शिक्षकको मात्र ‘दिवस’ छैन

नेपालमा हरेक वर्ष मनाइने राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका ५० भन्दा बढी ‘दिवस’हरूको सूचीमा लोकतन्त्र दिवस देखि महिला, बालबालिका, श्रमिक, निजामती, सेना, प्रहरी, अपाङ्ग, ज्यापू, एड्स, प्रेम, मधुमेह दिवससम्म पर्दा पनि शिक्षक दिवसले भने ठाउँ पाउन सकेको छैन । शिक्षक दिवस मनाउने सवालमा सरकारी बेवास्तालाई मात्रै दोष दिन मिल्दैन । दर्जनको सङ्ख्यामा रहेका स्वयं शिक्षकका प्रतिनिधि संस्थाहरूको पनि यसतर्फ ध्यान गएको पाइँदैन ।

शिक्षकको सम्मान र मर्यादा बढाउने तथा शिक्षकप्रति समाज को दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेर युनेस्को को आह्वानमा ५ अक्टोबर १९९४ देखि मनाउन थालिएको ‘विश्व शिक्षक दिवस’ (वल्र्ड टिचर्स डे) यस वर्ष दशैँलगत्तै १९ असोजमा पर्छ । शिक्षक दिवस मनाउँदा शिक्षक र शिक्षण पेशाप्रतिको मर्यादा र हैसियत अभिवृद्धिमा पुगेको सकारात्मक योगदानको अनुभवका कारण यो दिवस मनाउने देशहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । ५ अक्टोबरमै शिक्षक दिवस नमनाउने देशहरूले पनि आ–आफ्नो प्रचलन र सुविधाअनुरुप वर्षको कुनै दिनलाई शिक्षक दिवसका रूपमा मनाउने गरेका छन् ।

शिक्षाकर्मीहरूको अन्तर्राष्ट्रिय संस्था एजुकेशन इन्टरनेशनल (ईआई)ले संसारका सबै देशले अनिवार्य रूपमा ‘विश्व शिक्षक दिवस’ भव्यताका साथ मनाउनुपर्ने आवाज उठाउँदै आएको छ । विश्वभरि छरिएका एजुकेशन इन्टरनेशनलका ४०१ सदस्य संस्थाले विभिन्न कार्यक्रम गरेर शिक्षक दिवस मनाउने गरेका छन् ।

विकिपिडिया विश्वकोष को आँकडाले विश्वका जम्मा ५३ वटा देशले विश्व शिक्षक दिवस मनाउने गरेको देखाउँछ । तर, युनेस्कोले तय गरे अनुसार ५ अक्टोबरमै शिक्षक दिवस मनाउने देशहरू भने ६ वटा मात्र छन्, जसमा अजरबैजान, क्रोएसिया, लिथुनिया, पाकिस्तान, फिलिपिन्स ररूस पर्छन् । पाकिस्तानमा शिक्षक दिवसको अवसरमा शिक्षकको महत्वको उजागर गर्न विद्यालयमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गरिएको छ । यस्ता कार्यक्रमले शिक्षकहरूको प्रगति र दक्षता वृद्धि गर्ने पाकिस्तानीहरूको विश्वास छ ।

शिक्षक दिवसको सन्दर्भमा ५ अक्टोबरमा फिलिपिन्समा राष्ट्रपतिका तर्फबाट शिक्षकहरूलाई पुरस्कृत गर्ने चलन छ । त्यहाँ अहिलेसम्ममा पाँच लाख शिक्षकहरू पुरस्कृत भइसकेका छन् । फिलिपिन्समा शिक्षक दिवस एक दिन मात्र पनि मनाइँदैन । त्यहाँ सेप्टेम्बर र अक्टोबर महिनाभरि प्राथमिक (इलेमेन्ट्री) र माध्यमिक (सेकेण्डरी) स्कूलहरूमा राष्ट्रिय पर्वकै रूपमा शिक्षक दिवस मनाइन्छन् । त्यसबेला छात्रछात्राले शिक्षकलाई उपहारहरू प्रदान गर्ने प्रचलन छ । विभिन्न कक्षाका विद्यार्थीले शिक्षकलाई प्रोत्साहित गर्न नाचगान गर्ने , कथा–कविता प्रस्तुत गर्ने गरेका छन् । यस्ता कार्यक्रमको योजना चाहिँ ठूला कक्षाका अगुवा विद्यार्थीले बनाउँछन् । त्यहाँका केही फिलिपिनो–चाइनिज विद्यालयहरूमा भने २७ सेप्टेम्बरमै शिक्षक दिवस मनाउने गरिन्छ ।

देशैपिच्छे फरक
भारतमा त्यहाँका दोस्रा राष्ट्रपति तथा दार्शनिक डा. सर्वपल्ली राधाकृष्णनको जन्मदिन ५ सेप्टेम्बरमा शिक्षक दिवस मनाउने गरिन्छ । त्यस दिन भारतका विद्यालयहरूमा शिक्षक तथा छात्रछात्रा भेला भएर आ–आफ्ना शिक्षकको सम्मान र सम्झनामा विभिन्न कार्यक्रमहरू आयोजना गर्छन् । भारतका कतिपय शिक्षालयमा छात्रछात्रा शिक्षकको पोशाक लगाएर कक्षाकोठामा उपस्थित हुन्छन् र शिक्षकले अह्राए अनुसार कक्षा लिने गर्छन् । शिक्षकहरू चाहिँ छात्रछात्राको स्थानमा बसेर विद्यार्थीले पढाएको हेरेर आफ्नो विद्यार्थी जीवन स्मरण गर्ने गर्छन् । शिक्षक दिवसले शिक्षक र छात्रछात्राबीच स्वस्थ अन्तरक्रिया गर्ने र आपसी सम्बन्ध विकास गर्ने अवसर मिलाइदिएको भारतीयहरूको अनुभव छ । त्यस्तै कविता वाचन, शुभकामना सन्देश, उपहार तथा कार्डहरू पठाएर विद्यार्थीहरूले शिक्षकहरूप्रति सम्मान जाहेर गर्ने गरेका छन् ।

भारतको शैक्षिक विकास मा डा. सर्वपल्ली राधाकृष्णनको ठूलो योगदान रहेको मानिन्छ । राधाकृष्णनका छात्रछात्राले उनको योगदानको स्मरण गर्नका लागि उनको जन्मदिन मनाउने प्रस्ताव गर्दा राधाकृष्णनले “मनाउने नै भए मेरो जन्म दिन होइन, त्यस दिन पारेर शिक्षक दिवस मनाउन सक्छौ” भनेपछि सन् १९६२ देखि उनको जन्मदिनका दिन शिक्षक दिवस मनाउन थालिएको हो । राष्ट्रको सबैभन्दा उत्तम जनशक्ति शिक्षक बन्नु पर्छ भन्ने राधाकृष्णनको विश्वास थियो र भारतमा त्यस्तो विचार राख्ने मानिस अहिले पनि मनग्गे छन् ।

मलेशियामा सन् १९५६ मा तत्कालीन शिक्षा समितिले शिक्षक दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन संघीय विधायकालाई सिफारिस गरे पछि हरेक वर्ष १६ मेका दिन शिक्षक दिवस मनाउने गरिन्छ ।

दक्षिण कोरियामा चाहिँ अलि भिन्न तरिकाले शिक्षक दिवस मनाउने पराम्परा रहेको देखिन्छ । त्यहाँ रेडक्रससँग सम्बद्ध केही युवाहरूले आफ्ना बिरामी शिक्षकहरूलाई अस्पतालमा भेटेर फर्केपछि शिक्षक दिवस मनाउन थालेका थिए । उक्त अवसरमा छात्रछात्राले शिक्षकलाई गच्छे अनुसारको उपहार दिने गर्छन् । १५ मेमा मनाइने शिक्षक दिवसमा शिक्षक र विद्यार्थीहरू सँगै बसेर रमाइलो गर्छन् भने पुराना विद्यार्थीहरू आफ्ना पहिलेका शिक्षकलाई भेट्न उनीहरूको घरमा जाने गर्छन् । केही वर्ष अघि देखि चाहिँ त्यहाँ स्कूलहरू बन्द गरेर यो दिवस मनाउने नयाँ चलन शुरु भएको छ ।

शिक्षक दिवसमा बलि
उत्तरी छिमेकी चीनमा कन्फ्युसियस जन्मेको दिन भव्य सांस्कृतिक समारोह आयोजना गरेर शिक्षक दिवस मनाइन्छ । हरेक वर्ष २८ सेप्टेम्बरको बिहान ६ बजे कन्फ्युसियसको सालिक नजिक आयोजना हुने समारोहमा ५४ जना वाद्यवादक र ३६ वा ६४ जना नृत्यकारहरू मौलिक पहिरनमा सजिएर सांस्कृतिक कार्यक्रम गर्छन् । त्यहाँ बाख्रा, सुँगुर आदिको बलि चढाएर पनि शिक्षकको सम्मान गर्ने प्रचलन रहेको पाइन्छ । यी जनावरको भुत्लालाई ‘हेयर अफ विज्डम’ मानिन्छ । चीनको शिक्षा मन्त्रालयले २७ अगष्ट सन् १९३९ मा शिक्षक दिवस मनाउनका लागि राष्ट्रिय बिदा दिने निर्णय गरेको थियो । तर, सन् १९५२ मा यसलाई सेप्टेम्बर २८ मा सारियो । त्यहाँ छात्रछात्रा र शिक्षकले मात्र होइन, अभिभावकले पनि शिक्षक दिवस मनाउने गरेका छन् । उक्त अवसरमा छात्रछात्रा र अभिभावकले आफ्ना शिक्षकलाई भेटेर सम्मान जाहेर गर्छन् भने स्थानीय सामाजिक संस्थाहरूले शिक्षकले गरेको रराम्रो कामको कदर गर्दै उनीहरूलाई सम्मान गर्ने गरेका छन् ।

अमेरिकाको नेशनल एजुकेशन एसोसिएसन ले शिक्षक दिवसलाई शिक्षकलाई सम्मान गर्ने र उनीहरूको योगदानको कदर गर्ने उत्तम अवसरको रूपमा लिने गरेको छ । शिक्षकलाई प्रोत्साहित गर्न अमेरिकामा मेको पहिलो हप्ता सप्ताहव्यापी कार्यक्रम गर्ने गरिन्छ । उक्त दिन शिक्षकको सम्झना र योगदानलाई जीवन्त तुल्याउन छात्रछात्राले आफ्ना गुरुलाई ‘टोकनगिफ्ट’ दिने गर्छन् । मध्यपूर्वका ओमान , सिरिया, इजिप्ट, लिबिया, कतार, बहराइन, युनाइटेड अरब इमिरेट्स, यमन, ट्युनिसिया, जोर्डन, साउदी अरेबिया, अल्जेरिया र मोरक्कोले भने हरेक वर्षको २८ फेब्रुअरीमा शिक्षक दिवस धुमधामसँग मनाउने गरेको पाइन्छ ।

नेपालमा थाहै छैन
देश र समाज को उन्नति–प्रगतिमा शिक्षकले पुर्याएको योगदानको कदर गर्दै शिक्षण पेशालाई थप सम्मानित, आकर्षक र जिम्मेवार तुल्याउन संसारका प्रायः सबै देशले वर्षको एउटा दिन शिक्षकका नाममा समर्पित गर्ने गरेका छन् । तीमध्ये कतिपयले युनेस्कोद्वारा निर्धारित दिन (५ अक्टोबर)मै शिक्षक दिवस मनाउँछन् भने अरूले आफ्नो सुविधा अनुसारको दिन रोज्ने गरेको पाइन्छ । तर, नेपालमा न विश्व शिक्षक दिवस मनाउने गरिएको छ न त अरू कुनै दिन तोकिएको छ ।

शिक्षा मन्त्रालय र नेपाल सरकारका पदाधिकारीहरू विश्व साक्षरता दिवसको अवसर पारेर २३ भदौमा मनाइने गरेको शिक्षा दिवस नै शिक्षकको पनि दिवस हो भन्ने जिकिर गर्छन् । त्यसको पुष्ट्याइँका निम्ति उनीहरू शिक्षा दिवसको अवसर पारेर केही शिक्षकलाई पुरस्कृत गर्ने परम्परालाई अघि सार्छन् । तर, शिक्षा दिवसका सार्वजनिक समारोहहरू मूलतः राष्ट्रका उच्च अधिकारी तथा विद्यार्थी र विद्यालय केन्द्रित हुने गर्छन् । त्यहाँ शिक्षकहरूको चर्चा र उपस्थिति विरलै हुन्छ । कलेज–विश्वविद्यालयका परीक्षामा सर्वोच्च अङ्क ल्याई राष्ट्राध्यक्षको हातबाट नेपाल विद्याभूषण प्राप्त गर्नेहरू त्यस दिन विशेष आकर्षणका पात्र हुन्छन् । शिक्षा दिवसका दिन कुनै शिक्षक पुरस्कार वा अवार्डबाट सम्मानित भएको खबर विरलै मात्र सञ्चारमाध्यममा आउने गर्छ ।

शिक्षा मन्त्रालय २३ भदौमा मनाउने गरिएको शिक्षा दिवसलाई नै शिक्षक दिवस मान्नुपर्ने धारणामा दृढ देखिन्छ । शिक्षा सचिव डा. रामस्वरुप सिन्हा भन्छन्, “सरकारले साक्षरता दिवसलाई शिक्षक दिवसको रूपमा लिएको छ । त्यही भएर रराम्रो गर्ने देशभरिका शिक्षकलाई शिक्षा दिवसकै अवसरमा सम्मान गरिन्छ । शिक्षक दिवस छुट्टै मनाउने बारेमा अहिले केही सोचिएको छैन ।”

बिडम्बनाको कुरा त के छ भने नेपालमा हरेक वर्ष मनाइने राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका ५० भन्दा बढी ‘दिवस’हरूको सूचीमा लोकतन्त्र दिवस देखि महिला, बालबालिका, श्रमिक, निजामती, सेना, प्रहरी, अपाङ्ग, ज्यापू, एड्स, प्रेम, मधुमेह दिवससम्म पर्दा पनि शिक्षक दिवसले भने ठाउँ पाउन सकेको छैन । शिक्षक दिवस मनाउने सवालमा सरकारी बेवास्तालाई मात्रै पनि दोष दिन मिल्दैन । दर्जनको सङ्ख्यामा रहेका स्वयं शिक्षकका प्रतिनिधि संस्थाहरूको पनि यसतर्फ ध्यान गएको पाइँदैन । नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीले विश्व शिक्षक दिवसको अस्तित्व र महत्वबारे संघको महासचिव हुँदै देखि थाहा पाएका हुन्; तर उनको संघले एउटा वक्तव्य निकाल्ने बाहेक अन्य कार्यक्रम गरेर शिक्षक दिवस आज पनि मनाउने गरेको छैन । यस सम्बन्धमा अध्यक्ष ज्ञवाली भन्छन्, “सरकारको नेतृत्वमा बसेका र शिक्षा क्षेत्रको जिम्मेवारी पाएका व्यक्तिहरूले नै शिक्षाको मियोका रूपमा रहेका शिक्षकहरूको महत्व र भूमिका नबुझने भएको ले हामी शिक्षकको यस्तो दुर्दशा भएको हो ।” तर, विश्व शिक्षक दिवस मनाउनुपर्ने अथवा शिक्षक दिवस तोक्नुपर्ने माग संघलगायत शिक्षकका कुनै पनि संस्थाले गरेको पाइएको छैन ।

शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक युनियनले आह्वान गरेको खण्डमा कम्तीमा युनियनमा आवद्ध भएका शिक्षकका संघसंस्थाले विश्व शिक्षक दिवस मनाउने परम्परा शुरु हुन कठिन देखिँदैन । तर युनियनले पनि अहिलेसम्म विश्व शिक्षक दिवस मनाउन कसैलाई आह्वान गरेको छैन भने आफूले पनि मनाएको छैन । युनियनका अध्यक्ष कृष्णप्रसाद ढकाल भन्छन्, “सरकारले शिक्षकहरूलाई पूरै बेवास्ता गरेका कारण विश्व शिक्षक दिवस पनि ओझाेलमा परेको छ । सरकारले मान्यता दिएमा शिक्षक, छात्रछात्रा र समाज ले नै शिक्षक दिवस मनाउने चलन शुरु हुन्छ ।” युनियनलेगत वर्ष डा. रामवरण यादवलाई विश्व शिक्षक दिवसको उपलक्ष्यमा शिक्षकहरूलाई शुभकामना कार्ड पठाउन अनुरोध गरेको थियो । तर, युनियन स्वयंले समेत मनाउने न गरेको दिवसका अवसरमा राष्ट्रपतिले शुभकामना कार्ड पठाउन नमिल्ने जवाफ राष्ट्रपति कार्यालयले दिएको थियो ।
युनियन लगायतका शिक्षकका पेशागत संस्थाले आफ्नो स्थापना दिवस चाहिँ विभिन्न कार्यक्रम गरेर मनाउने गरेका छन् । संघले हरेक वर्ष २९ वैशाखमा आफ्नो स्थापना दिवस मनाउँछ भने नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले २९ चैतमा स्थापना दिवस मनाउने गरेको छ । युनियनले आफू दर्ता भएको २ माघलाई आफ्नो जन्म दिनका रूपमा सम्झ्निे गरेको अध्यक्ष ढकालले जानकारी दिए । माओवादी निकट अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीले विश्व शिक्षक दिवस मनाउने वा नमनाउनेबारे कुनै निर्णय न गरेको र आफ्नो सङ्गठन राजनीतिक पनि भएको ले युनेस्कोले शुरु गरेको शिक्षक दिवस र आफ्नो सङ्गठनको मूल्य पनि नमिल्ने बताए ।

कसै–कसैले गुरुपूर्णिमालाई नै नेपालका सम्पूर्ण शिक्षकको सम्मान र सम्झना गर्ने दिन बनाउनुपर्ने मत राख्ने गरेका छन् । केही वर्ष अघिसम्म गुरु पूर्णिमाका दिन शिक्षक–विद्यार्थीहरूलाई बिदा दिने चलन मात्रै थिएन, कैयौं विद्यालयहरूमा गुरु पूजा–समारोहहरू समेत आयोजना गरिनेगर्थे । तर, परिस्थिति निकै भिन्न भइसकेको छ । आज, गुरुपूर्णिमाका दिन सार्वजनिक बिदा दिइँदैन । तर, त्योभन्दा पनि महत्वपूर्ण पक्ष चाहिं के भने गुरु वा शिक्षक भनेका बाबु–आमा जत्तिकै श्रद्धेय पात्र हुन् भन्ने सामाजिक सोचाइ–बुझइ पनि कमजोर भइसकेको छ ।

commercial commercial commercial commercial