गोदावरी घुम्न जाँदा...

वनस्पति उद्यानबाट ज्ञान आर्जन गर्ने हो भने भ्रमण गर्नु भन्दा पहिले केही तयारी गर्नु उचित हुन्छ । विशेष गरेर विद्यार्थी वर्गलाई अगुवाई गर्ने शिक्षकहरू पहिले आफैं सुसूचित हुनुपर्छ । वनभोज र मनमोजमा मात्र रमाएर फक्र्यौं भने वनस्पति उद्यानप्रति अन्याय हुन्छ ।

फूल फुलाएर धर्ती नफुलेको भए अनि वनस्पतिमा हरियाली नछाएको भए यो संसारमा न वानर हुन्थे, न नरनारी । प्राणीजगत्को संरचना नै असम्भव हुन्थ्यो । सृष्टिको प्रारम्भ वनस्पतिबाटै शुरु भएको हुनुपर्छ । वनस्पतिजगत स्थापित भएपछि मात्र अरू प्राणीका लागि खाद्य पदार्थ तयार भयो । मानव सभ्यताकै कुरा गर्दा; हराम्रोगाँस, बास र बस्त्र अनि दाउरा, काठ र ऊर्जाका अरू स्रोत जस्तैः कोइला, मट्टीतेल र पेट्रोल पनि सबै वनस्पतिजगत्कै देन हो । हामीले खाने अन्न, सागपात,गुलियो, पिरो र मगम गाउँदो मसलासँगै चिया, कफी, मदिरालगायत पानी बाहेकका सबै पेयपदार्थ पनि वनस्पतिबाटै प्राप्त हुन्छन् । मांसहारी खुराकमा पर्ने माछा, मासु, अण्डा तथा लगाउने लत्ताकपडाका ऊन, रेशम, छालाका स्रोत प्राणीहरू पनि वनस्पतिमा नै आश्रित हुन्छन् । अरू त अरू; हराम्रो प्राणवायु अक्सिजन  (Oxygen) को अनन्त धारासमेत वनस्पतिका हरिया पातबाटै वायुमण्डलमा प्रवाह हुन्छ । विना वनस्पति त यो धर्ती र त्यो आकाश निस्सासिन्छ । त्यही वायुमण्डल प्रदूषणका कारण मानव –सभ्यताको सङ्कटको रूपमा देखि एको पृथ्वी सतहको अप्रत्यासित तापमान वृद्धि वनस्पतिप्रति मानव –अपराधको एक परिणति हो । यी सबै कारणले गर्दा वनस्पतिजगत्सँग अपरिचित रहनु मूढ जीवनको परिचायक बन्न पुग्छ । यही पृष्ठभूमिमा; वनस्पति उद्यानको भ्रमण गरेर जानकारी बटुल्नु पनि सान्दर्भिक हुन्छ, हराम्रो शिक्षा आर्जनको सिलसिलामा ।

वनस्पति उद्यानलाई परिभाषित गरिहाल्नुभन्दा पहिले आफ्नै फूलबारी, बगैंचा, शहरी पार्क वा अन्य कुञ्ज–निकुञ्जको प्रसङ्ग पनि बिर्सनुहुँदैन । पञ्चवटी, चित्रकूट, अशोकवाटिका तथा वृन्दावनका मनमोहक दृश्यलाई पौराणिक शास्त्रहरूले हराम्रो मान सपटलमा स्थापित गरिदिएका छन् । कमलको फूलबाटै ब्रम्हाको सृष्टि हुन्छ । कमलकै बीचमा अवतरण हुन्छन् स्वयम्भू पनि । हराम्रो कुनै पनि धर्म, कर्म र संस्कारको थालनी फूलबाटै हुन्छ । पृथ्वीनारायण शाहले नेपाल राष्ट्रलाई फूलबारीकै रूपमा परिभाषित गरे । शाह राज्यको अन्त्यपछि रचित राष्ट्रिय गान पनि फूलकै थुँगामा गाँसिएको छः

“सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची महाकाली...”
–कवि व्याकुल माइला

वनस्पति उद्यानहरू औपचारिक संस्थाका रूपमा स्थापित भएका हुन्छन् । सोख वा साम्राज्यले स्थापित गरेका विशाल बगैंचा, वाग वा फूलबारीहरूभन्दा वनस्पति उद्यान भिन्न हुन्छ । सामान्यतया वनस्पति उद्यानमा बिरुवाहरू नामाङ्कित हुन्छन् । तिनमा अक्सर लैटिन भाषामा राखिएको वैज्ञानिक नाम टाँसिएको हुन्छ । उद्यानका बिरुवाहरूको विधिवत् अभिलेख पनि राखिएको हुन्छ । वनस्पति विषयक ज्ञान, विज्ञान र प्रविधिको संरक्षण, सम्बद्र्धन र विकास सँग बिरुवाहरूको सञ्चय गाँसिएको हुन्छ । यसो भन्दैमा; वनस्पति उद्यान वैज्ञानिकहरूको प्रयोगशाला र अनुसन्धानको क्रीडास्थल मात्रै पनि होइन । वस्तुतः आम जनसाधारणका लागि मनोरञ्जनको साधन, शिक्षा र चेतनाको स्रोत तथा प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गर्ने थलोको रूपमा पनि वनस्पति उद्यानहरू स्थापित भएका हुन्छन् । विश्वभरिका वनस्पति उद्यानहरूको इतिहास केलाउने हो भने तिनको पालन, पोषण र दिगोपन जनसमर्थनबाटै जुटेको हुन्छ ।

विश्वका प्रायः हरेक राष्ट्रले आ–आफ्ना राष्ट्रिय उद्यानको पहिचान कायम गरेको पाइन्छ । नेपालको राष्ट्रिय वनस्पति उद्यान ललितपुर जिल्लाकोगोदावरीमा अवस्थित छ । विक्रम सम्वत् २०१९ साल कात्तिक १२ गते यसको उद्घाटन तत्कालीन राजा महेन्द्रबाट भएपछि यसलाई ‘शाही वनस्पति उद्यान’ नामकरण गरियो । हालको परिवर्तित सन्दर्भमा यसले नेपालको राष्ट्रिय वनस्पति उद्यानको भूमिका वहन गर्दैछ ।

काठमाडौं शहरको घना बस्ती र अस्तव्यस्त वातावरणबाट करिब २० किलोमिटरको यात्रा तय गरे पछि दक्षिणतिर फुल्चोकी पहाड (२,७१५ मिटर)को फेदीमा लगभग १,५०० देखि २,००० मिटरको उचाइमा फैलिएको ८२ हेक्टरको भू–भाग प्राकृतिक हरियालीभित्र जडिएको एक फूलबारी हो । यहाँको प्राकृतिक वनजङ्गल बाह्रै महिना हरियो हुन्छ । यहाँ पानीको पनि अभाव छैन । ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझैला ठाउँमा कटुस र चिलौनेका बोटहरू फस्टाएका छन् । ऐंसेलु, चुत्रो र काफलगोदावरीमा निकै लोकप्रिय छ । यहाँको वातावरणमा ५७५ प्रजातिका पुष्प र २९० प्रजातिका पक्षीहरू भेटिएका छन् । पक्षी धनको यो राशीलाई जापान, बेलायत वा फ्रान्सको पूरै राष्ट्रिय पक्षीगणनाले पनि भेट्दैन । यसै गरी पुतलीको वैभवमा २५० प्रजातिको अभिलेख पनि निकै उत्साहपूर्ण छ । प्रकृतिका तीन प्रमुख आकर्षणहरू— पुष्प, पुतली र पक्षीको अनुपम भण्डार होगोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान ।

वनस्पति उद्यानबाट ज्ञान आर्जन गर्ने हो भने त्यहाँ भ्रमण गर्नु भन्दा पहिले केही पूर्व तयारी गर्नु उचित हुन्छ । विशेष गरेर विद्यार्थी वर्गलाई अगुवाई गर्ने शिक्षकहरू पहिले आफैं सुसूचित हुनुपर्छ । विभिन्न प्रकाशनहरू विशेष गरेर उद्यानले प्रकाशित गरेका पुस्तक, पुस्तिका र ब्रोसरहरूको अध्ययन गरेर विद्यार्थी वर्गलाई अग्रिम रूपमा त्यसको जानकारी उपलब्ध गराउनु लाभप्रद हुन्छ । केही आधारभूत जानकारीसहित विद्यार्थी वर्गलाई त्यहाँ अवलोकन गराउन सक्यौं भने हामीले विद्यार्थी भाइबहिनीसँग काँधमा काँध मिलाएर प्रकृतिबाट केही सिक्छौं, केही नयाँ अनुभूति बटुल्छौं । बालबालिकाहरूको ताजा मस्तिष्क र कौतुहलपूर्ण अभिलाषालाई प्रकृतिको सौन्दर्यले सिंगारेर घर फर्काउन समर्थन पनि हुन्छौं । वनभोज र मनमोजमा मात्र रमाएर फक्र्यौं भने वनस्पति उद्यानप्रति अन्याय हुन्छ ।

गोदावरी उद्यानको मूलद्वारमा अवस्थित सूचना केन्द्रभित्र करिब आधा घण्टा बिताएमा नेपालको वनस्पति वैभवको एक सानो सङ्ग्रहालय (म्युजियम) त्यहाँ भेटिन्छ । नेपालको वानस्पतिक परिचय र त्यस विषयका अनुसन्धान र विकास को इतिहास त्यहाँ झल्किन्छ ।गोदावरीको पुष्पधन मात्र होइन पुतली र पक्षीको पनि त्यहाँ सामान्य जानकारी पाउन सक्छौं । भ्रमणका बेला त्यहाँका बासिन्दा अर्थात् पुतली र चराचुरुङ्गीसँग पनि बगैंचाभित्र साक्षात्कार हुनसक्यो भने त त्यसको आनन्द नै बेग्लै हुन्छ ।
विश्वमा वनस्पति उद्यानको विधिवत् सुरुआत जडिबुटीको सजिव सङ्कलनबाट प्रारम्भ भएको मानिन्छ । जडिबुटी उद्यान (Physic Garden) विनाको वनस्पति उद्यान अधुरो र अपुरो देखिन्छ । हराम्रो उद्यानमा भोट प्रदेशका सोमलता  (Ephedra) देखि तराई–मधेशका सर्पगन्धासम्मका बिरुवा भेटिएका । सोमलता चीनमा ५००० वर्ष पहिले देखि औषधिको रूपमा प्रयोग हुँदै आएको छ भने नेपाल, भारततिर आयुर्वेदमा सोमलता र सर्पगन्धाले त्यस्तै हजारौं वर्षको इतिहास बोकेको छ ।

नेपाल जडिबुटीको धनी राष्ट्रमध्येमा पर्छ । उच्च लेकाली भेगका यार्सा गुम्बा, कुट्की र जटामसीलगायत ७०० प्रजातिका जडिबुटी नेपालमा पहिचान भइसकेका छन् । अझ् हाम्रा वैद्य, धामी, झँक्री, बिजुवा, आम्ची, लामा र गुरुबाहरूले प्रयोग गर्ने जति सबै जडिबुटी सबैलाई समेट्ने हो भने त्यो सङ्ख्या बढेर १७०० नाघ्न खोज्छ । त्यसैले हाम्रा प्रत्येक जिल्लामा वनस्पति उद्यान वा जडिबुटी उद्यान सञ्चालन गर्न कुनै समस्या पर्दैन ।

नेपालको राष्ट्रिय वनस्पति उद्यानका धेरै आकर्षणहरू छन् । तीमध्येरूख उन्यू  (Tree Fern) को विशेष उल्लेख गर्नु आवश्यक छ । तीन/चार मिटरको अग्लो खाँबोमा छाता झै फैलिएका पात निकै शोभायमान हुन्छन् । यो उन्यू उद्यान  (Fern Garden) मा अरू सयौं प्रजातिका स–साना कदका उन्यू विभिन्न वान्कीका आकर्षक पातमा सजिएको पाउँछांै । उन्यूमा फूल फुल्दैन । पातको पछाडि विभिन्न आकारमा स–साना टीकाहरू भेटिन्छन् । तिनमा बिजन पदार्थ (Spores) उत्पादन हुन्छ । लगभग १४ करोड वर्ष पहिले यस पृथ्वीका बिरुवामा फूल फुल्दैनथे । त्यो संसार उन्यूको संसार थियो । त्यहाँ स्तनधारी प्राणी पनि अस्तित्वमा आइसकेको थिएन । डाइनोसर्स जस्ता भीमकाय जन्तुहरूको बिगबिगी उन्यूकै कालखण्डमा भएको पुष्टि भएको छ ।

गोदावरी उद्यानको अर्को पाटोमा पानीको फोहोरा सहित मौसम अनुसारका रङ्गीचङ्गी फूलका बिरुवाहरूको ब्याड देखिन्छ । त्यहीँ माथितिर केही सीसाघर (Glass house) छन् र तिनलाई  (Green house) पनि भनिन्छ । यस्तो न्यानो घरभित्र उष्ण क्षेत्रका बिरुवा उमारिन्छन् । यी होचा सीसाघरभित्र मूलतः क्याक्टस (Cactus) जातिका बिरुवा राखिन्छन् । यी बिरुवा सुख्खा मरुभूमिका निम्ति सृष्टि भएको बुझन्छि । यिनको बनोट र वान्की ज्यादै कलात्मक हुन्छ । यी बिरुवामा अक्सर पात हुँदैन तर यिनको पूर्ण शरीरै हरियो हुन्छ र त्यसले नै पातको काम सम्पादन गर्छ । भित्री भाग ज्यादै कोमल र रसिलो हुन्छ । बाहिरी अङ्ग–प्रत्यङ्गहरू भने काँडैकाँडाले सजिएको हुन्छ । वास्तवमा काँडाको संसार रच्नमा क्याक्टसलाई कसैले भेट्दैन । हाम्रा हात्तीकाने, सिउँडी र घ्यू कुमारीहरू त्यसका उदाहरण हुन् । क्याक्टसमा राम्रा राम्रा फूल पनि फुल्दछन् तर क्याक्टसप्रेमीहरूको प्रेम क्याक्टसको शारीरिक बनोटमा रहेको अचम्म अचम्मको शिल्पीकलामा बसेको हुन्छ । विश्वका धेरैजसो वनस्पति उद्यानमा क्याक्टस बिरुवाले विशेष स्थान ओगटेको हुन्छ ।

वनस्पति उद्यानको अर्को महत्वपूर्ण आकर्षण सुनगाभा र सुनाखरीको समूहले थेगेको हुन्छ । हावा खेल्नेगमलामा झुण्ड्याई राखिएका यस्ता सुनाखरीलाई अर्किड  (Orchid) भनिन्छ । नेपालमा ३५० भन्दा बढी प्रजातिका अर्किडहरू पाइन्छन् । तीमध्ये उष्ण क्षेत्रमारूखका हाँगा र टोड्कामा बुई चढेर यस्ता बिरुवाहरू जीवन बिताउँछन् । हावाबाटै मलजल लिन्छन् तर आफूलाई आश्रय दिने बिरुवालाई केही हानि पु¥याउँदैनन् । सुनगाभाका फूल उत्ति नै रोमाञ्चकारी तरिकाले निर्मित हुन्छन् र आ–आफ्ना मनपर्ने माहुरी, बारुला र अरू कीटपतङ्गलाई आकर्षित गर्न यिनको पुष्प सज्जाको विचित्रता नै यिनका विशेषता हुन् । अर्किड हाउस घुम्ने विद्यार्थीले यस्ता फूलका आकृतिलाई नियालेर हेरेमा प्रकृतिको रहस्य बुझन सजिलो हुन्छ । विना अर्किडको वनस्पति उद्यान पनि अधुरो मानिन्छ । यस मानेमा नेपाल अर्किड वैभवले सम्पन्न राष्ट्र भएकाले अर्किड हाउसलाई विशेष प्राथमिकता दिइँदै आएको छ ।

लसुन, वन लसुन, प्याज, जिम्बु जस्ता बिरुवाहरू लिली (Lily) प्रजातिमा पर्दछन् । गुनकेशरी र सुगन्धराज पनि यही परिवार भित्रको बिरुवा हो । लिली बिरुवाहरूको फूलमा स्वच्छ सेतो खालको फूलले प्रख्याति पाउँछन् । नेपालको रैथाने नेपलिज लिली को सेतो, सफा वा अलिकति पहेंलो फाले कमलो देखि ने पुष्प तरेलीभित्र चकलेट रङ्गले पोतिएको घाँटी हुन्छ । अरू लिलीका बीच यिनको छुट्टै पहिचान छ ।

युरोप, अमेरिकातिर वनस्पति उद्यानको प्रमुख आकर्षणको रूपमा विभिन्न प्रकारका बडेमाका सीसा घरहरू हुन्छन् । लण्डनको क्यू  (Kew) बगैंचामा रहेको पाल्म हाउस (Palm house) ले विशेष ख्याति प्राप्त गरेको छ । तर, सिङ्गापुर वनस्पति उद्यानमा पाल्म अर्थात् हराम्रो ताडी प्रजातिको बाहुल्य नै उद्यानको विशेषता हुन्छ । उष्ण प्रदेश भएकाले प्राकृतिक रूपमा नै ताडी जाति प्रजाति यत्तिकै फस्टाउँछ । युरोप, अमेरिका, जापानका बगैंचामा सीसाघरभित्र कृत्रिम रूपमा उष्ण वातावरण सिर्जना गर्ने चलन छ ।गोदावरी उद्यानमा पनि यस्तै उष्ण गृह (Tropical house) भित्र पसेर आँप, लिची, श्रीखण्डलगायत अनेकौं बिरुवाहरू हेर्न पाउँछौं ।

पाषाण वाग  (Rock Garden) चीन, जापान र युरोपको विशेषता हो । प्राकृत रूपमा हावापानीले खियाएर ठाउँठाउँमा काइ लागेका वा झयाउले ढाकेका विभिन्न आकृतिका ढुङ्गाका बीचबीचमा घाँस बिरुवा हुर्काएर कलात्मक भू–आकृति पैदा हुन्छ ।गोदावरी बगैंचामा यस्ता ढुङ्गाका अगलबगलमा सिउँडी, केतुकी जस्ता बिरुवाले प्रधानता पाएका छन् । वास्तवमा बगैंचाभित्र कलात्मक ढुङ्गा सजाउनमा जापानीहरूलाई कसैले भेट्दैन ।गोदावरी उद्यानमा पनि एक साधारण जापानी शैलीको बगैंचा हेर्न सकिन्छ । एसियाका बगैंचा विशेषमा चीन र जापानले उद्यानको भू–आकृतिलाई फूलबारीको रङ्ग, हरियालीको पृष्ठभूमि, विभिन्न बान्कीका ढुङ्गा र जलाशयको कलात्मक अभिन्यासले सिर्जेको एक प्रस्तर चित्र झै मोज्याक (Mosaic) को रूपमा प्रस्तुत गर्द छन् । पश्चिम एसिया तथा पाकिस्तान, भारत, अफगानिस्तानतिर भने ‘मुगल वाग’ ले बेग्लै विन्यासमा बगैंचाको भू–आकृतिलाई सजाइन्छ । मुगल शैलीको बगैंचा जस्तै भारतको ताजमहल वा राष्ट्रपति भवनका बगैंचा हेर्दा कुनै ज्यामितिका गुरुले बनाएको नक्सा वा कुनै इञ्जिनियरले कोरेको डिजाइन जस्तो सममिताकार  (Symmetrical) बान्कीमा देखा पर्दछन् ।


गोदावरीमा जलउद्यानले रराम्रो स्थान पाउन सकेको छैन । फलस्वरुप अरू वनस्पति उद्यानमा देखि ने कमलका फूल र विशेष गरेर भिक्टोरिया कमलको अभाव खट्किन जान्छ । यसको पात विशाल थालको रूपमा पानी माथि तैरेको देख्न आगन्तुकहरू आतुर हुन्छन् । किनभने वनस्पतिजगत्मा त्यत्रो ठूलो पात (दुई मिटर व्यास) अरू बिरुवामा हुँदैन ।

गोदावरी उद्यानको हरियाली नै यसको सबभन्दा ठूलो आकर्षण हो र त्यहाँ ठाउँठाउँ स्थापना गरेका विश्राम गृह हरू; जस्तै मनासलु हाउस, समर हाउस, स्टार हाउस, मून हाउस आदिमा बसेर हिमाल र हरियाली एकैपल्ट चियाउन सकिन्छ । त्यसका साथै चराचुरुङ्गीकागीत र झयाउँकिरीको झयाउँझयाउँ पनि उत्तिकै कर्णप्रिय हुन्छ । वास्तवमा एउटा जाबो फट्याङ्ग्रा (झयाउँकिरी) ले वनै थर्काउने आवाज निकाल्छ । त्यसले आफ्ना स–साना दुई वटा पँखेटा अति तीव्रगतिमा फड्कारेर विचित्रसँग आवाज निकाल्दछ । पोथी बोलाउनकै लागि त्यसले त्यत्रो आवाज किन निकाल्नु परयो; दैवले नै जानोस् !

गोदावरी डुल्दा जुकासँग भने होसियार हुनुपर्छ । ओसिलो ठाउँमा जुका लाग्छ । यसले रगत चुसेको थाहै पाउँदैनौं । डाक्टरले शल्यक्रिया गर्दा नदुख्ने औषधि दले झै यसले पनि हराम्रो छालामा पहिले त्यस्तै रसायन दलिदिन्छ । त्यही रसायनले गर्दा रगत पनि हतपत टालिँदैन । यस विचित्रको प्राणीले टोकेर घाउ बनाए तापनि रोग–व्याध, हानि–नोक्सानी भने हुँदैन । घाउ फोहोर गरयो भने त पाक्छ पनि । जुका लाग्ने ठाउँ प्रदूषणरहित र शुद्ध वातावरणको द्योतक पनि हो ।

वनस्पति उद्यान अध्ययन र अनुसन्धानको पनि केन्द्र हो । त्यहाँ राष्ट्रिय वनस्पति सङ्ग्रहालय (Herbarium) तथा अरू धेरै प्रयोगशालाहरू छन् । आवश्यक परेमा तिनबाट पनि लाभान्वित हुन सकिन्छ । तर, खुल्ला आकाशमुनिको फूलबारी र बगैंचाबाटै सन्तुष्टि लिन सक्नु झनै रराम्रो हुन्छ ।

commercial commercial commercial commercial