लेखक बनेका शिक्षक
पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा १ देखि १० सम्म पढाइ हुने ५२ विषयका पाठ्यपुस्तक लेखनमा दुई सय शिक्षक संलग्न छन् । केन्द्रका ३२ मातृभाषाका पुस्तकमध्ये आधाभन्दा बढी किताब पनि शिक्षकले नै लेखेका छन् ।
गुह्येश्वरी बाल शिक्षा मावि थापाथलीका शिक्षक हरिविनोद अधिकारी कक्षा ९ र १० का लागि आफैंले लेखेको पुस्तक ‘कार्यालय सञ्चालन र लेखा’ पढाउँछन् । उनले माध्यमिक तहको पत्रकारिताको पाठ्यक्रम निर्माणमा पनि योगदान गरेका छन् ।
शैक्षिक जनशक्ति विकास केन्द्रका प्रशिक्षक नारायणप्रसाद वाग्लेले कक्षा ९ र १० को अनिवार्य र ऐच्छिक तथा प्राविको गणित पुस्तक लेखेका छन् । ९ र १० कक्षाको गणित शिक्षक निर्देशिका, केन्द्रले तयार गरेको एसएलसी सहयोगी पुस्तक र कक्षा १० को गणित स्व–अध्ययन सामग्री पनि उनैले तयार गरेका हुन् । उनले हालसम्म २२ वटा पुस्तक लेखिसकेका छन् । त्यसो त वाग्लेले गणितका सरकारी पाठ्यपुस्तक मात्र होइन निजी स्कूलका लागि कक्षा ९ र १० को गणित पुस्तक पनि लेखेका छन् । पाठ्यपुस्तक लेखनबाट पहिचानसँगै रु.७ लाख आम्दानी भएको वाग्लेको कथन छ ।
महेन्द्रग्राम मावि ललितपुरका अङ्ग्रेजी शिक्षक भरत बाबु खनालले मावि तहको अङ्ग्रेजी विषयको शिक्षक निर्देशिका र विशिष्टीकरण तालिका लेखेका छन् । काठमाडौं युनिभर्सिटीबाट अङ्ग्रेजीमा एमएड प्रथम श्रेणीमा उत्तीर्ण खनाल माविका स्थायी शिक्षक हुन् । उनी पाठ्यक्रम विकास केन्द्रका अङ्ग्रेजी विषयका प्रशिक्षक पनि हुन् ।
चक डस्टर घोटेर कक्षाकोठामा सीमित शिक्षकहरूका लागि सिर्जनात्मकता क्षमता देखाउने माध्यम बनेको छ पुस्तकलेखन । पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा १ देखि १० सम्म पढाइ हुने ५२ विषयका पाठ्यपुस्तक लेखनमा करिब दुई सय शिक्षकको योगदान रहेको छ । केन्द्रका ३२ मातृभाषाका पुस्तकमध्ये आधाभन्दा बढी किताब शिक्षकले नै लेखेको पाइन्छ । केन्द्रका निर्देशक हरिबोल खनाल भन्छन्, “पुस्तक लेखन प्राविधिक काम हो, विषयवस्तु बुझेका शिक्षकले पुस्तक लेखे त्यो किताब स्तरीय हुन्छ ।”
भानुभक्त मेमोरियल उमावि, पानीपोखरीका शिक्षक प्रमोद ढुङ्गेलले सरकारी स्कूलका लागि ७ कक्षाको गणित किताब लेखे । त्यसपछि उनले निजी स्कूलमा पढाइ हुने निमाविसम्मका गणित पुस्तक लेखे । दुई दशक गणित शिक्षणमा संलग्न ढुङ्गेलले पुस्तक लेखनबाट वार्षिक रु.५० हजार रोयल्टी बुझने गरेका छन्
सगरमाथा आवासीय अङ्ग्रेजी मावि जावलाखेलका गणित शिक्षक हरेराम ठाकुरले निजी स्कूलको कक्षा ९ र १० मा पढाइने रिलायन्ट म्याथम्याटिक्स र ऐच्छिक गणितको पुस्तक लेखेका छन् । उक्त किताबको बिक्री रराम्रो भएपछि उनीभित्र लेख्ने उत्साह थपियो । अहिले चाहिँ ठाकुर ७ र ८ कक्षाको निम्ति ऐच्छिक गणितकै किताब लेख्दैछन् । एमएस्सी उत्तीर्ण ठाकुरले गणित शिक्षण गर्न थालेको ९ वर्ष पुगेको छ । गणितका किताब लेखिरहेका कारण कक्षामा पढाउन जानुअघि तयार गर्नु नपर्ने बताउँछन् ।
२०५० सालमा बीएड उत्तीर्ण टाइम्स स्कूल कुलेश्वरका भाइस प्रिन्सिपल खेम केसीले पनि निजी स्कूलमा पढाइने कक्षा ९ र १० को अनिवार्य र ऐच्छिक गणित पुस्तक लेखेका छन् । त्यसो त उनले निजी स्कूलका लागि कक्षा ७ को ऐच्छिक गणित लेखेका छन् । केसीले पुस्तकको रोयल्टी वापत वार्षिक रु.१ लाख बुझने गरेको बताए ।
उता २४ वर्ष शिक्षण सेवामा रहेका डीबी राई सोह्रखुट्टेस्थित इटरनल लाइट पब्लिक हाईस्कूलमा आफैंले लेखेको पुस्तक पढाइरहेका छन् । राईले निजी स्कूलमा पढाइने कक्षा ९ र १० को ‘टे क्स बु क अफ साइन्स’ नौ वर्षअघि लेखेका थिए । उनले दुई वर्षयता निजी स्कूलका लागि १ देखि १० सम्मका विज्ञानका पुस्तक लेखेका छन् । यसबाट वार्षिक रु.४० हजार रोयल्टी पाउने गरेको राईको दाबी छ । उनका किताब कतिपय निजी स्कूलमा पढाइने गरेको छ । निजी स्कूलहरूले लेखक र प्रकाशन संस्थासँग को सम्बन्धका आधारमा पाठ्यसामग्री छनोट गर्ने गरेको पाइन्छ ।
शिक्षणसँगै पुस्तक लेखनमा संलग्न अधिकांश शिक्षकले कक्षाकोठामा पढाउँदाको अनुभव र ज्ञानलाई आफ्ना पुस्तकमा समेट्ने गरेका छन् । नारायणप्रसाद वाग्लेले लेखेको एसएलसी अभ्यास पुस्तिका प्रतिभावान् र कमजोर दुवै विद्यार्थीका लागि सहयोगी बनेको छ । उनी भन्छन्, “रराम्रोसँग पढे सबै विद्यार्थी पास हुन्छन् ।” त्यस्तै, हरेराम ठाकुरको गणित अभ्यास पुस्तकले कठिन सूत्र सम्झ्न सजिलो पारेको छ । उनको किताबले कठिन प्रश्नको सजिलो समाधान दिएको छ । अनुभवी र दक्ष शिक्षकद्वारा लेखिएका यस्ता पुस्तक समयसापेक्ष भएको ले विद्यार्थीका आवश्यकता पूरा हुने विशेषज्ञहरू बताउँछन् । त्रिविका गणित विषयका प्राध्यापक डा.सिद्धिप्रसाद कोइराला अनुभवले खारिएका शिक्षकले लेखेका पुस्तकले विद्यार्थीको आवश्यकतालाई सम्बोधन गरेको बताउँछन् । शिक्षकले लेखेका किताब प्रयोग गरिरहेका छात्रछात्राले पनि ती किताब मन पराएको बताएका छन् । ललितपुरको पुल्चोकस्थित मदन स्मारक उमाविमा कक्षा ९ मा अध्ययनरत छात्रा सुजिता तामाङको कथन छ, “शिक्षकले लेखेका पुस्तक उपयोगी छन् । पढ्न र अभ्यास गर्न सजिलो भएको छ ।” उक्त स्कूलमा सरकारी पाठ्यपुस्तकका अतिरिक्त निजी स्कूलमा पढाइने गणितका पुस्तकहरू पनि पढाइने गरिएको छ ।
विषयवस्तुमा पकड अनि सक्रिय हुनसके रराम्रो पुस्तक लेख्न सकिने शिक्षक प्रमोद ढुङ्गेल बताउँछन् । लेखक शिक्षकहरूको भनाइमा पढाउनु भन्दा पुस्तक लेखन संवेदनशील काम मानिन्छ । “पढाउँदा सीमित विद्यार्थीलाई बुझए हुन्छ तर पुस्तकमार्फत धेरैलाई बुझाउन विशेष क्षमता र सिर्जनात्मकता चाहिन्छ”, शिक्षक हरेराम ठाकुरको कथन छ ।
कक्षाकोठाका लागि उपयोगी हुने किताब लेख्दा शिक्षकहरूमा सिर्जनात्मक क्षमता अभिवृद्धि हुनुका साथै पढाउने शैली र तौरतरिकामा समेत परिवर्तन आउने गरेको छ । यसले शिक्षकहरूको व्यक्तित्व विकास मा ठूलो टेवा पुर्याएको शिक्षक डीबी राई बताउँछन् । लेखनबाट आत्मविश्वास बढेको अर्का शिक्षक खेम केसीको अनुभव छ । ३१ वर्षे शिक्षक जीवनबाट भन्दा पुस्तक लेखनबाट धेरैगुणा बढी सन्तुष्टि मिलेको अनुभव हरिविनोद अधिकारी को छ
शिक्षा ऐन २०२८ को दफा २८ तथा शिक्षा नियमावली २०५९ को नियम ३१ ले सबै विद्यालयमा नेपाल सरकारले स्वीकृत गरेको पाठ्यपुस्तक पठनपाठन गर्नु पर्छ भनेको छ । तर, सरकारी र निजी विद्यालयमा स्वीकृतिविनाका पुस्तक पनि उत्तिकै पठनपाठन हुने गरेको पाइन्छ । पाठ्यपुस्तक र सन्दर्भ सामग्री प्रयोग गर्न शिक्षा नियमावली २०५९ को नियम ३५ ले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति लिनुपर्ने शर्त तय गरेको छ । प्याब्सनका महासचिव टी.आर. ढकाल पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिविनाका पाठ्यपुस्तक पनि निजी स्कूलमा पढाइने गरेको स्वीकार गर्छन् । त्यसो त सरकारले पनि सरकारी तथा निजी स्कूलमा के–कस्ता पाठ्यपुस्तक पढाइने गरेको छ भन्ने अनुगमन गरेको भेटिँदैन ।
शिक्षकले पाठ्यपुस्तक बाहिरका पुस्तक पनि लेख्ने गरेको पाइन्छ । वीरेन्द्र सैनिक मावि भक्तपुरका सामाजिक शिक्षक राजेन्द्र केसीले एशिया पब्लिकेशनका लागि आइक्यु ब ुक अफ कम्प्युटर पुस्तक लेखेका छन् । उक्त पुस्तक अहिलेसम्म चारवटा संस्करण छापिएको छ । अहिले उनी योग सम्बन्धी पुस्तक लेखिरहेका छन् । उनले पुस्तक लेखेर वर्षमा रु.५० हजार जति आम्दानी हुने बताए ।
किताबको नाममा कमाउने धन्दा !
गाइड रगेसपेपर लेखनलाई रराम्रो नमानिए पनि कतिपय शिक्षकहरू यसैलाई प्राथमिकता दिइरहेका छन् । नामविनाका यस्तागाइड रगेसपेपर प्रकाशन गृह को नामबाट निकालिन्छ । त्यस्ता पुस्तक शिक्षकले नै लेख्ने गरेको प्रकाशन गृह सञ्चालकहरू बताउँछन् । मोटो रकम असुल्नका लागि स्कूल–कलेजमा पढाइरहेका शिक्षकले लेख्नेगाइड रगेसपेपर परीक्षाको बेला बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । ज्ञान आर्जन भन्दा परीक्षामा पास गर्न सजिलो होस् भनेर निकालिने यस्ता किताब विद्यार्थीले खोजी–खोजी किन्ने गरेका छन् । तर, त्यसको स्तर को लेखाजोखा र दीर्घकालीन लक्ष्यबारे कसैले खोजी गरेको भेटिँदैन ।
नेपाली स्वयंले पुस्तक लेख्न थालेपछि निजी विद्यालयमा पढाइने विदेशी प्रकाशन र लेखकका पुस्तकको प्रयोग घट्दै गएको छ । पाँच वर्षअघि अक्सफोर्डका किताबका साथै,गुलमोहर अङ्ग्रेजी र मिडिल साइन्स स्कूल लगायतका पुस्तक निजी विद्यालयमा पढाइयो । तर, अहिले ती पुस्तकलाई नेपाली लेखकका पुस्तकले विस्थापित गरेका छन् । तथापि लेखकहरूबीचको प्रतिस्पर्धा अनि प्रकाशक र विद्यालयबीच चल्ने कमिसनका खेलले विदेशी पुस्तक हटेको शिक्षक डीबी राई बताउँछन् । नेपालका निजी स्कूलका निम्ति भारत र अन्य देशले समेत पुस्तकहरू प्रकाशन गरेर पठाउने गरेका छन् । त्यस्ता प्रायः पुस्तकहरू सन्दर्भ सामग्रीका रूपमा प्रयोग हुने प्याब्सनका महासचिव टी.आर. ढकाल बताउँछन् । पाठ्यक्रम विकास केन्द्रले अक्सफोर्ड र रत्न सागर लिमिटेड इण्डियाका पुस्तकलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ ।
सरकारी पुस्तक लेख्न पाठ्यक्रम विकास केन्द्रले निश्चित मापदण्ड अपनाएर लेखक छनोट गर्नु पर्छ । सार्वजनिक सूचनाबाट नमुना पाठ सङ्कलनपछि विषय विशेषज्ञको मूल्याङ्कनबाट उत्कृष्ट ठानिने व्यक्तिलाई पुस्तक लेख्ने जिम्मा दिइन्छ । स्नातकोत्तर उत्तीर्ण र सम्बन्धित विषयमा पाँच वर्ष पढाएको मावि तहका शिक्षक सरकारी स्कूलमा पाठ्यपुस्तकको लेखक बन्न सक्छन् । तर, पाठ्यक्रम विकास केन्द्रले आफ्ना नजिककालाई यस्तो मापदण्ड नपुगे पनि पाठ्यपुस्तक लेख्ने जिम्मा दिने गरेको शिक्षकहरूको आरोप छ ।



