शैक्षिक सामग्री सस्तैमा पनि बनाउन सकिन्छ
फालिएका वा उपयोग भइसकेका कागज लगायतका वस्तुलाई थोरै खर्चमा शैक्षिक सामग्रीको रूपमा विकास गर्न सकिन्छ । यसबाट शिक्षक, बालबालिका र स्कूललाई समेत फाइदा हुन्छ ।
साना–साना केटाकेटीलाई नयाँ कुरा सिकाउने काम सजिलो छ्रैन । आकर्षक शैक्षिक सामग्री प्रयोगबाट उनीहरूलाई नयाँ कुरा सिकाउन सकिन्छ । धेरै शिक्षकले शैक्षिक सामग्रीको अभावका कारण प्रभावकारी शिक्षण गर्न नसकेको बताउने गरेका छन् । तर, मेहनती र सिर्जनशील हुन सके शिक्षक स्वयंले फालिएका वस्तुबाट पनि शैक्षिक सामग्री तयार गर्न सक्छन् । कागजजस्तै कार्डबोर्ड, काठका स–साना टुक्रा, ढुङ्गा र माटोबाट थुप्रै शैक्षिक सामग्री बनाउन मिल्छ ।
तीन चार वर्ष उमेर समूहका बालबालिकाले कागज च्यात्न मन पराउने हुनाले उनीहरूलाई कागज च्यात्ने क्रियाकलाप मा सहभागी गराउन सकिन्छ । कागजलाई मसिना टुक्रा पार्दा केटाकेटीहरूमा एकाग्रता बढ्छ, औँलाहरूको सूक्ष्म व्यायाम हुन्छ र यस्तो अभ्यास ले उनीहरूमा कलम समात्ने सीपको विकास हुन्छ । प्रयोग भइसकेका दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका, कापी, किताब वा पातलो कार्डबोडलाई मसिना टुक्रा पार्नुपर्छ अनि कुनै भाँडोमा पानी राखेर त्यस्ता टुक्रालाई तीनचार दिनसम्म भिजाउनुपर्दछ । लतक्क परेर भिजेका ती कागजलाई हत्केलामा डल्ला पार्दै पानी निचोरेर मैदाकोगमसँग मिसाउँदै चाहे अनुसारको डल्ला पार्ने । यसरी भिजेको कागजलाई गमसँग मिसाउँदा चाहे अनुसार आकार दिन सकिन्छ । यसलाई मालाको आकार दिने हो भने चिसोमै बीचमा पेन्सिल घुसारेर दुलो पार्नुपर्छ । चाहे अनुसारको आकार दिएपछि त्यसलाई चार–पाँच दिनसम्म घाममा सुकाउनुपर्छ । सुकेका डल्लालाई रङ्गीचङ्गी वा सादा कागजले बाहिरबाट टाँस्ने । यसरी तयार गरी रङ्ग भरिएका वा सादा कागजको डल्लाको बाहिरपट्टि विषय अनुसार बोर्ड मार्करले अक्षरहरू लेखेर शैक्षिक सामग्री तयार गर्न सकिन्छ ।
यसरी तयार गरिएका रङ्गीन कागजका डल्ला आकर्षक देखि ने हुनाले बालबालिकाको ध्यान आकर्षित गर्छ । त्यसमा विषय अनुसारको अक्षर, शब्द, चित्र वा अङ्क लेखिएका डल्लाले बालबालिकाको ध्यान सहजै तान्छ र उनीहरू जस्तोसुकै विषय पनि सिक्न अग्रसर हुन्छन् । विशेष गरी व्यावहारिक कक्षामा यस्ता डल्लाको प्रयोगले बालबालिकाले खेल्दै नयाँ कुरा सिक्छन् । जस्तै— रङ्गीन डल्लामा क, ख; अ, आ र बाह्रखरी लेखेर पनि पढाउन सकिन्छ । त्यस्तै अक्षर र शब्द लेख्न सकिन्छ भने चित्र पनि कोर्न सकिन्छ । नेपालीका जस्तै अङ्ग्रेजीका अक्षर, शब्द र चित्र बनाई बालबालिकालाई अक्षर चिन्ने अभ्यास गराउन सकिन्छ । धेरै बालबालिकालाई भकुन्डो मन पर्छ । कागजबाट बनेका साना–ठूला भकुन्डो लिन उनीहरू सधैँ लालायित हुन्छन् । अझ् रुँदै गरेका बालबालिका फकाउन भकुन्डो दिँदा उनीहरू फुरुङ्ग हुन्छन् । कतिपय सहजकर्ता वा शिक्षकहरूले मिठाईजस्ता खानेकुरा दिएर बालबालिकालाई फकाउने गर्छन् तर त्यस्ता खानेकुरा भन्दा यस्ता शैक्षिक सामग्री दिनु उत्तम हुन्छ ।
प्रयोग भइसकेका कागजबाट सानाठूला बाटा,गिलास, डस्टबिन आदि पनि तयार गर्न सकिन्छ । शैक्षिक सामग्री राख्ने इच्छानुसारका सामग्री बनाउन सकिन्छ । बाटा बनाउने हो भने प्लास्टिकको बाटालाई फर्माको रूपमा प्रयोग गरेर लतक्क भिजेको कागज टाँस्दै जानुपर्छ । यसरी तीन देखि चार तहसम्म टाँसिसकेपछि मैदाकोगम लगाएर कागज टाँस्नुपर्छ । बाक्लो भएपछि घाममा सुकाउनुपर्छ । कागजको डल्लाजस्तै सुकेपछि बिस्तारै एकतिर बाट फर्मा अलग गर्नु पर्छ । सुकेपछि कागज र फर्मा आफैँ पनि छुट्टिन्छ । यसरी फर्मा अनुसारको सामग्री तयार भएपछि इच्छा अनुसारको बाक्लो बनाउन कागज टाँस्दै सुकाउनुपर्छ । सुकेपछि कुन रङको कागज टाँस्न मन पर्छ, टाँस्दै जाने र केही दिन सुक्न दिने । यसरी तयार पारिएको सामग्रीलाई घाममा सुकाउनुपर्छ र पछि पुरानोजस्तो देखि ए पुनः नयाँ कागज थपी आकर्षक बनाउन सकिन्छ । यस्तै प्रक्रियाबाट कलमदानी तथा डस्टबिन वा अन्य सामग्री बनाउन सकिन्छ ।



