राष्ट्रिय शिक्षा पुरस्कार– २०६६ ‘राम्रा’ले मात्रै पाएनन्

शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर २३ भदौ २०६६ मा सार्वजनिक स्कूलका ४२५ र निजी स्कूलका ५८ जना ‘उत्कृष्ट’ शिक्षकलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । पुरस्कृत शिक्षकहरूले चालू आर्थिक वर्षभरिमा आ–आफ्नो पुरस्कार पाइसक्ने बताइएको छ । देशका सम्पूर्ण निजी तथा सार्वजनिक विद्यालयमा अध्ययनरत डेढ लाखभन्दा बढी शिक्षकहरूमध्येबाट निश्चित मापदण्डका आधारमा उत्कृष्ट र योग्य शिक्षकहरू छानिएको शिक्षा मन्त्रालयको दाबी छ । उक्त मापदण्ड अनुसार पुरस्कार पाउने शिक्षकको विषयमा वार्षिक परीक्षामा कम्तीमा ७५ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएको तथा सम्बन्धित शिक्षक ९५ प्रतिशत विद्यालयमा उपस्थित भएको हुनुपर्छ । सरकारी स्कूलमा कम्तीमा पाँच देखि १० वर्ष सेवा गरेका स्थायी शिक्षक यो पुरस्कार को हकदार हुन्छन् । (हे मापदण्ड बक्समा)  

यसपालि पुरस्कार पाउनेमा केही उत्तम, केही राम्रा र केही खराब शिक्षक पनि परेका हुनसक्छन् । शिक्षक मासिकले देशभरिबाट पुरस्कृत सरकारी स्कूलका ४२५ शिक्षकको शैक्षिक /व्यक्तिगत पृष्ठभूमिको विस्तृत अध्ययन गर्नु समय र स्रोतसाधनका हिसाबले मात्र होइन, व्यावहारिक रूपमा पनि कठिन हुन्छ । तथापि झपा, मोरङ, महोत्तरी, ललितपुर र कैलाली जिल्लाबाट पुरस्कृत शिक्षकबीच हामीले गरेको सरसर्ती अध्ययनले चाहिँ सरकारी मापदण्ड पूरा न गरेका शिक्षकले पनि शिक्षा पुरस्कार हात पारेको देखाएको छ । पुरस्कार पाउनेमा केही राम्रा शिक्षक पनि पर्छन् ।

सरकारी स्कूलको पढाइ सुधार्न राम्रा शिक्षकलाई पुरस्कृत र खराबलाई दण्डित गर्नु पर्ने आवाज उठिरहेको बेला आफू वरपरका शिक्षकहरू मन्त्रालयको मापदण्ड अनुसार राष्ट्रिय शिक्षा पुरस्कार पाउन योग्य थिए कि थिएनन् भन्ने कुरा को लेखाजोखा/मूल्याङ्कन गर्ने दायित्व शिक्षक, अभिभावक र छात्रछात्राको हो किनकि शिक्षा पुरस्कार पाएका शिक्षकको योगदान तथा चरित्र छात्रछात्रा, अभिभावक र नजिकको शिक्षकलाई भन्दा बढी अरूलाई थाहा हुँदैन । पुरस्कार छनोटका त्रुटि र कमी–कमजोरी सुधार गरीगतिला शिक्षकलाई मात्र यो पुरस्कार को हकदार तुल्याउन ढिलो भइरहेको छ । शिक्षक, अभिभावक र छात्रछात्राले पुरस्कार को मौजुदा प्रणाली र शैलीका खोट नकेलाई शिक्षा पुरस्कार लाई शिक्षकलाई ‘साँच्चै’ प्रोत्साहित गर्ने कार्यक्रम बनाउन नसकिने देखिन्छ ।

झापाको ढुकुरपानी मावि दमकका शिक्षक अर्जुन अधिकारी यसपालिको राष्ट्रिय शिक्षा पुरस्कार पाउने करिब ५०० शिक्षकमध्येका एक हुन् । शिक्षक अधिकारी पुरस्कार ले आफूलाई अध्यापनमा अरू सक्रिय हुन प्रोत्साहित गरेको ठान्छन् । उक्त माविका प्रअ लीला खनालका अनुसार, २७ वर्ष देखि गणित पढाइरहेका अधिकारी समयमै विद्यालयमा आउने र नियमित पढाउने ‘राम्रा तथा अनुशासित’ शिक्षक हुन् । चार जना मात्र विद्यार्थी भएपनि अधिकारी ले कक्षा छाड्ने गरेका छैनन् । पहुँचवालासँग सम्बन्ध नभएका अधिकारी पुरस्कार पाएकोमा खुशी व्यक्त गर्दै भन्छन्, “रराम्रो काम गरे मा मूल्याङ्कन हुँदोरहेछ ।”गत वर्ष दमक स्रोत–केन्द्रले पनि अधिकारी लाई उत्कृष्ट नगर शिक्षकको रूपमा सम्मान गरेको थियो ।

झपाकै कञ्चनजंघा प्रावि काकडभिट्टाका प्रअ घनश्याम पोखरेल पनि यसपटकको शिक्षा पुरस्कार पाउने राम्रा शिक्षकमा पर्छन् । उनको स्कूल सार्वजनिक भए पनि रराम्रो निजी स्कूल जस्तो छ । छात्रछात्राको पोशाक पनि निजीको जस्तै छ भने पठनपाठन अङ्ग्रेजी माध्यममा हुन्छ । साना नानीहरूले कम्प्युटरको प्रयोग गर्न थालेका छन् । मनोरञ्जनका लागि स्कूलमा टेलिभिजन, खाना र खाजाका लागि क्यान्टिनको व्यवस्था गरिएको छ । बालबालिकालाई टिफिनको समयमा सुत्ने प्रबन्ध पनि छ । छात्रछात्राको उत्तीर्ण प्रतिशत ९८ रहेको उनी बताउँछन् । “शायद यिनै कुरा हेरेर मलाई पुरस्कृत गरिएको होला”, उनी थप्छन् ।

तर; शिक्षा मन्त्रालयबाट यसपालि पुरस्कृत गरिएका सरकारी स्कूलका शिक्षकहरूको सूचीमा अधिकारी र पोखरेल जस्ता शिक्षक फेला पार्न सजिलो छैन । लचमु मावि जलेश्वरका निमावि शिक्षक कमलदेव ठाकुरले पर्सारघुनाथ निमाविको प्रअ हुँदा गरेको आर्थिक हिनामिना सम्बन्धी मुद्दा अहिले पनि जिप्रका महोत्तरीमा चलिरहेको छ । तर, उनी यसपालि राष्ट्रिय शिक्षा पुरस्कार बाट सम्मानित भएका छन् । महोत्तरीकै हल्खोरी निमाविको प्रअ हुँदासमेत आर्थिक अनियमितता गरेको तथा स्कूलमा नपढाएको अभियोगमा विद्यालय व्यवस्थापन समितिले ठाकुरविरुद्ध जिप्रका महोत्तरीमा उजुरी गरेको थियो । उक्त स्कूलमा छात्रछात्रा र अभिभावकले हाजिर हुन नदिएपछि ठाकुरलाई जिशिकाले २ वैशाख २०६० मा पर्सारघुनाथ निमाविको प्रअमा सरुवा गरेको थियो ।

नयाँ स्कूलमा पनि ठाकुरको रेकर्ड रराम्रो रहेन । जुन अभियोगमा उनी हल्खोरी निमाविबाट धपाइए, त्यही अभियोग सरुवा भएको पर्सारघुनाथ निमाविमा पनि दोहोरियो । पर्सारघुनाथ निमाविको विद्यालय व्यवस्थापन समितिले स्कूलको शौचालय निर्माणमा आर्थिक अनियमितता गरेको भन्दै ठाकुरलाई २३ कात्तिक २०६३ देखि स्कूलमा हाजिर हुन दिएन । समितिले उनीविरुद्ध जिप्रकामा उजुरी दर्ता गरेको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीले यस्ता उजुरी धेरै भएको ले ठाकुर सम्बन्धी उजुरीको फैसला हुन ढिलो भएको जानकारी शिक्षकलाई दिएका छन् । विद्यालयमा हाजिर गर्नबाट बञ्चित भएपछि ठाकुरले करिब तीन महिनाअघि जलेश्वरको लचमु माविमा काज सरुवा गराए का हुन् । नेपाल शिक्षक संघ महोत्तरी र नेपाल शिक्षक युनियनको केन्द्रीय प्रतिनिधि समेत रहिसकेका ठाकुरको शैक्षिक /प्रशासनिक रेकर्ड खराब भए पनि शिक्षा अधिकारी हरूको नजरमा चाहिँ उनी राष्ट्रिय शिक्षा पुरस्कार पाउनका लागि ‘योग्य’ प्रअ/शिक्षक ठहरिएको देखिन्छ । ठाकुरको पुरस्कार लाई इङ्गित गर्दै नेपाल शिक्षक मञ्चका अध्यक्ष भागेन्द्र झ शैक्षिक उन्नति र स्कूलको विकास मा योगदान गरेका भन्दा जिशिअ वरपर घुम्ने शिक्षकले शिक्षा पुरस्कार पाउने गरेको आरोप ल गाउँछन् ।

सार्वजनिक स्कूलका शिक्षकले राष्ट्रिय शिक्षा पुरस्कार पाउनका लागि स्थायी शिक्षकका रूपमा कम्तीमा पाँच देखि १० वर्ष सेवा गरेको हुनुपर्छ । तर, ७ मङ्सिर २०६३ मा स्थायी भएकी महोत्तरीकै पर्सापतौली माविकी निमावि शिक्षक नाइडु नेपालीलाई पनि यस वर्षको शिक्षा पुरस्कार प्राप्त भएको छ । उनी कार्यरत स्कूलमा लामो समय शिक्षण गरेका अरू योग्य शिक्षक हुँदाहुँदै राष्ट्रिय शिक्षा पुरस्कार नाइडुले नै पाउनुमा खेलकुद मन्त्री रहेका उनका ससुरागणेश नेपालीको सोर्सले काम गरेको विश्वास गरिन्छ । तर उनी भन्छिन्, “धेरै मान्छेले ससुरा मन्त्री भएको ले नाइडुले पुरस्कार पाई भनेका छन् । तर म पुरस्कार का लागि योग्य छु ।” महोत्तरीकी स्थायी बासिन्दा नाइडुले एसएलसी जलेश्वरबाटै गरे की हुन् भने उनका आईए र बीएका प्रमाणपत्र चाहिँ भारतको बिहार शैक्षिक संस्थाका छन् ।

२०६५ को एसएलसी परीक्षामा ‘निल’ गएको ललितपुरको चाकुपाटस्थित चण्डी विद्याश्रमका मावि शिक्षक उपेन्द्र यादव पनि यसपटक राष्ट्रिय शिक्षा पुरस्कार पाउने शिक्षकमा दरिएका छन् । २०५८ साल देखि उक्त विद्यालयमा पढाउन थालेका यादव माविमा सामाजिक विषय पढाउने गर्छन् । विगत १० वर्षयता चण्डी विद्याश्रमबाट एसएलसीमा वर्षको चार/पाँच जनाभन्दा बढी छात्रछात्रा उत्तीर्ण भएका छैनन् । यादवले पढाउने सामाजिक अध्ययनमा भने अधिकांश छात्रछात्रा पास हुँदै आएका छन् ।गत वर्ष एसएलसीमा सामेल ५७ मध्ये सबै असफल भए पनि सामाजिक अध्ययनमा चाहिँ ५३ जना उत्तीर्ण भएका थिए । यादव छात्रछात्राले परीक्षामा हासिल गरेको शैक्षिक नतिजाका आधारमा आफूलाई पुरस्कार दिएको भन्ने ठान्दैनन् । उनी भन्छन्, “स्कूलले वार्षिक परीक्षामा हासिल गरेको उपलब्धिका आधारमा पुरस्कार दिइन्थ्यो भने मैले पाँच वर्षअघि नै शिक्षा पुरस्कार पाएको हुन्थें किनकि त्यतिबेला म काभ्रेमा प्रअ हुँदा स्कूलको उन्नतिका लागि अहिलेभन्दा धेरै रराम्रो काम गरेको थिएँ ।”
यादव मधेशी जनअधिकार फोरमनिकट ‘मधेशी शिक्षक फोरम’का महासचिव तथा मधेशी शिक्षकहरूको संस्था ‘मधेशी शिक्षक समाज ’का अध्यक्ष हुन् । उनी तीन महिना देखि चलिरहेको शिक्षक–सरकार वार्तामा ‘मधेशी शिक्षक फोरम’का तर्फबाट सहभागी छन् । आफूले शिक्षक सरकार–वार्तामा निर्वाह गरेको ‘आक्रामक भूमिका’का कारण शिक्षा पुरस्कार पाएको हुनसक्ने यादवको अनुमान छ । उनी भन्छन्, “शिक्षक–सरकार वार्तामा पुरस्कार दिने अधिकारी पनि सामेल थिए, मेरो प्रस्तुतिले प्रभाव पारेको हुनुपर्छ ।” उक्त वार्तामा संलग्न अरू शिक्षकहरू पनि पुरस्कृत भएका छन् । ललितपुरको इन्द्रायणी माविका प्रअ तथा नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव बाबुराम थापा, तमलोपा निकट लोकतान्त्रिक शिक्षक युनियनका अध्यक्ष चन्द्रदेव सिंह र सोही संस्थाका ईश्वर पण्डितलाई पनि शिक्षा पुरस्कार दिइएको छ ।

पुरस्कार पाएकामध्ये केही शिक्षक चाहिँ शिक्षकभन्दा बढी राजनीतिक दलको कार्यकर्ताको रूपमा चिनिएका छन् । ‘सार्क शिक्षक संघ’को उपाध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय महासचिव समेत रहिसकेका साजिलाल उमावि, दुलारी मोरङका प्रअ एकराज भट्टराईको नाम पनि शिक्षा पुरस्कार पाउने शिक्षकको सूचीमा छ । उनी एमाले मोरङ जिल्ला कमिटी सदस्य हुन् । १७ असोज २०६६ मा अवकाश पाएका भट्टराईले पुरस्कार पाउने आधार र मापदण्ड स्पष्ट नभएको ले पुरस्कार पाए पनि आफू उत्साहित नभएको बताए । उनको कथन छ, “शिक्षकको मूल्याङ्कन गर्ने निश्चित आधार र मापदण्ड छैन ।” उनले पुरस्कार नातावाद, कृपावाद र कसैको आशीर्वादमा दिइने गरिएको पनि स्वीकार गरे ।

शिक्षा पुरस्कार पाएका मोरङकै मनोहर जनता उमावि, मधुमल्लाका शिक्षक नरेन्द्र ढुङ्गेल पनि एमाले कार्यकर्ता हुन् । भट्टराई र ढुङ्गेलले एमालेको अनि मोरङकै हरिश्चन्द्रगढी डाइनियाका शिक्षक जमाल उद्दिन र डाइनिया माविका प्रअ जवीर यादवले मधेशी जनअधिकार फोरमको सिफारिसमा पुरस्कार पाएको यहाँका अन्य शिक्षकहरूको दाबी छ ।
 
सालो र बहिनी पनि पुरस्कृत
शिक्षा मन्त्रालय, क्षेत्रीय शिक्षा निर्देशनालय र जिशिकाका अधिकारी हरूको सिफारिसमा शिक्षा पुरस्कार पाउने ‘पहुँचवाला’ शिक्षक थुप्रै भेटिएका छन् । क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका निर्देशक डिल्ली रिमालले झपा र विराटनगरमा कार्यरत आफ्ना दुइटी बहिनी र सालोलाई शिक्षा पुरस्कार दिलाएका छन् । ३ भदौ २०६६ मा सरुवा भएर धनकुटा पुगेका क्षेशिनि रिमालले पुरस्कार का लागि शिक्षकहरूको नाम सिफारिस गर्दा महेन्द्र मावि विराटनगरमा कार्यरत रिमालका साला डिकप्रसाद घिमिरे, शिक्षा सदन निमावि विराटनगर र सरस्वती उमावि दमकमा कार्यरत बहिनीहरू क्रमशः सीता दाहाल र तुलसा खनालको नाम घुसाएको गुनासो सम्बद्ध जिशिकाका कर्मचारीहरूले गरेका छन् । तर घिमिरेले चाहिँ भिनाजुको सिफारिसमा नभएर आफैं योग्य भएर पुरस्कार पाएको दाबी गरेका छन् ।

रिमालकी बहिनी तुलसा खनाल पुरस्कृत भएको कुरा दमकभरि नै चर्चामा रह्यो र केहीले यसको खुलेरै विरोध गरेका छन् । स्रोतका अनुसार, जिशिका झपाले पुरस्कार का लागि खनालको नाम सिफारिस गरेको थिएन । आफूले गरेको सिफारिस विपरित शिक्षा मन्त्रालयले शिक्षकलाई पुरस्कृत गरेको देख्दा आफूहरू छक्क परेको जिशिका झपाका कर्मचारीहरू बताउँछन् । जिशिकाको सिफारिस सूचीबाट जम्मा दुई जना शिक्षकले मात्र पुरस्कार पाएको बताउँदै जिशिअ दीपक काफ्ले भन्छन्, “हामीले सिफारिस मात्र गर्ने हो, निर्णय माथिबाट हुन्छ ।” नेपाल शिक्षक युनियन झपाका अध्यक्ष नारायणगौतमले पुरस्कार का लागि नाम सिफारिस गर्ने बेलामा जिशिका र शिक्षा समितिमा आफूले कुरा उठाउँदा यो माथिबाटै निर्णय हुने हो भनेर पन्छाउने गरिएको बताए ।

भानु प्रावि, विराटनगरकी शिक्षक कविता दाहालले चाहिँ शिक्षा मन्त्रालयमा कार्यरत पति केशव दाहालका कारण शिक्षा पुरस्कार पाएको किटानी अन्य शिक्षकहरूले गरेका छन् । कविता एक महिनाअघि ललितपुर सरुवा भइसकेकी छन् भने उनका पति केशव दाहाल पनि शिक्षा मन्त्रालयबाट सरुवा भएर ललितपुरकै जिशिअ भएका छन् । कविता पतिको सोर्समा नभएर आफ्नै योगदानले पुरस्कार पाएको दाबी गर्छिन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मोरङका विशाल दाहालको कथनमा शिक्षा पुरस्कार ‘राम्रा’ले होइन, ‘हाम्रा’ शिक्षकले पाउने गरेका छन् । उनले थपे– ‘राम्रा’ शिक्षक कक्षाकोठामा हुन्छन्, ‘हाम्रा’ चाहिँ नेता र शिक्षा अधिकारी को वरिपरि घुमिरहन्छन्, जो शिक्षा अधिकारी को चाकरीमा पुग्छन् त्यस्तैले यो पुरस्कार पाउँछ ।

यसै वर्ष पुरस्कृत भएका नेपाल शिक्षक संघ झपाका पूर्व अध्यक्ष तथा देवी मावि बिर्तामोडका प्रअ लेखनाथ भट्टराईलाई चाहिँ आफूलाई पुरस्कार का लागि कसले के आधारमा सिफारिस गरयो भन्ने पनि थाहा छैन । उनी पुरस्कृत भएर उत्साहित देखिँदैनन् । भन्छन्, “यो पुरस्कार को मलाई रहर छैन ।” उनी स्कूलमा दैनिक एक घण्टी मात्र पढाउने गर्छन् ।

दोहोरिनेको लाइन
शिक्षा पुरस्कार पाएका कैलालीका शिक्षकमध्ये केहीले पहिला पनि सोही पुरस्कार पाइसकेका छन् । कैलालीको दुर्गालक्ष्मी उमावि अत्तरियाका लीला बाँस्कोटा र नवदुर्गा मावि धनगढीका प्रअ समर चौधरी यस्तै शिक्षकमा पर्छन् । बास्कोटा २०६० मा र चौधरी दुई वर्षअघि मात्र पुरस्कृत भएका थिए । सार्वजनिक स्कूलका स्थायी शिक्षकलाई यो पुरस्कार दिइने मापदण्ड भए पनि राहत शिक्षक बाँस्कोटालाई दुई–दुई पटक एउटै पुरस्कार दिनुले पुरस्कार को औचित्य र मर्यादामै गम्भीर आँच पुगेको स्थानीय शिक्षकहरूको कथन छ । दोहोरयाएर पुरस्कार पाएकोमा बास्कोटा चाहिँ दङ्ग छन् । उनी आफ्नो कामको मूल्याङ्कन भएको बताउँछन् । तर उनी कार्यरत दुर्गालक्ष्मी उमाविका प्राचार्य तुलबहादुर साउदले पुरस्कार को छनोट प्रक्रिया नै त्रुटिपूर्ण भएको ले पाउनुपर्नेले नपाएको र नपाउनुपर्नेले पाएको प्रतिक्रिया दिए । उनले भने, “निकटता र पहुँचका आधारमा पुरस्कार दिइएको छ । अब त पुरस्कार मै विश्वास लाग्न छाड्यो ।”

कैलालीका जिशिअ सदानन्द झ राजनीतिक दबाब र हस्तक्षेपका कारणगतिला शिक्षकको नाम सिफारिस गर्न जिशिका असमर्थ भएको बताउँछन् । क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलका निर्देशक नैनसिंह धामी जिशिकाले सिफारिस गरेका नामहरू नै आफूले शिक्षा मन्त्रालयमा सिफारिस गर्ने गरेको दाबी गर्छन् । उनी अयोग्य शिक्षक छानिएकोमा जिशिकालाई नै जिम्मेवार ठान्छन् । शिक्षा पुरस्कार का लागि केन्द्रमा नाम पठाउँदा स्रोतव्यक्तिलाई थाहा नदिइएका कारण पनि राम्रा शिक्षक पुरस्कार बाट वञ्चित रहेको एकथरीको भनाइ छ । कैलालीमा अहिले १६ जना स्रोतव्यक्ति छन् । स्रोतव्यक्ति भीमबहादुर बलायर भन्छन्, “पुरस्कृत शिक्षक कसरी सिफारिस भए, हामीहरूलाई जानकारी छ्रैन ।”

२०६४ सालमा कैलालीको प्रतापपुर गाविसका सात जना शिक्षक पुरस्कृत भएका थिए । एमालेबाट शिक्षा राज्यमन्त्री बनेका मोहनसिंह राठौरको गाउँ हो प्रतापपुर । उनकै निर्णयले ती शिक्षक पुरस्कृत भएका थिए । तीमध्ये अधिकांश एमाले निकट थिए । राठौरले पुरस्कृत गरेका विद्यालय व्यवस्थापन समितिका नारमुनि राना एमालेको कोटामा सभासद् भइसकेका छन् ।
उपत्यका र तराईका जिल्लाबाट प्रावि, निमावि, मावि र उमाविका शिक्षकमध्येबाट जिशिकाले पाँच जना शिक्षक पुरस्कार का निम्ति क्षेशिनिमार्फत मन्त्रालयमा सिफारिस गर्नु पर्छ भने हिमाली जिल्लाबाट जिशिकाले दुई जना शिक्षकको नाम मन्त्रालयमा पठाउनुपर्छ । तर, पुरस्कृत शिक्षकको जिल्लागत विवरण यो मापदण्ड विपरित र असन्तुलित देखिन्छ । कुनै जिल्लाबाट धेरै शिक्षक पुरस्कृत भएका छन् भने केही जिल्लाबाट अत्यन्त थोरै पुरस्कार पाउनेमा परेका छन् ।

आफूले तय गरेको पुरस्कार को मापदण्ड लागू नभएका कारण शिक्षा मन्त्रालयका अधिकारी हरू चाहिँ ‘मापदण्ड’ लाई कामचलाउ भन्न थालेका छन् । मन्त्रालयको विद्यालय शिक्षा शाखाका उपसचिव विदुरराजगिरी भन्छन्, “हामीले तय गरेको मापदण्ड नै लागू नभएको ले पुरस्कार का लागि ‘हार्ड एण्ड फास्ट’ रुल छैन भन्दा पनि हुन्छ ।’ शिक्षा मन्त्रालयले २०३१ सालपछि देशभरिका शिक्षक, शिक्षासेवी र निजी तथा सार्वजनिक स्कूललाई पुरस्कार दिन थालेको हो ।

यसपालि अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा २३ भदौ २०६६ मा मन्त्रालयले पुरस्कार पाउने शिक्षकको नाम सार्वजनिक गरे पनि शिक्षकले पुरस्कार हात पार्न झण्डै वर्ष दिन कुर्नुपर्छ । पुरस्कृत शिक्षकलाई बाहिरबाट सुनको जलप लगाएको तीन तोला चाँदीको पदक र प्रमाणपत्र प्रदान गर्ने गरिएको छ । उपत्यका बाहिरका शिक्षकलाई घोषणा भएको ५/६ महिनापछि पदक र प्रमाणपत्र तयार गरेर जिशिकामार्फत स्कूलमै पठाउने गरिएको छ भने उपत्यकाका शिक्षकलाई शिक्षा मन्त्रालयले काठमाडौंमा औपचारिक समारोह आयोजना गरेर पदक र प्रमाणपत्र वितरण गर्ने गरेको छ । विद्यालय शिक्षा शाखाका अधिकृत सुरेश निरौलाका अनुसार यस वर्षको पदक निर्माण गर्नका लागि टेण्डर खोल्ने तयारी भइरहेको छ । उनले भने, “एउटा पदक निर्माणमा रु.३ हजार जति खर्च हुन्छ, नोटिस निकालेर जसले सस्तोमा बनाउँछ, त्यसैलाई दिने हो, अर्को शिक्षा दिवससम्ममा पुरस्कार र पदक सम्बन्धित शिक्षकले पाउँछन् ।”

पुरस्कार पाउनेको सिफारिस सूची समावेशी हुनुपर्ने शिक्षा मन्त्रालयको मापदण्डको पनि पालना भएको पाइँदैन । पहाडी जिल्लाबाट पुरस्कृत हुने शिक्षकमा मधेशी मूलका शिक्षकहरू परे पनि तराईका स्कूलमा कार्यरत पहाडे मूलका शिक्षक पुरस्कृतको सूचीमा फेला पर्दैनन् । २५ भदौ २०६६ को गोरखापत्र मा प्रकाशित पुरस्कृत शिक्षकको सूची हेर्दा सिरहा, सप्तरी, पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही र धनुषाका सार्वजनिक स्कूलका पुरस्कृत ७८ शिक्षकमध्ये एक जना मात्र पहाडी मूलका शिक्षक छन् ।

निजीलाई पनि पुरस्कार
शिक्षा मन्त्रालयले सरकारी स्कूलका शिक्षकलाई मात्र होइन केही निजी स्कूलका शिक्षकलाई पनि पुरस्कृत गरेको छ । कैलालीको सिद्धार्थ शिशु सदन उमाविका प्राचार्य चन्द्रबहादुर चन्द पुरस्कृत भएपछि शिक्षा क्षेत्रमा लाग्न थप प्रोत्साहित गरेको बताउँछन । कैलालीका ११ जना शिक्षकमध्ये उनी पुरस्कृत हुने निजी स्कूलका एक्ला शिक्षक हुन् । २०४० साल देखि शिक्षण पेशामा लागेका चन्दले २०५३ देखि २०५८ सम्म बुटवलमा दीप बोर्डिङमा प्रअ भएर काम गरेका थिए । उनी निजी स्कूलको योगदानलाई राज्यले बिर्सन नमिल्ने बताउँछन् ।

शिक्षा र शैक्षिक छलफल हरूमा शिक्षकको हौसला बढाउने सरकारी नीति तथा कार्यक्रम नरहेकोले सार्वजनिक स्कूलको पठनपाठन कमजोर भएको तर्क सुन्ने गरिन्छ । सरकारी स्कूलको पढाइ सुधार्न राम्रा शिक्षकलाई पुरस्कार र खराबलाई दण्ड दिइनुपर्ने माग पनि सबैले सधैंभरि गर्ने गरेका छन् । शिक्षा पुरस्कार शिक्षकको मनोबल उकास्न र तिनलाई कक्षा शिक्षणमा अभिप्रेरित गर्ने बलियो विकल्प सावित हुनसक्छ । तर, पुरस्कार वितरणको मौजुदा प्रणाली र शैली भने त्यसअनुरुपको छैन । जिशिकाले आफू वरिपरिका शिक्षकको नाम सिफारिस गर्ने , क्षेशिनिले आफ्नो तजबिजी अधिकार प्रयोग गरी जिशिकाको सिफारिसलाई थपघट गर्ने अनि शिक्षा मन्त्रालयका कर्मचारीले त्यसबारे निर्णय लिने अहिलेको शैलीका कारण पुरस्कार ले शिक्षकको मनोबल र गरिमा बढाउन अलिकति पनि योगदान गर्न नसकेको शिक्षकहरूको बुझइ छ ।

विराटनगरबाट मनोज श्रेष्ठ र कैलालीबाट दीर्घराज उपाध्यायको सहयोगम

commercial commercial commercial commercial