हराएको चाबी

बेलुका अँध्यारो भइसकेको थियो । एकजना पाका मानिस हतार–हतार घर फर्किंदै थिए । बाटामा सडकबत्तीको उज्यालोमा उनले मुल्ला नसिरुद्दिनलाई चार हातपाउ टेकेर केही खोजिरहेको देखे ।

“मुल्ला, के हरायो ?” उनले सोधे ।

“मेरो घरको चाबी हरायो हौ...” नसिरुद्दिनले जवाफ दिए ।

“ज्या है त !” मुल्ला जस्ता सबैले मानेका भलाद्मीलाई एक्लै छाड्न मन लागेन । ती मानिस पनि उनलाई चाबी खोज्न सघाउन थाले ।

दुवैजना निहुरिएर चाबी खोज्न लागे । निकै बेर खोज्दा पनि नभेटिएपछि ती पाका मानिसले नसिरुद्दिनलाई सोधे, “हैन, तपाईंको चाबी कहाँनिर खसेको थियो हँ ?”

नसिरुद्दिनले पछाडितिर देखाएर भने, “चाबी त उता, मेरै घरमा हराएको ।”

ती मानिस जुरुक्क उठे । “त्यसो भए किन यहाँ खोज्नुभएको त ?” उनले सोधे ।

“मेरो घरमा साह्रै अँध्यारो भएकाले यहाँ उज्यालोमा आएर खोजेको नि !” नसिरुद्दिनले जवाफ दिए ।

टिप्पणी

झट्ट सुन्दा यो एउटा मूर्ख पात्रको हँस्यौली जस्तो मात्र लाग्छ । तर यसमा एउटा गहिरो अर्थ पनि लुकेको छ । प्रायः हामी आफ्नो सजिलोका लागि, आफ्ना समस्याको समाधानगलत ठाउँमा खोज्छौं । कथामा मुल्ला नसिरुद्दिनले भनेको ‘मेरो घर’ खासमा ‘मेरो अन्तरआत्मा’को प्रतीक हो । र; यो कथाको सन्देश हो, हामीले समस्याको समाधान सही ठाउँमा खोज्नुपर्छ । आफूलाई जहाँ र जसरी सजिलो लाग्छ त्यहीं खोजेर कुनै पनि समस्याको समाधान पाइँदैन ।)


commercial commercial commercial commercial