स्कूलले बनायो कलाकार

मैले कक्षा १ देखि ३ सम्म काठमाडौंको महेन्द्र भवन स्कूलमा पढेँ । त्यहाँ सबैभन्दा मन पर्ने शिक्षक शान्ता गुरुआमा हुनुहुन्थ्यो । उहाँले हामीलाई औधी माया गर्नु हुन्थ्यो । कथा भनेर हामीलाई मुग्ध तुल्याउनुहुन्थ्यो । उहाँले भन्नुभएका मध्ये एउटा कथा (दुष्यन्त र शकुन्तलाको प्रेम कहानी) मलाई अहिले पनि याद छ ।

सानैमा मेरो बाबाले छाडेर जानुभएपछि म डिल्लीबजारको पद्मकन्या स्कूलमा कक्षा ४ मा भर्ना हुनपुगेँ । सोही स्कूलबाट मैले २०३६ सालतिर एसएलसी उत्तीर्ण गरें । पद्म कन्यामा मीरा मिस (नेपाली शिक्षक), उषा मिस (विज्ञान शिक्षक), किरण मिस, निरञ्जन सरबाट म धेरै प्रभावित थिएँ । यसको मुख्य कारण हो, उहाँहरू सबैले ममा भएको प्रतिभालाई जहिले पनि सहयोग गर्नु भयो । म नृत्य सिक्न जाँदा होस् वा ‘स्टेज पर्फमेन्स’ गर्न जाँदा, उहाँहरूले सधैं हौसला दिनुभयो । “पढाइ बिग्रन्छ, यसरी नाच्नमा समय खेर नफाल” भनेर कहिल्यै भन्नुभएन । यदि उहाँहरूले “यो केटी त खाली नाचेर बस्छे, यसरी पनि पढिन्छ ?” भनेरगाली गर्नु भएको भए म निराश हुनसक्थेँ । र, आजको अवस्थामा आइनपुग्न पनि सक्थेँ ।

‘चिल्ड्रेन फेस्टिवल’मा भाग लिनका लागि स्कूलबाट म पहिलो पटक बाहिर जाँदैथिएँ । तर आफ्नो कला र प्रतिभा देखाउन सक्छु भन्ने ममा आत्मविश्वास नै थिएन । कक्षामा निरञ्जन सरले त मैले नसोचेको कुरा पो भन्न थाल्नुभयो । उहाँले भन्नुभयो, “आज हराम्रो स्कूलको यो कक्षाकी तिमीहरूकी साथी मिथिला देशभरिबाट छानिएर नृत्यकला प्रस्तुत गर्न जाँदैछिन् । त्यो म र हराम्रो स्कूल दुवैका लागि ज्यादै खुशीको कुरा हो । उनी त्यो कार्यक्रममा आफ्नो कला अब्बल तरिकाले प्रस्तुत गर्न सक्षम हुन्छिन् भन्ने मेरो पूर्ण विश्वास छ ।” उहाँको त्यो कुरा ले ममा ठूलो आत्मविश्वास पैदा भयो । त्यो कार्यक्रममा म जान धेरै इच्छुक पनि थिइनँ । तर निरञ्जन सरले मलाई भन्नुभयो, “तिमी कलाकार हो, रराम्रो कलाकार बन्न सक्छ्यौ । भोलि तिम्रो जीवनको बाँच्ने आधार यही हुनसक्छ ।” मेरो जीवनलाई नै मोडिदिने यति प्रभावशाली कुरा पहिलो पल्ट कसैले भनेको थियो । त्यतिखेर म १० वर्षकी थिएँ । उहाँको कुरा ले म जुन काम गर्दैछु त्यो रराम्रो काम रहेछ, त्यसको भविष्य पनि छ र मेरो बाँच्ने कडी हो भन्ने कुरा पहिलो पल्ट थाहा पाएँ । विज्ञान पढेर डाक्टर हुने भन्दा नृत्य सिकेर कलाकारितामा लाग्ने काम मेरा लागि सर्वथा उचित कुरा थियो ।

मेरो नृत्य गुरु राजपाल थापा पनि मेरो प्रेरणाका स्रोत हुनुहुन्थ्यो । आज उहाँ हाम्रामाझ् हुनुहुन्न । उहाँले मलाई नृत्यका कणकण सिकाउनु भयो । धैर्य र लगावका साथ उहाँले हामीलाई नृत्य सिकाउनु भयो । पछि मैले शास्त्रीय नृत्यमा स्नातकोत्तर तहको डिग्री हासिल गरें । ममा नृत्यको जुन क्षमता छ, त्यो उहाँकै कारण सम्भव भएको हो ।

कक्षा ४ मा पढ्दा देखि नै मैले ‘स्टेज पर्फमेन्स’ गर्न थालिसकेकी थिएँ । त्यसैले म अरू विद्यार्थी भन्दा भिन्न थिएँ । अरू विद्यार्थीहरू फुर्सदको समय आफूलाई मन परेको खेल खेल्न जान्थे तर म नृत्य सिक्न थाल्थेँ । मेरो खेलाइ भने पनि पढाइ भने पनि नाच नै थियो । नियमित कक्षा, पढाइ र जाँच बाहेक मेरो सबै समय नृत्य सिक्न र अभ्यास गर्दैमा बित्थ्यो । म अहिले सेन्टमेरिजमा नृत्य शिक्षक छु । मलाई शिक्षण गर्दा एकदम आनन्द आउँछ ।

‘एक्सपोजर’ पाएको विद्यार्थी र नपाएको विद्यार्थीका बीचमा फरक हुुँदोरहेछ । त्यसैले म अतिरिक्त क्रियाकलाप मा विशेष जोड दिन चाहन्छु । मैले सानोमै ‘एक्सपोजर’ पाएकी कारणले यहाँसम्म आइपुगेकी हुँ । त्यसैले विद्यार्थीको रुचि अनुसारका अतिरिक्त क्रियाकलाप गराउने र उनीहरूलाई ‘एक्सपोजर’ दिने काम विद्यालयले गरिरहनु पर्छ । हराम्रो पालामा मिहिनेत ज्यादा कम चर्चा पाइन्थ्यो भने आजकाल कम मिहिनेतमै धेरै चर्चा पाइन्छ । बढी चर्चा पाएका कारण उनीहरूमा ‘ओभर कन्फिडेन्स’ हुन्छ । यस कारण उनीहरूमा सिक्ने प्रवृत्ति कम हुनजान्छ । साथीभाइसँग गर्ने व्यवहार पनि असन्तुलित हुनजान्छ । साथै शिक्षक तथा अभिभावकसँग गर्ने व्यवहारमा पनि परिवर्तन आउँछ । यो कुरा मा चाहिँ ध्यान दिनु जरुरी छ ।

मलाई स्कूलले अनुशासन सिकायो । सफल, सरल र सुखी जीवन बनाउन यसको ठूलो हात छ भन्ने कुरा मैले स्कूलमै सिकेकी हुँ । त्यस्तै निरन्तर सिकिरहनु पर्छ, जान्ने भएँ अब पुग्यो भन्ने सोच कहिल्यै बनाउनुहुँदैन भन्ने ज्ञान पनि स्कूलमै पाएँ । आज पनि म नृत्यमा केही न केही नयाँ कुरा सिकिरहेकी हुन्छु । सिक्नका लागि धैर्य, लगाव र निरन्तरको परिश्रम चाहिन्छ । त्यो पनि मैले स्कूलबाटै पाएकी हुँ । म आज जे छु, स्कूलकै कारण छु ।

मेरो विचार मा शिक्षकमा हुनुपर्ने महत्वपूर्णगुण हो, लचकता । म शिक्षक हुँ, म जान्ने हुँ भन्ने भावना त्यागेर एउटा साथीको रूपमा पेश हुनुपर्छ र आफूले जानेका कुरा बाँड्ने हो भन्ने कुरा लाई गहिरोसित आत्मसात् गर्नु पर्छ । शिक्षक जति लचकदार हुन्छ, विद्यार्थीले उति नै बढी सिकेको मेरो अनुभव छ । शिक्षकले पनि विद्यार्थीलाई आदर र सम्मान गर्नु पर्छ । उसको स्वाभिमान को सधैं सम्मान गर्नु पर्छ । अरूलाई कसरी सम्मान गर्नु पर्छ भन्ने कुरा विद्यार्थीलाई सिकाउन पनि शिक्षक आफूले विद्यार्थीलाई त्यस्तो व्यवहार गर्न जरुरी छ । आजकालको बच्चाहरू धेरै संवेदनशील छन् । सानोसानो कुरा मा पनि हीनताबोध गर्छन् । पाँच जनाको अगाडि सानो ‘कमेन्ट’ गरयो भने पनि त्यसबाट उनीहरू दुः खी हुन्छन् । ‘माइण्ड’ गर्छन् । तर छुट्टै भेटेर भन्यो भने उनीहरूले सकारात्मक रूपमा लिन्छन् र सुधार पनि गर्छन् । आजको सन्दर्भमा शिक्षक एउटा पथप्रदर्शक हो ।

शिक्षकले आफ्नो विषयमा कत्तिको दख्खल राख्छ, आफ्नो विषयलाई कत्तिको सम्मान गर्छ, सोही अनुसार विद्यार्थी पनि अगाडि बढ्छ ।   

commercial commercial commercial commercial