गुरुको गुरुत्व र गुलियो
स्थानीय माटो र महकमा शिक्षाको प्रारम्भ हुन नसक्ने अवस्थामा देवदूत वा फरिस्ता जस्ता ती शिक्षकको त्याग र मिहिनेत पनि बूढीगण्डकीको पानी जस्तै खेर बगिरहेको सम्झनाले अझै पिरोल्दैछ ।
जस्तो देश उस्तै भेष भन्ने चलन छ । तर, जस्तो भाषा उस्तै शिक्षा त्यति प्रचलनमा छैन । शिक्षा ज्ञानको स्रोत हो । भाषा त्यसको माध्यम । बिनामाध्यम ज्ञान प्रवाह हुँदैन । विदेशको ज्ञान भित्रयाउन विदेशी भाषा जान्नुपर्छ । स्थानीय ज्ञान प्राप्त गर्न स्थानीय भाषाकै माध्यम चाहिन्छ । नेपालमा अनेकौं भाषाभाषीहरू छन् । धेरै भाषाका बीच एउटा साझा भाषाको खाँचो पर्दछ । त्यसलाई हामी राष्ट्रिय भाषा भन्दछौं । राष्ट्रिय भाषाको प्रचार, प्रसार र विस्तार स्कूलको माध्यमबाट हुने गर्छ । तर स्थानीय भाषामा भिज्न नसकेको स्कूलमा सिक्ने–सिकाउने प्रयासहरू प्रायः निष्फल रहन्छन् । नेपालका दुर्गम र कुनाकाप्चाका विद्यालयहरू यस्तै निष्फल प्रयासका शिकार बन्दै आएका छन् । त्यहाँ शिक्षकहरूको परिश्रम र त्याग तथा राष्ट्रको लगानीले यथोचित प्रतिफल दिन सकिरहेको छैन प्राथमिक वा पूर्वप्राथमिक शिक्षा स्थानीय मातृ भाषामा प्रदान गर्न सके मात्र स्वच्छ र स्वस्थ शिक्षाको जग बस्दछ । हाम्रा लागि यो कार्य अत्यधिक ठूलो चुनौतीको रूपमा खडा छ, किनभने नेपाल सानै भए पनि यसको भौगोलिक, सांस्कृतिक एवं प्राकृतिक विविधता अत्यन्तै विषम र विशाल छ । एउटा सानो जिल्लामा पनि विविधताको ठूलो संसार भेटिन्छ । विविधताको चुनौतीलाई उजागर गर्न गोरखा जिल्लाको एक सानो उदाहरण यहाँ प्रस्तुत छ ।
गोरखा जिल्लालाई राष्ट्रिय योजना आयोगका विभिन्न विकास योजना तथा विद्वान् लेखकहरूले एक पहाडी जिल्लाको रूपमा परिभाषित गरेका छन् । यसको क्षेत्रफल ३,६१० वर्ग किलोमिटर मात्र भए तापनि सालको वन र आँपको बगैँचा देखि विश्वको सातौं सर्वोच्च हिमशिखर मनासलु (८,६१३ मिटर) पनि यही जिल्लाभित्र पर्दछन् । उत्तरी भागमा सुख्खा र उच्च भूमिको प्रदेशले जिल्लाको झण्डै १५ प्रतिशत ओगट्दछ । सदासर्वदा हिउँले ढाक्न नछोड्ने भूभागको अंश पनि ११.५ प्रतिशत पुग्छ । उष्ण हावापानीमा हुने साल, आँप र केराको प्रदेशले २० प्रतिशत भूभाग ओगट्छ । तसर्थ, सामान्य पहाडी परिभाषाले गोरखाको वास्तविकतालाई ओझेलमा पार्दछ । यहाँको प्रकृति, संस्कृति, भाषा, धर्म र परम्पराहरू विविध प्रकारका छन् । विविधताका विषम फाँटमा मौलिक स्थानीयता (Endemism) मौलाएका धेरै उदाहरण यहाँको भाषा संस्कृतिमा पनि देख्न पाइन्छ ।
उत्तरी गोरखाको लार्केभोट तथा इयारभोटको बीचमा पर्ने कुताङ क्षेत्र (विही गाविस तथा प्रोक गाविसका केही अंश) को कौतूहलबारे धेरै विद्वान्ले चर्चा गरेका छन् । यस क्षेत्रमा बोलिने भाषा दक्षिणी भेगको गुरुङ भाषा तथा उत्तरी क्षेत्रको भोट भाषाको मिसावटबाट एक नौलो भाषाको रूपमा विकसित छ । त्यो भाषा न तलका गुरुङहरू बुझदछन् न माथिका भोटेहरू । यसैकारण गुरुङ र भोटेहरूले त्यो भाषालाई ‘कुस्काद’ अर्थात् चोरेको भाषा भनी नामकरण गरेका छन् ।
संसारका कसैले नबोल्ने र नबुझने, आफ्नै दुई गाविसभित्र सीमित समुदायले मात्र बुझने भाषा बोल्ने त्यहाँका बालबालिकालाई नेपाली कखरा सिकाउन बसेका स्याङ्जा, पाल्पा क्षेत्रका युवा शिक्षकको लगन र मिहिनेत आज करीब १४ वर्षपछि मैले झल्याँस्स सम्झिएँ । २०५१ सालको कुरा हो । ती शिक्षक खुल्ला आकाशमुनि हिमाली सिरेटोको बीचमा बसेर सात जना नानीहरूलाई सातौं महीनादेखि ‘क, ख,ग, घ, ङ’ समेतका पाँच अक्षर सिकाउँदै थिए । काठको बाक्लो लामो फल्याकमा बडो मिहिनेतका साथ लेखिएका बाह्रखरीका अक्षर र स–साना नानीहरूका साथ औलबाट गएका ती शिक्षकका दिन कसरी बित्दा हुन् भनेर सोच्दा आफैंलाई अचम्म लागेको थियो ।
बालबालिकाहरूलाई अक्षरप्रति कुनै चासो थिएन । तिनलाई आकर्षण गर्ने तत्व के हो भनी सोध्दा थाहा भयो– गुरु (शिक्षक) ले दिने गरेको गुलियो चिनीको चिया ! यथार्थमा स्कूलमा दिइने गुलियो चिया नै आकर्षणको मुख्य कारण रहेछ । शायद ती बालबालिकाका जिब्रोमा रहेका ग्रन्थीहरूले गुलियो चाट्न पाउने एक मात्र अवसर गुरुको त्यही गुलियो चिया नै थियो ।
आठ-दश दिन हिँडेर मात्र पुगिने सदरमुकाम गोरखा बजारमा आफ्नो तलब थापेपछि शिक्षकले त्यही पैसाबाट ल्याउने चिनीको चमत्कार नै त्यहाँ शिक्षाको मूल कडी ठहरियो । राम्रो तलब कमाउन दुर्गममा पुगेका शिक्षकले आफ्नै तलबबाट चिनी किनेर विद्यार्थी आकर्षित गर्नु आफैंमा एउटा त्याग– तपस्याको नमूना थियो । त्यसबेला तलब थाप्न सदरमुकाम जानेपालो परेका शिक्षकले चिनी र अरू खान्की खुराकका साथमा फलामे किलाका काँटी पनि ल्याउनुपर्ने रहेछ । स्कूलको छतका लागि पठाइएका जस्ताका पाताहरू किला नपाइएकोले बाहिरै चाङ लागेर बसेका थिए । दुईमध्ये एक शिक्षक प्रत्येक महीना लगभग २० दिनको यात्रा गरेर सदरमुकाम धाउन बाध्य थिए– स्कूललाई जीवित राख्न ।
आमाका काख छोडेर आएका नानीहरूलाई आमाकै जस्तो न्यानो माया र लोलीबोलीको भाषामा शिक्षा प्रदान हुनुपर्ने हो । ती ‘कुस्काद भाषी’ बालबालिकाहरू पनि चीँ मुसी चीँ जस्तो उनीहरूले बुझने बाल–गीत, बाल–कथा एवं बाल–क्रीडामा रमाउँथे होलान् । तर स्थानीय माटो र महकमा शिक्षाको प्रारम्भ हुन नसक्ने अवस्थामा देवदूत वा फरिस्ता जस्ता ती शिक्षकको त्याग र मिहिनेत पनि बूढीगण्डकीको पानी जस्तै खेर बगिरहेको सम्झनाले अझै पिरोल्दैछ ।
शिक्षक मासिक, २०६५ मंसीर अंकमा प्रकाशित ।




