शिक्षक कुटिएका कुटियै

शिक्षक माथि ज्यादती गर्ने पक्षको पहिचान भए पनि कारबाही भने गरिएको छैन । शिक्षक नेताहरू अपराध गर्नेलाई विभिन्न सङ्गठन र राज्यले नै संरक्षण गरेका कारण शिक्षक माथि हुने अपराध नरोकिएको बताउँछन् ।

  • कैलालीको बलिया गाविस बघौराको जनसेवा माविका प्रअ पूर्ण बडुवाललाई माओवादी कार्यकर्ताहरूले १ फागुन २०६५ मा कालोमोसो दलेपछि एक साता स्कूल बन्द भयो । कालोमोसो दल्नेहरूले आत्मालोचना गर्नुपर्ने र प्रअ बडुवाललाई स्कूलमा सबैको उपस्थितिमा सम्मान गर्नुपर्ने विद्यार्थीको माग पूरा भएपछि पठनपाठन सुचारु भयो ।
  • चैतको अन्तिम साता लमजुङका शिक्षक हरि दनाई युथफोर्सका कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते भए । वीर अस्पतालमा एक महिना उपचार गरी जिल्ला फर्के पनि उनी अझै स्कूल जान सकेका छैनन् । आफ्नो सुरक्षा सुनिश्चित नहुँदासम्म स्कूल नजाने अडानमा छन् उनी ।
  • दोलखा काटाकुटीस्थित वीरेन्द्र माविका शिक्षक भरत दुलाल र कृष्ण ढुङ्गेल माओवादी कार्यकर्ताबाट २९ वैशाख २०६६ मा कुटिए । गाउँमा विधुत विस्तारको विवादमा कुटिएका थिए ।
  • २३ जेठमा पाँचथर याङ्नामको सिद्ध निमाविका प्रअ रुपनारायण जबेजुलाई घरमा सुतिरहेको अवस्थामा माओवादी कार्यकर्ताले ढोका फोरेर कुटपिट गरे । कुटपिटपछि विस्थापित जबेजु प्रहरीको सुरक्षामा सदरमुकाम बस्दै आएका छन् । प्रहरीले उनलाई एक्लै नहिँड्न सल्लाह दिएका कारण उनी स्कूल फर्किन सकेका छैनन् । जबेजु माथि आक्रमण भएको साता दिन नबित्दै पाँचथरकै लिम्बा गाविस—४ लुमाङदिनको सार्वजनिक माविका शिक्षक ङाइन्द्र कुमार माखिम माओवादी कार्यकर्ताबाट निर्घात कुटिए । उनी अहिले झापाको दमकमा उपचार गराइरहेका छन् ।
  • २६ जेठमा गोरखाको छेपेटारको तारा माविका शिक्षक विष्णु पाठकलाई अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताले स्कूलमै कुटपिट गरे । उनी माथि विद्यार्थीहरूलाई उक्साएर विद्यालयमा ताला लगाएको आरोप थियो ।
  • विद्यालयबाट घर फर्किंदै गरे की दार्चुलाको पिपलचौरी गाविसको भवानी प्राविकी शिक्षक राधादेवी भट्टलाई माओवादी कार्यकर्ता दीपकराज जोशीले १३ असारमा कुटपिट गरेर खोल्सामा हुत्याइदिए । जोशी उपचारका लागि भारत गएकी छन् ।
  • स्याङ्जा मल्याङकोटको राममन्दिर माविका शिक्षक बलराम गिरीलाई पोखराबाट मल्याङकोट जाँदै गर्दा जीपबाट तानेर माओवादी कार्यकर्ताहरूले हात, खुट्टा र करङ भाँचिदिए ।गिरी अहिले नर्भिक अस्पताल काठमाडौंमा उपचार गराइरहेका छन् ।
  • १२ जेठ २०६६ मा नेपाल राष्ट्रिय प्रावि बाराकी शिक्षक मेनकागुप्ताको जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्तालेगोली हानेर हत्या गरे । त्यसको २५ दिनअघि बाराकै शिक्षक प्रदीप तिमिल्सेना मारिएका थिए । तिमिल्सेनाको हत्याको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चा र मधेशी मुक्ति टाईगर्सले लिएका छन् । यसअघि २१ चैत २०६५ मा तराई साइलेन्स किलरले धनुषा हरिहरपुरका शिक्षक मेघबहादुर बमजनको हत्या गरेको थियो ।

माथिको विवरण, शिक्षकहरू राजनीतिक दलद्वारा संरक्षितगुण्डा गर्दा र आपराधिक तत्वको निर्वाध गतिविधिका कारण कति असुरक्षित छन् भन्ने दर्शाउन पर्याप्त छ । (यी घटनाहरू विभिन्न पत्रपत्रिकाबाट टिपिएका हुन्; शिक्षक मासिकको स्वतन्त्र खोज होइन ।)

माओवादीको सशस्त्र सङ्घर्षको क्रममा शिक्षक माथि चर्को ज्यादती थियो । त्यतिबेला माओवादीसँगै राज्य पक्षबाट समेत शिक्षकहरू सताइएका थिए । जबर्जस्ती चन्दा असुली, अपहरण कुटपिट, बेपत्ता र हत्या जस्ता कृत्यको मारमा शिक्षकहरू परेका थिए । तर माओवादी शान्ति प्रक्रियामा आएपछि पनि शिक्षक माथि हुने हिंसात्मक घटना रोकिएको छैन । अहिले, शिक्षकहरू माथि सरकारी पक्षबाट भन्दा माओवादी कार्यकर्ता, तराईका भूमिगत सशस्त्र समूह र एमाले निकट युथफोर्स आदिबाट बढी ज्यादती हुने गरेको पाइएको छ ।

स्कूलका शिक्षकले विगत १५ वर्ष देखि ढुक्क भएर पढाउन नपाएको दुः खेसो गर्छन् नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवाली । उनको भनाइ छ, “पछिल्ला दुई महिनामा मात्र चार जना शिक्षक मारिएका छन् । डेढ दर्जन भन्दा बढी शिक्षक कुटिएका छन् ।”

शिक्षक माथि ज्यादती गर्ने पक्षको पहिचान भए पनि कारबाही भने गरिएको छैन । शिक्षक नेताहरू अपराध गर्ने लाई विभिन्न सङ्गठन र राज्यले नै संरक्षण गरेका कारण शिक्षक माथि हुने अपराध नरोकिएको बताउँछन् । अध्यक्ष ज्ञवाली भन्छन्, “हामी शिक्षकहरूले कहिल्यै सरकारले सुरक्षा दिएको महसूस गर्न पाएनौं, असुरक्षाकै अवस्थामा कक्षाकोठामा जानु परिरहेको छ ।” उनले सुरक्षा अवस्थामा सुधार नआए मानिसहरू शिक्षण पेशाबाट पलायन हुने स्थिति समेत आउन सक्ने बताए ।
असुरक्षा व्याप्त भएको ले अन्यायमा परेका शिक्षकहरू उजुरी हाल्न समेत डराउने गरेका छन् । लोकतन्त्र र शान्ति स्थापना भएपनि शिक्षकहरू  अहिले पनि त्रास र आतङ्कका बीच पढाउन बाध्य भएको पञ्चोदय उच्च मावि धनगढीका प्राचार्य यादवप्रसाद जोशी बताउँछन् । फरक आस्थाका कारण माओवादीनिकट विद्यार्थी सङ्गठनहरूले थुप्रै शिक्षकलाई स्कूलबाट हटाउन खोजेको उनको ठम्याइ छ ।

माओवादी कार्यकर्ताको आक्रमणको शिकार भएका स्याङ्जाका शिक्षक बलरामगिरी आफू नेपाली काङ्ग्रेस निकट भएका कारण कुटिएको ठान्छन् । माओवादीनिकट शिक्षक राजेन्द्रगिरी र श्यामलालसहित ४०/५० जना माओवादीले उनलाई कुटपिट गरेका थिए । उनी भन्छन्, “मर्‍यो भनेर छोडेका थिए । हेलिकोप्टरबाट काठमाडौं ल्याएर उपचार गरेका कारण म जोगिएँ ।”

त्यसो त, शिक्षक माथि राजनीतिक कारणले मात्र होइन परीक्षामा चिट चोर्न नदिएका कारण पनि कुटपिट भएको छ । विद्यालय व्यवस्थापन समितिमा बढ्दै गएको राजनीतिक खिचातानी र लडाइँको शिकार पनि शिक्षकहरू हुने गरेका छन् । राहत कोटामा शिक्षक राख्ने विषयमा विवाद हुँदा पनि शिक्षक कुटिने गरेको देखिन्छ । तर, कतिपय शिक्षकहरू माथि भएको कुटपिटको कारण भने खुल्ने गरेको छैन ।

प्रायः शिक्षकहरू आफूले बारम्बार आवाज उठाउँदा पनि सरकारले दोषी माथि कारबाही गर्न तत्परता देखाउने न गरेको गुनासो गर्छन् । कैलालीको धनगढीस्थित धनगढी माविका शिक्षकगणेश नेपालीलाई पनि यस्तै लाग्छ । शिक्षक संघका अध्यक्ष मोहन ज्ञवाली चाहिँ कतिपय शिक्षकहरू आफू माथिको ज्यादती बारे चुपचाप रहेका कारण पनि आक्रमण र दुव्र्यवहार नरोकिएको ठान्छन् । माओवादी निकट शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीको भनाइमा चाहिँ “मुलुकमागणतन्त्र आएपनि पुरानो सत्ता ध्वस्त नभइसकेको र नयाँ सत्ता नबनिसकेको कारण शिक्षकहरू माथि ज्यादतीका घटना भइरहेका हुन् ।” अध्यक्ष लोहनी शिक्षकहरू माथि हुने गरेको ज्यादती रोक्नका लागि राज्यले ठोस नीति बनाउनुपर्ने धारणा राख्छन् ।

नेपाल शिक्षक युनियनका अनुसार २०५२ साल फागुन देखि मङ्सिर २०६३ सम्ममा जम्मा १९० जना शिक्षक मारिए भने २९ जना बेपत्ता पारिए । उक्त अवधिमा राज्यपक्षबाट ७३४ जनागिरफ्तारमा परेको शिक्षक युनियनको आँकडाले देखाउँछ । सो अवधिमा माओवादीले १० हजार ६२१ जना शिक्षकलाई अपहरण गरेको र ३५६ जनालाई ज्यान मार्ने धम्की दिएको युनियनको अभिलेखबाट देखिन्छ । माओवादी निकट अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीका अनुसार द्वन्द्वकालमा माओवादी पक्षधर ३५१ जना शिक्षक मारिएको बताउँछन् ।  

commercial commercial commercial commercial