जलेश्वर क्षेत्रका ज्योति

राजकिशोरले एउटै स्कूलमा ३२ वर्ष हेडमास्टर भएर शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, थुप्रै प्रअ र शिक्षकहरूका निम्ति प्रेरणादायी पाठ बन्न सक्छ ।

उनी जिल्ला शिक्षा अधिकारी लाई भेट्न जिल्ला शिक्षा कार्यालय जाँदैनथे बरु जिल्ला शिक्षा अधिकारी नै उनलाई भेट्न स्कूल पुग्थे । शिक्षा अधिकारी हुन् वा अभिभावक, जोसुकैले पनि स्कूल पुगेलगत्तै उनलाई भेट्न केहीबेर कुर्नै पथ्र्यो । उनले स्कूल समयमा जोसुकै आए पनि पियनले सत्कार गरेर भुल्याउनुपर्ने र कक्षा सकेपछि मात्र आफूले आगन्तुकसँग भेटघाट गर्ने नियम लागू गरेका थिए । उनी अर्थात् राजकिशोर झ । महोत्तरीको जलेश्वर–४ का राजकिशोरले एउटै स्कूलमा ३२ वर्ष हेडमास्टर भएर शिक्षा क्षेत्रमा पुर्याएको योगदान निकै रोचक र प्रेरणादायी छ । राजकिशोरको काम र योगदानबाट आजका शिक्षक र प्रअहरूले सकारात्मक शिक्षा लिन सक्छन् ।

२०२० सालमा रामनारायण अयोध्या उमावि (तत्कालीन हाईस्कूल) लाई प्रअको आवश्यकता परयो । विज्ञहरू सम्मिलित छनोट समितिले प्रअका उम्मेदवारसँग अङ्ग्रेजी, हिन्दी र नेपालीमा परीक्षा लियो । लिखित परीक्षा, अन्तर्वार्ता, प्रदर्शन कक्षा र  व्यक्तित्वका विभिन्न आयामहरूमा सबैलाई उछिनेर २० कात्तिक १९९८ मा महोत्तरीको सहस्राप गाविसमा जन्मेका झा रामनारायण अयोध्या उमाविको प्रअ बने । त्यसयताका तीन दशकमा उनले कुशल व्यवस्थापकको रूपमा स्कूललाई अविछिन्न नेतृत्व मात्र दिएनन्, उक्त उमाविलाई जिल्लाको ‘टप’ स्कूल समेत बनाए ।

राजकिशोर प्रअ हुँदा रामनारायण अयोध्यामा कक्षा ९ सम्म पढाइ हुन्थ्यो भने छात्रछात्राको सङ्ख्या ५०० थियो । स्कूलको भरपर्दो भवन पनि थिएन । तर, उनको नेतृत्वमा उक्त स्कूल जिल्लाकै उम्दा उमावि बनेको छ भने छात्रछात्राको चाप पनि १८०० पुगेको छ । स्कूलको पाँच विघामा अहिले ३८ कोठे पक्की भवन निर्माण भइरहेको छ । महोत्तरीमा कक्षा १२ मा विज्ञानको पठनपाठन गर्ने एक मात्र स्कूल हो यो । राजकिशोरसँग स्कूलको भौतिक तथा शैक्षिक विकास को लागि छात्रछात्राबाट सङ्कलन हुने वार्षिक शुल्क बाहेक अरू कुनै आर्थिक स्रोत थिएन, थियो त केबल स्कूललाई उकालो लगाउने चाहना, जाँगर र लगनशीलता । उनले प्राविलाई शुरु देखि नै निःशुल्क गरेका थिए भने निमाविमा रु.२६० र माविमा रु.४२५ वार्षिक शुल्क उठाउने नियम लागू गरेका थिए ।

नाति–नातिनाका साथ झा ।

उपलब्धिको पाटो
राजकिशोर एउटा सफल हेडमास्टर मात्र होइनन् उनीगतिला शिक्षक र छात्रछात्राका पथप्रदर्शक पनि हुन् । अहिलेसम्म आफूले पढाएका विद्यार्थीमध्ये कोही पनि बेरोजगार वा असफल भएको सुन्नु नपरेको झको अनुभव छ । महोत्तरीका अधिकांश स्कूलमा अहिले पनि राजकिशोरका चेला नै प्रअ र शिक्षक छन् । चिकित्सा र इन्जिनियरिङ पेशामा लाग्न महँगो निजी स्कूलमा पढेको व्यक्ति चाहिने सामाजिक मान्यतालाई झका चेलाहरूले खण्डित गरेका छन् । वरिष्ठ दन्तचिकित्सक डा. प्रवीण मिश्र हुन् या डा. अनिल मिश्र, राजकिशोरकै चेलामा पर्छन् । अमेरिकामा इन्जिनियरिङ गरिरहेका सञ्जय कुमार साह, सभासद् हरिनारायण यादव, मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य रवीन्द्र ठाकुर झकै छात्रा हुन् । रामनारायण अयोध्या उमाविका प्रअ जयचन्द्र ठाकुरसहित उक्त स्कूलका अधिकांश शिक्षक, नेपाल शिक्षक युनियनका उपाध्यक्ष भोगेन्द्र झ, रामदेव जनता उमावि भ्रमणपुराका प्रअ बलराम पाण्डे, निमावि सहोरवाका प्रअ सुरेशप्रसाद ठाकुर आदि सबै राजकिशोरकै स्कूलिङमा हुर्केका हुन् । झले शिक्षाको विकास मा पुर्याएको योगदान थाहा पाउने जो–कोही एकपटक नतमस्तक हुन्छ । राजकिशोरले मधेशमा शिक्षाको ज्योति फैलाउन गरेको अनवरत योगदानले उनलाई ‘जलेश्वरका ज्योति’ बनाएको छ ।

११ माघमा जलेश्वरस्थित झको निवासमा यो सम्वाददाता र राजकिशोरबीच अन्तरसम्वाद हुँदा उनका छात्र तथा निमावि सहोरवाका प्रअ सुरेश कुमार ठाकुर र रामदेव उमाविका प्रअ बलराम पाण्डे सँगै थिए । प्रअ ठाकुर आफ्ना गुरुको मूल्याङ्कन यसरी गर्छन्, “राजकिशोर गुरुले हामीलाई पढाएर योग्यमात्र बनाउनुभएन, आफ्नै पेशामा तान्नुभयो, उहाँका कुनै पनि चेला बिग्रिएको थाह छैन ।” झले आफ्ना छोराहरूलाई समेत आफ्नै बाटोमा हिँडाए । दुई छोरामध्ये जेठा सीताराम जिल्लाकै मावि एकडारा र कान्छा राधेश्याम मावि बथनाहामा शिक्षक छन् ।

अङ्ग्रेजी पढाउने राजकिशोरले आफ्नो कार्यकालमा कहिल्यै कक्षा खाली हुन दिएनन् भने छात्रछात्रासँग अतिरिक्त शुल्क असुलेर ट्युसन पनि पढाएनन् । प्रअ भएर पनि उनी दैनिक पाँच घण्टी पढाउँथे भने कुनै कक्षा खाली भए त्यसमा पनि आफैँ पुग्थे । उनी २४ घण्टा स्कूलमै भेटिन्थे, स्कूलमै बस्थे । उनको कार्यकालमा एसएलसीको नतिजा ८७ प्रतिशतसम्म पुग्यो । विद्यालयको जुन ढोकाबाट उनी प्रअ भएर भित्रिएका थिए, त्यही ढोकाबाट उनी ३२ वर्षपछि अर्थात् २० माघ २०६० मा आत्मसम्मान , आत्मसन्तुष्टि र पुरस्कार को भारी अनि इज्जत हासिल गरेर फर्किए । पञ्चायत, बहुदलीय प्रजातन्त्र र राजाको सक्रिय शासन समेत भोगेका उनी कहिल्यै विवादमा परेनन् । बरु चाकरी र भनसुन विना नै जिल्ला शिक्षा समिति महोत्तरीले उनलाई तीन पटक सम्मान गरयो भने ०४१ सालमा उनी राष्ट्रिय शिक्षा पुरस्कार बाट सम्मानित भए । त्यसको एकवर्ष नबित्दै उनलाई गोरखा दक्षिण बाहु चौथोबाट विभूषित गरियो । महोत्तरीका स्कूलका बारेमा जानकारी लिन कोही जिशिअसमक्ष पुगेमा जिशिअले राजकिशोरको स्कूलमा पठाउने गरेका कैयौं घटना ६८ वर्षीय यी गुरुको सम्झनामा अझै ताजै छ । “शिर ठाडो पारेर काम गरें, सारै रमाएर प्रअ जीवन बिताएँ, आत्मसम्मान र सन्तुष्टि तथा सबै तहका जनताबाट पाएको माया र सम्मान मेरो अमूल्य सम्पत्ति हो” राजकिशोरलेगर्व का साथ भने ।

सफलताको कथा
सफल हेडमास्टर बन्नु मा राजकिशोरमा निहित केही विशेषता बरदान साबित भएको देखिन्छ । हेडमास्टरलाई उनी स्कूलको दिमाग मान्छन् । ब्रेन टाउकोभित्र हुने भएको ले सबै कुरा ब्रेनले निर्धारण गर्ने झको ठम्याइ छ । स्कूलको चौतर्फी विकास प्रतिको चिन्तनशीलता, विशिष्ट प्रतिभावान् शिक्षकलाई विशेष आदर गर्ने बानी, कक्षामा नियमितता, आर्थिक पारदर्शिता, स्कूलको भौतिक र शैक्षिक सम्पत्तिको सुरक्षा राजकिशोरका केही महत्वपूर्णगुणहरू हुन् । त्यसो त, उनी शिक्षक र कर्मचारीको विवाह, व्रतबन्ध जस्ता काममा थोरै भए पनि आर्थिक सहुलियत प्रदान गर्दथे, हरेक महिना शिक्षकको सञ्चयकोष दाखिला भए नभएको जानकारी सम्बन्धित शिक्षकलाई दिन्थे । उनले स्कूलमा विषय शिक्षकहरूका छुट्टा–छुट्टै समितिगठन गरी स्तरीय शिक्षण बारे शिक्षकहरूसँग मासिक छलफल गर्ने गरेका थिए ।

विद्यालयमा अनुशासन बढाउन आफू अनुशासनमा बस्ने, नमुना कक्षाको विकास गर्ने , विद्यालयमा आउने हरेक समस्या तत्काल समाधान गर्ने , शिक्षकका कमिकमजोरी सम्बन्धित शिक्षकलाई छुट्टै बोलाएर औंल्याउने जस्ता थपगुणले राजकिशोरलाई जिल्लाको निष्कलङ्क हेडमास्टर बनायो । भन्छन्, “पेशाप्रति निष्ठावान् भएर स्कूलको विकास मा तल्लीन भएपछि हेडमास्टरलाई भेट्न सबै आउँछन्, हेडमास्टर धाउनुपर्दैन ।” उनले स्कूलमा लागू गरेको  एउटा रराम्रो उदाहरण हो– स्कूलको भित्तामा लेखिएको नागरिक बडापत्र । उक्त बडापत्रमा स्कूलले लिने शुल्क, शिक्षक, अभिभावक र छात्रछात्राले पालन गर्नु पर्ने नियम, हेडमास्टरलाई भेट्ने समय जस्ता महत्वपूर्ण कुरा लेखिएको छ ।

अवकाशपछि पनि सक्रिय
प्रअबाट अवकाश लिए पनि राजकिशोरको सक्रियता शिथिल भएको छैन । उनी जलेश्वर–४ स्थित आफ्नै निवासमा पत्नी तथा छोराहरूसँग बस्छन् । तर मोफसलमा बसे पनि उनी बिहानै राष्ट्रिय अङ्ग्रेजी पत्रपत्रिकाले घेरिन्छन् । पत्रपत्रिका पढिसकेपछि नाति मुकुन्द, नातिनी श्वेता र पूजालाई ८ देखि १० बजेसम्म पढाउँछन् । नातिनातिनीसँग राजकिशोर अङ्ग्रेजीमै कुरा गर्छन् । उनी बिहानको खानापछि केहीबेर आराम गरेर आफू अध्यक्ष रहेको ट्रेड युनियन काङ्ग्रेस र मानव अधिकार तथा शान्ति समाज को कार्यालयतिर लाग्छन् । कार्यालयबाट फर्केपछि साँझ् ६ बजे नियमित रूपमा जलेश्वरनाथ महादेवको दर्शन गर्न पुग्छन् । त्यसपछि शुरु हुन्छ– नातिनातिना पढाउने नियमित काम ।

भ्वाइस अफ अमेरिका र बीबीसी राजकिशोरले सुन्ने नियमित रेडियोमा पर्छन् । बेलुकीको खाना खाएर ११ बजे ओछ्यानमा गएपछि शुरु हुन्छगायत्री र सावित्री मन्त्र जप गर्ने काम । उनी चुरोट त पिउँछन् तर चुरोटको असर कम गर्न बेलुका तातोपानीमा अलिकति नुन हालेरगारगल गर्छन् भने सुत्नुअघि एकगिलास तातो पानी पिउँछन् । सक्रिय जीवनकै फल हुनुपछ राजकिशोर अहिलेसम्म गम्भीर बिरामी परेका छैनन् । करेसाबारीको विकास गरी नियमित रूपमा तरकारी फलाएका कारण राजकिशोरको परिवारले अहिलेसम्म तरकारी किन्नु परेको छैन ।  

शब्द/तस्वीरः बाबुराम विश्वकर्मा

commercial commercial commercial commercial