विज्ञान शिक्षणमा समस्या
शिक्षक र प्रयोगशालाको अभावले विज्ञान पनि रटेर पास गर्ने विषय बनेको छ । यसबाट विज्ञानको ज्ञान प्रसारण हुन सक्दैन ।
विज्ञान जति रुचिपूर्ण र रमाइलो छ त्यति नै व्यावहारिक र जीवनोपयोगी पनि । सबै मानिसले विज्ञान बुझन जरुरी हुन्छ किनभने हरेक कुरा को पछाडि वैज्ञानिक रहस्य लुकेको हुन्छ । बालमस्तिष्कमा उब्जिने हरेक कुरा विज्ञानमा आधारित हुन्छ । बालबालिकाको मनोविज्ञानले देखाउँछ, उनीहरू जानीनजानी वैज्ञानिक कारण खोजिरहेका हुन्छन् । विज्ञानप्रति हरेक मानिसको जिज्ञासा भएकाले विद्यालयको प्राथमिक तह देखि नै यसलाई पाठ्यक्रममा समावेश गरिएको हो । प्राथमिक तहमा छुट्टै विषय नभए पनि निम्नमाध्यामिक र माध्यामिक तहमा विज्ञानलाई छुट्टै अनिवार्य विषयका रूपमा पढाइन्छ । तर हामीकहाँ विज्ञान शिक्षणमा ठूलो समस्या छ । अधिकांश विद्यालयमा विज्ञान सिकाइ प्रभावकारी हुन सकेको छैन ।
अधिकांश प्राविमा विज्ञान विषय पढाउने शिक्षक यस्ता छन् जसले जीवनमा विज्ञान विषय पढेकै छैनन् । ती शिक्षकले व्यवहारिक अभ्यास गराउने त परकै कुरा भयो, सैद्धान्तिक पक्ष पनि रराम्रोसँग व्याख्या गर्न सक्दैनन् । प्रावि तहमा वैज्ञानिक सिद्धान्त, नियम र प्रमाण प्रशस्तै समावेश गरिएका छन् । यी पाठ छर्लङ्ग बुझाउन र बुझन सकिएन भने पढाइ त निरर्थक हुन्छ नै विज्ञानको अपव्याख्या हुने डर पनि रहन्छ । राम्ररी बुझाउन सकिएन भने विज्ञान पत्याउन नसकिने कुनै आध्यात्मिक चिन्तन वा कसैको लहडी अनुभूतिझैँ लाग्छ ।
सम्बन्धित विषयमा गहिरो अध्ययन र प्रस्ट ज्ञान नभएका शिक्षकले तथ्यगत कुरा बुझाउन सक्दैनन् । २०५० सालअघि एसएलसी पास गरेकाहरूले विज्ञान नपढेका हुन सक्छन् किनभने त्यति बेला यो विषय ऐच्छिक थियो । प्रचलित नियम अनुसार प्राथमिक विद्यालयमा शिक्षण गर्न एसएलसी पासलाई न्यूनतम योग्यता मानिएको छ । दरबन्दी पर्याप्त भएका प्राविमा एक जना आईए गरेका शिक्षक रहन्छन् तर यो नियम अनुसारका शिक्षकबाट विद्यार्थीहरूले चाहिनेजति ज्ञान लिन सक्दैनन् । एक कक्षालाई नै किन नहोस् विज्ञान पढाउन उच्च शिक्षामा विज्ञान पढेकै शिक्षक हुनुपर्दछ ।
तालिम लिएका वा शिक्षाशास्त्र पढेकाहरूले मात्र अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिन सक्ने र यो अनुमतिपत्र नहुनेले पढाउन नपाउने कानुनी व्यवस्थाले विज्ञान विषयको पठनपाठन नराम्ररी प्रभावित बनेको छ । कुनै विद्यालयलाई विज्ञान पढाउने शिक्षक चाहिएको छ र त्यसका लागि आईएससी वा बीएससी गरेको व्यक्ति उपयुक्त हुनसक्छ भने पनि अनुमतिपत्र छैन भने उसले पढाउन पाउँदैन, तर त्यो दरबन्दीमा उच्च शिक्षामा विज्ञान नपढेको अनुमतिपत्रधारी व्यक्तिले पढाइरहेको हुन्छ । यस्तो समस्या धेरै विद्यालयहरूमा छ । शिक्षाशास्त्रमा विज्ञान विषय पढ्ने अति न्यून जनशक्तिले विज्ञान शिक्षकको अहिलेको आवश्यकता पूरा गर्न सक्दैन ।
शिक्षक ले मङ्सिर अङ्कको विषय सन्दर्भमा छापे अनुसार एक जना शिक्षकले वर्षभरिमा पढाउने दिन ७९.१ वा ८० दिन मात्रै हुन्छ । यति दिनमा एकोहोरो भट्याउँदा पनि कोर्ष पूरा हुँदैन । यसै पनि ४०–४५ मिनेटको पिरियडमा विज्ञान पढाउन सम्भव छैन, प्रयोगात्मक क्रियाकलाप त टाढाकै कुरा भयो । एक जना शिक्षकले औसतमा दिनको ६ पिरियड पढाउनु पर्छ । जम्मा दुई पिरियड लिजर पाउने शिक्षकले कसरी प्रयोगात्मक परीक्षणको तयारी गर्न भ्याउँछ ? यसैले अधिकांश विद्यालयले प्रयोगात्मक कक्षाका निम्ति पिरियड नै छुट्याउँदैनन् । सुविधासम्पन्न केही स्कूलबाहेक ९० प्रतिशत स्कूलमा विज्ञान प्रयोगशाला छैन । विद्यालयको आफ्नै स्रोत र सरकारी अनुदानबाट पाठलाई चाहिने जति सामग्री खरिद गर्न पनि कठिन छ । त्यसैले हामीकहाँ विज्ञान पनि रटेर पास गर्ने विषय बनेको छ ।
सामुदायिक विद्यालयमा एउटै कक्षामा ५० भन्दा बढी विद्यार्थी राखिन्छ । यति धेरै विद्यार्थीबीच वैज्ञानिक सिद्धान्त र कारणहरू सम्बन्धी सामग्री प्रदर्शन गरी प्रस्ट्याउन कठिन हुन्छ । रसायनशास्त्रका कतिपय प्रयोगहरू धेरै मानिसमाझ् गर्नु हानिकारक पनि हुन्छ । भौतिकशास्त्र जस्तो यसको प्रयोग जस्तोसुकै कोठामा गर्न सकिँदैन । अन्तरक्रियात्मक ढङ्गले शिक्षण गर्नु पर्ने र विद्यार्थीकेन्द्रित विधि अपनाउनुपर्ने भएकाले कक्षामा धेरै विद्यार्थी हुँदा व्याख्यानको विकल्प हुँदैन । तर यसबाट विज्ञानको ज्ञान प्रसारण हुन सक्दैन ।
विज्ञान पढ्न अवधारणा बुझन सक्ने दिमाग र बढी मेहनत आवश्यक पर्छ । सानै कक्षा देखि ऐच्छिक विषयको रूपमा राखिने भएकाले विकसित राष्ट्रहरूमा विज्ञानको महत्व र स्थान बेग्लै छ । उच्च मावि देखि हामीकहाँ पनि विज्ञानको पढाइ बेग्लै छ तर, माध्यामिक स्तर सम्म अरू विषयसरह पाठ्यक्रम दिइएको छ । अहिले छुट्याइएको पाठ्यभार ५ ले कोर्षको पढाइ सकिंँदैन र साधारण विषयको रूपमा लिएर विज्ञानको उन्नति हुन सक्दैन । विज्ञानप्रति जिज्ञासा, लगाव र लगानीविना देश विकास असम्भव छ ।
(अधिकारी विराट साइन्स क्याम्पसका जीवशास्त्रका उपप्राध्यापक हुन्)



