हेडमास्टरः झेलिनसक्नुका झ्न्झ्ट
हेडमास्टरले विद्यालय व्यवस्थापन समिति, सरकारी निकाय, राजनीतिक दल र सशस्त्र समूहबाट अनेक झन्झ्ट व्यहोर्नु पर्दा तराईका सार्वजनिक स्कूलको पठनपाठनमा नकारात्मक असर परेको छ ।
विद्यालय व्यवस्थापन छनोट समितिको संयोजक प्रअ हुने र समितिगठनपछि उनी त्यसको सदस्य–सचिव रहने शिक्षा नियमावलीको प्रावधानलाई सार्वजनिक स्कूलका अधिकांश हेडमास्टरले ‘घाँडो’को सङ्ज्ञा दिएको पाइन्छ । उक्त प्रावधानको आडमा व्यवस्थापन समितिले चाहेको बेला प्रअ नियुक्ति गर्ने र हटाउने गरेका दृष्टान्त यत्रतत्र भेटिन्छन् । परिणामतः सार्वजनिक स्कूलमा प्रअको भूमिका कमजोर मात्र नभई स्कूलको पठनपाठन र समग्र शैक्षिक उपलब्धिमा समेत नकारात्मक असर पुगेको आम गुनासो पाइन्छ ।
उमावि नगराइन, धनुषाका प्रअ महावीर दास दुई महिनाअघि प्रअबाट हटाइए । दासलाई स्कूल सञ्चालन गर्न नसकेको आरोप लगाएर हटाइएको भने होइन ।गत मङ्सिरमा व्यवस्थापन समिति परिवर्तन भएपछि ‘अघिल्लो व्यवस्थापन समितिको प्रअ’ भन्दै उनलाई हटाएर उर्मिला बर्मालाई प्रधानाध्यापक नियुक्त गरिएको थियो । व्यवस्थापन समितिको निर्णय विरुद्ध दास अदालतको ढोका ढक्ढक्याउन पुगे । उनको मुद्दा अहिले पुनरावेदन अदालत जनकपुरमा छ । विद्यालयमा दास र बर्माले प्रअको रूपमा छुट्टाछुट्टै रजिस्टरमा हाजिर गर्दै आएका छन् ।
व्यवस्थापन समितिकै स्वार्थका कारण मावि झ्टियाही, धनुषामा पनि स्थायी शिक्षक रामस्वार्थ महासेठ र रामजी साह हुँदाहुँदै अस्थायी शिक्षक मनसिफ साहलाई ६ महिनाअघि निमित्त प्रअ बनाइएको छ । महासेठ यसअघि २५ वर्षसम्म प्रअको जिम्मेवारीमा थिए भने साह पछिल्ला दुई वर्ष प्रअ थिए । भनेको मान्ने हेडमास्टर हुँदा आफन्त भर्ना गर्न पाइने, शिक्षक सरुवा–बढुवा गर्न र स्कूलको रकमसमेत चलाउन पाइने भएको ले व्यवस्थापन समितिहरूले आफ्नो रोजाइको प्रअ बनाउने होड चलेको नेपाल शिक्षक युनियन धनुषाका अध्यक्ष लालबाबु हाथीको ठम्याइ छ ।
हतियार र पैसाको प्रयोग
यता आएर मधेशमा स्कूल व्यवस्थापन समितिको नेतृत्व हत्याउन हातहतियारको प्रयोग र पैसाको खेलोसमेत आम रूपमा हुन थालेको छ । धनुषाकै वासुदेव मावि, बहुअर्वामा १४ पुस २०६५ मा भएको व्यवस्थापन समितिको भेलामा नेका, एमाले र तमलोपाले आ–आफ्ना समूह खडा गरी लाख–लाख रुपैयाँ खर्च गरेको स्थानीय शिक्षकहरू बताउँछन् । तीन समूहबीच भिडन्त भई स्कूल तोडफोड हुन नपाओस् भनी प्रअ तपेश्वर कुमार मल्लिकले जिल्ला प्रहरी कार्यालयबाट ५० जना प्रहरी झ्किाएका थिए । त्यहाँ नेपाली काङ्ग्रेस समूह विजयी भएको थियो । प्रअ मल्लिक भन्छन्, “व्यवस्थापन समितिकोगठनका बेला हामीलाई ज्यानै जोगाउन कठिन पर्छ,गठन भइसकेपछि स्कूल जोगाउन कठिन हुन्छ ।” उक्त स्कूलमा प्राविमा दुई र माविमा गणित विषयको स्थायी दरबन्दी खाली छ । रिक्त दरबन्दीमा व्यवस्थापन समितिका पदाधिकारीका आफन्तलाई जागिर ख्वाउनका लागि मल्लिक माथि चर्को दबाब छ । चुनावका प्रत्यासीले प्रचार, भोजभतेर तथा स्वयंसेवकमा खर्च गरेको रकम चुनाव जितेपछि स्कूलको कोषबाट उठाउने प्रयास गर्ने गरेको बताइएको छ । विद्यालय व्यवस्थापन समितिको दबाबमा उमेर नाघेको व्यक्तिलाई शिक्षक नियुक्त गर्न नमान्दा प्रावि देबडियाका प्रअ रामआशिष पण्डितलाई समितिले गएको दशैँ यता हाजिर गर्नसमेत वञ्चित गरेर तलब रोक्का गरेको जिशिका धनुषाको रेकर्डबाट देखिन्छ । व्यवस्थापन समिति र दलको दबाबसँगै शिक्षकले प्रअलाई नटेर्ने, विद्यार्थीलाई प्रअका विरुद्ध भड्काउने प्रवृत्तिले प्रअको भूमिका एवं हैसियत स्कूल र समाज मा समेत कमजोर हुँदै गएको छ ।

धनुषा, पर्छवास्थित निमावि वासुदेवपट्टिको व्यवस्थापन समिति चयन गर्ने भेलामा हतियारधारीहरू उपस्थित भएपछि अझ्सम्म व्यवस्थापन समितिगठन हुनसकेको छैन । यस्तै हातहतियार र बल प्रयोग गरीगठन गरिएको कन्या मावि, धनुषाको व्यवस्थापन समितिको वैधताका बारेमा पुनरावेदन अदालत जनकपुरमा मुद्दा चलिरहेको छ । यस्ता विवादको छिनोफानो गर्न अदालत पठाउने गरेको बताउँदै धनुषाका जिशिअ विष्णुदेव साह भन्छन्, “प्रअले व्यवस्थापन समिति र अभिभावकलाई समेत विश्वासमा लिनुपर्छ । यसैको अभावमा मधेशका धेरै स्कूलमा विवाद सिर्जना भएको छ । कतिपय स्कूलमा चाहिँ प्रअले अभिभावकलाई बेवास्ता गरेकाले पनि स्थिति बिग्रिएको छ ।”
जलेश्वरबाट आठ किलोमिटर उत्तरमा पर्ने निमावि सहोरवामा १७ वर्ष देखि प्रअ रहेका सुरेशप्रसाद ठाकुरका निम्ति पनि विद्यालय व्यवस्थापन समितिकोगठन सम्बन्धी व्यवस्था ‘अभिशाप’ बन्न पुगेको छ । उक्त स्कूलमा दुई वर्षअघि विद्यालय व्यवस्थापन समितको चयन प्रक्रियामा १७ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिए । लामो विवादपछि अन्ततः सर्वसम्मतिबाट हस्ताक्षरसमेत गर्न नसक्ने ट्याक्टर चालक चन्देश्वर यादव व्यवस्थापन समितिका अध्यक्ष चुनिए । जबकि शिक्षा नियमावलीको प्रावधान अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन मावि तहको निम्ति एसएलसी, निमाविको निम्ति आठ कक्षा र प्राविका निम्ति पाँच कक्षा उत्तीर्ण भएको व्यक्ति हुनुपर्छ । तर अध्यक्ष हुने यस्तो मापदण्ड विपरीत यादवको दुई वर्षे कार्यकाल सकिएपछि व्यवस्थापन समितिगठनमा फेरि उस्तै विवाद पैदा गरिएको छ । व्यवस्थापन समिति नहुँदा स्कूलको काममा कठिनाइ उत्पन्न भएको प्रअ ठाकुर बताउँछन् ।
सुरेशले प्रअको जिम्मेवारी निर्वाह गर्दा झेल्दै आएको अर्को समस्या हो— निजी स्कूलमा पढेका स्थानीय विद्यार्थीलाई बूढानीलकण्ठ स्कूलमा छात्रवृत्तिका लागि सिफारिस गर्नु पर्ने दबाब । उनले भने, “आफ्नो स्कूलमा नपढेका विद्यार्थीलाई सिफारिस गर्न मिल्दैन भन्दा पनि जबर्जस्ती सिफारिस गर्नु पर्छ ।”
प्रअ पद व्यवस्थापन समितिको खेलौना बनेका कारण हेडमास्टर नियुक्ति प्रक्रियालाई त्रुटिपूर्ण मानिएको छ । राप्रावि दनौली, महोत्तरीका प्रअ विनोदनन्दन झ प्रअको छुट्टै पद सिर्जना गरेर नियुक्तिको कानुनी व्यवस्था गरिनुपर्नेमा जोड दिन्छन् । उनी व्यवस्थापन समितिले प्रअ छान्ने अधिकार खारेज नभएसम्म योग्य व्यक्ति प्रतिस्पर्धाबाट प्रअ बन्न नसक्ने दाबी गर्छन् ।
निमित्तको दबदबा
शिक्षा नियमावलीमा कायममुकायम र निमित्त प्रअको व्यवस्था नभए पनि शैक्षिक योग्यता नपुगेका शिक्षकलाई व्यवस्थापन समितिले धेरै विद्यालयमा कामु वा निमित्त प्रअ बनाउने गरेको भेटिन्छ । जिशिका, धनुषाका अनुसार जिल्लाका २३० प्रावि, ३८ निमावि र ५६ माविमध्ये अधिकांशमा निमित्त प्रअबाट चलिरहेको अनुमान धनुषाका जिशिअ विष्णुदेव साह गर्छन् । जिशिकाको रेकर्डमा मावि कुवारामपुरमा प्रावि शिक्षक सीताराम यादवलाई निमित्त प्रअ बनाइएको छ । त्यस्तै मावि ठाढीमा निमावि शिक्षक ललितकिशोर साह, मावि ठेरामोढमा निमावि शिक्षक रञ्जु यादव, मावि हथमुण्डामा निमाविका राजेन्द्र महत्तो, मावि कजरामोलमा निमाविका शिवशेखर यादव, बेङाशिवपुर माविमा निमाविका श्रीनारायण साह, निमावि सखुवाबजारमा प्रावि शिक्षक नवलकिशोर यादव, मावि भुचक्रपुरमा निमावि शिक्षक रामचन्द्र सिंह निमित्त प्रअका रूपमा कार्यरत छन् ।
नेपाल शिक्षक युनियन धनुषाले निमित्त प्रअको चलन बढेका कारण प्रअ नियुक्तिको छुट्टै मापदण्ड तय गरेको छ । उक्त मापदण्ड अनुसार, निमित्त वा कामु प्रअ बनाउँदा शैक्षिक योग्यता, विशेष योग्यता, जेष्ठता, तालिम तथा अनुभवका आधारमा सबैभन्दा बढी अङ्क ल्याउनेलाई निमित्त वा कामु प्रअको जिम्मेवारी दिनुपर्छ । तर, यो मापदण्ड कार्यान्वयन गरिएको छैन । युनियनका केन्द्रीय उपाध्यक्ष भागेन्द्र झको धारणामा शैक्षिक योग्यता नपुगेका शिक्षकलाई प्रअ बनाउनुमा व्यवस्थापन समिति, राजनीतिक दल र सशस्त्र समूहको स्वार्थले काम गरेको छ ।
------------------------------------

तपाईं शिक्षकहरूको अगुवा पनि हुनुहुन्छ । मधेशमा हेडमास्टरले के–कस्ता समस्या झेल्नुपरेको छ ?
हेडमास्टरले भोगेका समस्या अनगिन्ती छन् । मधेशमा जुन हेडमास्टर कक्षाबाट टाढा भएका छन् अर्थात् जसले पढाउन छाडेका छन् तिनले अरू प्रअले भन्दा बढी समस्या भोग्नुपरेको छ । प्रअ भएर पनि जसले कक्षा लिइरहेका छन्, उनीहरूले धेरै झ्मेला सहनुपरेको छैन । प्रअले विद्यार्थी, शिक्षक, अभिभावक र जिल्ला शिक्षा कार्यालयप्रति उत्तरदायी हुनुपर्ने हो तर अधिकांश स्कूलका प्रअले राजनीतिक दल र व्यवस्थापन समितिलाई रिझउनुपर्ने बाध्यता छ । अझ् मधेशका हेडमास्टर र शिक्षकले सशस्त्र समूहप्रति पनि उत्तरदायी हुनुपर्छ, सशस्त्र समूहको धम्की र दबाब झेल्नुपर्छ, नत्र टिक्न कठिन छ ।
प्रअको भूमिकालाई कसले कमजोर बनाएको हो ?
व्यवस्थापन समितिलाई दिइएको अधिकार र व्यवस्थापन समितिगठनमा प्रअलाई प्रदान गरिएको भूमिका आम प्रअका लागि अभिशाप बनेको छ । व्यवस्थापन समितिकोगठन र त्यसको सञ्चालन, प्रअको नियुक्ति, काम, कर्तव्य र अधिकार तथा व्यवस्थापन समितिलाई प्रदान गरिएको शिक्षक नियुक्तिको अधिकारले प्रअलाई चौतर्फी झ्मेलामा फस्न बाध्य तुल्याएको छ । कानुनी रूपमा प्रअले पाएको सुविधा र अधिकार पनि पर्याप्त छैन । मधेशका अधिकांश स्कूलमा व्यवस्थापन समितिगठन हुँदा होस् या शिक्षक नियुक्ति गर्दा प्रअले असुरक्षित महसूस गर्नु परेको छ । व्यवस्थापन समिति बनाउँदा चुनाव गर्ने अनि भेलामा हातहतियारसहित जम्मा हुने अभ्यास सामान्य बन्न थालेको छ । यसको सीधा असर हेडमास्टरमा परेको छ र स्कूलको पठनपाठनमा समेत व्यवधान पुगेको छ ।
प्रअलाई शक्तिशाली र अधिकारसम्पन्न बनाउन के गर्नु पर्छ त ?
प्रअ पद सिर्जना गरेर खुल्ला प्रतिस्पर्धाको आधारमा प्रअ छनोट गरिनुपर्छ । छुट्टै कानुन ल्याएर प्रअको सुविधा, काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था गरिनुपर्छ । व्यवस्थापन समितिकोगठन सम्बन्धी मौजुदा कानुनी व्यवस्थामा सुधार हुनु आवश्यक छ । प्रअलाई अधिकार पुगेको छैन । कार्यालय प्रमुख बनाउनका लागि उसको पारिश्रमक, भूमिका र अधिकार बढाउनुपर्छ, अनि मात्र स्कूलमा सुधार आउँछ र प्रअको भूमिका सशक्त बन्दै जान्छ । प्रअ सम्बन्धी प्रभावकारी कानुनी व्यवस्था गरे मा उनीहरूको सामाजिक हैसियत बढ्छ । नेतृत्व विकास को अवसर र क्षमता देखाउने अवसर पनि उनीहरूले पाउँछन् । शिक्षा नियमावलीमा हुँदै नभएको कामु र निमित्त प्रअको चलन पूर्णतः हटाउनुपर्छ ।
तपाईंको अनुभवमा कस्तागुण भएका प्रअ सफल र कस्ता चाहिँ असफल भएका छन् ?
२६ वर्ष देखि पढ्ने र पढाउने काममा छु । मेरो अनुभवमा पढाउन छाडेरगफ हाँक्ने अनि शक्तिकेन्द्रको वरपर धाउनेहरूको अवस्था विद्यालय र समुदायमा पनि नाजुक छ । प्रअ कुशल व्यवस्थापक, संयोजक र समन्वयकर्ता तथा उत्प्रेरक हो । प्रअ हुनका लागिगतिलो शिक्षक त हुनैपर्छ । शैक्षिक क्रियाकलाप मा कमजोर व्यक्ति सफल प्रअ हुनसक्दैन । नेतृत्वदायी भूमिका, मिलनसार, जाँ गरिलो, विषय विज्ञ, समन्वयकारी क्षमता सफल प्रअ बन्नका लागि नभई नहुनेगुण हुन् । यस्तागुण नभएका व्यक्ति सफल प्रअ हुन सक्दैनन् । रराम्रो प्रअ भएको स्कूल रराम्रो भएको छ भने कमजोर प्रअ भएको स्कूल कमजोर हुँदै गएको देखिन्छ । प्रअले कहिल्यै पनि कक्षा खाली हुन दिनुहुदैन । विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीको भविष्यप्रति चिन्तित नहुने व्यक्तिलाई त प्रअ बनाउनु नै हुँदैन ।
-------------------------------------
सफल र सशक्त हुने सूत्र
विद्यालय व्यवस्थापन समितिसँग को अन्तरविरोधमा फसेका अनि अभिभावक, शिक्षक र विद्यार्थीबीच समन्वय कायम गर्न नसकेका सार्वजनिक स्कूलका प्रअको भूमिका कमजोर देखि ए पनि व्यवस्थापन समितिसँग रराम्रो समन्वय गरी स्कूलको पठनपाठन नियमित गर्ने प्रअहरू भने स्वयं व्यवस्थापन समितिबाटै पुरस्कृत पनि भएका पाइन्छन् । यस्तैमा पर्छन्— २०३७ साल देखि सिन्धुली र धनुषाका स्कूलमा प्रअको जिम्मेवारी निर्वाह गर्दै आएका राप्रावि भंगहा, धनुषाका प्रअ रघुनन्दन यादव । हेडमास्टरले व्यवस्थापन समिति, शिक्षक र छात्रछात्राबीच समन्वय गरी गुनासो, विवाद र झ्मेला समाधान गरे कुनै असजिलो नहुने उनको अनुभव छ । प्रअ यादव भन्छन्, “म आजीवन हेडमास्टर भएँ, मलाई चन्दनपुरमा एकपटक र भंगाहामा दुईपटक व्यवस्थापन समितिले पुरस्कृत गरयो ।” धनुषाका जिशिअ विष्णुदेव साहको अनुभवमा प्रअहरूले गल्ती हुँदा क्षमा माग्ने, कक्षा खाली हुन नदिने र आर्थिक पारदर्शिता अपनाएमा झ्मेला भोग्नु पर्दैन ।

अनुभवीहरूको विचार मा हेडमास्टर सशक्त र सफल हुने भरपर्दो सूत्र स्कूल र कक्षालाई नियमित तुल्याउन सक्नु नै हो । पढाउन छाडेर स्कूलको व्यवस्थापकीय र प्रशासकीय भूमिकामा लहसिने प्रअहरू बढी कमजोर भएको देखिन्छ । धनुषाको उमावि यदुकुवाबाट गत वर्षको एसएलसीमा सामेल १८० मध्ये ६६ जना प्रथम, ९० जना दोस्रो र बाँकी तेस्रो श्रेणीमा उत्तीर्ण भए । रराम्रो नतिजाकै कारण सो स्कूलले जिशिका धनुषाबाट रु.१ लाख नगद र प्रअ लालबाबु हाथीले ‘विशिष्ट शिक्षासेवी पुरस्कार ’ प्राप्त गरे । प्रअ हाथीकै योगदान र मेहनतको परिणामस्वरूप उमावि यदुकुवा जिल्लाको ‘क’ श्रेणीको उमाविमध्ये परेको छ । यो धनुषाको एकमात्र आवासीय सार्वजनिक स्कूल पनि हो । हेडमास्टर स्कूलको ‘न्युक्लियर पावर’ भएको ले उसको कुशल नेतृत्व र संयोजनविना कुनै पनि स्कूलले शैक्षिक उपलब्धि हासिल गर्न नसक्ने प्रअ हाथीको ठहर छ ।
सार्वजनिक स्कूलका प्रअहरू छात्रछात्रा, शिक्षक, अभिभावक र जिशिकाप्रति समेत उत्तरदायी हुनुपर्ने मान्याता प्रचलनमा छ । तर, लालबाबु आफू विद्यार्थीप्रति मात्र उत्तरदायी हुने गरेको बताउँछन् । उनको कथन छ— “छात्रछात्राको पढाइमा ध्यान दिएर कक्षामा पढाउन नछाडेपछि प्रअलाई कसैले हल्लाउन सक्दैन ।”
धनुषाको दक्षिणी भेकमा पर्ने निमावि खजुरी, चनहा त्यस भेकको रराम्रो स्कूलमध्येमागनिन्छ । १२५० छात्रछात्रा रहेको उक्त स्कूलमा १६ जना शिक्षकलाई नेतृत्व दिएका छन् प्रअ हरिलाल सहनीले । उनको स्कूलमा शिक्षकले अनिवार्य रूपमा आफ्ना छोराछोरी पढाउनु पर्ने नियम लागू गरिएको छ । ढिलो आउने शिक्षकलाई ५० रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । आफ्नो स्कूललाई जिल्लाकै नमुना निमावि बनाउने चाहना राखेर हेडमास्टरको जिम्मेवारी सम्हालेको बताउँछन् सहनी । उनको स्कूलबाट कक्षा ८ सकेर उमावि खजुरीमा अध्ययन गर्न जाने अधिकांश छात्रछात्राले सात वर्षयता रराम्रो नतिजा हासिल गरेको पाइन्छ । प्रअ सहनीले गाउँको वातावरणमा विद्यार्थीले पढाइमा कम ध्यान दिने गरेकाले तिनलाई छात्रावासमा राखेर स्कूलको निगरानीमा पढाउने योजनासमेत बनाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतनारायण ठाकुरका शब्दमा स्कूलले युवा तथा जाँ गरिलो प्रअ अनि पेशाप्रति निष्ठावान् शिक्षक पाएकाले प्रगति गर्दै आएको छ ।
महोत्तरीको रामनारायण अयोध्या उमाविमा शिक्षक र अभिभावकको सहमतिबाट २०४१ सालमा त्यही स्कूलबाट एसएलसी गरेका मावि तृतीय श्रेणीका शिक्षक जयचन्द्र ठाकुरलाई विद्यालय व्यवस्थापन समितिले प्रअ बनाएको छ । उक्त स्कूलका ३० शिक्षकमध्ये १० जना त जयचन्द्र ठाकुरका गुरुहरू नै छन् । बीएस्सीपछि एमए गरेका ठाकुर आफ्नै गुरुहरूको ‘हेड’ भएका छन् । “जाँ गरिलो र योग्य ठानेर आफ्नै चेलालाई प्रअको जिम्मेवारी स्वीकार गर्न लगायौँ, हराम्रो सहयोगबाट उहाँले विद्यालयलाई कुशल नेतृत्व प्रदान गर्नु भएको छ, आफैँ पढेको स्कूलमा प्रअ भएको ले काम गर्ने जाँगर पनि छ,” रामनारायण अयोध्या उमाविका सहायक प्रअ रतिश कुमार ठाकुर भन्छन् ।
रामनारायण अयोध्या उमावि जिल्लाकै नमुना स्कूलमध्ये पर्छ । पाँच बिघा क्षेत्रफलमा २००३ सालमा स्थापना भएको उक्त स्कूलमा ३८ कोठे पक्की भवन निर्माणाधीन छ । महोत्तरीमा दश जोड दुईमा विज्ञान विषयको पठनपाठन सञ्चालन गर्ने एकमात्र स्कूलमा पर्छ यो उमावि । पछिल्लो १० वर्षको एसएलसीको नतिजा ६० प्रतिशतभन्दा माथि रहेको छ । दश जोड दुईमा विज्ञान विषयमा शतप्रतिशत, शिक्षा र व्यवस्थापनमा ८० प्रतिशत छात्रछात्रा सफल भएका छन् । विज्ञान शिक्षक नरेश पाण्डेका अनुसार, हरेक दिन सात घण्टी पढाइ हुन्छ । प्रअले दैनिक चार घण्टी लिने गर्छन् । प्रअ, शिक्षक र अभिभावकबीच आपसी सहयोग र समन्वय भेटिन्छ । विद्यालयको रेकर्ड अनुसार, मावि तहमा १६०० र उमाविमा २०० गरी कुल १८०० छात्रछात्रा अध्ययनरत छन् । सहमतिबाट प्रअ भएको ले जयचन्द्रले अरू प्रअले जस्तो समस्या भोग्नुपरेको छैन । “शिक्षक मात्र हुँदा स्वतन्त्रता बढी हुन्थ्यो, प्रअ भएपछि काम र जिम्मेवारीको बोझले थिचेको छ, गुरुहरूको आशीर्वाद छ, सफल हुन्छु,” उनले शिक्षक प्रतिनिधिसँग को भेटमा भने ।
भूमिगत समूहको डर
मधेशका स्कूलमा प्रअ बन्न र प्रअ पदमा टिकिरहनका लागि अहिले अभिभावक, राजनीतिक दल र जिशिका, व्यवस्थापन समितिले भनेको मानेर मात्र नपुग्ने बताउँछन्— नेपाल शिक्षक युनियन महोत्तरीका अध्यक्ष शुभद्रनारायण झ । उनको भनाइमा अचेल तराईमा क्रियाशील सशस्त्र समूहहरूको धम्की तथा दबाब प्रअ हुनका लागि बलियो हतियार साबित हुन थालेको छ । मावि बेल्हीरजौलमा आफूले भनेको मान्ने व्यक्तिलाई हेडमास्टर बनाउन पुसको अन्तिम साता धनुषाका जिशिअलाई भूमिगत समूहका आकाश त्यागीले टेलिफोन गरेको जिप्रका धनुषाको समेत जानकारीमा छ । मधेशका स्कूलमा प्रअ, शिक्षक र जिशिअलाई धम्की आउनु सामान्य घटना बनेको शिक्षा अधिकारी हरूको भनाइ छ । केही शिक्षा अधिकारी त सशस्त्र समूहको धम्की आउने भयले मोबाइल अफ गरेर सुत्ने गरेको बताउँछन् । माओवादीका स्थानीय नेता तथा कार्यकर्ताको दबाब पनि उत्तिकै देखिन्छ । मावि धवौलीका निमित्त प्रअ रोशन कुमार यादवलाई काज शिक्षकलाई हाजिर गराए को भन्दै २८ पुसमा माओवादीका स्थानीय नेता सोखिलाल मण्डल र उनका समर्थकले कुटपिट नै गरेका थिए ।

बलियो बनाउने उपाय
शिक्षा नियमावलीको परिच्छेद १७ मा विद्यालयको प्रशासकीय प्रमुखको रूपमा प्रअ रहने व्यवस्था छ । त्यस अनुसार विद्यालय व्यवस्थापन समितिले शैक्षिक योग्यता पुगेका स्थायी शिक्षकमध्येबाट आन्तरिक परीक्षामा ७० अङ्क ल्याउने शिक्षकलाई प्रअ नियुक्तिका लागि जिशिअलाई सिफारिस गर्नु पर्छ । कुनै पनि स्थायी शिक्षकले ७० अङ्क् ल्याउन नसकेको खण्डमा जिल्लाका अन्य स्कूलका ७० अङ्क ल्याउने स्थायी शिक्षकमध्येबाट छानेर जिशिअले प्रअ नियुक्ति गर्न सक्छन् । शिक्षा नियमावलीको नियम ९३ को उपनि यम २ मा प्रअका उम्मेदवारले शैक्षिक योग्यताबापत १०, शिक्षण अनुभवबापत १५, तालिमबापत १०, कार्यसम्पादन मूल्याङ्कनबापत २५, विद्यालय सुधार कार्य योजनाबापत ३० र नेतृत्व क्षमताबापत १० अङ्क गरी कुल १०० पूर्णाङ्कको आन्तरिक परीक्षामा न्यूनतम ७० अङ्क हासिल गर्नु पर्छ । माविको प्रअले रु.५००, निमाविले रु.३०० र प्राविले रु.२०० प्रअ भत्ता पाउने कानुनी व्यवस्था छ ।
तर हेडमाटस्टरको नियुक्ति प्रक्रिया, काम, कर्तव्य र अधिकार तथा सुविधा सम्बन्धी यस्तो व्यवस्थालाई स्वयं प्रअहरूले अपर्याप्त भन्दै प्रअको छुट्टै पद सिर्जना गरी लोकसेवा आयोगको ढाँचामा खुल्ला प्रतिस्पर्धाबाट प्रअ चयन गरिनुपर्ने सुझाव दिएका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५ मा पनि प्रअको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गरिनुपर्ने र उसलाई अधिकार सम्पन्न बनाइनुपर्ने सुझाव दिइएको छ । यसलाई कार्यान्वयन गर्नसके प्रअको भूमिका सशक्त हुने पक्का छ ।



