प्रतिक्रिया र सुझाव

फेरि यस्तो नहोओस् !

प्रिय हितान राम्जाली
अनाहकमा समाप्त तिम्रो जीवनप्रति यी दुई शब्द श्रद्धासुमन ।

शिक्षक मासिकको २०६५ फागुन अङ्कको ‘ गल्तीपछि पश्चात्ताप’ शीर्षकमा आँखा पुग्यो । पढ्दै जाँदा मुटु नै भक्कानियो । आँखा रसायो । मैले तिमीसँग यति नमीठो भेट होला भन्ने सपनामा पनि चिताएको थिइनँ ।

तर विडम्बना ! भइदियो ठ्याक्कै विपरीत । तिमीले अकालमा ज्यान फालिसकेछौ । जीवनका बारेमागहिरिएर नसोची हलुका पारामा मनन गरे छौ । आखिर जे–जस्तो चोट र विवशता परे पनि ज्यानै फाल्नु समस्याको समाधान किमार्थ होइन ! तिम्रा विषयमा भनिएका भनाइ पढ्दा तिमी एक इमान्दार, गम्भीर, लजालु प्रवृत्तिका विद्यार्थी रहेछौ । साथीको लहलहैमा लागेर जीवनमा तिमीले पहिलो चोटि त्यो गल्ती गरेका रहेछौ । तिम्रो विषयमा बुबालाई सम्पूर्ण कुरा थाहा हुँदाहुँदै पनि छोरो सुधार्ने क्षणिक सनकमा सम्पूर्ण विद्यार्थीसामु लट्ठीले कुट्नु, त्यही घटनालाई लिएर तेस्रो सजायको रूपमा हेडसरको कुटाइ खानु तिम्रो नियति बन्यो । जुन सजायले तिमीलाई मान सिक तनाव उत्पन्न गरायो । तिमीले आफू अपमानित र सार्वजनिक रूपमा बेइज्जत भएको ठानी विद्यालय छाड्यौ ।

जतिखेर तिमीलाई सद्भाव र सहानुभूतिको खाँचो थियो त्यतिखेर तिमीले कठोर दण्ड पायौ । जहाँनिर तिमीलाई माया र प्रेरणाको आवश्यक्ता थियो त्यहाँनिर उपेक्षा र अपमान पायौ । यदि समयमै तिमीले तिम्रा असल साथीहरूको साथ पाएका भए शायद तिमीले त्यस्तो कठोर निर्णय गर्ने थिएनौ । जे होस् घटना घटिसकेको छ । तिम्रा बुबा र हेडसर उक्त घटनाको कानूनी बन्धनबाट जोगिनु भए पनि मृत आत्माले उहाँहरूलाई सधैँ सताइरहनेछ ।

तिमी माथि भएको सजायले त्रिपुरेश्वर मावि, सुर्खेतलाई मात्र होइन मुलुकभरका सबै निजी वा सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक, प्रधानाध्यापकहरूलाई एउटा सन्देश दिएको छ । कसैबाट पनि अब यस्ता गल्ती नदोहोरिउन् ! तिम्रो मृतात्माको चीर शान्तिको कामना गर्दै बिदा हुन्छु ।

सेयरसिंह कार्की
बालसंरक्षण समिति, भोडेवडार, लमजुङ

एकताको सन्देश देओस् !

शिक्षक पत्रिका धेरै शिक्षकहरूमाझ् लोकप्रिय बन्ने क्रममा छ । म आफू यसको प्रथम अङ्क देखि कै नियमित पाठक हुँ र शिक्षक साथीहरूलाई पनि पढ्ने सल्लाह दिँदै आएको छु । यसले तमाम शिक्षक वर्गको पेशागत हकहितको निम्ति पनि आवाज उठाओस्, ‘एकतामा बल हुन्छ’ भन्ने कुरा विद्यार्थीसामु विभिन्न प्रयोग गरेर देखाउने तर आफू चाहिँ फुटेर छिन्नभिन्न भई उपेक्षित र अपहेलित बन्न पुगेका हामी शिक्षकलाई पुनः एक ढिक्का हुन सन्देश पुर्याउन सकोस् र ‘शिक्षकको कलम’ अथवा यस्तै अन्य कुनै शीर्षकमा शिक्षकहरूको साहित्यिक लेख–रचनालाई पनि स्थान दिइयोस् । शिक्षक मासिकका साथै सम्पूर्ण शिक्षक साथीहरूमा नयाँ वर्ष २०६६ को शुभकामना !

कृष्ण कुमार राई
श्री शान्ति प्रावि, इटहरी–२, सुनसरी

सरकारको निर्णय र निर्देशन समेटियोस्

शिक्षक मा शिक्षकहरूलाई चाहिने धेरै राम्रा कुरा हरू छापिने गरेका छन् । त्यसमा मेरो थप सुझाव; नेपाल सरकार, शिक्षा मन्त्रालय वा शिक्षा विभागबाट बेला–बेलामा विद्यालय वा शिक्षकहरूलाई दिइने निर्देशन वा कुनै कार्यक्रमहरू पनि समावेश गरिएमा सुन माथि सुगन्ध हुन्थ्यो कि ? शिक्षकहरूलाई दिइने सेवासुविधाहरू बेला–बेलामा अनेक हल्लामार्फत सुन्यो अनि सम्बन्धित निकाय/शिक्षा शाखामा सोध्दा जानकारी आएको छैन भन्न नभ्याउँदै अर्को हल्ला आइसक्छ । तसर्थ ती निकायबाट भएका निर्णयहरूको सही जानकारी यसमा समेटिन सके शिक्षकहरूले अन्योलबाट मुक्ति पाउने थिए ।

गोपीकृष्ण बस्याल
रविकिरण निमावि, पिपलडाँडा–९ पाल्पा

समय अपुग भयो

उत्कृष्ट विचार ले रु.५,००० पाउने भनेर प्रधानाध्यापक र विद्यालय शीर्षकमा आफ्ना धारणा/अनुभव लेखी पठाउन भनिएको रहेछ । २०६५ माघ अङ्कमा रेडियो नेपालबाट विज्ञापन सुन्दा–सुन्दा शीर्षक चाहिँ २०६५/१०/१८ गते मात्र हात पार्न सफल भइयो । पठाउनुपर्ने म्याद त्यही दिनसम्म रहेछ । कस्तो बेमज्जा लाग्यो ! उता फुर्सदको समाधान पठाउनुपर्ने म्याद चाहिँ फागुन २० सम्म रहेछ । यस्तो व्यवस्था धेरैभन्दा धेरै पाठकहरूले सहभागिता जनाउन पाऊन् भन्ने विचार ले गरिएको हुनुपर्छ । विचार पठाउनका लागि पनि पर्याप्त समय राख्न सके बेस हुने थियो । कि शिक्षक को उद्देश्य शहरी क्षेत्रका पाठकका विचार लाई मात्र कदर गर्नु हो ?

टायन्द्र श्रेष्ठ
सगरमाथा जनता उमावि, ओखलढुङ्गा

‘टेष्ट’ पछि पढाउनै नहुने ?

एसएलसी तयारी परीक्षाको रूपमा रहेको ‘टेष्ट’ सकिएपछि देशका प्रायः सबै विद्यालयमा कक्षा–१० को पढाइ बन्द हुने गर्छ ।
के टेष्ट परीक्षा सकिएपछि कक्षा १० का विद्यार्थीलाई पढाउने शिक्षकहरूको दायित्व पनि सकिने हो ? किताबका पाठ नसकिएका भए पनि विद्यार्थीहरू टेष्टसँगै घर बस्न बाध्य हुन्छन् । विद्यालयमा नपढाएका पाठ पढ्न विद्यार्थीले कि ट्युसन कि त कोचिङ कक्षा धाउनुपर्छ । जबकि पुस्तकका पाठहरू टेष्टअघि नै सकिनुपर्ने हो, तर प्रायः जसो सकिँदैनन् अनि टेष्टपछि पनि त्यस्ता बाँकी पाठहरू पढाइँदैनन् ।

आदित्य आचार्य
श्री प्रगतिशील उमावि झरा–२, सिन्धुली

सामग्री बढाइयोस्

शिक्षक पत्रिकाको म नियमितग्राहक हुँ । यसले मलाई धेरै शैक्षिक र व्यावसायिक खुराक दिएको छ । अधिराज्यभरिका सम्पूर्ण शिक्षकहरूको आशाको केन्द्रबिन्दु तथा अनन्य मित्र बन्न पुगेको शिक्षक पत्रिकाको उत्तरोत्तर प्रगति तथा उज्ज्वल भविष्यको कामना गर्दै उक्त पत्रिकालाई अलिकति परिमार्जन गरी आकार तथा मूल्य बढाएर भए पनि शिक्षण विधिहरू, शिक्षा सेवा आयोगका प्रश्नोत्तर तथा पाठ्यक्रम, शैक्षिक सामान्य ज्ञान र विशेष गरी अङ्ग्रेजी विषयका शिक्षण सिकाइ विधिहरू पनि समाविष्ट गरिदिए पत्रिका अझ् बढी उपयोगी हुनुका साथै यस पत्रिकाको प्रभावकारिता र माग पनि बढ्ने थियो ।

शिक्षक, मोहन पौडेल
श्री स.मा.वि., डाँडाखर्क, खोटाङ

प्रेरणा मिलेको छ

शिक्षक मासिक नियमित पढ्न पाउँदा आफूलाई परिवर्तन गर्ने थप प्रेरणा मिलेको छ । शिक्षक यथार्थमा शिक्षक जस्तो भएर पाठकसामु पुगेको छ । आफू शिक्षक भएर शिक्षण गरिरहेका शिक्षकहरूका हातमा यो पत्रिका कथंकदाचित पुग्यो र त्यसलाई शिक्षकले १० मिनेट मात्र पढ्न पाए भने पनि शिक्षकहरूलाई परिवर्तनको अनुभूति हुनसक्छ । पारिवारिक शिक्षा वा अभिभावकहरूलाई शिक्षण कार्यप्रति सहयोग पुरयाउने खालका लेखरचना शिक्षक मा आउनुपर्छ ।

नरपति पाण्डे
श्री विद्योदय निमावि, दमक–९, झपा

अझै रराम्रो होओस् !

शिक्षक मासिक हामी शिक्षकहरूका लागि अति नै उपयोगी, सहयोगी र मन छुन सफल छ । शिक्षकहरूको सीप र क्षमता वृद्धि गर्ने सामग्रीका अतिरिक्त देश–विदेशमा भइरहेका शिक्षा एवं शिक्षण सम्बन्धी नीतिगत र व्यावहारिक जानकारी तथा मौलिक साहित्यिक लेखरचनाहरूले पनि यसमा नियमित रूपमा ठाउँ पाउन सकून् । समग्रमा पत्रिका रराम्रो छ । अझै रराम्रो हुँदै जाओस् ! उत्तरोत्तर प्रगतिको कामना गर्द छु ।

गजेन्द्रबाबु ढकाल, श्री नागेश्वर मावि लेगुवा, धनकुटा; इलमबहादुर शाही अध्यक्ष , नेपाल शिक्षक युनियन, जाजरकोट; वीरबहादुर शाही नेपाल शिक्षक संघ, जाजरकोट; रमेशचन्द्र निर्मल उमावि, तनहुँ; मोहनबहादुर कँडेल पशुपति मावि, धादिङ; मोहन कुमार पोमू, कालिका उमावि, नाङ्खोल्वाङ, ताप्लेजुङ; रामान न्द साह, प्रअ, प्रावि डुमरिया, रौतहट; नागेन्द्रप्रसाद यादव, परोपकार उमावि, काठमाडौं; रामबहादुर थापा, त्रिशूली; केशवहरि थापा, पब्लिक युथ क्याम्पस, काठमाडौं; प्रमिला शर्मा, श्रीभगवती उच्च मावि, खोटाङ बजार–९; शशिधर पौडेल, श्री जनता मावि, राङखानी, बागलुङ; देव कुमारी खालिङ, काँकु मावि,गेडाचौर–२, सोलुखुम्बु

हरेक स्कूलमा पुगोस् !

शिक्षक मासिक शैक्षिक गुणस्तर वृद्धि गर्न र शिक्षकहरूलाई मार्गनिर्देश गर्न सफल छ । यसमा प्रकाशित सामग्रीहरू सबैका लागि ज्ञानवद्र्धक छन् । तसर्थ सुगम मात्र नभई दुर्गमका समेत हरेक विद्यालयहरूमा यो पुगोस् । यस्तो उपयोगी पत्रिका प्रकाशित गरेकोमा हिमाल एसोसिएसनलाई साधुवाद !

करवीरबहादुर कार्की श्री जनविकास उमावि, दार्चुला; हरिप्रसाद सङ्ग्रौला श्री जनजागृति उमावि, झपा; नरेन्द्र कुमार खड्का, पाँचथर; रामप्रसाद चौलागाईं, कालीकोट; प्रदीप विश्वास श्री जनता उमावि, शङ्करपुर, विराटनगर; धीरेन्द्र यादव, नेरा प्रावि, पिप्रादी, बारा

(टिप्पणीः सुझावका लागि धन्यवाद ! शिक्षक पत्रिका दुई किसिमबाट प्राप्त गर्न सकिन्छ— (क) आफ्नो पायक पर्ने पत्रपत्रिका पसल वा (ख) हुलाकमार्फत पाउने गरी हराम्रो कार्यालयमा स्थायीग्राहक बनेर । हाल प्रायः सबै जिल्लाका पत्रपत्रिका पसलहरूमा शिक्षक उपलब्ध हुन्छ । अधिकांश जिल्लाहरूमा हाम्रा आधिकारिक बिक्रेता र वितरकहरू पनि नियुक्त भइसकेका छन् । आफ्नो जिल्ला वा गाउँ–ठाउँमा शिक्षक उपलब्ध नभएमा नजिकको पत्रपत्रिका पसल वा हामीलाई खबर गर्नु होला । पत्रपत्रिका पसलबाट किन्नु अथवा हुलाकमार्फत पाउने गरीग्राहक बन्नु बाहेक पत्रिका प्राप्त गर्ने अन्य विकल्प हाल उपलब्ध छैनन् । –सं)

विनिर्मित हुन सकिन्छ

मेरो आलेख ‘निर्मित कसरी भयौँ, विनिर्मित कसरी हुने ?’ (माघ २०६५) ले तपाईं (मालती श्रेष्ठ, दियाले–३, ओखलढुङ्गा) लाई प्रतिक्रिया लेख्ने गरी तताएछ । म धन्य भएँ । प्रत्याभूतिगरायो । म आशावादी भएँ । अरू शिक्षकसँग आबद्ध गरयो । सञ्चारित भएँ । अन्त्यमा ‘विनिर्मित हुन्छौँ र ?’ भन्नुभयो । झ्स्केँ । शायद मैले भन्न जानिनँ । विनिर्मित हुनु निरन्तर प्रक्रिया हो । कति जानमा, कति अनजानमा विनिर्मित हुने गर्छौँ । पुस्तौनी शब्दमा ‘अचेत निद्रा’को । त्यसैले मेरो आग्रह हो— ‘अचेत निद्रा’को विनिर्माणलाई ‘सचेत निद्रा’मा पनि खोज्ने गरौँ । हामी विनिर्मित छौँ । हुन्छौँ । हुँदैछौँ । मेरो बिन्ती हो— आफैँमा खोजौँ । खोजकहरूको सञ्जाल बनाऔँ । कसो नहोला त ?

डा. विद्यानाथ कोइराला
चाबहिल, काठमाडौँ

म किन शिक्षक बनें

त्यति रराम्रो गाविस सचिव छाडेर तपाईं किन यस्तो शिक्षक पेशामा आउनुभो ? शिक्षकभन्दा त सचिव रराम्रो होइन र ? अरू शिक्षकबाट निजामतीतिर जान्छन् । तर तपाईंचाहिँ निजामतीबाट शिक्षणतिर ? त्यस्तो भत्ता, सुविधा र मर्यादा छाडेर किन यस्तो रुखो र सुक्खा पेशामा ?

यी र यस्तै यक्षप्रश्नहरूले पाँच वर्ष देखि मलाई ठाउँठाउँमा आक्रमण गरिरहेछन् । १४ वर्ष ८ महिनाको गाविस सचिवको जागिरबाट राजिनामा दिएर म शिक्षण पेशामा आएको हुँ । मान्छेका यस्ता प्रश्नले म स्वयं आश्चर्यचकित भएको छु । यो कस्तो दास मान सिकता हो ? यो कस्तो पैसामुखी प्रवृत्ति ?

आफूले आर्जन गरेको ज्ञान अरूलाई बाँडेर आत्मसन्तुष्टि लिनका लागि म पवित्र र स्वतन्त्र यो शिक्षण पेशामा आएको हुँ । षडयन्त्रकारी र कलङ्कित नेताहरूको भीडबाट मुक्त हुनका लागि म यो सुन्दर फूलबारीमा आएको हुँ । मेरो व्यक्तिगत र यो राष्ट्रको लगानी (बीएस्सी/बीएडसम्म पढ्दाको) चुक्ता गर्नका लागि पनि म यो पेशामा आएको हुँ । फूल फुलाउने माली हुन आएको हुँ र अज्ञानताको नदी पार गराउने माझी हुन म यहाँ आएको हुँ । विचार र रुचि आ–आफ्नै हुन्छन् । एउटा कविले सुन्दर कविता लेखेपछि र एउटा शिक्षकले विद्यार्थीलाई पाठ स्पष्ट बुझाउन सक्दाको आनन्दानुभूति मापनीय हुँदैन ।

जापान लगायतका केही मुलुकहरूमा शिक्षकको मान मर्यादा र सेवासुविधा उच्च हुन्छ रे ! त्यहाँका नागरिकहरू शिक्षण पेशालाई पहिलो प्राथमिकता दिएर प्रतिस्पर्धा गर्छन् रे ! शिक्षकमा असफल भएपछि मात्र निजामती लगायतका अन्य सेवामा प्रयास गर्छन् रे ! डाक्टर, इन्जिनियर, पाइलट, उच्च प्रशासक, नेता, प्रधानमन्त्री, राष्ट्रपति आदि सबै जन्माउने महान् शिक्षकको हराम्रो नेपालमा किन यत्रो अपहेलना ? किन यस्तो निर्लज्ज मान मर्दन ?

म कस्तो सफाइ पेशगरूँ ? म कसरी प्रश्नकर्ताहरूलाई स्पष्टीकरण दिऊँ ? म निकै घायल छु र तपाईंहरूसित कायल छु । कृपया, अब आइन्दा पीडादायक प्रश्न मलाई प्रहार न गरिदिनुहोलाः “तपाईं किन त्यति रराम्रो सचिव छाडेर शिक्षकमा आउनुभो ?”

रामविक्रम थापा
शिक्षक, बालकन्या मावि, फाक्टाङ, खोटाङ

माझी ज्ञान–ज“घारको

आए यात्रु अनेकरूप–रङका लागे अनेकौँतिर
“हेरौँ विश्व विशाल यो झलििमिली” भन्दै हुँदै उत्सुक
के गर्दा अब तर्न हुन्छ सजिलो यो ज्ञान–गङ्गा भनी
लौ है ! हात समाती राख बलियो, तार्ने त हुँ मै पनि ।

यौटा तार्न नपाउँदै कति छिटो, अर्को उहीँ भो खडा
भन्दै, देश विदेश पुग्नु छ छिटै, बोकेर इच्छा बडा ।
आऊ लौ त छिटो ! पुर्याउँछु उता, घुम्दै धरा फन्फनी
साँच्चै जीवनमा सुधा छलकियोस् इच्छा छ मेरो पनि !

अर्को आइसकेछ फेरि तटमा, डुङ्गा यही पर्खँदै
माझी ! लौ न छिटो तयार हुनुहोस्, तर्नै छ बेला छँदै
तार्दा वार र पार नित्य यसरी बानी यसैमा परयो
माझी ज्ञान–जँघारको न परियो ! कामै छ ता¥यो ! त¥यो !

यात्री यै तटका कहाँ पुगिसके ? आफू जहाँको तहीँ
क्यारौँ ? छोड्न सकिन्न यो तट त्यसै, प्राणै यसैमा छ नि !
के हेर्ने अब लाभ–हानि ? वय यो आधा यहीँ नै बित्यो
गाथा जीवनका पढ्यो थरी थरी, हाँस्दै सिकायो–सिक्यो !

छैनन् व्यञ्जन स्वादिला,गजबका ! छैनन् लुगा सुन्दर
छैनन् मोटर–बङ्गला झलििमिली, छैनन् कुनै चाकर ।
छैनन् भौतिक लालसा अति बडा, छैनन् गुनासा कतै
सादा जीवनको भए रस लिने, मान्छे ! हराओ यतै !

प्रभा भट्टराई, ताहाचल, काठमाडौं

गीत

स्कूल आउनु है !

स्कूल आउनु है...(साथीसँग मिलेर पढ्नु है ज्ञानी बन्नु है ...)२
१.    हे... बाआमाको मायालाई बुझेर ... गुरुहरूको कुरा लाई मानेर ...
    (स्कूल आउनु ...)२
२.    किताबलाई गाता लगाएर ... जतन गरी झेलामा बोकेर ... (स्कूल आउनु ...)२
३.    कापी ल्याउनु कखग लेख्नलाई ...
    भविष्यमा चन्द्रमा छुनलाई ... (स्कूल आउनु ...)
४.    कपाल कोर्नु दिनदिनै नुहाउनु ...
    पढ्न आउनु दिन नबिराउनु ... (स्कूल आउनु ...)
५.    खानुअघि हातगोडा धुनु है ...
    खाइसकेर हात सफा गर्नु है ... (स्कूल आउनु ...)
६.    लुगा सफा राख्नु है, सबैले ...
    चप्पल लगाऔँ, नबिर्स कसैले ... (स्कूल आउनु ...)

शिक्षक, मन कुमारी राई
सिंहदेवी प्रावि, बाह्रबिसे–३, संखुवासभा


कविता

शिक्षक यस्तो ...

विकृति विसङ्गतिको भण्डाफोर नगरूँ
घोर अन्धविश्वास र खोक्रा आडम्बरका
आवरण नच्यातूँ
गलत प्रक्रियाको विरोध नगरूँ
सुकेकोरूखलाई हरियो छ भनी
म समर्थनगरूँ
बुद्धको देशको म एउटा हिस्सा
मुखमा रामराम
बगलीमा छुरा राखूँ
अनि त भन्छन् सबैले
आहा !
कति रराम्रो सर
सबैसित ठ्याक्क मिल्ने ।

नाताले म सामान्य शिक्षक
अझ्, प्यारो हुन त
कक्षामा पुकार र चुइङ्गमको
प्वाट–प्वाट
मतलबै नगरूँ
च्याङ्ग्राझैँ कपाल
नरमुण्डमाला, मुन्द्रा र बाला
यो पनि नदेखूँ
ब्युटीपार्लर हो या पाठशाला
जङ्गली हो या सभ्य चाला
म क्यै नबुझूँ
हिजो पढाएको पाठ
आज सोध्दै नसोधूँ
सातै विषयमा सेल खाऊन् बरु
म फेल नगरूँ
अनि त भन्छन् सबैले
आहा कति रराम्रो सर
विद्यार्थीको मर्का बुझने !

दशैँ, तिहार आउँदा के धूमधाम होला
परीक्षामा चोराउनेको धमाका
परवाह नगरूँ
सिं... गर्न नजान्नेले
चिट चोर्दा
चिट खोस्ने कामै नगरूँ
चिट चोर्नु पनि त कला हो
सकिन्छ भने सहयोगगरूँ
अभिभावक खुसी
विद्यार्थी खुसी
अनि त भन्छन् सबैले
‘आहा कति रराम्रो सर’
मेरा छोराछोरी क्लास चढाइदिने !

‘यो मास्टर कति छुचो
परीक्षामा चोर्न दिएन’
भन्ने आरोप
म कैल्यै नसुनूँ
देखेस् पखेस् भन्ने धम्की आउला
म कैल्यै बाहिर नहिँडूँ ।

ए साथी सुनेका छौ...
अब त परीक्षामा कडा गर्ने मास्टरलाई
कानून बन्दै छ रे !
जसले एउटा चिट खोस्छ
त्यसका दुइटा खुट्टा क्विट हुन्छ रे !
यस्तो
ज्यान मारेको भन्दा ठूलो पापको भार
म कैल्यै नबोकूँ
“चोरी चोरी चुपके चुपके”
भविष्य बनाउन खोज्ने
ती कलिला हातहरूलाई
म कैल्यै नरोकूँ
अनि त भन्छन् ... सबैले
आहा कति रराम्रो सर
आँखामा राखे पनि नबिझउने ।
अर्जुन सर !

अर्जुन सर
शिवपुर–७, कपिलवस्तु

commercial commercial commercial commercial