन समितिले नै कदम बढाउनुपर्ने ठानिएको छ ।गत वर्ष रोड आइल्याण्डको सेन्ट्रल फल्स हाईस्कूलका आधाजसो विद्यार्थीले विद्यालय छाडे र एघारौं तहको गणितमा सात प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भए । राज्यका तर्फबाट दबाब सृजना भएपछि स्कूल निरीक्षकले विद्यार्थीहरूको क्षमता बढाउन त्यस विद्यालयका शिक्षकहरूले प्रत्येक दिन थप पच्चीस मिनेट बढी पढाउनु पर्ने, साताको एक दिन विद्यार्थीहरूसँगै दिउँसोको खाना खानुपर्ने र तेस्रो पक्षद्वारा प्रगतिको समीक्षा गरिनुपर्ने प्रस्ताव राखिन् । तर शिक्षकहरूले त्यसो गर्नु पर्ने भए घण्टाको नब्बे डलरका दरले थप रकम पाउनु पर्ने माग गरे ।गतिलो नपढाउने तर चर्को माग राख्ने ती शिक्षकहरूको व्यवहारबाट निरीक्षकलाई अरू कठोर निर्णय लिन बाध्य पारयो । उनले त्यस्तो माग राख्ने सबै (७४ जना) शिक्षकलाई बर्खास्त गर्ने सिफारिस गरिन् । स्कूल निरीक्षकको त्यो कदमको तारिफ संघीय शिक्षा मन्त्रीले मात्र गरेनन्; स्वयं राष्ट्रपति ओवामा समेतले गरे । शुरु मा शिक्षक सङ्गठनहरूले ‘सबै दोष शिक्षक माथि थोपर्नु अन्याय भएको ’ भनी अडान लिने कोशिश गरे । तर सञ्चारमाध्यमको समेत चर्को दबाब पर्न थालेपछि खाईपाई आएकै तलबमा बढी समय काम गर्न ती शिक्षकहरू मञ्जुर भए ।
माथिको घटना एउटा सानो उदाहरण मात्र हो । विद्यार्थी माथि यौन दुव्र्यवहार गरेको जस्ता घटनालाई समेत ढाकछोप गरी ठूलो राशी दिएर शिक्षक हटाएको, विद्यार्थीहरूलाई अनाहक दुव्र्यवहार गरेको, शिक्षकले चेली माथि जबरजस्ती गरेको सम्मका घटना छन् । तैपनि त्यस्ता शिक्षकहरू माथि कारबाही गर्न कठिनाई परेको वास्तविकतासँग आज अमेरिका जुधिरहेछ ।
नेपाली विद्यालयका शिक्षकहरूका सम्बन्धमा अमेरिकासँग दाँज्ने धेरै कुरा छन् । एकपटक स्थायी भएका शिक्षकलाई कारबाही गर्न र पदबाट हटाउन यहाँ पनि सजिलो छैन । हाम्रा एक लाखभन्दा बढी शिक्षकहरूमध्ये वार्षिक रूपमा कति कारबाहीमा पर्दछन् त्यसको यकिन तथ्याङ्क त छैन; तर, अनुमान गर्दा यो पक्कै पनि एक प्रतिशतमुनि नै हुनुपर्दछ । मेहनत गरी पढाउनेगतिला शिक्षकहरू पनि निकै छन्, तर सँग सँगै अगतिलाको जमात पनि राम्रै छ । शिक्षा ऐनको सातौं संशोधनमार्फत पाँच वर्षभित्र आफूले पढाउने विषयमा दश चोटिमा परीक्षा उत्तीर्ण गरेर भए पनि शिक्षक लाइसेन्स लिनेसम्मको काम सुरुआतगरौं भनेर लाग्दा तत्कालीन शिक्षा मन्त्री आमोदप्रसाद उपाध्यायको सातो लिने काम स्थानीय राजनीतिज्ञ, पार्टी नेता, शिक्षक र शिक्षक सङ्गठनहरूबाट भएको थियो । सार्वजनिक विद्यालयहरूको सफलता कति छ भन्ने कुरा पन्ध्र लाखभन्दा बढी विद्यार्थीहरूलाई आफ्नोगाँस काटेर अभिभावकहरूले महँगा निजी विद्यालयमा पढाउन बाध्य भएबाटै पुष्टि हुन्छ । रहरले निजी विद्यालयमा अभिभावकले पढाइ रहेछन् कि बाध्य भएर– यो खुट्याउने काम सार्वजनिक विद्यालयका शिक्षककै जिम्मा छोड्दा हुन्छ ।
हाम्रा शिक्षक संघ–सङ्गठनहरू राजनीतिक पार्टीका भ्रातृ सङ्गठनका रूपमा रहेका छन् । अमेरिकामा कम्तीमा सङ्गठनको आफ्नो झुकावको राजनीतिक दलको झेला बोक्न शिक्षकहरूलाई बाध्य पारिँदैन । नेपालमा जय नेपाल, लाल सलाम (अब जय मधेश पनि ) को झ्ण्डा र झेला नबोकी धर पाइँदैन भन्ने शिक्षकलाई परेको छ । बरु नपढाए हुन्छ, तर राजनीतिक छाता ओढ्नै पर्छ, आफ्नो बचाउका लागि । संघ, सङ्गठनहरू नेपालमा पनि शिक्षकको (गतिला, अगतिला जे भए पनि ) बचाउ आन्दोलनमा सक्रिय रहन्छन् । सरकारको नियामक निकाय कमजोर छ ।
हाम्रा स्थानीय नेता, नागरिक समाज का प्रतिनिधिहरूले आफ्नो सेरोफेरोका विद्यालयहरूमा अहिले पनि चाख त लिएका छन्– तर केका लागि भने विद्यालय व्यवस्थापन समिति हत्याउन र त्यहाँ शिक्षकका रूपमा आफन्त भिœयाउनका लागि मात्र ।
गुणात्मक शिक्षा चाहिन्छ भन्ने सन्देश आज शहरी क्षेत्रलाई नाघेर नेपालका गाउँहरूमा समेत पुगिसकेको छ । यथार्थमा गुणात्मक शिक्षा प्रदान कसरी गर्ने भन्ने कुरा हाम्रा लागि चुनौतीको विषय रहेको छ । यसमा जसरी अमेरिकी राष्ट्रपतिले एउटा साधारण स्कूलको सवाललाई आफ्नो चासो र सरोकारको विषय बनाए; त्यसरी नै हाम्रा राजनीतिक व्यक्तिहरू; त्यसमा पनि प्रधानमन्त्री, शिक्षा मन्त्रीले विशेष चासो र राजनीतिक इच्छाशक्ति देखाउनु जरुरी छ । हाम्रा स्थानीय नेता, नागरिक समाज का प्रतिनिधिहरूले आफ्नो सेरोफेरोका विद्यालयहरूमा अहिले पनि चाख त लिएका छन्– तर केका लागि भने विद्यालय व्यवस्थापन समिति हत्याउन र त्यहाँ शिक्षकका रूपमा आफन्त भिœयाउनका लागि मात्र । त्यसो गर्नु पटक्कै उचित होइन । यसनिम्ति विद्यालयलाई साझ सरोकारको विषय बनाउनु आवश्यक छ ।
शिक्षा प्रणाली/पद्धतिलाई रराम्रो बनाउन सञ्चारमाध्यमको पनि ठूलो हात रहन्छ भन्ने कुरा अमेरिकी दृष्टान्तले स्पष्ट गरेको छ । नेपालमा पनि सञ्चारमाध्यममा भएको विकास लाई शिक्षा क्षेत्रसँग लगेर जोड्नु जरुरी छ । किनभने शिक्षामा सुधार न गरी मुलुक फस्टाउन सक्दैन । यो शिक्षकहरू व्यक्तिप्रति अनुराग वा विराग वा तटस्थताको प्रश्न होइन । यो त सम्पूर्ण मुलुकलाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुरयाउने प्रयत्नको थालनी हो । यसलाई यसै रूपमा बुझनु राम्रो हुन्छ ।



