हेराइ र बुझाइ
‘मैले पढाउन जानिनँ’
एकादेशमा चारुदत्त नामका एकजना नामी ज्ञानी रगुणी गुरु थिए । उनी मानिसहरूलाई अर्ति–बुद्धि देखि ओखतीमूलोसम्म दिन्थे । त्यसैले मानिसहरू धेरै कुरा मा उनीसित सल्लाह माग्थे । धेरै मानिसहरूमा हरेक बिहान गुरुकहाँ जाने र उनीबाट ज्ञान गुनका कुरा सुन्ने बानी नै परिसकेको थियो ।
यसरी कति त चारुदत्त गुरुका भक्त नै भइसकेका थिए । उनीहरूलाई पनि गुरुसित सोधेर मात्र निर्णय गर्ने बानी परिसकेको थियो । चक्रपाल त्यस्तै एकजना व्यक्ति थिए, जो गुरुको अनुपस्थितिमा पनि ‘ गुरुले यसो भन्नुभएको छ’ भनेर उल्लेख गरिरहन्थे ।
एकदिन बिहान झ्सिमिसेमै नदीमा नुहाएर फर्कंदै गर्दा परबाट गाउँलेहरूले एउटा मत्ता जङ्गली हात्ती सुँड ठाडो पारेर आफूतिर आउँदै गरेको देखे । सौभाग्यवश त्यो हुलमा राजाको हात्तीसारमा काम गरेका अनुभवी माउते पनि थिए र उनले हात्तीको चालढाल देखेर खतरा अनुभव गरी सबैलाई भाग्ने सल्लाह दिए । सबैले उनको कुरा तुरुन्तै माने र घरतिर भागे । तर, चक्रपालले भने ‘ गुरुले त सबै प्राणीहरूमा ईश्वरको बास छ भन्नुभएको छ’ भन्दै गुरुबाट सिकेकोगीताको श्लोक भन्न थाले–
गाई, हात्ती र चाण्डाल कुत्ता सर्वज्ञ ब्राह्मण
ज्ञानीका दृष्टिमा एकै ठहर्छन् बुझ अर्जुन !
उनले त्यति भनी नसक्दै हात्ती हान्निएर उनका छेउमा आइपुग्यो र सुँडले बेरेर फ्याँकिदियो ।
अरू सबै भागे र अलिपर गएर एउटा सुरक्षित ठाउँमा बसे । एकछिनपछि हात्ती अलिपर पुगेको देखेपछि उनीहरू चक्रपाललाई खोज्न गए । उनीहरूले चक्रपाललाई झडीमा अचेत र अधमरो भएर लडिरहेको भेटे र बोकेर गुरुकहाँ पुर्याए । धेरै उपचारपछि चक्रपाल बोल्ने भए ।
बोल्ने भएपछि उनलाई सबैले किन हामीसित नभागेको भनेर सोधे । चक्रपालको जवाफ उही थियो– “यसै पनि गुरुले सबै प्राणीहरूमा ईश्वरको बास छ भन्नुहुन्छ, त्यस माथि हात्ती त देउताका रूपमा पुज्ने गरेको प्राणी, त्यसैले नभागेको” जवाफ दिए ।
गुरु र गुरुले सिकाएका कुरा प्रतिको उनको अन्धभक्ति देखेर सबै हाँसे । तर, गुरुले भने, “तिमीहरू चक्रपालको मूर्खताप्रति नहाँस । चक्रपाल भन्र्दा मूर्ख त म हुँ जो उसको मप्रतिको विश्वास र भक्तिसित नै दङ्ग परिरहेँ र उसले मैले भनेका कुरा बुझेको छ कि छैन भन्ने कुरा मा कहिल्यै ध्यान पुर्याइनँ ।”
कथासारः आफूले सिकाएको कुरा विद्यार्थीले कसरी बुझेको छ भन्ने कुरा मा बेलाबेलामा ध्यान पुरयाउने शिक्षकले मात्र असल शिक्षक भएको मागर्व गर्न सक्छ ।
www.trivia-library.com बाट साभार



