जैविक विविधतामा हाम्रो विश्व कीर्तिमान

भनिन्छ, भैंसीलाई सिङ भारी हुँदैन । संसारमा सिङ भएका हजारौं प्राणी छन् । तीमध्ये सबैभन्दा ठूलो सिङ हाम्रै अर्ना भैंसीको हो । त्यसको नापजोख गरेर अध्ययन गरे मा अर्को विश्व कीर्तिमान स्थापित हुनेछ ।

प्रकृति संरक्षणको प्रसङ्गमा ‘जैविक विविधता’ निकै चर्चामा रहने शब्दावली बन्न पुगेको छ । वर्तमान परिभाषा अनुसार जैविक विविधतालाई तीनवटा पक्षबाट व्याख्या गरिन्छ । पहिलो ; जीवित प्राणी वा वनस्पतिका प्रजातिको विविधता । वैज्ञानिकहरूले पृथ्वीमा विभिन्न प्रजातिका ५० लाख देखि एक करोड प्राणी एवं वनस्पति हुनुपर्छ भन्ने अनुमान लगाएका छन् । तर, अहिलेसम्म १४ लाख प्रजातिको मात्र यकिन पहिचान हुनसकेको छ । तीमध्ये मानिस पनि एक प्रजाति हो । दोस्रो पक्ष; बासस्थानको विविधता हो । जीवित प्रजातिहरू कोही जलमा, कोही स्थलमा र कोही आकाशमा समेत बसोबास गर्द छन् । त्यस्तै, कोही जल र स्थलको सङ्गम क्षेत्र सिमसारमा अनि कोही चाहिँ मरुभूमिमा पनि बस्दछन् । कसैको बासस्थान घनघोर वर्षा हुने क्षेत्रमा हुन्छ भने कसैको सुख्खा क्षेत्रमा । हाम्रै नेपालमा पनि कोही तराई–मधेश र औल–बेसीको उष्ण क्षेत्रमा हुर्कन्छन् भने कोही लेकाली हिमाच्छादित प्रदेश रुचाउँछन् । वन–वनस्पति र पर्यावरणको दृष्टिमा नेपालभित्र ११८ विभिन्न प्रकारका बासस्थान पहिचान भएको छ ।

जैविक विविधताको तेस्रो पक्ष चाहिँ कुनै एउटा प्रजातिभित्र पाइने वंशानुगत विविधता सम्बन्धित हुन्छ । धान एक प्रजाति हो तर त्यसभित्र कोही मार्सी, कोही जुम्ली मार्सी, कोही तौली, थाप चिनियाँ बासमती आदि गरिकन विभिन्नगुण र स्वभावका करिब दुई हजार प्रकारका धान हाम्रै नेपालमा पाइन्छन् भन्ने अनुमान छ । हराम्रो राष्ट्रिय फूल लालीगुराँसको एकै प्रजातिभित्र पनि लेकाली भेगमा सेतो फूल फुल्ने, पहाडी भेगमागुलाबी र तल्लो भेगमा पुगेपछि गाडा सिम्रिक रङ्गमा प्रस्फुटन हुने विविध थरी हुन्छन् । एकै प्रजाति भित्रको यो विविधता जैविक विविधताको तेस्रो पक्ष हो ।

विश्व जैविक विविधताको विशाल फाँटमा नेपाललाई उभ्याई हेर्दा यो राष्ट्रका धेरै विशिष्टताहरू ठम्याउन सकिन्छ । सबैभन्दा महत्वको कुरा त प्रजातिको सङ्ख्यामा नेपाल धेरै धनी छ । त्यसका अतिरिक्त हिमाली बासस्थानले गर्दा यहाँ विश्वकै सर्वोच्च सजीव क्षेत्रहरू भेटिन्छन् । नेपालको भूतलको सर्वोच्चताले प्रदान गरेका केही कीर्तिमानी उदाहरणहरू यहाँ प्रस्तुत छन् ।

उचाइमा कीर्तिमान
पृथ्वीको भूतलमा सबैभन्दा अग्लो क्षेत्रमा बाँच्ने जीव एकप्रकारको सूक्ष्म जीवाणु (ब्याक्टेरिया) हो । त्यसलाई वैज्ञानिक भाषामा जिओडर्मेटोफिलस अब्सक्योरस एभरेष्टिआई (Geodermatophillus obscurus everesti ) भनिन्छ । यसको शाब्दिक अर्थ; ‘एभरेष्ट (सगरमाथा) क्षेत्रमा पाइने पृथ्वीको चर्मलाई माया गर्ने सूक्ष्म प्राणी’ भन्ने हुन्छ । यो ब्याक्टेरिया सगरमाथाको सेरोफेरोमा ८,३०६ मिटर उचाइमा चिनियाँ वैज्ञानिकहरूले फेला पारेका हुन् । त्योभन्दा उच्च क्षेत्रमा जीव–प्राणी फेला परेका छैनन् ।

उच्च हिमाली क्षेत्रका प्राणीको प्रसङ्ग उठाउँदा यती को पनि चर्चा हुने गर्छ । विश्वका धेरै वैज्ञानिकहरूले हिमालमा यती खोजे पनि हालसम्म पत्ता लागेको छैन । हिउँमा छाप परेको नमालुम कुन प्राणीको पदचिन्हलाई यती को पाइला भनी प्रचार भयो । त्यस्तै नमालुम कुन वस्तुलाई यती को खप्पर भनी दाबी गरियो । तर, प्रामाणिक रूपमा यती भेटिएन । तैपनि बेलाबखत नेपालीलाई विदेशीहरूले तेस्र्याउने यती कहाँ पाइन्छ भन्ने प्रश्न अझै आलो छ । के हिमालयमा यती साँच्चै छ त ? मेरो विचार मा त्यसको उत्तर यसप्रकार दिइनुपर्दछ– ‘यती छ वा छैन भन्ने कुरा यकिन छैन । तर, हाम्रा हिमाली बासिन्दाका सोच र कल्पनामा हरदम यती उपस्थित छ । तिनका कला, साहित्य र संस्कृतिमा पनि यती भेटिन्छ । यसैकारण यती खोज्ने कैयौं प्रयासहरूको निष्फलताका बाबजूद पनि यती को कौतुहलता हिमालमा बाँचेकै छ ।’

विश्वमा लगभग दुई लाख २० हजार प्रजातिका बिरुवामा फूल फुल्दछन् । तीमध्ये सबैभन्दा अग्लो भू–भाग (६,१३५ मिटरको उचाइ)मा फुल्ने बिरुवा मकालु हिमालको सेरोफेरोमा भेटिन्छ । त्यसलाई वैज्ञानिक भाषामा स्टिलेरिया डिकम्वेन्स् (Stelleria decumbens) भनिन्छ । स–साना पोथ्रा–पोथ्रीको रूपमा ढुङ्गामा टाँस्सिएर बाँच्ने यो बिरुवाका सेता, पहेँला फूलहरू साउन–भदौतिर फुल्ने गर्द छन् । यो बिरुवा ‘गिनस बुक अफ रेकर्डस्’मा पनि अङ्कित छ ।

संसारमा पाइएका लगभग ९,००० प्रजातिका चराहरूमध्ये करिब ९.५ प्रतिशत अर्थात् ८६० भन्दा अधिक प्रजातिका चराहरू नेपालमा भेटिएका छन् । यीमध्ये सबैभन्दा धेरै उचाइमा उडान भर्न सक्ने चरो एक प्रकारको हाँस हो । त्यसले ८,००० मिटरभन्दा माथिबाट हिमाल वारपार गर्ने गर्द छ । अत्यन्त पातलो हावा, न्यूनतम अक्सिजन र हावाको अति न्यून चाप सहन गरेर कुन शक्तिका भरमा त्यसले हिमालय पार गर्छ भन्ने ज्यादै विस्मयको विषय रहँदै आएको छ । त्यस हाँसलाई नेपालीमा खोया हाँस भनिन्छ । यसको सेतो–सेतो, खैरो–खैरो टाउकोमा दुईवटा काला–काला धर्सा हुन्छन् । त्यसैले यसलाई अङ्ग्रेजीमा बार–हेडेडगुज  (Bar-headed Goose) भनिन्छ । जाडो याममा मधेश–तराईका नदी किनारमा यी हाँस देखिन्छन् ।

ललितपुरको चिडियाखानामा पनि यसलाई हेर्न सकिन्छ । तर, यसको दैविक शक्ति आकाशमा उडान भर्दा प्रत्यक्ष हुन्छ ।
विश्वमा पहिचान गरिएका करिब १५,००० पुतली (butterfly) प्रजातिमध्ये सबैभन्दा उच्च क्षेत्रमा उड्ने पुतली नेपालको डोल्पा क्षेत्रमा भेटिएको छ । सिक्किम ब्यान्डेड एपोलो (Sikkim Banded Apollo) नामक यो सानो पुतली ५,००० मिटरको उचाइसम्म भेटिन्छ । यो आफैंमा एउटा विश्व कीर्तिमान हो ।

वनस्पति जगतमा काष्ठ पदार्थ भएका र नभएका गरी दुईथरीका वृक्ष र वनस्पति हुन्छन् । काष्ठ पदार्थ भएको वनस्पतिभित्र पर्ने एकप्रकारको हिमगुराँस  (Rhododendron nivale) ४,५०० देखि ५,५०० मिटरको उचाइमा पनि फस्टाउँछ । फिका प्याजी वागुलाबी रङ्गमा योगुराँस साउन–भदौतिर ढकमक्क फुल्छ । काष्ठ वनस्पतिको सन्दर्भमा यो पनि एउटा विश्व कीर्तिमान हो ।

संसारमा हजारौं थरीका धान फल्छन् । नेपालमा मात्र करिब दुई हजार थरीका धानहरू छन् भन्ने नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरूको आँकडा छ । पृथ्वीको सबैभन्दा अग्लो भू–भागमा फल्ने धान ‘जुम्ली मार्सी’ हो । समुद्र सतह देखि ३,००० मिटर उचाइमा रहेको छुमचौर (जुम्ला जिल्ला)मा यसको खेती हुन्छ । यसको खेती गर्ने परम्परा अनुसार चैत १२ गते धान भिजाउने, त्यसपछि १६ गते पानी तर्काएरगुम्स्याउने र २० गते हिलेब्याडमा उम्रेको टुसा छर्ने कुरा वरिष्ठ वैज्ञानिक महेशलाल वैद्यले खुलाउनुभएको छ । धानको बीउगुम्स्याउने क्रममा न्यानो भान्छा कोठाभित्र भिजेका धानकागेडा फिँजाएर त्यस माथि ओछ्यान लगाएर परिवारका सबै सदस्य सुत्ने गर्छन् । मानिसको जीउको न्यानोबाट बीउ अङ्कुरा उने यो प्रविधि निश्चय नै विश्वको एक विलक्षण उदाहरण हो । यस्तो प्रविधिको अभिलेख र प्रजातिको संरक्षणमा सबैले ध्यान पुर्याउनुपर्छ ।

शारीरिक बनोटमा कीर्तिमान
नेपालको भौगोलिक अवस्थिति एसियाको माझ्मा पर्ने र पूर्व–पश्चिम हिमालय शृङ्खलाको करिब मध्य भाग ओगट्ने हुनाले यहाँ एसियाका अरू विलक्षण प्राणी र वनस्पतिका विभिन्न प्रजातिहरू पनि भेटिन्छन् । तीमध्ये केही उल्लेखनीय प्राणीहरूका बारेमा चर्चागरौंः
नेपाल–तिब्बत (चीन) सीमा क्षेत्रमा पाइने नायन भेडो संसारका अरू भेडाभन्दा अग्लो हुन्छ । यो उभिँदा १२० सेन्टिमिटर (४ फिट) सम्म अग्लो हुन्छ । यसको घुम्रिएको सिङ ज्यादै आकर्षक र ठूलो पनि हुन्छ । मरेपछि यसको खोक्रो सिङभित्र फ्याउरो लुक्न सक्छ भन्ने भनाइ सन् १८४८ को पूर्वी नेपाल यात्रा विवरणमा जोसेफ हुकरले उल्लेख गरेका छन् ।

गौ–प्राणी (Bovids) अन्तर्गत पर्ने वन्यजन्तुमा हराम्रोगौरीगाई सबभन्दा ठूलो जनावर हो । यो दुई मिटरसम्म अग्लो हुन्छ र यसको तौल एकहजार किलोग्रामसम्म पनि पुग्न जान्छ । हराम्रो तराईको जङ्गलमा विशेष गरेर चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणमा यो भेटिन्छ । अरू देशमा योगाईले पशुपालन व्यवसायमा विशेष योगदान पुर्याउन थालेको छ । नेपालमा हालसम्म यसलाई पाल्तु प्राणीको रूपमा विकसित गरिएको छैन पनि ।

गौ–प्राणीमा सबभन्दा सानो पाल्तुगाई पनि नेपालमै भेटिन्छ । त्यो हो– अछाम जिल्लामा पाइने नौ मुठ्ठेगाई । यो तीन फुटभन्दा अग्लो हुँदैन । राणा परिवारका केही सौखिनहरूले योगाई आफ्नो बैठकमा समेत पाल्दथे भन्ने कथन छ । अछाम, डोटी, बझङ्ग र बाजुरामा मात्र पाइने यो प्राणी अब लोप हुने क्रममा छ । यो नेपालको एक कीर्तिमान सम्पदा हो ।

संसारभरिमा सर्प प्रजातिको सङ्ख्या लगभग २,७०० छ । तीमध्ये विषादी सर्पका प्रजातिको सङ्ख्या झण्डै ७०० पुग्दछ । संसारका सबैभन्दा विषालु १० सर्पमध्ये करेत,गोमन, राजगोमन र रसेल भाइपर नेपालमा पनि पाइन्छन् । विषालु सर्पमध्येमा सबैभन्दा लामो सर्प राजगोमन हो । त्यसलाई किङ्ग कोब्रा (King Cobra) भनिन्छ । यो सर्पले अरूगोमनलाई खाइदिन्छ । यो प्राणी पाँच मिटरभन्दा पनि लामो हुन्छ । नेपालमा यो सर्प दुर्लभ भइसक्यो तर संरक्षणको जमर्को हुनसकेको छैन ।

विष नलाग्ने तर सबभन्दा ठूलो जीउ हुने सर्पमध्ये हराम्रो अजिङ्गर विशेष उल्लेखनीय छ । इण्डियन रक पाइथन (Indian rock python) नामक यो प्राणी ७ मिटर लामो र १०० किलोग्राम भन्दागह्रौं हुन्छ । इण्डोनेसियातिर अधिक पाइने अर्को अजिङ्गर रेटिकुलेटेड पाइथान  (Reticulated Python) योभन्दा केही लामो हुन्छ । सबभन्दा लामो र मोटोमागनिने एनाकोण्डा  (Anaconda) सर्प दक्षिण अमेरिकामा मात्र पाइन्छ । यसप्रकार विश्वका सबभन्दा ठूलाठूला सर्पमध्ये नेपाली अजिङ्गर पनि कीर्तिमान प्राणी हो ।

संसारभरको सबैभन्दा सानो सर्पमध्येमा हराम्रो तेलिया साँप पनि पर्छ । यो लगभग ५/६ इञ्च लामोगड्यौला जस्तो तर अलि कालो र चिल्लो हुन्छ । अचम्मको कुरा त यस प्राणीको भाले हुँदैन, पोथी मात्र हुन्छ । पोथीको अण्डा आफैं हुर्केर बच्चा साँप जन्मन्छ । भाले लाग्न पर्दैन । ब्लाइण्ड स्नेक (Blind Snake) नाम पाएको यो सर्पले पनि नेपालको विश्व कीर्तिमान थाम्छ ।
उड्ने पक्षीमध्ये सबभन्दा अग्लो चरा हराम्रो लुम्बिनी, कपिलवस्तु क्षेत्रमा पाइने सारस हो । यसको उचाइ १.६ मिटरसम्म हुन्छ । संसारमा योभन्दा ठूलो कदका अरू चरा पनि छन् । जस्तैः इमु र अष्ट्रिच । तर, ती उड्न सक्दैनन् । त्यसैले तिनलाई चरा होइन विचरा भन्नुपर्ला !

जैविक विविधताको दृष्टिले माहुरीहरूलाई विशेष सम्मान नीय प्राणी मान्नुपर्दछ । विश्व विख्यात वैज्ञानिक अलवर्ट आइन्स्टाइनको कथन उद्धृत गर्दै धेरै माहुरीपालक कृषकहरू भन्ने गर्छन्, “यदि संसारबाट माहुरी लोप भयो भने त्यसको चार वर्षभित्र मानव जातिले पनि आफ्नो अस्तित्वगुमाउनेछ ।”

मह दिने माहुरीहरूमध्ये संसारकै सबभन्दा ठूलो माहुरी हाम्रै भीरमाहुरी हो । यसले ज्यादै अक्करको भीरमा आफ्नो चाका बनाउँछ । भीरमाहुरीको मह काढ्ने हराम्रो जङ्गली तरिका देखेर विदेशी पर्यटकहरू रोमाञ्चित हुने गरेका छन् । यो ज्यादै जोखिमपूर्ण कार्य हो र त्यसभन्दा बढी यो ज्यादै निष्ठुरी, निर्दयी र अमानवीय क्रियाकलाप पनि हो । लाखौं माहुरी र तिनका बच्चाहरूको प्राण लिएर आफ्नो पेट पाल्ने यस्तो कार्यबाट माहुरी नै लोप गराउने खतरा निम्तिन्छ । एपिस लावोरियोसा (Apis laboriosa) नामक यो माहुरीलाई हिमालयन हनी वी (Himalayan Honey) पनि भनिन्छ र यो प्रजाति हिमाली खण्डभन्दा बाहिरी क्षेत्रमा पाइँदैन । यसको विश्व कीर्तिमान पनि नेपालले थामेको छ ।

संसारको सबैभन्दा सानो माहुरी पनि हाम्रै देशमा पाइन्छ । त्यसलाई कठ्यौरे माहुरी भनिन्छ । यसले झरबुटा चहार्छ र यो १,६०० मिटरभन्दा होचो क्षेत्रमा मात्र पाइन्छ । हराम्रो देशमा जम्मा पाँच प्रजातिका माहुरी छन् । तीमध्ये घर माहुरी ३,००० मिटरको उचाइसम्म पाइन्छ ।

उपसंहार
जैविक प्रजातिको विविधताले नेपाललाई निकै धनी राष्ट्रको रूपमा उभ्याएको छ । यो साधनको आर्थिक रुपान्तरण भने हुनसकेको छैन । नेपालले विश्व भू–क्षेत्रको ०.१ प्रतिशत अंश मात्र ओगटेको छ । यो सानो क्षेत्रभित्र विशाल पहाड–पर्वतहरू उभिएको हुनाले यहाँ जैविक सम्पदाको विविधता अत्यधिक छ । नेपालका सल्ला, धुपी जस्ता कोणधारी बिरुवाका प्रजातिले विश्वको ५.१% ओगट्दछन् । फूल फुल्ने बिरुवाले पनि २.७% उछिन्छ । स्तनधारी वन्यजन्तुमा विश्वका ४.५२% प्रजाति नेपालमा पाइन्छन् । स्वच्छ पानीमा पाइने माछा विश्वभरिमा ८,४११ प्रजातिका छन् । तीमध्ये नेपालमा १८२ प्रजाति अर्थात् २.१६% माछा पाइन्छन् ।

सङ्ख्यात्मक दृष्टिले मात्र होइन गुणात्मक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण प्रजातिहरू नेपालमा छन् भन्ने केही उदाहरण माथि प्रस्तुत गरियो । यो सुरुआत मात्र हो । अरू धेरै कुरा को खोजीनिती हुन बाँकी छ । अनुसन्धाताहरूलाई प्रोत्साहित गर्नसकेको खण्डमा यो काम धेरै गाह्रो वागह्रौं हुँदैन । भनिन्छ, भैंसीलाई सिङ भारी हुँदैन । संसारमा सिङ भएका हजारौं प्राणी छन् । तीमध्ये सबैभन्दा ठूलो सिङ हाम्रै अर्ना भैंसीको हो । त्यसको नापजोख गरेर अध्ययन गरे मा अर्को विश्व कीर्तिमान स्थापित हुनेछ । यस्तै अध्ययन र अनुसन्धानको सिलसिला बसाउन सकेमा नेपालको जैविक विविधताले नेपालीलाई धनी बनाउनेछ ।

commercial commercial commercial commercial