प्रतिक्रिया र सुझाव
हौसला बढ्यो !
शिक्षक मासिकको १५औं अङ्क (असार २०६६)मा प्रकाशित ‘महिला प्रधानाध्यापकः सफल छ नेतृत्व’ शीर्षकको रिपोर्ट पढेपछि मलाई शिक्षण पेशाप्रति आकर्षणसँगैगहकिलो हौसला मिलेको छ । मजस्तै अरू शिक्षकहरूमा पनि यो रिपोर्टले प्रोत्साहन र हौसला पैदा गरेको हुनुपर्दछ । आफ्नो सर्वस्व नै विद्यार्थीलाई ठानी उनीहरूको भविष्य उज्ज्वल बनाउन अहोरात्र खटिरहनु भएका शिक्षक मित्रहरूमा अझ् सशक्त रूपमा जिम्मेवारी वहन गर्न सक्ने र नेतृत्व विकास गराउनका खातिर यस शिक्षक पत्रिकाले यस्ता रिपोर्टहरूलाई निरन्तरता दिइरहोस् ।
एकले अर्काको कुरा काट्ने र खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गरी राष्ट्र–निर्माणमा पुरुषहरूसँग हातेमालो गरी अगाडि बढ्न सकिन्छ भन्ने प्रमाण बन्नु भएका कमला, वृन्दा, निरकेशरी, मालती, कुविजा, साइ कुमारी, होम कुमारी जस्ता शिक्षकहरूले राष्ट्रको शैक्षिक क्षेत्रमा पुर्याउनुभएको योगदान प्रशंसनीय छ ।
कृष्ण कुमारी खड्का, खोटाङ
हालः बी.एड. दोस्रो वर्ष, महेन्द्ररत्न क्याम्पस
---------------------------------
सामाजिक शिक्षाको यथार्थ
शिक्षकको असार अङ्क साँच्चै नै शिक्षाप्रद, रोचक र उपयोगी लाग्यो । आगामी अङ्कहरू अरु रोचक, ज्ञानबद्र्धक र लोकप्रिय हुँदै जानेछन् भन्ने कामना गर्द छु ।
डिल्लीप्रसाद शर्माको ‘कामचलाउका काँधमा नौ विषयको बोझ्’ शीर्षकको लेख अत्यन्त यथार्थपरक छ । योग्यता छ भन्दैमा जुनसुकै शिक्षकलाई सामाजिक विषय दिइनु सरासरगलत हो । सामाजिक विषय नौ वटै विषयमा दक्षता भएका शिक्षकले पढाउँदा गुणस्तर बढ्ने कुरा मा दुईमत छैन । तर हाम्रा विद्यालयहरूमा त्यस्तो भएको पाइँदैन । म पनि त्यस्तैमध्येको एक हुँ । मैले १० महिने शिक्षक तालिम पूरा गरेको छु । तर पनि सामाजिक विषय पढाउन मलाई सहज छैन । त्यसकारण यो विषय पढाउन कामचलाउ होइन दक्ष शिक्षक चाहिएको छ ।
राजु सिम्खडा
नेपाल राष्ट्रिय निर्माण उमावि मूलपानी काठमाडौं
---------------------------------
खोजमूलक अध्ययन
शिक्षक मासिकको १५ औं अङ्कमा समाविष्ट लेख, रचनाहरू उत्कृष्ट एवम् रोचक र उपयोगी समेत लागे । यसरी नै आगामी दिनहरूमा अझै समयसान्दर्भिक, ज्ञानबद्र्धक तथा जीवनोपयोगी सीप प्रदान गर्ने खालका लेख–रचनाहरू समावेश भइरहुन् भन्ने कामना गर्छु । विशेष गरी डा. तीर्थबहादुर श्रेष्ठको ‘हुकरले पहिल्याएको हिमाली वैभव’ शीर्षकको खोजमूलक अध्ययनले मेरो मन/मुटु नै झ्क्झ्क्यायो ।
करनसिंह सुतार ‘विवश’
सुुदूरपश्चिमाञ्चल क्याम्पस
धनगढी, कैलाली
---------------------------------
मूल्याङ्कन भएन
‘अस्थायी शिक्षकका स्थायी समस्या’ र ‘एकपछि अर्का शिक्षकको हत्या’ पढ्दा मन कुँडियो । शिक्षकलाई राज्यले बजेटमा समेत उपेक्षा गर्दै आएको छ । निजामती, प्रहरी, सेना, प्रशासनिक कर्मचारीलाई जस्तो सम्मान छ तर शिक्षकलाई कतै सम्मान छैन, स्थान छैन, तहगत बढुवा हुँदैन । यो देशकै विडम्बना हो । उमाविहरूको निम्ति अहिलेसम्म बजेट छैन । राज्यले के हेरिरहेको छ ? अस्थायी पदमा रहेर ३०औं वर्ष सेवा गरेका शिक्षकहरू रित्तोहात फर्कन बाध्य छन् । योग्यताको मूल्याङ्कन छैन ।
डा.गोविन्द टण्डनको गुरुपूर्णिमा लेख सान्दर्भिक लाग्यो । महिला प्रअहरूको बारेमा लेख पढ्न पाउँदा खुशी लाग्यो । सामाजिक अध्ययन सम्बन्धी आलेखले वास्तविक समस्या दर्शाएको छ । तर ‘शिक्षकको काम अनुसार तलब नरराम्रो छैन’ भनेको सुन्दा चाहिँ हाँसो लाग्यो ।
पुण्यप्रसाद आचार्य, बाडे गाउँ–३, सिन्धुपलाञ्चोक
---------------------------------
अन्योल हट्नु परयो !
१५औं अङ्कको ‘कार्यरत शिक्षकलाई पनि लाइसेन्स’ भन्ने शीर्षकको समाचारले उत्पन्न गरेको अन्योल हटाउन यो पत्र लेख्दैछु । ‘कार्यरत शिक्षक’ भन्नाले कस्तो शिक्षकलाई बुझाउन खोजिएको हो ? कति समय कार्यरत ? २०६१ सालमा जस्तै कार्यरतको नाममा नियुक्तिपत्र ल्याउनेवित्तिकै जोसुकैले पनि पाउने हो कि ? त्यतिबेला एकदिन स्कूलमा नपढाएका, शिक्षक नै नभएका, भर्खर एसएलसी पास गरेका र उच्च शिक्षामा शिक्षाशास्त्र नपढेकाहरूले पनि चिनेजानेका स्कूलबाट एउटा नियुक्तिपत्र ल्याएर परीक्षा दिई लाइसेन्स निकालेका थिए । सम्बन्धित कार्यालय कानमा तेल हालेर बसिरहेको अवस्थामा पुनः त्यस्तैलाई लाइसेन्स दिने हो भने निश्चितरूपमै अवैधानिक कामहरू दोहोरिँदै जानेछन् । म कार्यरत शिक्षकविरोधी होइन, लाइसेन्सको विरोधी हुँ किनकि शिक्षाशास्त्र पढ्नेले स्वतः शिक्षक हुन पाउनुपर्छ ।गलत तरिकाले र जोसुकैले पनि लाइसेन्स निकाल्ने परिपाटीको अन्त्य हुनुपर्छ । दक्ष शिक्षकहरूलाई पाखा लगाएर अदक्ष शिक्षकहरूले गाउँ गाउँमा प्रभुत्व जमाइरहेका कारण स्कूलको सुधार हुनसकेको छैन ।
अर्को कुरा १० महिने तालिम र आई.एड.को पाठ्यक्रममा कति फरक छ र ? १० महिने तालिम पास गरेकाले ११ को मान्यता पाएर लाइसेन्सको परीक्षामा सहभागी पनि हुन पाउने तर शिक्षा नै लिएर नियमित ११ पास गरी १२ पढ्दै गरेका र २४ महिना पढी १२ को परीक्षा दिई बसेकाले प्राविका लागि पनि लाइसेन्सको परीक्षा दिन नपाउने ? यो कस्तो नियम हो ?
शिक्षक लाइसेन्सको नाममा दुईवर्षे आई.एड. र तीनवर्षे बी.एड.मा १०००–१५०० पूर्णाङ्कको परीक्षा दिएर पास गरेकाहरूलाई पुनः त्यहीभित्रबाट १०० पूर्णाङ्कको परीक्षा दिन लगाउनु भनेको शिक्षाका विद्यार्थीलाई हेपेको ठहर्दैन ? आई.एड. र बी.एड.को पाठ्यक्रममा भन्दा के फरक छ लाइसेन्सको पाठ्यक्रममा ? फेरि लाइसेन्सको परीक्षामा श्रेणीको स्थान छैन । पास मात्र गर्ने हो । घोक्न सक्ने विद्यार्थीले पनि त पास गर्न सक्छ लाइसेन्स परीक्षा । तालिम नलिएका तर विद्यालयमा कार्यरत शिक्षकलाई लाइसेन्समा सामेल गराउनु रराम्रो काम हो तर तिनलाई पनि तालिम लिएका, आई.एड., बी.एड. पढ्नेसँग प्रतिस्पर्धा गराउनु न्यायोचित होइन । यदि तालिम लिएका शिक्षाशास्त्र पढेका र तालिम नलिएका र शिक्षाशास्त्र पढ्दै नपढेका बीच कुनै भिन्नता रहँदैन भने शिक्षा सङ्काय नै खारेज गरे हुन्न र ?
पेम्वादोर्जे भोम्जन, बी.एड. पहिलो वर्ष, हेटौंडा क्याम्पस, मकवानपुर
---------------------------------
थरी थरीलाई एउटै बनाउनुपर्छ
शिक्षक जेठ अङ्कमा बाबुराम विश्वकर्माको आवरण लेख ‘शिक्षक थरी थरीका’ निकै मार्मिक छ । नियुक्ति, सेवा र सुविधाका आधारमा थरी थरीका देखि ने शिक्षकहरूको एउटै साझ काम चाहिँ प्रभावकारी ढङ्गले शिक्षण गर्नु नै हो । साझ कामका लागि एउटै तहमा नियुक्त भएका र उत्तिकै कार्यभार सम्हाल्नुपर्ने शिक्षकहरूको तलब सुविधा फरक–फरक हुनुले कम तलब सुविधा प्राप्त गर्ने शिक्षकहरूमा हीनताबोध महसूस हुनु स्वाभाविकै हो । त्यसैले पनि शिक्षकहरूलाई विभिन्न थरीमा नबाँडेर अस्थायी र स्थायी नियुक्ति मात्र दिइने व्यवस्था भए शैक्षिक क्षेत्रको विकास हुनेथियो ।
इन्द्र कुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुङ्गा
---------------------------------
साधुवाद !
शिक्षक को १४औं अङ्क (जेठ २०६६)मा प्रकाशित ‘नवीन माविको नवीन शैली’ निकै उत्कृष्ट लाग्यो । शिक्षक छनोट र भर्तीमा यस्तो पारदर्शी शैली अपनाउने र सहयोग गर्ने सबैप्रति धन्यवाद र प्रअ प्रेमबहादुर बस्नेतलाई साधुवाद !
रित्तिँदै गएका भनिएका शहरका विद्यालयहरूले त्यही अङ्कमा प्रकाशित राधिका माविको अनुसरण गर्नु पर्छ कि ? सरकारी स्कूलका शिक्षकले आफ्नो तलबलाई ‘बेरोजगार भत्ता’ जस्तो नठानी समर्पित भई रचनात्मक तरिकाले पढाएमा ३००० जनाको स्कूल ३०० जनामा झर्ने थिएन । ‘बाजुराः मदिरा र मास्टर’ पढेपछि सरकारको लगानी बालुवामा पानी त भइरहेको छैन, शङ्का उत्पन्न भयो । नियमित अनुगमन र रराम्रो व्यवस्थाको अभावमा जति नै खर्च गरे पनि हातालाग्यो शून्य नै हो । यसर्थ सम्बन्धित निकाय समयमै ठाडा कान लगाएर हिँड्ने कि ?
नेपालको शैक्षिक यथार्थतालाई अगाडि ल्याउने प्रयास थालेकोमा शिक्षक लाई धन्यवाद !
सन्तोष श्रेष्ठ
बगनाहा–९ बर्दिया
---------------------------------
चिट चोराउन छुट्टै बजेट !
२०६५ जेठ अङ्कमा प्रकाशित नारायणप्रसाद सुवेदीको ‘शिक्षक नै अवैध कामका अगुवा !’ शहरबजार बाहेकका सम्पूर्ण शिक्षकहरूको अनुभव हुनसक्छ । विद्यार्थीहरू नपढी पास गर्न चाहने, अभिभावकहरू जसरी भए पनि छोराछोरी पास भइदिए खुसी मान्ने, राजनीतिक दलहरू जनताका छोराछोरी बेरोजगार तथा क्षमताविहीन भएमा मात्र आफ्नो स्वार्थ पूरा हुने ठान्ने अनि सरकार चाहिँ जतिसक्यो शैक्षिक तथ्याङ्क बढेको देखाएर विदेशी अनुदान भिœयाउन उद्यत भएपछि एक्लो शिक्षकले के नै गर्न सक्छ र ! विचरा ऊ सबैतिर को दोष शिरमा थापेर बस्न बाध्य छ ।
अर्को कुरा , माओवादीको हिंसात्मक आन्दोलन जारी रहेका बखत विद्यालयहरू तहसनहस भए । तिनको ‘बुर्जुवा शिक्षा लिएर काम छैन’ भन्ने नाराले धेरैको मतिभ्रष्टगराइदियो । त्यसैले पनि हराम्रो शिक्षा आर्जन गर्ने काम झराटराइ भइरहेछ । शिक्षालाई सर्वसुलभ बनाउने नाममा गाउँ गाउँमा खुलेका एसएलसी परीक्षा केन्द्रका कारण समेत शिक्षालाई लाजलाग्दो गरी सस्तो पारिदिएको छ ।
आज एसएलसी परीक्षा विद्यार्थीहरूको नभएर शिक्षकको भइरहेछ । एसएलसी मात्र होइन पहाडी क्षेत्रहरूमा डिप्लोमासम्मका परीक्षाहरू एसएलसीकै पाराले सञ्चालन हुनथालेका छन् । परीक्षाकेन्द्रमा चोराउन जानका लागि विद्यालय व्यवस्थापन समितिले बजेटै छुट्याउँछन् । त्यस्ता कामको निम्ति पचासहजार भन्दा बढी रकम खर्च गर्ने विद्यालयहरू पनि छन् । विद्यार्थीहरूलाई चिट चोराउन जान नमान्ने शिक्षकका खुट्टा भाँच्न विद्यार्थीहरू अप्ठ्यारो मान्दैनन् । यसरी देशलाई समुन्नत बनाउने शिक्षा क्षेत्ररुपी बीउ नै बिग्रिरहेको अवस्थामा देश खोक्रिँदो छ । यसलाई सुधार गर्ने तर्फ कसैको पनि ध्यान पुगिरहेको छैन । अब त धेरै नै बिग्रिसक्यो; सुधार्न पनि गाह्रो छ ।
मालती श्रेष्ठ,
सरस्वती उमावि खानीभञ्ज्याङ, ओखलढुङ्गा
---------------------------------
ओबामाले प्रभाव पारयो
२०६६ जेठ अङ्क समयमा नै प्राप्त गरी अध्ययन गर्न पाएकोमा सम्बन्धित पक्ष धन्यवादको पात्र बनेका छन् । हरेक अङ्कमा फरक–फरक विषयवस्तुका लेख–रचना शिक्षक मासिकको विशेषता हो जस्तै बनेको छ । २०६६ जेठ अङ्कमा छापिएको अमेरिकी राष्ट्रपति बाराक ओबामाको विचार ले मलाई निकै प्रभाव पारयो । यदि ओबामाको चिन्तन जस्तै हराम्रो देशका नेतामा हुने हो भने शिक्षाको स्तर उँभोलाग्न धेरै वर्ष कुर्नुपर्ने थिएन ।
विष्णु कुमार श्रेष्ठ, शिक्षक
संस्कृत तथा साधारण मावि, मैदी–४, धादिङ
---------------------------------
धरौटी धेरै भयो
माविलाई कक्षा १२ सम्म विस्तार गर्ने सरकारको नीतिले नेपालजस्तो भौगोलिक विकटता, आर्थिक अभावमा बाँचेका जनतालाई आर्थिक मारमा पारेको छ । उदाहरणका रूपमा उमाविको धरौटीलाई लिन सकिन्छ ।ग्रामीण क्षेत्रका लागि उपयोगी तथा सर्वसुलभ ठानिए पनि उमावि खोल्दा जुटाउनुपर्ने धरौटीले धेरैलाई पिरोलेको छ । उमावि अनिवार्य रूपमा चलाउनुपर्ने र उमाविका निम्ति रु.८ लाख धरौटी राख्नुपर्दा जनतालाई ठूलो मर्का परेको छ ।
तिलक पाण्डे
जनता मावि वेलवा, नवलपरासी
---------------------------------
उपयोगी छ
शिक्षकका समाचार, ज्ञान र शिक्षण विधि बताउँदै आएको शिक्षक मासिक शिक्षा क्षेत्रमा नयाँ आयामका रूपमा प्र्र्रस्तुत हुँदै आइरहेको छ । मैले शिक्षण पेशा अपनाउने निर्णय गरिसकेको र अध्ययनका क्रममा रहेकोले शिक्षक मासिक सधैं पढ्ने गरेको छु । यसले मेरो भावी पेशालाई सहज बनाउने ठहर छ । यसमा प्रकाशित हरेक लेख र सामग्री उपयोगी छन् ।
टेकराज भण्डारी
बी.एड. तेस्रो वर्ष, अछाम बहुमुखी क्याम्पस
---------------------------------
अझै प्रभावकारी हुन्थ्यो कि !
जेठ महिनाको शिक्षक मासिकमा ‘शिक्षकका समस्या र निकासको बाटो’ शीर्षकको प्रतिवेदन पढ्न पाउँदा ज्यादै खुसी लाग्यो । आगामी दिनमा शिक्षणलाई प्रभावकारी बनाउने उपाय तथा स्थानीय स्रोत र साधनको माध्यमबाट शिक्षण गर्ने तरिकाहरूको बारेमा र शिक्षा क्षेत्रका व्यक्तित्वका उदाहरण थपिएमा हामीलाई अझ् ऊर्जा मिल्नेथियो । त्यस्तै निजी शिक्षण संस्थामा अध्यापन गर्ने शिक्षक माथिको श्रमशोषणको विरुद्धमा पनि शिक्षकले आवाज उठाइदेवस् !
सुनिल जि.सी., शिक्षक
जगतभञ्ज्याङ्ग एजुकेशनल एकेडेमी, स्याड्जा
---------------------------------
विद्यार्थी स्तम्भ चाहिन्छ
म शिक्षकको हैसियतले शिक्षक पत्रिका अध्ययन गर्न पाउनुलाई गौरव ठान्दछु । पत्रिका स्तरीय शिक्षाको सेरोफेरोमा केन्द्रित छ । यो खुशीको कुरा हो ।
हरेक शिक्षकले आफ्नो जिम्मेवारी बुझनु र दायित्व वहन गर्नु आवश्यक छ । सरकारी विद्यालय भन्दैमा जिम्मेवारीबाट टाढा भाग्नुहुँदैन ।
विद्यार्थीले पनि यस पत्रिकाप्रति चासो दिएको बुझयिो । तसर्थ पत्रिकामा विद्यार्थी स्तम्भ राख्न सके सुनमा सुगन्ध हुनेथियो । पत्रिकाको उत्तरोत्तर प्रगति हुनसकोस् ।
विष्णुप्रसाद श्रेष्ठ,
लक्ष्मीनारायण जनता उमावि
खयरमारा–३, महोत्तरी
---------------------------------
Is it possible?
I'm very glad to know that you are publishing articles in English language. I think, it helps not only for teachers; but also for learners of English language like us. Therefore, I want to see crossword puzzle in English also. So that, it helps the learners to develop word-meaning power in 'English'. Is it possible?
Aaditya Acharya
Jha.Ra. -2, Bohoretar, Sindhuli
-------------------------------
विद्यार्थी–शिक्षक मासिक बनाउने कि !
म आई.एड. दोस्रो वर्षमा अध्ययन गरिरहेको विद्यार्थी हुँ भने भविष्यको शिक्षक । तसर्थ शिक्षक मासिक नियमित पढ्छु । शिक्षक मासिकले शिक्षकहरूको मात्र मन/मुटु नजितेर उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूको समेत मन छुन सफल भएको छ । यसलाई उच्च शिक्षाका विद्यार्थीले औधी रुचाउँछन् । त्यसकारण विद्यार्थीहरूका लागि पनि सान्दर्भिक स्थान दिए उचित हुन्छ । विद्यार्थी–केन्द्रित लेखहरू समावेश गरी शिक्षक मासिकले नेपालका विद्यार्थीलाई पनि गुन लगाउन सक्छ । त्यसनिम्ति यसलाई ‘विद्यार्थी–शिक्षक मासिक’ बनाए कसो होला ?
हिमाल कुँवर ‘उदासी’
सिद्धेश्वर–१, साँफेबगर, अछाम
---------------------------------
मर्का परयो
शब्दखेल र अन्ताक्षरीलाई एउटै पानामा नराखी फरक–फरक पानामा राखिदिनुभए म जस्ता शिक्षकले दुईवटा पत्रिका खरिद न गरिकनै दुवैमा सहभागी हुनसक्नेथियौं । यस किसिमको प्राविधिक समस्या हल हुने गरी आगामी अङ्क हराम्रो हातमा परोस् भन्ने आशा एवं शुभकामना छ ।
मिठु कुमारी पाठक (डल्लाकोटी)
श्री निमावि, बजरहट्टी, चितवन
···
शब्दखेल र अन्ताक्षरी काट्दा पठनीय लेखरचना नकाटिने व्यवस्था गरिएकोमा रराम्रो लाग्यो । तथापि शब्दखेल र अन्ताक्षरी अलग–अलग काट्न मिल्ने गरी छापेको भए सुनमा सुगन्ध हुनेथियो । बाध्यताले शब्दखेल–८ र अन्ताक्षरी–८ को समाधान भएको पूरै पाना समाधानसहित पठाएको छु । आशा छ दुवै समाधानलाई प्रतियोगितामा समावेश गराई सहयोग गर्नु हुनेछ ।
हेमराज उपाध्याय, शिक्षक
भवानी मावि, बाहाकोट, दैलेख
(टिप्पणीः यी समस्याहरू एकैपटक नभई क्रमशः समाधान हुँदै जानेछन् । त्यस्तो गर्नु हराम्रो पनि रहर नभई बाध्यता नै हो । सुझावका लागि धन्यवाद ! सं.)



