बुद्धः एक सफल शिक्षक

हाम्रा विद्यालयका छात्रछात्रालाई बुद्ध कहाँ जन्मेका हुन् भनी सौध्यौं भने प्रायः सबैले लुम्बिनी भनी ठोकुवा गर्लान् । तर तिनलाई बुद्ध अर्थात् सिद्धार्थ गौतम कहिले जन्मेका रहेछन् भनी सोध्यौं भने शायद सबै नै अल्मलिएलान् ! किनभने; वि.सं. २०६६ को वैशाख पूर्णिमा (२६ वैशाख)लाई हामीले २५५३औं  बुद्धजयन्तीका रूपमा त मनायौं; तर, त्यो बुद्धको जन्मदिवस भने होइन । त्यो त बुद्ध परलोक भएको अर्थात् उनले महापरिनिर्वाण प्राप्त गरेको दिन हो । बुद्धको जन्म त्योभन्दा ८० वर्ष पहिले अर्थात् आजभन्दा २६३३ वर्षअघि नै भएको हो । त्यस अर्थमा सिद्धार्थ गौतम ईस्वी सन्भन्दा ६२३ वर्ष पहिले जन्मेको सिद्ध हुन्छ । बौद्ध धर्मावलम्बीहरू ईसापूर्व ६२३ लाई नै बुद्धको जन्म वर्ष मान्दछन् ।

संयुक्त राष्ट्रसंघले पनि सोही कुरा लाई मान्यता दिँदै आएको छ । हामीले पनि हाम्रा विद्यार्थीहरूलाई बुद्धको जन्म वर्ष ई.पू. ६२३ हो भन्नु उचित हुन्छ । तर, यसमा इतिहासकारहरूको मत अलिक भिन्न छ र त्यसलाई तिरस्कार गर्न पनि मिल्दैन ।

भगवान् श्रीरामचन्द्र र श्रीकृष्णझैं सिद्धार्थ गौतमबुद्ध कुनै पौराणिक चरित्र वा पात्र होइनन् । सिद्धार्थ गौतम हामी/तपाईं जस्तै मानव जुनी पाएका एक व्यक्ति थिए । हाम्रै इतिहासको कालखण्डमा उनी जन्मे र मरे पनि । आफ्नै साधनाले बोधि (ज्ञान) प्राप्त गरेर बुद्ध कहलाए । पछि पछि भगवान् पनि कहलाउँदै गए ।

बुद्धको ८० वर्षको जीवनकालमा घटेका घटनाहरू यत्रतत्र पढ्न पाइन्छन् । भारत वर्षको प्राचीन इतिहासको आधारमा बुद्धको निर्वाण तिथि ई.पू. ५४३ नभइकन त्यसको ६० वर्षपछि को मिति, ई.पू. ४८३ हो भन्ने देखिन्छ । इतिहासकारहरूले चन्द्रगुप्तको राज्यकाल र सिकन्दरको आक्रमणका तिथिहरूलाई प्रामाणिक मान्दै बुद्ध परिनिर्वाण तिथि ई.पू. ४८३ ठहर गरेको पाइन्छ । भारतका प्रख्यात इतिहासकार राहुल सांकृत्यायनलाई समर्थन गर्दै हाम्रा बौद्ध विद्वान् भुवनलाल प्रधानले पनि सिद्धार्थको जन्म ई.पू. ५६३ र परिनिर्वाण ई.पू. ४८३ लाई नै ऐतिहासिक मान्यता दिएका छन् । हामीले बुद्धजयन्तीलगायत अन्यत्र प्रयोग गर्ने परिनिर्वाण तिथि परम्परागत मात्र हो, ऐतिहासिक होइन भन्ने इतिहास विद्हरूको कथन छ । विभिन्न विश्लेषकहरूले पनि बुद्धकाल ई.पू. ५६३–४८३ लाई विशेष आधिकारिक रूपमा उल्लेख गरेको पाइन्छ । उपर्युक्त दुई प्रकारका कालखण्डलाई तुलनात्मक रूपमा चित्राङ्कन गर्दा यो कुरा बढी स्पष्ट र सहज हुन्छ । (हे. पृ.५१) बुद्धकालमा मतान्तर रहे तापनि बुद्धको जन्मस्थल, बुद्धले गृह त्याग गरेको उमेर (२९ वर्ष), ज्ञान प्राप्त गरेको उमेर (३५ वर्ष) र त्यसपछि का ४५ वर्ष धर्मोपदेशमा लागेको कुरा मा विवाद देखिँदैन । यसै गरी सिद्धार्थ जन्मेको केही (७ दिन) दिनभित्रै माता मायादेवी दिवङ्गत भएको कुरा मा पनि सबै सहमत छन् ।

जन्मस्थल बहस
जन्मस्थलका कारण सिद्धार्थ गौतमबुद्ध नेपाली हुन् वा हिन्दुस्तानी हुन् भन्ने विवाद बेलाबखत चर्कने गरेको छ । वास्तवमा जुन कालखण्डमा बुद्धको जन्म भयो त्यस बेला आजका धेरैजसो राष्ट्रहरू जन्मेकै थिएनन् । आजको भारत वा हिन्दुस्तान अंग्रेज साम्राज्यबाट स्वतन्त्र भएर सन् १९४७ मा जन्मेको हो । बुद्धको जन्म त्योभन्दा २५७० वर्ष पहिले (सन् १९४७ र ६२३ ई.पू.को जोडफल) भएको थियो । बुद्ध जन्मेको ३१८ वर्षपछि (बुद्ध जन्म ५६३ ई.पू. र अशोकको लुम्बिनी यात्रा २४५ ई.पू.को भिन्न फल) सम्राट् अशोकले स्थापना गरेको अशोक स्तम्भ आजसम्म पनि नेपालको लुम्बिनीमा खडा छ । सन् १८१६ को सुगौली सन्धि देखि यो क्षेत्र नेपाल देशको अभिन्न अङ्गको रूपमा रहेको छ । यो आधारमा भन्नुपर्दा, सिद्धार्थ गौतम मात्र लुम्बिनीमा जन्मेनन्, नेपाल स्वयं पनि लुम्बिनीमा जन्मियो भन्न सकिन्छ । कसैले बुद्ध नेपालमा जन्मिएनन् बरु बुद्ध जन्मिएको ठाउँमा नेपाल जन्मियो भन्छ भने त्यसलाई पनि अन्यथा ठान्न नमिल्ला ।

बोधिज्ञान प्राप्त गरे पछिका ४५ वर्ष बुद्धले एक शिक्षकका रूपमा शिक्षा प्रदान गरेर बिताए । हामीले पनि बुद्धलाई एक सफल शिक्षककै रूपमा ग्रहण गरेर उहाँको शिक्षालाई व्यवहारमा उतार्ने जमर्को गर्नु बढी बुद्धिमानी हुन्छ । बुद्धका शिक्षाहरू अन्धानुसरणका सामग्री होइनन् । तिनलाई आफैंले परीक्षा गरेर प्रयोगमा ल्याउनुपर्ने कुरालाई बुद्धले नै ‘कालाम–सूत्र’ मा उल्लेख गरेका छन् । (देव रञ्जित, ‘बुद्ध धर्म र संस्कृति’, २५३३औं बुद्धजयन्ती स्मारिका) बुद्धको पहिलो उपदेशमा नै भनिएको छ दुः ख निवारणको बाटो ‘मध्यम मार्ग’ हो । अति विलासी जीवन र अति कष्टकर तपस्वी जीवन दुवैलाई त्यागेर बीचको बाटो लाग्नु नै शान्ति प्राप्तिको व्यावहारिक बाटो हो । कुनै पनि अतिवाद बुद्धमार्ग होइन । बुद्धमार्गमा लाग्नका लागि अर्थात् दुः ख निवारणको बाटो पहिल्याउनका लागि आठवटा निर्दिष्ट पाइलाहरू चाल्नुपर्ने हुन्छ । ती हुन्— ठीक दृष्टि, ठीक सङ्कल्प, ठीक वचन, ठीक कर्म, ठीक जीविका, ठीक प्रयत्न, ठीक स्मृति र ठीक समाधि । ठीक भन्नाले सम्यक्को अर्थ र स्थितिलाई बुझनुपर्छ । विद्यालय शिक्षामा उपयुक्त स्तर को व्याख्या गरेर यी शिक्षा प्रचार गर्नु वाञ्छनीय हुन्छ । नेपालीले आफ्नो गुमेको शान्ति पुनस्र्थापन पनि शिक्षाकै सहारा बढी उपयुक्त होला ।

सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीबारे विद्यालय स्तर मा उपलब्ध सामग्री पर्याप्त छैन । लुम्बिनी विश्व सम्पदा सूचीमा समावेश समेत भइसकेको अवस्थामा त्यसबारे यथोचित शैक्षिक सामग्रीको विकास हुनु नितान्त आवश्यक देखिन्छ ।

सम्राट अशोकले ई.पू. २४५ अर्थात् आजभन्दा २२५४ वर्ष पहिले आफ्नो धर्मयात्राको सिलसिलामा लुम्बिनी पुगेर शाक्यमुनि भगवान् बुद्ध जन्मेको ठाउँ यही हो भनेर किटानसाथ अभिलेख कुँदेर शिलास्तम्भ स्थापना गरिदिएका थिए । सिद्धार्थ जन्मेको प्रामाणिक सो स्तम्भ आजसम्म पनि त्यहीं खडा छ । तर, ई.सं. १८९६ (वि.सं. १९५२) अर्थात् अशोकले स्तम्भ खडा गरेको २,१३९ वर्षपछि मात्र सो स्तम्भ र त्यसको शिलालेख प्रकाशमा आयो । यस कार्यमा जर्मनका पुरातत्वविद् डा. ए. फुहररको निर्णायक खोज र उहाँलाई विशेष सहयोग पुरयाउने पाल्पाका तत्कालीनगभर्नर जनरल खड्गशमशेर प्रशंसाका पात्र बनेका छन् । सो स्तम्भको कुल उचाइ ३० फुट १० इन्च छ । जमिन देखि माथि १७ फुट २ इन्च छ । जमिनमुनि १३ फुट ८ इन्च गाडिएको छ । तल्लो ६ फुट ९ इन्च खण्डमा छिनोले खोपेका डोब छन् भने बाँकी पूरै स्तम्भ (२४ फुट १ इन्च) चिप्लो र पालिसदार छ । स्तम्भको फेदबाट ९ फिट ५ इन्च माथि शिलालेख भेटिन्छ । स्तम्भमा पाँच हरफको अभिलेख कुँदिएको छ । जमिनमा उभिएर सजिलै पढ्न सकिने उचाइको स्थितिमा सो अभिलेख रहेको छ । अभिलेखमा लेखिएको ‘यहाँ शाक्यमुनि बुद्ध जन्मे’ भन्ने कुरा स्पष्ट छ । चिनियाँ यात्री ह्वेनसांगले अशोक स्तम्भको शिरमा घोडाको मूर्ति रहेको उल्लेख गरेका छन् । तर, त्यो मूर्ति भने हाल विद्यमान छैन । केही प्राकृतिक कारण, जस्तै चट्याङ पर्नाले खम्बा चर्किएको र घोडाको मूर्ति नष्ट भएको अनुमान गरिएको छ । जेहोस् यो स्तम्भलाई जुन कालिगढीमा गोलाकार र सतह चिल्लो बनाइएको छ त्यसको प्रशंसा धेरैले गरेका छन् । विशेषज्ञ स्वयम्भूरत्न तुलाधरको अनुमान मा यसको तौल ३७ टन जति छ । यस्तो स्तम्भलाई मिर्जापुर देखि लुम्बिनीसम्म लगभग ५००० मानिसले विशेष गाडामा गुडाएर ल्याएको हुनुपर्छ भन्ने अनुमान गरिएको छ ।

लुम्बिनीको मुख्य पहिचानको रूपमा अशोक स्तम्भ २२ सय वर्षभन्दा बढी समय देखि एकै ठाउँमा स्थिर छ । सिद्धार्थ जन्मनुभन्दा अगाडि महारानी मायादेवीले नुहाएको पोखरी र नजिकैको तेलार नदी पनि जहाँको त्यहीं छ । सिद्धार्थ–जन्म–स्मारकको रूपमा मायादेवीले सालको हाँगा समातिर हेको र साथमा बालक सिद्धार्थ समेत रहेको मूर्ति लुम्बिनीको अर्को विशेषताको रूपमा रहेको छ । यो मूर्ति ईस्वी सन् १८९८ मा पूर्णचन्द्र मुखर्जीको उत्खनन्बाट प्राप्त भएको हो । त्यही मूर्ति स्थापना गरेर केशर शमशेरले मायादेवी मन्दिर बनाइदिए सन् १९३३–१९३९ तिर । त्यो मन्दिरमा पछि पीपलको विशाल रूख हुर्कियो । पुरातात्विक उत्खनन् गर्ने क्रममा एक दशकअघि सोरूख ढालियो । हाल लुम्बिनीमा त्यो पीपलको अस्तित्व छैन । मन्दिर पनि अर्कै बनेको छ ।

शाक्यमुनि बुद्धले वैशाख पूर्णिमाका दिन सालकोरूखको छहारीमा जन्म लिए । त्यसको ८० वर्षपछि दुईवटा सालको वृक्षको बीचमा पल्टेर कुशीनगरमा परिनिर्वाण प्राप्त गरे । त्यसअघि ३५ वर्षको उमेरमा बोधगया (बिहार, भारत) मा एक पीपलको बोटमुनि वैशाख पूर्णिमाकै दिन बोधिज्ञान प्राप्त गरे । त्यसको लगत्तै बोधगयाबाट वाराणसीको सारनाथमा प्रथम धर्म–देशना पीपलको रूखमुनिबाटै शुरु गरे । तसर्थ नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ तथा कुशीनगर बौद्धहरूका प्रमुख तीर्थधाम बन्न पुगेका छन् ।

सन्दर्भसामग्री
१.    भुवनलाल प्रधान, शाक्यमुनि बुद्धको स्मारक, युवा बौद्ध समूह २५४४औं बुद्धजयन्ती, काठमाडौं ।
२.    राहुल सांकृत्यायन, दर्शन, दिग्दर्शन, किताब महल, इलाहावाद, सन् १९९० को संस्करण ।
३.    भिक्षु सुदर्शन, महास्थवीरः लुम्बिनीको काखमा, हिमाली बौद्ध प्रशिक्षण संस्थान, ललितपुर, सन् १९९८, बुद्ध सम्वत् २५४२, वि.सं. १९९८ ।

अन्य सम्पर्कः डा. लक्ष्मण शाक्य, डा. तुलसीराम वैद्य ।

शिक्षक  मासिक, २०६६ जेठ अंकमा प्रकाशित । 


commercial commercial commercial commercial