चिन्ता चिट र चन्दाको
परीक्षामा हुने चिटिङबाट अलि बढी नै पीडित जिल्लामा पर्छ सप्तरी ।गत वर्षको एसएलसीमा उक्त जिल्लाका केही परीक्षा केन्द्रमा भएको खुल्लेआम चिटिङ टेलिभिजनकै पर्दामा देख्न पाइएको थियो । ८ कात्तिक २०६६ मा राजविराजमा एकत्रित सप्तरीको दक्षिण भेगका केही स्कूलका प्रअ, शिक्षक र स्रोतव्यक्तिका कथन सुन्दा सप्तरीवासी परीक्षाका चिटिङबाट ‘साँच्चै’ पीडित भएको अनुभूति भयो ।
चिटिङका बहुआयामिक असरहरूबाट विशेषतः सप्तरीका शिक्षकहरू चिन्तित पाइए । चिटिङको सबैभन्दा खतरनाक असर हो– निकम्मा व्यक्तिलाई शैक्षिक प्रमाणपत्र हात पार्ने अवसर प्रदान गर्नु । परीक्षा खुकुलो हुन थालेपछि कैयौं छात्रछात्राले पढ्न छाड्छन् । पढ्दै नपढेकालाई चिट चोरेर लेखेको आधारमा प्रमाणपत्र दिएपछि त्यस्ताले देशको कुनै पनि क्षेत्रमा ‘रराम्रो’ गर्ने आशा गर्न सकिँदैन । परीक्षाका प्रश्नपत्रको जवाफगाइड,गेसपेपर र किताबबाट हुबहु सारेर दिन पाएपछि कतिपय विद्यार्थीहरू पढाइमा ध्यान दिनुपर्ने बाध्यताबाट आफू मुक्त भएको ठान्छन् । विद्यार्थी स्वयंले पढाइलाई बेवास्ता गर्न थालेपछि त्यस्तै स्वभावका शिक्षकहरू पनि फुर्सदिला बन्नु स्वाभाविकै हो । छिन्नमस्ता भुपेन्द्र संस्कृत मावि सखडाका प्रअ कामेश्वर यादव भन्दै थिए, “नपढी प्रथम श्रेणीको प्रमाणपत्र पाइन्छ भने किन मेहनत गर्न खोज्छन् विद्यार्थीले ?”
रुद्रनारायण माविगोरगामा रञ्जितपुरका प्रअ नारायण यादव चिट चोरेको वा नलेखेका कारण कुनै विद्यार्थीलाई फेल पार्दाको अनुभव सुनाउँदै भन्छन्, “यहाँ कोही फेल हुँदैन, कसैलाई फेल पार्न खोजियो भने ‘सर मेरो दाजु फलानो पार्टीको नेता छ, म त पास हुनै पर्छ’ भन्दै हामीलाई थर्काउन आउँछन् ।”
पढाइ कमजोर हुनुमा ‘लुज’ परीक्षा मात्र कारकतत्व चाहिँ होइन । उदार कक्षोन्नति नाममा छात्रछात्रालाई स्वतः उत्तीर्ण गर्न थालिएकाले पनि सार्वजनिक स्कूलमा ‘पढ्नु/पढाउनु पर्छ’ भन्ने भावना खिइँदै गएको पाइन्छ । नपढे पनि पास भइने अनि नपढाए पनि तलब पाक्ने भएपछि यसबाट शिक्षक–विद्यार्थी दुवैलाई क्षणिक सञ्चो त भएको होला, तर यो प्रवृत्तिले अन्ततः सम्बद्ध विद्यार्थी, अभिभावक र शिक्षकसँगै सिङ्गो देश र समाज लाई नै अपूरणीय क्षति पुरयाउने कुरा मा द्विविधा रहँदैन । सप्तरीको युवा सशक्तिकरण संघ नेपालका कार्यक्रम संयोजक ओमकान्त पण्डित यस्तै धारणा राख्छन् । उनको विचार मा धेरै जसो स्कूलमा नियमित पठनपाठन, निरन्तर मूल्याङ्कन आदि जस्ता अत्यावश्यक शैक्षिक क्रियाकलाप हुन छाडेकाले सिकाइ उपलब्धि कमजोर हुँदै गएको छ । उनले भने, “पाठ अनुसारको सिकाइ उपलब्धिबारे शिक्षक नै अनभिज्ञ छन् । विद्यार्थीमा चिट चोरेर रराम्रो नम्बर ल्याउन सकिन्छ भन्ने विश्वास छ, यही कारण स्कूल छाड्ने दर पनि बढिरहेको छ ।”
सप्तरीको परीक्षामा हुने चिटिङमा प्रअ, शिक्षक, छात्रछात्रा र सरकारी निकायको मात्र कमजोरी छैन । अविभावकले आफ्ना छोराछोरीलाई जसरी पनि पास गराउने प्रयास गरेकाले परीक्षा सञ्चालकहरू माथि परीक्षा ‘लुज’ गर्न दबाब पर्ने गरेको छ । स्थिति कतिसम्म नाजुक भइसकेको देखिन्छ भने एसएलसीको परीक्षामा निरीक्षक बस्नेहरूमध्ये कैयौंले आफूले पाउने भत्तासमेत केन्द्राध्यक्षलाई बुझाउने गर्छन् । परीक्षालाई मर्यादित र चुस्त बनाउनका निम्ति नियुक्त गरिने त्यस्ता सुपरीवेक्षक अर्थात्गार्डहरू मूलतः आफन्तलाई चिट चोराउनका लागि राखिने वा बस्ने गर्छन् ।
कक्षाको पढाइ, परीक्षा र मूल्याङ्कन प्रणालीका कमजोरीसँगै स्थानीय शिक्षक/प्रअ र स्रोतव्यक्तिहरू आफ्नै सुरक्षाप्रति पनि उत्तिकै चिन्तित देखि ए । सशस्त्र समूह, राजनीतिक दल, अभिभावक र छात्रछात्राको धम्की र दबाबबाट उनीहरूले स्वतन्त्र रूपमा आफ्नो काम गर्न नपाएको धेरै वर्ष भइसकेको व्यथा सुनाए । सप्तरीको तिलाठी लौनिया स्रोत केन्द्रका स्रोतव्यक्ति देवनारायण यादवको कथनले त्यहाँको भयावह अवस्थाको झल्को दिन्छ । शिक्षक प्रतिनिधिसँग को भेटमा उनले भने “जुनसुकै बेला जे पनि हुनसक्ने भएकाले स्कूलको काममा जाँदा पनि सहयोगी (बडीगार्ड) लैजाने गरेको छु । घरबाट सकेसम्म निक्लिन्नँ, निक्लिनुपरेमा बडीगार्ड लिएर जान्छु, सशस्त्र समूह वा अपराधीले मात्र होइन, गाउँका फटाहाले पनि आक्रमण गर्न सक्छन् ।”
बिसरिया– ३ स्थित जनता राप्रावि सिंगियोनमा आठ महिनाअघि विद्यालय व्यवस्थापन समितिगठन हुँदा स्रोतव्यक्ति यादवले चर्को दबाब झेल्नु परेको थियो । अविभावकबीचको विवादकै कारण उक्त स्कूलमा खाली रहेका दुई शिक्षकको पदपूर्ति अझै हुनसकेको छैन ।

बच्ने नयाँ सूत्र
भूमिगत समूह, राजनीतिक दलका कार्यकर्ता र आपराधिक समूहबाट आउने दबाब र धम्की छल्न स्रोतव्यक्ति देवनारायण यादवले मोबाइलको स्वीच अफ गर्ने गरेका रहेछन् । उनले भने, “गाली र धम्की सुन्न किन फोन उठाउने ? म हतपत कसैलाई फोन नम्बर दिन्न ।” अवकाश पाउन दुई महिना मात्र बाँकी रहेका यादव अहिलेसम्म आफ्नै जुक्तिबाट बचेकोे ठान्छन् ।
सार्वजनिक/सामुदायिक स्कूलमा अचेल हुने अधिकांश विवाद शिक्षक नियुक्ति र व्यवस्थापन समितिकोगठनसँग सम्बन्धित हुन्छन् । छनोट समितिगठन गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , प्रअ र स्रोतव्यक्ति रहने शिक्षा नियमावलीको प्रावधानले धेरैजसो स्कूलमा विवाद सृजना गर्ने गरेको देखिन्छ । यस्तो चलनबाट सप्तरीका स्कूल पनि मुक्त छैनन् । त्यसो त शिक्षक नियुक्तिको अधिकार स्कूलमै दिइएकालेगतिला शिक्षक शिक्षण पेसामा नआएको गुनासो पनि जताततै सुन्ने गरिन्छ । भुपेन्द्र संस्कृत मावि छिन्नमस्ताका प्रअ कामेश्वर यादवको गुनासो थियो, “शिक्षक नियुक्तिको अधिकार स्कूलबाट आयोगमा नलगी योग्य शिक्षक शिक्षण पेसामा प्रवेश गर्दैनन् ।”
जनता प्रावि कोचाबखारीका प्रअ तेजनारायण मण्डल २०६६ वैशाखमा उक्त स्कूलमा राहत शिक्षक नियुक्ति गर्दा तराई जनतान्त्रिक मुक्ति मोर्चाका कार्यकर्ताले आफूले भनेको व्यक्तिलाई नियुक्ति न गरे मा ज्यान लिने धम्की दिएको सम्झन्छन् । यस्तै धम्की झेलेका जनता राप्रावि सिंगियोनका प्रअ चन्द्रकान्त यादवले पनि आफूले सशस्त्र समूहलाई चन्दा दिन नमानेको बताए । सशस्त्र समूहका कार्यकर्ताले आफूलाई ३ फागुन २०६५ मा ‘५० हजार बोकेर कुनौली बोर्डर आउनु नत्र छोरा वा तलाइँ मार्छु’ भन्दै धम्की दिए पनि आफूले चन्दा नदिएको यादव बताउँछन् । “मैले बसेर कुरा गरौं, मसँग त्यत्रो रकम छैन र चन्दा दिन सक्दिनँ भनेँ” उनले थपे ।
पहिले र अहिलेको फरक के हो भने विगतमा माओवादी र राज्यपक्षबाट शिक्षक पीडित थिए भने अहिले भूमिगत सशस्त्र समूह, आपराधिक व्यक्ति र समूह तथा राजनीतिक दलबाट पनि उनीहरू सताइएका छन् । रुद्रनारायण माविगोरगामाका प्रअ नारायण यादवले भने, “ गाउँले र गाउँका अनेक क्लबलाई समेत पैसा दिनुपर्छ, धेरैले शिक्षकलाई कसरी लुट्ने भन्ने मान सिकता पालेका छन् ।” लक्ष्मी पूजा, रामजानकी जस्ता महोत्सवमा पनि शिक्षक र स्कूलबाट रकम असुल्न तराईमा विभिन्न समूह सक्रिय रहेका छन् । भुपेन्द्र संस्कृत मावि सखडाका प्रअ कामेश्वर यादव चाहिँ चन्दा माग्नेहरूलाई चन्दा दिनुको साटो छोराछोरीलाई निःशुल्क पढाइ दिन्छु भन्दै टार्ने गर्दा रहेछन् । उनले भने, “शिक्षक तटस्थ भयो भने त्यति धेरै दबाब नआउँदो रहेछ ।”



