‘महिला नै ठीक’

असार २०६१ मा दशरथपुरस्थित सरस्वती प्राविका एकमात्र पुरुष शिक्षक तथा प्रअ ददिराम आचार्यको सरुवा भएपछि स्कूल नै बन्द हुने हो कि भन्ने चिन्ताले अभिभावकलाई सताएको थियो । तर, ठीक उल्टो आचार्यको जिम्मेवारी महिला शिक्षकको काँधमा सरेपछि उक्त विद्यालय उकालो लाग्न थाल्यो । महिला शिक्षकको क्षमता माथि शङ्का गर्नेहरू अहिले उनीहरूको क्षमतामा गर्व गर्न थालेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जङ्गबहादुर खड्का भन्छन्, “शुरुमा त महिलाहरूले स्कूल कसरी चलाउलान् भनेर चिन्ता लागेको थियो । तर, अहिले उनीहरूको मेहनत र लगनशीलता देख्दा छक्क परेका छौं ।” ‘पुरुष शिक्षक चाहियो’ भन्दै जिशिका धाउने अभिभावकहरू अहिले ‘महिला शिक्षक नै ठीक’ भन्न थालेका छन् ।

तथापि सुर्खेतमा महिला शिक्षकले राम्रो बनाएको सरस्वती प्रावि एक्लो स्कूल चाहिँ होइन, यहाूका अरू दुई दर्जन विद्यालय महिलाका मेहनतका भरमा ‘राम्रा’ भएका छन् । लेखगाउँको जनज्योति प्रावि यस्तै एउटा नमुना हो । तीनजना महिला शिक्षक रहेको उक्त विद्यालयगत वर्ष गाविसमै प्रथम भयो । जिशिकाका अनुसार उक्त स्कूलले ३ कक्षाको परीक्षामा ९५ प्रतिशत र ५ कक्षाको परीक्षामा ८६ प्रतिशत अङ्क ल्याएको छ । प्रअ शारदा कुमारी शर्माको कथनमा स्कूलको शैक्षिक उपलब्धिमा यस्तो परिवर्तन देखेर अभिभावक दङ्ग परेका छन् ।

उक्त परीक्षामा महिला शिक्षकले चलाएको वीरेन्द्रनगरको दीपमाला प्राविले कक्षा ३ मा ८५ प्रतिशत अङ्क ल्याएर प्रथम भएको थियो । शिक्षक प्रतिनिधि १४ फागुन बिहान ९ः ४५ बजे सुर्खेत उपत्यकाको उत्तरपश्चिम कुनामा अवस्थित दीपमाला प्राविमा पुग्दा चारैजना महिला शिक्षक बिहान ९ः ५५ सम्म विद्यालयको कम्पाउण्डभित्र पसिसकेका थिए । सो दिन शिक्षक मात्र हैन विद्यार्थीहरूसमेत सोही समयभित्र विद्यालय प्रवेश गरेको देखि यो । १५६ मध्ये तीनजना छात्र मात्र सो दिन स्कूल आएनन् ।
२०४८ सालमा स्थापित उक्त विद्यालय पाँच वर्षयता महिला शिक्षकबाट सञ्चालन भइरहेको छ । तीन महिनाअघि विद्यालय व्यवस्थापन समितिमा समेत महिला नै अध्यक्ष चुनिएकी छन् । जिशिकाका अभिलेख शाखा प्रमुख हितप्रसाद पौडेल भन्छन्, “महिला शिक्षकले चलाएका विद्यालयहरू कमजोर छैनन् ।”

सुर्खेतमा महिला शिक्षकद्वारा सञ्चालित विद्यालयहरूले आफूलाई हरेक क्षेत्रमा अब्बल सावित गरेका छन् । बालकेन्द्रित शिक्षण सिकाइ, बालमैत्री विद्यालय वातावरण, अभिभावकहरूलाई विद्यालयप्रति उत्तरदायी बनाउने र विद्यालय निर्माणमा महिला सहभागिता बढाउन सफलता हासिल गरेका छन् । दशरथपुरको सरस्वती प्राविको नेतृत्व महिला शिक्षकको काँधमा पुगेको चार वर्षमै छात्रछात्राले विद्यालय छोड्ने समस्याबाट मुक्त भयो । उक्त विद्यालयमा २०६० सालसम्म वार्षिक १० प्रतिशत विद्यार्थीले बीचैमा पढाइ छाड्थे । तर, पछिल्लो दुई वर्षको अवधिमा यो दर तीन प्रतिशतमा झरेकाे छ । उक्त विद्यालयमा आमा समूहको मासिक भेला गरी विद्यार्थीले पढाइ छोड्ने कारणबारे छलफल गर्ने गरिएकोले त्यसको प्रत्यक्ष असर स्कूलमा परेको छ ।

महिला शिक्षकबाटै सञ्चालित कुनाथरीको सिद्धार्थ प्रावि सुर्खेतको नमुना विद्यालय मानिन्छ । उक्त विद्यालयको निरीक्षण गरेका शिक्षाको लागि संयुक्त कार्यक्रम कदमका संयोजक आत्माराम भट्टराई भन्छन्, “त्यहाूका विद्यार्थीहरू न त गल्ती गर्छन्, न त सजाय नै पाउूछन्, यो सफल शिक्षण सिकाइ पद्धतिको देन हो ।” महिला शिक्षकहरू भने विद्यालय सुधारमा शिक्षकको लगनशीलता, मेहनत र समुदायको सहयोग महत्वपूर्ण हुने बताउँछन् । दीपमालाकी प्रअ साई कुमारी शाहले प्रअको जिम्मेवारी पाउनेबित्तिकै समुदायको सहयोग जुटाउन पहल थालेकी थिइन् । उक्त कार्यले स्कूलका समस्या पहिचान गरेर समाधान पहिल्याउन मद्दत पुगेको थियो ।

सरस्वती प्राविका शिक्षकहरूले भने स्कूल सुधारका लागि ‘सुधार आफैंबाट थाल्नुपर्छ’ भन्ने ठानेर शिक्षक आचारसंहिता लागू गरे । शिक्षकहरू अनुशासित तवरले विद्यालय बनाउन तम्सिएपछि अभिभावकहरूले पनि सहयोगी हात बढाए ।

महिलाले नेतृत्व गरेर सुधारेका स्कूलबाट अरूले पनि सिक्नुपर्ने महसूस गर्न थालेको पाइन्छ । माघ २०६५ मा शिक्षकको पिटाइको कारण छात्रले आत्महत्या गरेको त्रिपुरेश्वर माविका शिक्षक जीतबहादुर राम्जाली भन्छन्, “अब हामीहरूले पनि दीपमाला प्राविबाट धेरै कुरा सिक्न आवश्यक छ, महिलाहरूले चलाएको भन्दैमा हेलाँ गर्न हुूदैन ।” त्रिपुरेश्वर मावि र दीपमाला प्राविको दूरी करिब पाँच सय मिटर छ ।

जिशिकाले महिलाको बुताबाट पठनपाठन र भौतिक पूर्वाधार सुधार भएका विद्यालयको सराहना गर्न थालेको छ । जिशिकाका शाखा अधिकृत दीपा हमाल महिला शिक्षकद्वारा सञ्चालित केही सफल विद्यालयलाई मोडेल विद्यालय घोषणा गरिनुपर्ने बताउूछिन् । उनको भनाइ छ, “त्यस्ता विद्यालयलाई शैक्षिक तथा सामाजिक विकास मा उपयोगी बनाउनुपर्छ ।” 

commercial commercial commercial commercial