अङ्ग्रेजीः यसरी पो पढाउने हो कि !

एउटा भाषालाई अर्को भाषासँग जोडेर पढाउने तरिकाले भाषा आन्दोलनकारीको खेती हराउन सक्छ । तर सँगै भाषाहरूको सह–अस्तित्वको खोजी पनि शुरु हुन्छ । व्यक्तिको भाषिक स्वतन्त्रता कायम हुन्छ । बाबु, आमा र गुरुले छानेको भाषा पढिदिनुपर्ने बाध्यताबाट विद्यार्थी मुक्त हुन्छ ।

भाषाविद् भन्छन्— भाषा सिक्ने वातावरण बनाऔँ । तालिमविद् भन्छन्— भाषा सिक्ने उत्प्रेरणा जगाऔँ । राजनीतिविद् भन्छन्— यही भाषा पढाऔँ । मेरै भाषा । भाषाप्रेमी भन्छन्— बच्चाकै भाषामा पढाऔँ । तर यी सबै बबुराहरूले कक्षाकोठा हेरेनन् । बहुभाषी विद्यार्थीको कोठा । एकलभाषी शिक्षकको साथ । यो परिवेशमा के गर्ने त ? मैले यही प्रश्नको उत्तर खोजेको छु । मेरो खोजको आधार हो— अञ्जु खड्का र साथीहरू (२०६३) को किताब, पहाडी बोलीचाली र विद्यानाथ कोइराला र साथीहरू (२०६५ प्रकाशोन्मुख) को तराई बोलीचाली । यी किताबले बहुभाषा हेरेका छन् । बहुभाषीहरूलाई गुन लगाएका छन् । लगाउने क्रममा छन् । तिनले दिएको सुझले भन्छ— भाषा पढाउने प्रक्रिया बदलौँ । बदल्ने तरिकाहरूको उत्खनन् गरौँ । शुरु गरौँ बहुभाषीलाई अङ्ग्रेजी पढाउने तरिकाबाट । ‘सन्चै हुनुहुन्छ ?’ भनी सोध्न लिम्बूले ‘किनुर के वाबी ?’ भनिदियो । ‘केनु वि आदाङ्बे ?’ भनिदियो । अङ्ग्रेजले ‘आर यु फाइन् ?’ त्यसै गरी मैथिलभाषीले भनिदियो— ‘निक छै ?’ भोजपुरीभाषीले भनिदियो— ‘निक बानू ?’ तामाङले भनिदियो ‘सन्चो मुला ?’ नेवारले भनिदियो— ‘म्ह फुला ?’ गुरुङले ‘सबन मु ?’ वा ‘सबैमोअ ?’ मगर ढुटले भनिदियो— ‘सन्चन ल्हे ?’ मगर पाङले भनिदियो— ‘चाउ ज जे लिज्या ?’

माथिका उदाहरणमा केही समान ताहरू देखि ए । ती हुन्— क) सबै भाषामा प्रश्नचिन्ह लाग्दा रहेछन्, ख) प्रश्नात्मक शैलीमा बोल्दा रहेछन्,ग) सबै भाषाका आ–आफ्ना शब्दहरू रहेछन्, घ) केही शब्दहरू मिल्ने पनि रहेछन्, ङ) आ–आफ्ना क्रियापद हुँदा रहेछन् । यी समान ताबाहेक केही असमान ताहरू पनि रहेछन् । सबै भाषाको व्याकरण एउटै स्वरूपको रहेनछ । सबै शिक्षक विद्यार्थीको भाषाका शब्द र क्रियापदबारे परिचित रहेनछौँ । यो स्थितिमा भाषा सिकाउने कसरी ?

भाषिक बनोटमार्फत अङ्ग्रेजी शिक्षण
अङ्ग्रेजी पढाउनेले सन्दर्भ जोड्यौँ । भान्साको अङ्ग्रेजी । अफिसको अङ्ग्रेजी । यात्राको अङ्ग्रेजी । यो तरिकामा जीवनसापेक्ष बनाउने तागत छ । तर विद्यार्थीको भाषा भने जोडिन्न । दोस्रो तरिका छ— अङ्ग्रेजीमय वातावरण बनाउने । निजी विद्यालयले त्यसै गर्ने गर्छन् । त्यहाँ बाध्यकारी परिवेश हुन्छ । जाने पनि बोल्ने । नजाने पनि बोल्ने, तरकारी बजारमा पराई भाषा सिकेको जस्तो । टुटेफुटेको कुरा सिके हुने । सिकाए हुने । ‘फुड इट’, ‘नो इट’ जे भने पनि हुने । बुझनुपर्नेले बुझे पुग्ने । बुझाउनुपर्नेले बुझए पुग्ने । यो तरिकाले सञ्चार त गर्छ । संवाद पनि गर्छ । तर व्याकरणात्मक कुरा मा ध्यान दिन्न । तेस्रो अनूदित तरिका हो । ‘दिस् इज एगर्ल’— यो एउटी केटी हो खालको । यो तरिकामा पनि विद्यार्थीले ‘एउटा’ र ‘एउटी’ को एउटै अङ्ग्रेजी शब्द देख्छ । किन त्यसो भयो भनी शिक्षक सोध्दैन । विद्यार्थी पनि सोध्दैन । त्यहीँ भाषा शिक्षणको एउटा अङ्ग खुस्किन्छ । बुझेर सिक्ने अङ्ग ।

अङ्ग्रेजी भाषा शिक्षकले वस्तु देखाएर सिकायौँ । ‘ए फर एप्पल । बी फर बल ।’ मधेशमा पनि ‘एप्पल’ । ‘हिमालमा पनि एप्पल’ । पहाडमा पनि ‘एप्पल’ । यहाँ स्थानभेद भएन । ‘एप्पल’ देख्नेलाई पनि ‘एप्पल’ । नदेख्नेलाई पनि ‘एप्पल’ । यो ढङ्गले पढ्दा विद्यार्थीले शब्द सिक्यो । व्याकरण सिकेन । त्यही कुरा एबीसी पढाउनेमा पनि लागू हुन्छ । अर्थात् हामीले अक्षर सिकायौँ । शब्द विद्यार्थीले जोड्नुपरयो । वस्तु विद्यार्थीले जोड्नुपरयो । तेस्रो थरीले भाषा सिकाउँदा वाक्य सिकायौँ । जेस्टल्ट मनोविज्ञान हराम्रो आधार हो । यो आधारमा वाक्य हेरेर सिक्ने हो । त्यहाँ पनि विद्यार्थीले आफ्नो भाषाको अक्षर देखेन । आफ्नो शब्द देखेन । वाक्य देखेन । हामीले भने विद्यार्थीको दिमागमा ‘नयाँवस्तु’ कै सुई लगाइरह्यौँ ।

यसरी हेर्दा भाषिक बनोटका पक्षधरहरूले केही कामगर्यौ । केही छुटायौँ । गरेको काम हो— सन्दर्भमा भाषा सिकिन्छ भन्ने मान्यताको स्थापना । यस अर्थमा भान्साको अङ्ग्रेजी सिकाउनेहरू ठीक हौँ । बोलीचालीको अङ्ग्रेजी सिकाउनेहरू ठीक हौँ । दोस्रो थरीले वातावरणमै विद्यार्थीलाई डुबायौँ । त्यो पनि ठीकगर्यौ । विद्यार्थीले बाध्यकारी वातावरण पायो । सिक्यो । तेस्रोथरीले वस्तुसँग आबद्धगर्यौ । यसो गर्दा भाषा सिकाइ वस्तुगत बन्यो । अवधारणा बनाउने काम पनि ठीकगर्यौ । चौथा थरीले अक्षर सिकायौँ । यस अर्थमा अक्षर जोडेर पढाउने उपक्रमगर्यौ । यसमा पनि ठीकैगर्यौ । छुट्टै अक्षर जोडेर । सम अक्षर जोडेर । पाँचौँ थरीले वाक्य नै पढायौँ । विद्यार्थीलाई पूरै संरचना दियौँ । उसले क्रियापद कहाँ राख्ने भन्ने सिक्यो । अव्यय कहाँ भन्ने सिक्यो । विशेषण कहाँ भन्ने सिक्यो । नाम कहाँ भन्ने सिक्यो । नामयोगी कहाँ भन्ने सिक्यो । संयोजन कहाँ भन्ने सिक्यो । छैटौँ थरीले अनुवादगर्यौ । अनुवादमा एकल भाषा प्रयोगगर्यौ । नेपालको सन्दर्भमा अङ्ग्रेजीबाट नेपालीमा । केही शिक्षकले स्कूलभाषी बहुल क्षेत्रमा त्यही भाषामा भनिदियौँ । थारूवानमा थारू भाषामै । अवधमा अवधीमै । यी तरिकाले हराम्रो एकलभाषी साँचो चिनाउँछ । जे भए पनि एकलभाषी । जहाँ भए पनि एकलभाषी । तर कक्षाकोठा सधैँ एकलभाषी छैन । कि विद्यार्थीहरू बहुभाषी । कि शिक्षकहरू बहुभाषी । यस स्थितिमा गर्ने के ?

भाषा सिकाउने मेरो प्रस्ताव
माथिको षडमार्गी भाषा शिक्षणशैलीभन्दा मैले भिन्न सोच खोजेँ । पहाडी बोलीचाली र प्रकाशोन्मुख तराई बोलीचाली ले सिकाएको सोच । यो सोचमा प्रचलित षडमार्गी तरिका पूरै अटाउँछ । लडाइँ गर्नु पर्दैन । यो, ऊ भन्नै पर्दैन । यस अर्थमा यो सह–अस्तित्वको नीति हो । मेरो तरिकाको थालनी वाक्य लेखनबाट हुन्छ । मेरो नाम ‘नथुनी रैदास हो’ वाक्य हुनसक्छ । यो नेपाली भाषा भयो । नेपालीभाषी शिक्षकको भाषा । त्यही कक्षामा अनेकन् भाषाभाषीका विद्यार्थी छन् । तिनले आ–आफ्नो भाषामा यसरी लेख्छन्ः

  • हमर नाम कालीदास छि— मैथिली
  • मोर नाम सीतादेवी वा— भोजपुरी
  • आमिङ मनाहाङ चोम्जोङ रो— लिम्बू
  • उङ नङ नोवल— राई वान्तवा
  • ङाला मीन शेरा तामाङ हिन्ला— तामाङ
  • जिगु नां चम्पाकली खः — नेवारी
  • डन्ल मी चन्द्रकाजीगो— गुरुङ
  • ङा मीन उर्मिला चि— मगरपाङ (खाम)
  • ङऊ म्यारमीन कृष्णबहादुर आले– मगर ढुट

शिक्षकले अरू दुई वाक्य लेख्नुपर्छ । पहिलो नेपालीमा । दोस्रो अङ्गेजीमा । त्यसो गर्दा शिक्षकले मेरो नाम यो हो भनी लेखौँ । अङ्ग्रेजीमा पनि लेखिदिऔँ । विद्यार्थीले पनि आ–आफ्ना लिपिमा लेख्न सक्छन् भने लेख्न लगाऔँ । यो क्रममा विद्यार्थीलाई भनिदिऔँ— “एकअर्को भाषाबीचका मिल्दा कुरा खोज । अमिल्दा कुरा खोज । क्रियापद खोज । कर्ता (subject) खोज । कर्म (object) खोज । क्रियापद राख्ने ठाउँ खोज । यी र यस्ता खोजले विद्यार्थीलाई खोज्न सिकाउँछन् । बालशोधार्थी । यस्ता शोधार्थीहरूले अक्षर खोजे । बहुभाषी अक्षरका अन्तरसम्बन्ध खोजे । अन्तर खोजे । समान ता खोजे । अक्षर संयोजन खोजे । वाक्य खोजे । शब्द खोजे । सन्दर्भ भने विद्यार्थी आ–आफैँले ल्याए । आफ्नै परिवेशबाट ल्याए । त्यसो गर्दा शिक्षकले भाषिक परिवेश बनाउनुपरेन । विद्यार्थी आफैँले बनाए । शिक्षकले वस्तु देखाउनुपरेन । विद्यार्थीलाई नै वस्तु बनाऊ भने भयो । शैक्षिक सामग्री चाहिन्छ भन्ने पनि भएन । विद्यार्थीको अनुभव नै शैक्षिक सामग्री भयो । भाषिक मुद्दा पनि रहेन । सबैको भाषा ठूलो भयो । सबैले सबैको भाषा चिने । भाषिक संयोजन थाहा भयो । शब्द संयोजन थाहा भयो ।

प्रस्तावित तरिकाको प्रयोजन
अहिले विद्यार्थीले व्याकरणमा गल्ती गर्छ । मैले प्रस्तावित गरेको तरिकाबाट विद्यार्थी आफैँले व्याकरण सच्याउँछ । अहिले शिक्षकहरू विद्यार्थीको व्याकरण जान्दैनौँ । यो उपायबाट शिक्षकलाई बहुभाषी व्याकरणबारे थाहा हुन्छ । शब्द थाहा हुन्छ । कुन भाषीलाई कसरी अङ्ग्रेजी उच्चारण सिकाउने भन्ने कुरा को जानकारी हुन्छ । जिब्रो कसरी मिलाउने भन्ने उपाय थाहा हुन्छ । भाषिक शब्दावलीमा भाषा ‘थेरापी’ । अर्थात् मेरो तरिकाले शिक्षण गर्दा प्रत्येक शिक्षक शोधकर्ता हुन्छ । ‘थेरापिस्ट’ हुन्छ । प्रत्येक विद्यार्थी शोधार्थी हुन्छ । स्वथेरापिस्ट हुन्छ । यो तरिकामा एउटै खतरा छ । त्यो हो— एक भाषाको शब्द अर्कोलाई लाजलाग्दो हुनसक्छ । यस्ता कुरा मा भने शिक्षकले विद्यार्थीलाई संयमी बनाउनुपर्छ । अथ्र्याउनुपर्छ । त्यही शब्दले एकअर्कोमा ‘शब्दशास्त्र’ चलाउन नदिने तर्किव गर्नु पर्छ ।

मेरो तरिकाको अर्को प्रयोजन हो— भाषिक जगेर्ना । भाषिक विकास । त्यसमा पनि सम विकास । यो प्रक्रियाबाट विद्यार्थीले आ–आफ्नो भाषामा अङ्ग्रेजी सिक्न सक्छन् । अनि बल्ल हामी थाहा पाउन सक्छौँ— तामाङको अङ्ग्रेजी सिक्ने तरिका अवधीको भन्दा फरक रहेछ भन्ने । अवधीको तरिका लिम्बूको भन्दा फरक रहेछ भन्ने । शिक्षकले पनि बुझछौँ— कुन भाषाभाषीको व्याकरण के रहेछ भन्ने । कहाँ अङ्ग्रेजीको सापेक्ष रहेछ भनी बुझने । कहाँ निरपेक्ष रहेछ भनी बुझने ।
यो लेखमा मैले अङ्ग्रेजी भाषा सिक्ने/सिकाउने अनेकन् विधि भनेँ । भाषालाई अरू भाषासँग आबद्ध न गरी सिक्ने तरिकाहरू । तर मैले एकअर्काको भाषा आबद्ध गरी सिक्ने उपक्रम गरें । सिकाउने तर्किव सुझएँ । यो तर्किवले भाषा आन्दोलनकारीको खेती हराउन सक्छ । भाषाहरूको सह–अस्तित्वको खोजी हुन्छ । सङ्घीय भाषा फलानो हुनुपर्छ भन्ने पाश्र्वगामी छलाङकर्ताहरूको खेती टुङ्गिन सक्छ । व्यक्तिको भाषिक स्वतन्त्रता कायम हुन्छ । कक्षामा एकसाथ पठनपाठन गरिने भाषामोह । मन परेको भाषा छान्ने अधिकार । बाबुले छानेको भाषा पढिदिनुपर्ने बाध्यताबाट विद्यार्थी मुक्त हुन्छ । आमा र गुरुले छानेको भाषा पढ्नैपर्ने दकसबाट ऊ मुक्त हुन्छ । राजनीतिज्ञले दिएको भाषिक पीडाबाट ऊ स्वतन्त्र हुन्छ । यस अर्थमा अब आउने पुस्ताले भाषिक औपनि वेशवादबाट मुक्ति पाउँछ । रहरले भाषा छान्छ । छानेकै भाषा पढ्छ । एकअर्काको भाषासँग तुलना गरेर पढ्छ । आफ्नो भाषासँग आबद्ध भएर पढ्छ । यसो गर्दा शिक्षक स्वयंले आफूलाई तालिम गर्छ । विद्यार्थी स्वयं भाषिक शोधकर्ता हुन्छ । शिक्षक स्वतः बहुभाषी बन्छ ।

commercial commercial commercial commercial