जेहेन्दार र मेहनती राम्रो
अध्ययनले भन्छ— अधिकांश शिक्षकहरू मेहनती, जाँ गरिला, जेहेन्दार, अनुशासित, सफासुग्घर, सहयोगी स्वभावको र गृह कार्य गर्ने विद्यार्थीलाई मन पराउँछन् । उनीहरूको हेराइलाई विद्यार्थीको जात, रंग, उमेर, वर्ग आदिले खासै प्रभाव पार्दोरहेनछ !
शिक्षक पत्रिकाले चैत महिनामा आठ जिल्लामा सर्वेक्षण गरयो । हिमालको सिन्धुपाल्चोक । पहाडको डडेलधुरा । काठमाडौँ उपत्यकाको ललितपुर र काठमाडौँ । भित्री मधेशको दाङ । तराईको झपा र कपिलवस्तु । ३४ वटा विद्यालयका ९८ जना शिक्षकले अध्ययनमा भाग लिए । तिनमा ५५ जना सरकारी विद्यालयका थिए । चार जना ‘सरकारको निजी विद्यालय’ (सामुदायिक व्यवस्थापनमा गएको विद्यालय) का । ३७ जना निजीका । दुई जना मदरसाका । लैङ्गिक दृष्टिले २८ जना महिला शिक्षक थिए । उमेरगत हिसाबले ४० जना २०–३० वर्षका थिए । ५१ वर्ष माथिका ६ जना मात्र । यसरी हेर्दा युवा र अधबैँसे शिक्षककै वर्चस्व थियो । जातिगत दृष्टिले हेर्दा अधिकांश (६५ जना) बाहुनक्षेत्री । २२ जना जनजाति । चार जना मधेशी । बाँकी अरू ।
शिक्षकले कस्ता विद्यार्थी मन पराए ?
अध्ययनले भन्छ— शिक्षकहरू मेहनती र जाँ गरिला विद्यार्थी मनपराउँछन् । जातीय राजनीतिज्ञले जस्तो जात हेरेनन् । जाति हेरेनन् । उमेर हेरेनन् । कक्षा हेरेनन् । ८३ जना शिक्षकले त मनपर्ने विद्यार्थीको नामै दिए । सात जनाले चाहिँगोलमटोल उत्तर दिए । कस्ता विद्यार्थी मनपरे त शिक्षकलाई ? मेहनती विद्यार्थी । जाँ गरिलो विद्यार्थी । जेहेन्दार विद्यार्थी । सफासुग्घर विद्यार्थी । सहयोगी विद्यार्थी । गृह कार्य गर्ने विद्यार्थी । कक्षामा प्रश्नोत्तर गर्ने विद्यार्थी ।
अब प्रश्न रह्यो— के विद्यार्थी त्यस्ता छौँ त ? के त्यस्तो बन्न सक्छौँ त ? के त्यस्ता बनाइँदैछौँ त ? के बन्ने क्रममा छौँ त ? बनाइने क्रममा छौँ त ? परिवेश पाएका छौँ त ? पाउनेवाला छौँ त ? यी प्रश्नहरूले विद्यार्थीकै उत्तर खोज्छ । अभिभावकको उत्तर खोज्छ । प्रशासकको उत्तर खोज्छ । शिक्षकको उत्तर खोज्छ । राजनीतिज्ञको उत्तर खोज्छ । सबैको सामूहिक उत्तर पनि खोज्छ । अनि हामीलाई नै प्रश्न तेस्र्याउँछः के हराम्रो शैक्षिक बाटो त्यतातर्फ उन्मुख छ त ?
मन पराएकासँग कसरी घुलमिल भए ?
मन परेका विद्यार्थीसँग शिक्षकहरू नै नजिकिँदा रहेछन् । अध्ययनले त्यसै भन्छ । त्यसका लागि शिक्षकले साथी जस्तो व्यवहार गर्दा रहेछन् । यस अर्थमा ‘सानो साथी’ । ऊसँगै ठट्यौली गरे । उसकै अगाडि कथा भने । कविता भने । कुरा कानी गरे । अतिरिक्त क्रियाकलाप गरे । गराए । गृह कार्यमा सहयोग गरे । घरघरायसी कुरा गरे । विद्यालय जाँदा आउँदा तिनीहरूसँगै हिँडे । उनीहरूलाई नै प्रोत्साहित गरे । आफ्नै छोराछोरीसरह माया गरे । पढाइमा सहयोग गरे । यसरी हेर्दा शिक्षकहरू महमा लटपटिने झिंगा जस्तै भए । मेहनती विद्यार्थी मह । शिक्षकहरू त्यहीँ लटपटिने झिंगा । अब प्रश्न रह्यो— के हामी विद्यार्थी ‘मह’ बन्दैछौँ त ? बनाइँदैछौँ त ? बन्ने क्रममा छौँ त ? बनाइन्छौँ त ?
निजी र सरकारी विद्यालयका शिक्षकहरूले एउटै खाले विद्यार्थी खोजे । मौलवीले पनि त्यही रोजे । ‘सरकारका निजी शिक्षक’ ले पनि त्यही बाटो अपनाए । पुरुष र महिला शिक्षकको नजिकिने तरिकामा भने एउटा भिन्नता देखि यो । त्यो हो— मन परेको विद्यार्थीलाई खेलकुदमा लगाउने । यस मानेमा पुरुष अगाडि देखि ए । महिला पछाडि । किन त्यसो गरे त शिक्षकहरूले ? १० जना शिक्षकले मात्रै यसको जवाफ दिए । तिनमा पनि अधिकांश पुरुषै थिए । उनीहरूको एउटै भनाइ थियो— शिक्षकको कर्तव्य भनेको विद्यार्थीको विकास हो ।
राम्रा विद्यार्थीसँग शिक्षक घुलमिल हुने निश्चित कारण रहेछन् । अध्ययनले भन्छ— घुलमिल हुँदा विद्यार्थी प्रोत्साहित हुन्छन् । सहयोगी बन्छन् । तह लाग्छन् । चौतर्फी विकास मा क्रियाशील हुन्छन् । एकअर्काको मनोभावना अनुसार चल्छन् । यसरी हेर्दा शिक्षकको उद्देश्य स्पष्ट छ । विद्यार्थीसँग घुलमिल हुने उद्देश्य । झयाम्मिने उद्देश्य । यस मानेमा शिक्षकहरू ‘स्वार्थी’ देखि ए । विशेष विद्यार्थीलाई मात्रै विशेष सेवा गर्नेहरू । सहयोग गर्नेहरू । नजिकिनेहरू । थोरै विद्यार्थीलाई बढी समय खर्चिनेहरू ।
घुलमिलले के गरयो ?
राम्रा विद्यार्थीसँग शिक्षक घुलमिल भए । परिणाम के भयो त ? अध्ययनले भन्छ— पढाइमा जागरुक भए । लगनशील बने । ललितपुरका केही विद्यार्थीमा भने खासै सुधार भएन । एकछिन बुझे । फेरि बिर्सिए । उनलाई नजिकिनु र टाढिनुको खासै अर्थ रहेन । यो अपवाद मात्रै थियो । बाँकी शिक्षकहरूले एकसाथ भनिदिए ‘रराम्रो सुधार भयो’ । के रराम्रो भयो ? के सुधार भयो ? यी प्रश्नहरूको खासै उत्तर आएन । शायद शिक्षकहरूले यसरी हेरेकै थिएनौँ । हेर्दैनथ्यौँ । अब हेर्नुपर्ने रहेछ भन्ने चेत पायौँ । यो स्वीकारोक्तिले भन्छ— शिक्षकहरूगहिरिँदा रहेनछौँ । उत्रिंदा रहेछौँ । कुरा को टुङ्गोमा नपुग्नेहरू । अन्तरसम्बन्ध नखोज्नेहरू । यस्तो स्थितिले शिक्षकलाई गहिरिन अनुरोध गरयो । कारणमागहिरिन । असरमागहिरिन । प्रक्रियामागहिरिन । उपलब्धिमागहिरिन । लगानीमागहिरिन । सन्दर्भमागहिरिन ।
के ऐना हेर्यौं ?
उपदेश (Preaching) मा ऐना हेरेनौँ । सन्दर्भ हेरेनौँ । शिक्षणमा हेर्नुपथ्र्यो । त्यहाँ पनि उपदेशी (preacher) नै बन्यौँ । यहीँनेर ‘घुलमिल गर्दा विद्यार्थीले कत्तिको मन पराए त’ भनी प्रश्नगर्यौ । ७३ जनाले भने— ‘अत्यधिक मन पराए’ । १७ जनाले ‘ठीकै’ भने । चार जनाले थाहा छैन भने । थप चार जनाले खुट्याउनै सकेनन् । खुट्याउन नसक्नेहरूमा निजीका दुई शिक्षक थिए । सरकारीका दुई शिक्षक । दुइटी महिला थिए । दुइटा पुरुष । चार जनामा तीन जना काठमाडौँका । अर्का कपिलवस्तुका ।
ऐना हेर्ने शिक्षकले प्वाक्कै भने— पढाउने शैली मन पराए । छलफल गराउने प्रक्रिया मन पराए । मित्रवत् व्यवहार गर्ने शैली मन पराए । सरल वाक्य मन पराए । अतिरिक्त क्रियाकलाप गर्ने गराउने कुरा मन पराए । कथा मन पराए । कविता मन पराए । शारीरिक सजाय न गर्ने बानी मन पराए । यो उत्तरले भन्छ— विद्यार्थीको मन पर्ने शिक्षक बन्ने हो भने पठनपाठनको शैली बदलौँ । भाषण घटाऔँ । उपदेश घटाऔँ । छलफल प्रक्रिया अपनाऔँ । विद्यार्थी र शिक्षकको दूरी घटाऔँ । विद्यार्थीलाई अतिरिक्त काममा लगाउने योजना बनाऔँ । पाठमा कथा जोडौँ । कवितामा पाठ पढाऔँ । शारीरिक सजाय नदिऔँ । सरल वाक्यमा पढाऔँ ।
विद्यार्थीले आफ्नो के कुरा मन पराउँछन् भनी नखोज्ने शिक्षक पनि रहेछौँ । अध्ययनले त्यही भन्यो । यस अर्थमा बेवास्ते शिक्षक । अलमस्त शिक्षक । त्यसमा तीन जना पुरुष रहेछौँ । दुई जना महिला । कपिलवस्तुका । ललितपुरका । काठमाडौँका । त्यसमा पनि ३ जना निजी विद्यालयका । दुई जना सरकारीका । यो जानकारीले भन्छ— बेवास्ते शिक्षकहरू ‘ढुङ्गनेपाटी’ रहेछौँ । संवेदनहीन । पेशाले संवेदनशील खोज्ने । बानी संवेदनहीन हुने । यहीँनेर विद्यार्थीले हामीलाई चिने । हामीले उनलाई चिनेनौँ । हराम्रो नकारात्मक चित्र बनाए । त्यहीँ हामी चुक्यौँ । यसले पाठ पढायो— विद्यार्थीको ऐनामा आफ्नो अनुहार खोजौँ ।
कस्तो व्यवहारलाई विद्यार्थीले मन पराएनन् ?
अध्ययनले भन्छ— अर्ति दिने शिक्षकलाई विद्यार्थीले मन पराएनन् । यस्ता अर्तिवाल शिक्षकहरू निजीमा रहेछन् । सरकारी रहेछन् । मदरसामा रहेछन् । ‘सरकारका निजी स्कूल’ मा रहेछन् । पुरुष रहेछन् । महिला पनि रहेछन् । धेरै प्रश्न सोधिरहने शिक्षकलाई पनि विद्यार्थीले मन पराएनछन् । शारीरिक दण्ड दिने शिक्षकलाई ठ्याक्कै रुचाएनछन् । भाषण दिने शिक्षकबाट पनि विद्यार्थी वाक्क भएछन् । दाङमा चिट चोर्न नदिने र काठमाडौँमा हल्ला गर्न नदिने शिक्षकलाई पनि विद्यार्थीले मन नपराएको देखि यो । यसबाट बुझयिो कि शिक्षक आफैँ जानकार छौँ । के ती जानकारहरूले अर्ति हटाउन सक्छौँ । के धेरै प्रश्न गरेर दिक्क बनाउने बुद्धि बदल्न सक्छौँ ? के शारीरिक दण्ड नदिने प्रतिज्ञा गर्न सक्छौँ ? के भाषण दिने बानी हटाउन सक्छौँ ? के चिट चोर्नै नपर्ने प्रश्न बनाउन सक्छौँ ? के हल्लाबाटै विषयवस्तु निकाल्ने, छलफल गराउने र पाठसँग जोड्ने तागत जन्माउन सक्छौँ ? यी र यस्ता प्रश्नको उत्तर खोजौँ । आफैँसँग । साथीसँग । प्राविधिज्ञसँग । विद्यार्थीसँग ।
कति शिक्षकले विद्यार्थीले आफूलाई मन पराउन्नन् भन्ने बुझयौँ त ? अध्ययनले भन्छ— ९८ जनामध्ये जम्मा १९ जनाले । तिनमा पनि बढी पुरषले । सरकारी स्कूलकाले । बाहुनक्षेत्रीले । यसबाट थाहा हुन्छ— अझै धेरै शिक्षकहरू बेखबर छौँ । आफूलाई अरूको आँखामा हेर्दैनौँ । आफैँले प्रत्याभूति गर्दैनौँ । जसलेगर्यौ ती ३५ जना थियौँ । उनीहरूले विद्यार्थीको शारीरिक भाषा थाहा पाए । कक्षाकोठाको लक्षण पहिल्याए । विद्यार्थी उदासीन भएको देखे । किन त्यसो गरे विद्यार्थीले भनी खोजबिन गरे । यस्ता खोजका शिक्षकहरू ६० जना थिए । बेवास्ता गर्नेहरू २५ जना । बाँकी अरू थिए । कारण खोज्ने शिक्षकहरूमा ४३ जना पुरुषै थिए । अधिकांश बाहुनक्षेत्री नै थिए । सरकारी विद्यालयकै थिए । निजी विद्यालयका पनि कम थिएनन् । तर उत्तर खोज्ने शैली भने ‘भिडान’ को देखि यो । व्यावसायिक देखि एन । शिक्षक–अनुसन्धाताको देखि एन । पुलिस र आरोपित व्यक्तिको देखि यो ।

मन नपराउने विद्यार्थीसँग शिक्षकले के गरे ?
शिक्षकहरूले चार कार्य गरे । पहिलो मन नपराउने विद्यार्थीसँग व्यक्तिगत रूपमा भेटे । यस्ताहरू थोरै थिए । दोस्रो थरीले समूहमा भेटे । यी खाले शिक्षक पनि धेरै थिए । तेस्रो थरीले कक्षामा भेटे । यो कोटिका शिक्षकहरू धेरै थिए । चौथो थरीले कक्षाकोठाबाहिर भेटे । समूहमा भेट्नेमा बाहुनछेत्री धेरै थिए । सरकारीका बढी थिए । यसबाट थाहा भयो— शिक्षकलाई एक समूहले मन पराएन । प्रश्न रह्यो— मन नपराउने समूह र अरू समूहबीचको अन्तरक्रिया के रह्यो त ? शिक्षकले कसरी सन्तुलन गरे त ? यी प्रश्नका उत्तर खोज्नै बाँकी छ । तर शिक्षकहरूले भनिदिए हराम्रो भेटघाटले हामी बदलियौँ । व्यवहारमा परिवर्तनगर्यौ । यसो भन्नेहरू ८६ जना थिए । त्यसमा ६३ जना पुरुष । ५८ जना बाहुनछेत्री । सरकारी स्कूलका ४७ जना, निजीका ३४ जना । तर केही ढिट शिक्षकहरू पनि भेटियौँ । आफूलाई नबदल्नेहरू । दाङका केही सरकारी स्कूलका । काठमाडौँका केही निजी स्कूलका । डडेलधुराका केही शिक्षकलाई भने तालिमलेरूपान्तरण गरिदियो ।रूपान्तरित शिक्षकहरूले एकसाथ भने— “हामीले विद्यार्थीको मनोविज्ञान बुझयौँ । विद्यार्थीकेन्द्रित शिक्षणविधि लागूगर्यौ ।” यस क्रममा शिक्षकहरूले आआफ्नागुणहरू पहिल्याए । उनीहरूले बुझे— विद्यार्थीले मन पराउने शिक्षक बन्न आत्मविश्वास चाहिने रहेछ । अनुभवको आदानप्रदान गरिरहनु पर्दोरहेछ । समूह छलफल जरुरी रहेछ । सोधखोज अनिवार्य रहेछ । बालमनोविज्ञान जान्नै पर्दोरहेछ । विद्यार्थीको पृष्ठपोषण खोज्नै पर्ने रहेछ । नम्र र मेहनती बन्नै पर्दो रहेछ । शिक्षक बन्नु पर्दा कथा, कविता जस्ता भावात्मक कुरा जान्नै पर्ने रहेछ । यहाँनेर प्रश्न रह्यो— के हामी शिक्षकहरू त्यसो गर्न तयार छौँ त ?
मन पराइने शिक्षक बन्न केले बाधा दियो ?
अधिकांश शिक्षकलाई मन पराइने व्यक्ति बन्ने रहर रहेछ । त्यस्तो बन्नमा बाधा पनि रहेछन् । शिक्षकहरूले ती बाधा ठम्याए । ती थिए— समयले साथ दिएन । विद्यार्थी सङ्ख्या धेरै भयो । पूर्वाधारको कमी भयो । दाङका शिक्षकले त भनिदिए— प्रविधिको प्रयोग भएन । त्यहींका महिला शिक्षकहरूले ठाने जातिगत र भाषागत भिन्नता भयो । कमजोर विद्यार्थी भए । सिन्धुपाल्चोकका शिक्षकले पनि त्यसै भने । ललितपुरका शिक्षकले पाठ्यपुस्तक समयसापेक्ष भएन भने । यसरी हेर्दा हामी शिक्षकले आफैँलाई प्रश्न तेस्र्यायौँ । के फुर्सदिला शिक्षकलाई मात्रै विद्यार्थीले मन पराएका छन् त ? सानो कक्षाको आकार भएका कक्षाका विद्यार्थीले मात्रै शिक्षकलाई मन पराएका हुन् त ? के प्रविधिवाला शिक्षकलाई मात्रै स्वीकारेका हुन् त ? के एकलभाषी विद्यार्थीलाई मात्रै मन पराएका हुन् त ? के एकलजाति वा एकल जातका विद्यार्थीलाई मात्रै ध्यान दिएका हुन् त ? के मेधावी विद्यार्थीलाई मात्रै मन पराएका हुन् त ? शिक्षकहरूकै उत्तरले भन्छ– हैन । छैन । हुन सक्तैन । हुँदैन । यो स्थितिमा हामी शिक्षकले आफैँलाई रक्षात्मक स्थितिमा राख्यौँ । कि राम्रा छौँ भन्ने दाबी गरेर । कि अन्तै दोष खोजेर । यस स्थितिमा शिक्षकले केगर्यौ त ? अध्ययनले भन्यो— हामीलेगनगन गरिरह्यौँ । आर्थिक अभाव छ भनेर । शिक्षक दरबन्दी छैन भनेर । निजी विद्यालयले बढी बोझ् बोकाए भनेर । श्रव्यदृश्य सामग्री चाहियो भनेर । यसरी हेर्दा हाम्रा प्रयासहरू नगण्य रहे । माग धेरै रहे ।गनगन धेरै रहे । कुरा धेरै भए । काम कम भए । त्यसैले हामी शिक्षकले सबैको ‘हाईहाई’ पाएनौँ ।
सैद्धान्तिक आधार के त ?
हामीले विद्यार्थीलाई आफूजस्तै बनाउन खोज्यौँ । तर विद्यार्थीले ऊ जस्तै बन्न चाह्यो । आफैँजस्तो । यस अर्थमा शिक्षक र विद्यार्थीका ‘आफूहरू’ टकराए । त्यो टकरावले सहकार्य खोज्यो । सहअस्तित्वको सिद्धान्त खोज्यो । जाँ पाल सात्र्रको शब्दावालीमा ‘अस्तित्व व्यवस्थापन’ । त्यहीँ हामी चुक्यौँ । त्यसै गरी हाम्रा विद्यार्थीले प्राविधिक शिक्षक खोजे । हामी ‘राजनीतिक शिक्षक’ बन्यौँ । आडमा बस्ने । आड दिने । आड खोज्ने । राजनीतिक दलको आड । त्यहीँ खाडल बन्यो । यो खाडलले अर्को सिद्धान्त खोज्यो । राजनीतिक दललाई पुनः शिक्षण गर्ने । विनिर्मित गर्ने शिक्षण । पुनर्निर्मित गर्ने शिक्षण । यसरी प्रस्तुत अध्ययनले जोन दिवे सम्झयो । भिगोत्सी सम्झयो । पियाजे सम्झायो । हिन्दू पुर्खाको नारद सम्झायो । बुद्धमार्गी पुर्खाकागौतमबुद्ध सम्झयो । इस्लामका मोहम्मद सम्झयो । इसाइका येशु नै सम्झयो । डिवेवाट पुनर्निर्मित हुन । भिगोरस्कीबाट विनिर्मित हुन । नारदबाट प्रश्न । आफूलाई प्रश्न । अरूलाई प्रश्न । बुद्धबाट सन्देह जन्माउन । त्यहीँ उत्तर खोज्न र खोजाउन । मोहम्मदबाट प्रायोगिक बन्न । येशुबाट सन्दर्भमै शिक्षा दिन । सन्दर्भमै शिक्षा लिन ।
तेस्रो आधार सिकाउने कि सिक्न लगाउने भन्ने प्रश्नले दियो । हामी शिक्षकहरू सिकाउने पार्टीमा दरियौँ । विद्यार्थीलाई सिक्न लगाउने बुद्धि नै जानेनौँ । त्यहीँ शिक्षण र सिकाइका सिद्धान्त बुझेनौँ । आफूले सिकाउँदा कुन सिकाइ भयो भनी नखोज्नेहरू । विद्यार्थीले सिक्दा कुन शिक्षण भएछ भनी नखुट्याउनेहरू । यहीँ अन्तराल भयो । शिक्षण र सिकाइको अन्तराल । न विद्यार्थीले बुझे । न शिक्षकले बुझयौँ । चौथो आधार— व्यक्तित्वले दियो । शिक्षकको व्यक्तित्वले । विद्यार्थीको व्यक्तित्वले । हामी शिक्षकले आफ्नो व्यक्तित्व ठम्याएनौँ । विद्यार्थीको व्यक्तित्व पनि खोजेनौँ । यो खोजहीन स्थितिले शिक्षकलाई ठप्पावादी बनायो । एउटा ठप्पाका शिक्षक । अर्को ठप्पाका विद्यार्थी । यी कित्ताकाटे ठप्पाहरू मिलेनन् । मिलाइएनन् । यहीँनेर सैद्धान्तिक बाटो हो— शिक्षक र विद्यार्थी दुवैको व्यक्तित्व (personality cult) चिनौँ । चिनाऔँ । तदनुसार व्यक्तित्व मिलाउने वा बुझने बुझाउने उपक्रम गरौँ । पाँचौँ आधार— प्रत्याभूति हो । शिक्षकले विद्यार्थीलाई दोष्यायौँ । विद्यार्थीले शिक्षकलाई । तर आफू विद्यार्थी हुँदा के खोज्यौँ भनी शिक्षकले बिर्सियौँ । प्रत्याभूति गरे नौँ । यस अर्थमा आधुनिकोत्तर (post modern) सोच नै बोेकेनौँ । कि कार्यगत (functionalist) बन्यौँ कि आलोचनात्मक (critical) । बीचको बाटै खोजेनौँ । यसैले हामी मन पराइयौँ । मन पराइएनौँ । कतिले मन पराएछन् त भनी नहेर्नेहरू । किन मन पराए भनी नसोध्नेहरू । किन मन पराएनन् त भनी नघोत्लिनेहरू । यस अर्थमा ‘बेखबर शिक्षकहरू’ ।
सार के ?
यस अध्ययनबाट अनेकन् सार खिँच्न सकिन्छ । पहिलो सार हो— शिक्षक सबै विद्यार्थीका बनेनौँ । केहीका बन्यौँ । राम्राका । आज्ञापरायणका । मेहनतीका । बाँकीका लागि हामी परचक्री भयौँ । सम्बन्धै नभएकाहरू । दोस्रो निचोड हो— हामीले कम मेहनतीलाई आफन्त बनाएनौँ । उसको क्षमता खोजेनौँ । तदनुरूपको व्यवहार के हुन सक्छ भनी खुट्याएनौँ । यस अर्थमा हामी शिक्षक भएनौँ । उपदेशक भयौँ । उपदेशकलाई विद्यार्थीले रुचाएनन् । उनीहरूले शिक्षक खोजिरहे । माउ कुखुरीजस्ता शिक्षक । ठूला शब्दमा भन्दा सहजकर्ता (scaffolder) ।
तेस्रो सार हो— मन नपराउने विद्यार्थीको दुनियाँले सल्लाह र डोहोर्याई (गाइडिङ एन्ड काउन्सेलिङ) खोज्यो । हामीले त्यो बाटै लिएनौँ । केराउने बाटो लियौँ । बढाउने बाटो लियौँ । फेरि पनि विद्यार्थीले हामीलाई मन पराएनन् । चौथो सार हो— शिक्षण पेशाले दैनिक प्रत्याभूति खोज्दो रहेछ । कक्षापिच्छेको । विषयपिच्छेको । विद्यार्थीको व्यक्तित्वपिच्छेको । शिक्षकपिच्छेको । यसरी खोजिने प्रत्याभूतिलाई हामीले वास्तै गरेनौँ । पाचौं सार हो— हामी अथाह क्षमताका भण्डार छौँ । त्यो कहिल्यै खोजेनौँ । पुर्खाकै बुद्धिको पनि परख गरेनौँ । वीर्य रोकेर ज्ञान खोज्ने बुद्धिको । सास रोकेर ब्रह्म खोज्ने चिन्तनको । खाना रोकेर शरीर जियाउँने चिन्तनको । अनुभवजन्य ज्ञान रोकेर चिन्मय खोज्ने प्रक्रियाको । जिब्रो दोब्य्राएर अमृतपान गर्ने हथौडीको । पेट घुमाएर स्वस्थ बन्ने तर्किवको । तेज बोकेर ब्रह्माण्ड विचरण गर्ने मार्गको । आफूले आफैँलाई प्रश्न सोधी विश्वज्ञेयी बन्ने तागतको स्रष्टाबाट द्रष्टा बनी ज्ञानार्जन गर्ने सिकार शैलीको । यसरी हामी भीरको चिण्डो बन्यौँ । के यो चिण्डोको स्थिति बदल्न सक्छौँ त ? सबै विद्यार्थीका ‘प्यारा शिक्षक’ बन्न सक्छौँ त ?



