विकिपिडिया सूचना र ज्ञानको सहज स्रोत

  • ग्यालेक्सी स्कूलका विज्ञान शिक्षक शङ्कर पौडेल इन्टरनेटमा बसेका बेला विकिपिडिया हेर्न छुटाउँदैनन् । उनी विद्यार्थीलाई पनि विकिपिडियाको प्रयोग गर्न सिकाउँछन् । उनले आफ्ना विद्यार्थीहरूलाई नेपालमा पाइने दुर्लभ वन्यजन्तु र वनस्पतिका प्रजातिको सूची बनाउन ल गाउँदा केही विद्यार्थीले रराम्रो सूची तयार पारेका थिए । उनी भन्छन्, “जुन विद्यार्थीले विकिपिडियाको प्रयोग गरे, उनीहरूले तयार गरेको प्रजातिको सूची अरू विद्यार्थीको भन्दा विस्तृत थियो ।”
  • महाँकालस्थित काठमाडौं विद्यामन्दिरका कक्षा १० का विद्यार्थी उज्ज्वल कुमार सिंह साइबर पुग्नासाथ विकिपिडियाको ‘होम पेज’ खोल्छन् । सातामा दुई–तीन पटक इन्टरनेट हेर्ने उनी विकिपिडिया आफूलाई निकै उपयोगी भएको ठान्छन् । कक्षामा सामाजिक शिक्षाको संविधान सम्बन्धी पाठ पढ्दा उनले आफ्ना शिक्षकबाट संघीयताको सङ्क्षिप्त जानकारी पाए । तर, उनलाई त्यसबारे विस्तृत तथ्य जान्न मन लाग्यो र विकिपिडियाको सहारा लिए । उज्ज्वल भन्छन्, “संघीयताको अवधारणा, स्वरुप, प्रणालीका धेरै कुराहरू विकिपिडियामा रहेछन् ।”
  •  
  • ग्यालेक्सीमा सामाजिक शिक्षा पढाउने शिक्षक कमल मिश्रले कक्षा १० मा सामाजिक शिक्षा अन्तरगत दोस्रो विश्वयुद्धको इतिहास पढाउँदा आफूलाई पाठ्यपुस्तकमा मात्रै सीमित राखेनन् । विकिपिडियाको सहयोगमा उनले विश्वयुद्धमा जापानको हिरोशिमा र नागासागीमा भएको अमेरिकी बम आक्रमणको घटनालाई तस्बिरसहित विद्यार्थीलाई देखाए । मिश्र भन्छन्, “मैले विकिपिडियामा दोस्रो विश्वयुद्धका धेरै सूचना भेट्टाएँ । ती सूचना पाठ्यपुस्तकबाट जान्न सम्भवै थिएन ।” उनी विकिपिडियाका नियमित प्रयोगकर्ता हुन् । सामाजिक शिक्षा आफैंमा समसामयिक विषय भएकाले विद्यार्थीलाई प्रभावकारी ढङ्गबाट पढाउनका लागि उनी विकिपिडिया हेरिरहन्छन् ।

हो, संसारका अधिकांश ऐतिहासिक जानकारी र वैज्ञानिक आविष्कार आदिबारे जान्न उत्सुकता देखाउने जो–सुकैका लागि विकिपिडिया सजिलो स्रोत हुनसक्छ । पत्रकार, प्राध्यापक, अनुसन्धानकर्ताहरूले बढी प्रयोग गर्दै आएको विकिपिडिया विद्यालयका शिक्षक र विद्यार्थीहरूका लागि पनि उत्तिकै उपयोगी हुनसक्छ ।  विकिपिडियामा पाठ्यवस्तुसँग सम्बन्धित कुरा हरू मात्र नभई नयाँ ज्ञान, सीपको अभिवृद्धिमा सहयोग पुरयाउने धेरै सामग्रीहरू पनि पाइन्छन् । त्यसो त पाठ्यक्रम, मूल्याङ्कन, कक्षाकोठा वातावरण जस्ता शिक्षण क्रियाकलाप बारे अनुसन्धान गर्न चाहने शिक्षकलाई विकिपिडिया उपयोगी हुने देखि एको छ । त्यसका लागि– www.wiipedia.org मा लगअन गर्नु पर्छ । यो पृष्ठ खुलेपछि आफूले हेर्ने भाषा छान्न सकिन्छ । अथवा विकिपिडियाको छुट्टै अङ्ग्रेजी संस्करण भेट्टाउनका लागि सोझै www.en.wikipedia.org मा जान सकिन्छ ।

विकिपिडिया निःशुल्क प्रयोग गर्न सकिने इन्टरनेटको सबैभन्दा ठूलो इन्साइक्लोपिडिया हो । संसारका धेरै विषयमा सामान्य जानकारी दिने पुस्तक नै विश्वकोश अर्थात् इन्साइक्लोपिडिया हो । इन्साइक्लोपिडियाको इतिहासको खोजी गर्दै जाँदा पहिलो शताब्दीमा प्रकाशित ‘नेचरल हिस्ट्री’ सम्म पुगिन्छ । आधुनिककालमा भने सन् १७७० को दशकमा स्कटल्याण्डको एडिनबरोमा पहिलो पटक प्रकाशित ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ नै अगुवा विश्वकोश हो । पुस्तकका रूपमा प्रकाशित हुने ‘इन्साइक्लोपिडिया’ चाहिँ महँगो पर्छ । त्यसकोे तुलनामा पाठकलाई सजिलो र छिटो सेवा दिने उद्देश्यले इलेक्ट्रोनिक विकिपिडियाको विकास गरिएको हो । संसारकै कला/संस्कृति, इतिहास, चर्चित व्यक्तिका जीवनी, भूगोल जस्ता अनेक विषय सम्बन्धी ज्ञानको ठूलो भण्डारको रूपमा विकिपिडिया विकसित भइरहेको छ ।

अङ्ग्रेजी भाषाको अनलाइन इन्साइक्लोपिडियाको रूपमा स्थापित नुपिडियाको परिमार्जित र विकसित स्वरुप हो, विकिपिडिया । यसको वेब साइटमा जनाइए अनुसार, १५ जनवरी २००१ मा विकिपिडियाको औपचारिक थालनी भएको हो । जसको सुरुआतकर्ता थिए– नुपिडियाका संस्थापक जिमी वेल्स र उनका सहयोगी लेरी स्याङ्गर । विकिपिडिया विकिमिडिया फाउण्डेशन द्वारा सञ्चालित गैर नाफामूलक परियोजना हो । फाउण्डेशनका अनुसार, विकिपिडियाकै नियमित पाठक र अन्य व्यक्ति तथा संस्थाबाट प्राप्त हुने अनुदान सहयोगबाट यो सञ्चालित छ ।

प्रारम्भमा अङ्ग्रेजी भाषामा मात्र विषयवस्तु राख्न शुरु गरिएको विकिपिडिया­मा अहिले २६० भन्दा बढी भाषाका एक करोड ३० लाखभन्दा बढी लेख रचनाहरू सङ् गृहीत छन् । तीमध्ये अङ्ग्रेजी भाषाका मात्रै ३० लाख ६० हजारभन्दा बढी लेखहरू भेटिन्छन् । अङ्ग्रेजीपछि जर्मन, फ्रान्सेली, पोलिस, इटालियन, डच, स्पेनिस, पोर्चुगिच जस्ता भाषाका सामग्री बढी पाइन्छन् ।

विकिपिडिया त्यस्तो सञ्जाल हो, जहाँ जो–सुकैले लेखरचना, सूचना, गतिविधिजस्ता सामग्रीहरू अपलोड गर्न सक्छ । यसका प्रयोगकर्तालाई यसअघि नै अपलोड भइसकेका सामग्री सम्पादन गर्ने स्वतन्त्रता समेत छ । विकिमिडिया फाउण्डेशनका अनुसार, अहिले करिब ७५ हजारको हाराहारीमा त्यस्ता सम्पादकहरू छन्, जसले नियमित रूपमा विकिपिडियाका लेखहरू सम्पादन गर्द छन् ।

सामग्री खोज्ने तरिका
विकिपिडियामा सामग्रीहरू खोज्ने र हेर्ने मूलतः दुईवटा विकल्पहरू छन् । पहिलो हो, विकिपिडियाको मूलपृष्ठको बायाँपट्टि रहेको ‘सर्चबक्स’ मा आफूले खोजेको विषयको शीर्षक टाइप गरेर सामग्री खोज्नु । यसो गर्दा त्यो शीर्षकसँग सम्बन्धित धेरै विषयवस्तुहरू विकिपिडियाले देखाउँछ । दोस्रो उपाय हो, विकिपिडियामा राखिएका शीर्षकहरूमा ‘क्लिक’ गरेर चाहिएका सामग्रीहरू फेला पार्न सकिन्छ । त्यस्ता शीर्षकहरू कुनै वर्णानुक्रममा राखिएका हुन्छन् भने कतिपय चाहिँ विषयवस्तु अनुसार वर्गीकृत गरिएका हुन्छन् । साथै, ‘ए’ देखि ‘जेड’ सम्मका वर्णानुक्रम सूची पनि मूलपृष्ठमा राखिएको हुन्छ । आफूलाई चाहिएको विषयको शुरु को अक्षरमा ‘क्लिक’ गरेर पनि सामग्री फेला पार्न सकिन्छ ।

विकिपिडियाको अङ्ग्रेजी संस्करणको मूलपृष्ठको ‘टुडेज फिचर्ड आर्टिकल’ शीर्षकमा हरेक दिन एउटा मुख्य लेख राखिएको हुन्छ । जुन लेख विस्तृत हुन्छ । यसको अभिलेखालयमा कैयौं विस्तृत लेखहरू सङ् गृहीत हुन्छन् । मूलपृष्ठमै अर्को उपयोगी जानकारी भेटिन्छ, त्यो हो– इतिहासका प्रमुख घटनाका मिति । खोजकर्ताले जुन दिन विकिपिडिया खोल्छन्, त्यही दिन संसारमा भएका ऐतिहासिक घटनाका विवरण त्यसले देखाउँछ । सँगै यसको अभिलेखालय पनि छ, जहाँ १२ वटै महिनाका हरेक तारिखका कन्टेन्ट राखिएका छन् ।

सबैलाई उपयोगी
सामान्य ज्ञान देखि पाठ्यवस्तुसँग सम्बन्धित विषयवस्तुहरू प्रशस्त भेटिने भएकाले विद्यालय तहका शिक्षक र विद्यार्थीहरूलाई विकिपिडिया सहयोगी सामग्री मानिन्छ । विशेष गरी गणित र विज्ञान विषयका पाठ्यक्रमसँग सम्बन्धित राम्रा सामग्रीहरू विकिपिडियामा भेटिन्छन् । साथै, सामाजिक अध्ययनका वैकल्पिक विषयवस्तुहरू समेत यसमा छन् । सामाजिक अध्ययनमा विशेषतः भूगोल, विकास , अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिक विषयवस्तु समेटिएका हुन्छन् । तिनलाई सहयोग पुग्ने खालका भौगोलिक नक्सा, तस्बिर, तथ्याङ्कजस्ता सामग्रीहरू विकिपिडियामा पाइन्छन् ।ग्यालेक्सी स्कूलका शिक्षक कमल मिश्र भन्छन्, “पाठ्यपुस्तकका ज्ञान दिनु त एउटा कुरा भयो । तर, सामाजिक अध्ययनका नयाँ गतिविधिहरू त पाठ्यपुस्तकमा थपिएका हुँदैनन् नि ! त्यो अवस्थामा विद्यार्थीहरूलाई ‘अपडेटेड’ जानकारीहरू दिनका लागि विकिपिडिया एउटा रराम्रो विकल्प हो ।”
विकिपिडियाका प्रयोगकर्ता शिक्षकहरू यसलाई सबैभन्दा सजिलो र व्यापक स्रोतको रूपमा लिन्छन् । शिक्षक युनियनका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई भन्छन्, “जतिबेला चाहेपनि कुनैपनि विषयका सूचना र जानकारीहरू विकिपिडियामा पाइन्छ । योभन्दा सस्तो र सजिलो अर्को माध्यम के हुन्छ र ?” शिक्षकलाई अतिरिक्त ज्ञान–सीपको खाँचो पर्दा विकिपिडिया हेर्नै पर्ने उनको ठम्याई छ । भट्टराईको अनुभवमा शिक्षणसँग सम्बन्धित अनुसन्धानमूलक धेरै सामग्रीहरू विकिपिडियामा छन् । “कक्षाकोठा वातावरण सम्बन्धी विषयवस्तु खोज्न पनि यसले सहयोग पुर्याउँछ”, उनी भन्छन् ।

 

कुनैपनि विषयको आधारभूत सूचना र जानकारी थाहा पाउन शिक्षक तथा विद्यार्थीले आधारभूत सामग्रीको रूपमा विकिपिडियालाई उपयोग गर्न सक्छन् । द्विविधा भएको विषयमा शिक्षकले आफू प्रस्ट हुनका लागि विकिपिडिया उपयोगी हुने कतिपय शिक्षकहरूको अनुभव छ ।ग्यालेक्सीका विज्ञान शिक्षक शङ्कर पौडेल भन्छन्, “विद्यार्थीले राख्ने सबै जिज्ञासाको समाधान पाठ्यपुस्तक र आफ्नो ज्ञानबाट मात्रै गर्न सकिँदैन । यस्तो अवस्थामा विकिपिडियाले केही हदसम्म सहयोग पुर्याउँछ ।” त्यसैले उनले विद्यार्थीलाई पनि विकिपिडिया प्रयोग गर्न सल्लाह दिन्छन् । पौडेल भन्छन्, “यसो गर्दा विद्यार्थीहरू अतिरिक्त ज्ञानप्रति ‘अपडेटेड’ पनि हुन्छन् र यसमा विद्यार्थीहरूलाई नियमित गृह कार्यको महसूस पनि हुँदैन ।”

विकिपिडियामा भेटिने चित्र र तस्बिरहरू समेत विद्यार्थीहरूका लागि झन् रुचिपूर्ण लाग्न सक्छन् । विकिपिडियाको विश्व–ज्ञानकोश पोर्टलका रूपमा कला, जीवनी, भूगोल, इतिहास, गणित, विज्ञान, प्रविधिका ‘कन्टेन्ट’हरू राखिएका छन् । ईशाकालका विश्व विख्यात दार्शनिकहरू सुकरात, अरस्तु देखि सन् २००९ मा रसायनतर्फका नोबेल पुरस्कार विजेता बेकटरामन् रामकृष्णन्सम्मका जीवनी विकिपिडियामा भेटिन्छन् । यीमध्ये अधिकांश सामग्रीमा कुनै न कुनै तस्बिर या चित्र राखिएको छ ।

जस्तो, विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनको बारेमा जान्न चाहनेका लागि उनको जन्म देखि मृत्युपर्यन्तसम्मका घटनाक्रम र उनले गरेका योगदानबारे विकिपिडियाले देखाइदिन्छ । विकिपिडियाको यो सुविधाप्रति विद्यार्थीहरू पनि निकै सन्तुष्ट छन् । काठमाडौं विद्यामन्दिरमा कक्षा १० मा पढिरहेका पासाङ शेर्पा भन्छन्, “न्युटनको गुरुत्वाकर्षण सम्बन्धी सिद्धान्त पढेपछि मैले विकिपिडियामा न्युटनको बारेमा ‘सर्च’ गरें । त्यहाँ त न्युटनका बारेमा मैले सोचेभन्दा बढी जानकारी भेटियो ।” त्यसयता पासाङ विकिपिडियाको नियमित प्रयोगकर्ता बनेका छन् ।

रेडियोको आविष्कार कसरी भयो ? विद्यार्थीमा उठ्न सक्ने एउटा बालसुलभ जिज्ञासा हो यो । त्यसले रेडियोको शाब्दिक अर्थ देखि यसको आविष्कार र प्रयोगबारेका सम्पूर्ण वृत्तान्त छिनभरमै खोजकर्ता सामु विकिपिडियाले ल्याइदिन्छ । इतिहासको कुरा गर्नु पर्दा संयुक्त राष्ट्रसंघको स्थापनाबारे जानकारी चाहने शिक्षक–विद्यार्थीका लागि विकिपिडियाले दरिलो स्रोत सामग्रीका रूपमा काम गर्न सक्छ । विकिपिडियाको अङ्ग्रेजी संस्करणको ‘सर्चबक्स’ अङ्ग्रेजीमा ‘युनाइटेड नेसन्स’ टाइप गरेर खोज्नासाथ त्यहाँ राष्ट्रसंघको स्थापना, यसका उद्देश्य, सङ्गठन संरचना सम्पूर्ण तथ्यहरू भेटिनेछन् । अङ्ग्रेजी भाषा कमजोर हुनेलाई कतिपय सामग्रीहरू तपाईंले नेपाली, नेवारी, हिन्दी, भोजपुरी, संस्कृत भाषामा पनि हेर्न सकिन्छ । यद्यपि यी भाषामा अङ्ग्रेजीका जति खुराक भेटिँदैनन् । अझ्, नेवारी भाषा राम्ररी पढ्न सक्नेलाई त झन् खुशीको खबर ! दक्षिण एसियामा सबैभन्दा बढी बोलिने हिन्दी भाषाको तुलनामा नेवारी भाषामा बढी ‘कन्टेन्ट’हरू नेवारी विकिपिडियामा छन् (हेर्नुस् बक्स) ।
इन्टरनेटको पहुँच पुगेका विद्यालयमा विकिपिडियाको प्रयोग सजिलै गर्न सकिएला । तर, इन्टरनेट नै नदेखेका ठाउँका शिक्षक विद्यार्थीले के गर्ने त ? यो जिज्ञाशा उठ्नु स्वभाविकै लाग्न सक्छ । इन्टरनेट नभएका विद्यालयका शिक्षकले सदरमुकाममा आएका बेला जिल्ला शिक्षा कार्यालय वा अन्य संस्थामा इन्टरनेट सुविधा लिएर आवश्यक पाठ्यसामग्री, नक्सा, तस्वीरहरू डाउनलोड गर्न सक्छन् । त्यसरी झिकिएका सामग्रीलाई सीडी वा ‘पेनड्राइभ’मा राखेर आफ्नो विद्यालयको कम्प्युटरबाट विद्यार्थीहरूलाई देखाउन पनि सकिन्छ ।

विकिपिडियामा जोसुकैले नयाँ सामग्री ‘अपलोड’ गर्ने र पुराना सामग्रीलाई सम्पादन गर्न सक्ने भएकाले यसको यथार्थता र विश्वसनीयतामा सधैँजसो प्रश्न पनि उठ्ने गरेको छ । जसलाई विकिमिडिया फाउण्डेशन स्वयंले आफ्नो मुख्य कमजोरीका रूपमा स्वीकार गरेको छ । पटकपटकको सम्पादन हुने भएकाले विकिपिडियाका लेखरचनाहरू प्रायः अपुरो र अधुरा हुन्छन्, भनिन्छ । यसकारण पनि जानकारहरू विकिपिडियालाई सूचनाको प्रारम्भिक स्रोतको रूपमा प्रयोग गर्दा उपयुक्त हुने बताउँछन् ।

मदन पुरस्कार पुस्तकालयका सङ्कलन व्यवस्थापन निर्देशक साजन सुवेदी भन्छन्, “यो सूचना सङ्कलनको शुरु को बिन्दु हो, तर अन्तिम विकल्प चाहिँ हैन ।” भेटिएका सामग्रीको ‘क्रसचेक’ गर्नु पर्ने उनको सुझाव छ । चार वर्ष वनस्पतिशास्त्र पढाएका सुवेदी भन्छन्, “म त निकै सन्तुष्ट छु । यति सजिलोसँग सूचना पाउनु भनेको एकदमै ठूलो कुरा हो ।”

सहायक परियोजना
विकिपिडियाले आफ्नो भगिनी परियोजनाअन्तर्गत विक्सनरी (शब्दकोश), विकिबुक्स (पुस्तक), विकिसोर्स  (लाइब्रेरी), विकिभर्सिटी (सिकाइ क्रियाकलाप ), विकिकोट (सूक्तिहरू), विकिन्यूज (समाचार) जस्ता ‘कन्टेन्ट’हरू समेत सञ्चालन गरेको छ । यीमध्ये शिक्षक र विद्यार्थीहरूका लागि ‘विकिभर्सिटी’ बढी लाभदायी हुनसक्छ । यसमा विद्यालय शिक्षा र शिक्षण क्रियाकलाप सँग सम्बन्धित उपयोगी सामग्रीहरू भेटिनेछन् । (हेर्नुस् बक्स)

विकिकोटअन्तर्गत १७ हजारभन्दा बढी भनाइ तथा उक्तिहरू सङ्ग्रह गरिएका छन् । त्यस्तै, विकिपिडियाको महत्वपूर्ण परियोजना मानिएको विकिबुक्समा थुप्रै पुस्तकका करिब ३८ हजार पृष्ठहरू समेटिएका छन् । जसलाई शिक्षक विद्यार्थीले ‘ई–लाइब्रेरी’का रूपमा प्रयोग गर्न सक्छन् । विकिपिडिया शब्दकोशमा १४ लाख २४ हजारभन्दा बढी अङ्ग्रेजी शब्दका अर्थहरू राखिएका छन् । साथै, कुनै पनि शब्दको उच्चारण तरिका, परिभाषा र विपरित शब्द समेत सो शब्दकोशले देखाइदिन्छ । काठमाडौं विद्यामन्दिरका छात्र उज्ज्वल कुमार सिंह भन्छन्– ‘डिक्स्नरी’मा नभेटिएका शब्दका अर्थ र परिभाषाहरू खोज्नका लागि म पनि विकिपिडिया नै हेर्छु । भगिनी परियोजनाको अर्को ‘कन्टेन्ट’ हो– विकिपिडिया कमन्स । जहाँ पत्रपत्रिकाका प्रकाशित लेखका ‘स्क्यानकपी’ र तस्बिरहरू गरी ५० लाखभन्दा बढी सामग्री अपलोड गरिएका छन् । यस्तै, विकिस्पिसिज परियोजनाको पृष्ठमा शिक्षक विद्यार्थीले विभिन्न प्रजातिका जन्तु, वनस्पतिका जानकारी तथा तस्बिरहरू खोज्न सक्छन् ।

commercial commercial commercial commercial