साहित्यको जग प्राथमिक तह
झपाको शनिश्चरेमा ठाउँकै नाममा खोलिएको हाईस्कूलमा २०२५ सालमा शिशु कक्षामा भर्ना भएपछि मेरो स्कूले जीवनको यात्रा आरम्भ भएको हो । प्राथमिक तहमा हस्त परियार सर सबैभन्दा बढी मन पथ्र्यो । म साहित्यमा लाग्नुका पछाडि उहाँको महत्वपूर्ण भूमिका छ । २०२८ सालतिर को कुरा हो, त्यतिबेला म कक्षा ५ मा पढ्थेँ । एक दिन परियार सरले “भोलि शुक्रबार साहित्यिक कार्यक्रम गर्ने , कविता, कथा लेखेर ल्याउनु” भन्नुभयो । मेरो मिल्ने साथी सञ्जीव (हालका डा. सञ्जीव उप्रेती) को घरमा आमा पनि लेखपढ गर्ने भएकाले उसले त लेखेर ल्याएछ । तर मैले लेख्न नआएपछि रमाइलो नानी नामक पुस्तकबाट एउटा कथा सारेर लगेर स्कूलमा सुनाएँ । पछि थाहा भयो, त्यो किताबको रचना कृष्णप्रसाद पराजुलीले गर्नु भएको रहेछ । खुब रराम्रो लेखेछौ भनेर सरले पनि तारिफ गर्नु भयो । उहाँले हप्तैपिच्छे अतिरिक्त क्रियाकलाप अन्तर्गत केही न केही सृजना गराउनु हुन्थ्यो । हाईस्कूल तहमा पुग्दा पनि म सारेरै बुझउँथेँ । एक दिन हामीभन्दा सिनियर चित्रसेन भण्डारी दाइले त्यो कुरा थाहा पाउनुभएछ र कान समातेर मलाई “अब देखि यसरी अर्काको रचना सारिस भने तेरा हातखुट्टा भाँच्छु” भनेर थर्काउनुभयो । त्यसपछि बल्ल मैले आफैं कनीकुथी लेख्न थालेँ ।
साहित्यकारको रूपमा आज म जे छु, त्यसको सबैभन्दा पहिलो जस परियार सरलाई नै जान्छ । त्यसपछि साहित्य लेखनमा अगाडि बढाइदिने काम हाईस्कूल तहका शिक्षक शिवप्रसाद दाहाल र सरोज वलीको ठूलो योगदान छ ।
हराम्रो हेडसर मोहन जोशीको प्रभाव सबैभन्दा बढी थियो । गल्ती गरेकोमा हकारे पनि उहाँ विद्यार्थीलाई असाध्यै माया गर्नु हुन्थ्यो । त्यसैले उहाँसँग सबै विद्यार्थी बढी खुशी थिए । मेरो दयनीय आर्थिक अवस्थालाई ध्यानमा राखेर उहाँले मलाई जहिले पनि छात्रवृत्ति दिने गर्नु भएको मा म बढी प्रशन्न थिएँ । नत्र शायद मैले स्कूल नै पढ्न पाउने थिइनँ । म करिब आज सडक बालक भनिने केटाकेटीकै अवस्थाबाट गुज्रिएर आएको मानिस हुँ । चरम गरिबीका कारण ‘फी’ तिरेर पढ्न सक्ने अवस्थै थिएन । त्यसैले जोशी सरकोे त्योगुण म कहिल्यै बिर्सन सक्दिनँ ।
कक्षा १० को अन्तिमतिर राजकिशोर मण्डल भन्ने एकजना शिक्षक आइपुग्नुभयो । सप्तरीतिर घर भएका उहाँ आई.कम. पढेर आउनुभएको रहेछ । उहाँले साहित्य, दर्शन, इतिहास, राजनीति सबैमा धाराप्रवाह बोलेर यस्तो भान पारिदिनुभयो कि उहाँ देशकै सबैभन्दा ठूलो ज्ञानी हुनुहुन्छ । उहाँ कहिले माक्र्सवादका त कहिले ओशो रजनीशका कुरा गर्नु हुन्थ्यो । कुरा न, वेदका विषयमा पनि उहाँ उत्तिकै धाराप्रवाह बोल्नुहुन्थ्यो । उहाँले तीसँग सम्बन्धित केही किताबहरू पनि हामीलाई पढ्न दिनुहुन्थ्यो । १५/१६ वर्षको कल्पनाको उडान भर्ने उमेरमा उहाँका कुरा ले म र सञ्जीव दुवै जनालाई निक्कै प्रभावित पारेका थिए । त्यसबाट हामीलाई ठूलो फाइदा भयो, हामीले ‘कोर्स’ भन्दा बाहिरका तर उपयोगी किताब पढ्न थाल्यौं । विस्तारै पढ्ने बानीको पनि विकास भयो, नयाँ नयाँ ज्ञान पनि लिन पाइयो । नजानिकन बौद्धिक क्षेत्रतिर धकेल्ने काममा मण्डल सरको ठूलो भूमिका रह्यो । आज मैले बोकेका धेरैजसो मूल्य मान्यताहरू स्कूले उमेरमै बनेका हुन् । त्यो मूल्य–प्रणालीको निर्माणमा स्कूलको सबैभन्दा बढी हात छ । त्यसैले आज म जे छु, त्यसमा स्कूलको धेरै महत्वपूर्ण योगदान छ ।
पछि ६/७ वर्ष आफूले पढेकै स्कूलको शिक्षक पनि भएँ, आफ्नै गुरुहरूको स्टाफको रूपमा काम गरें । त्यतिबेलासम्म पनि शिक्षक आदर्श व्यक्तित्वकै रूपमा थियो, सेवामूलक काम हो भन्ने भावना थियो । तर अहिले आएर परिस्थिति बद्लिएको छ । आजका शिक्षक व्यावसायिक भएका छन् । सेवामुखी भन्दा बढी पैसा र सुविधामुखी भएका छन् । विद्यार्थीले पनि आफ्ना मार्गदर्शक भन्दा प्राविधिक व्यक्तिका रूपमा बुझछन् । त्यसो त पुराना आदर्श र मान्यता आज पनि रहनु पर्छ भन्ने मेरो आशय होइन । यता आएर शिक्षा प्राविधिक विषय बनेको छ । शिक्षक पनि स्वाभाविक रूपमा प्राविधिक व्यक्तित्व बन्न पुगेको छ । त्यसैले अबको शिक्षक आफ्नो विषयमा दख्खल हुनुपर्छ । र, आफूसँग भएको दख्खल विद्यार्थीमा सही तरिकाले हस्तान्तरण गर्न सक्ने सीप तथा कौशल शिक्षकसँग हुनैपर्छ । नयाँ पुस्ता कस्तो निर्माण गर्ने भन्ने कुरा मेरो हातमा छ, त्यो दायित्व एकदम राम्ररी निर्वाह गर्छु भन्ने प्रतिबद्धता र इमान्दारिता शिक्षकमा हुनुपर्छ । शिक्षक र विद्यार्थीबीचको सम्बन्ध गुरु चेलाको होइन, मित्रवत् हुनुपर्छ । दुवैले ‘हामी दुवै बराबर हौं’ भन्ने सोचको विकास गर्नु पर्छ । हाम्रा पालामा शिक्षक र विद्यार्थीबीच ठूलो खाडल थियो । शिक्षक देखेपछि हामी डरले थुरथुर हुन्थ्यौं । किनभने हाम्रा लागि शिक्षक डरलाग्दा प्राणी जस्ता लाग्थे । कडा अनुशासनमा राख्नुपर्छ भन्दै शिक्षकहरू विद्यार्थीको सानो गल्तीमा पनि पिट्थे । खास गरी कक्षामा नबुझेका कारणले गृह कार्य गर्न सकिएन वा अरू नै कारणले भोलिपल्ट पाठ बुझाउन सकिएन भने पिटाइ खाइन्छ कि भन्ने त्रास हुन्थ्यो । सानोमा साह्रै डर लाग्थ्यो । जति उमेर बढ्दै गयो, उति उति डर कम हुँदै गयो । आज पक्कै पनि यो अवस्थामा उल्लेखनीय सुधार आएको छ । तर त्रासको वातावरण अझै पनि बाँकी छ । विद्यार्थीले आफ्नो मनमा लागेका कुरा निर्भयताका साथ शिक्षकसमक्ष राख्न सक्ने वातावरण हुनुपर्छ । त्यो वातावरण बनाउने जिम्मेवारी शिक्षककै हो । शिक्षकले विद्यार्थीलाई चुम्बकले फलामलाई आकर्षित गरे झै आकर्षित गर्न सक्नुपर्छ । यस्ता कला र विशेषता अबका शिक्षकसँग हुनैपर्छ ।



