राम्रा शिक्षकको संसार
आजबाट तेहरानका स्कूल तीनमहिने जाडो विदाका लागि बन्द हुँदैछन् । अभिभावकहरू विद्यार्थी लिन स्कूल आएका छन् । पालैपालो सबैका मातापिता आउँछन् र आफ्ना बच्चा लिएर जान्छन् । तर, साँझ् ढल्किन लाग्दासम्म पनि मोहम्मदका पिता भने आइपुगेका छैनन् । आँखा नदेख्ने मोहम्मदको सुन्ने शक्ति भने तेज छ, मानौं आँखाको शक्ति पनि कानमा सञ्चित छ । उनी चराको चिरबिर मात्र होइन, हावाको पनि आवाज सुन्न सक्छन् । केही अबेर गरी उनका पिता आइपुग्छन् ।
यो १९९९ को इरानी फिल्म ‘दि कलर अफ प्याराडाइज’को दृश्य हो । आठ वर्षका दृष्टिविहीन मोहम्मदका पिता स्कूलमा आउन त आउँछन् तर उनी छोरालाई घर लैजान चाहँदैनन् । अधबैंसे यी विधुर किसान अर्को विवाह गर्न चाहन्छन् यसैले दृष्टिविहीन छोरालाई घरमा राखिराख्ने उनको चाहना छैन । तर पनि मोहम्मदको घर लैजानुको विकल्प उनीसँग हुँदैन । कहिले बस र कहिले घोडा चढेर पिता–पुत्र घर पुग्छन् ।
घर पुगेपछि का केही दिन मोहम्मदका लागि रमाइला छन् । गाउँको स्कूल होस् या पहेँलै तोरी फुलेको खेत, मोहम्मद स्वर्गमा छन् । तर, उनका पिताको मनमा भने अरू नै तर्कना खेलिरहेको छ । उनी छोरालाई सिकर्मी बनाउन चाहन्छन् । एक जना दृष्टिविहीन सिकर्मीलाई उनले चिनेका छन् । केही दिनपछि मोहम्मदलाई पिताले त्यहीँ ल्याएर छोडिदिन्छन् । तर, जीवनमा सधैँ सबै चीज आफूले सोचेको जस्तो मात्र हुँदैन, अन्त्यमा उनी मोहम्मदलाई लिन आउँछन् । तर, मोहम्मद घर पुग्न नपाई संसारबाट बिदा हुन्छन् ।
भनिन्छ, सपनाको कुनै रंग हुँदैन । जीवनमा थुपै्र– थुप्रै रंगसँग खेलेको मान्छेले पनि सपना चाहिँ श्यामश्वेत रंगमै देख्छ । तर, यहाँ उल्टो छ । मोहम्मद आँखा देख्दैनन्, यसैले उनी कुनै पनि रंग छुट्याउन सक्दैनन् तर उनी कसैले नदेखेको स्वर्गको रंगको कल्पना गर्न सक्छन् ।
इरानका प्रसिद्ध निर्देशक माजिद माजिदीले एउटा दृष्टिहीन बच्चाको मनोविज्ञानलाई फिल्मको केन्द्रमा राखेका छन् । फिल्ममा मोहम्मदले तीन जना शिक्षकलाई भेट्छन् । दुई जना स्कूलका शिक्षक र अर्का फर्निचर उद्योगमा उनलाई काठको कला सिकाउने शिक्षक । फिल्ममा एक जना गाउँका शिक्षक छन्, जो मोहम्मदको ब्रेललिपि र पढाइको रफ्तार देखेर तीनछक्क पर्छन् । यिनलाई लाग्छ, मोहम्मद शहरमा पढेकाले दृष्टिविहीन भएर पनि तेज छन् । तर, यीभन्दा पनि अगाडि का, तेहरानको स्कूलका शिक्षक मोहम्मदको मनोविज्ञान बुझन सक्छन् । पितालाई पर्खिइरहेका मोहम्मदको व्यग्रता बढेको देखेपछि उनले पितालाई फोन गरेर छोरा आत्तिएको खबर दिन्छन् । मोहम्मदलाई आवाज सुनेर संसार चिन्ने प्रेरणा उनैले दिएका हुन् । यी यस्ता शिक्षक हुन् जसले साँच्चिकै विद्यार्थीलाई जीवनको सरल र सुगम बाटो देखाउँछन् ।
फर्निचर उद्योगमा भेटिने अर्का शिक्षक (यथार्थमा एक दृष्टिविहीन सिकर्मी)सँग बस्न र काम सिक्न मोहम्मदलाई मन लाग्दैन । उनको मन बारबार गाउँतिर नै तानिइरहन्छ । तर, पछि यिनले मोहम्मदलाई आफ्नो अनुभव सुनाउँदै विस्तारै व्यावहारिक ज्ञान दिन्छन् । काठ के हो ? योसँग कसरी काम गर्ने ? कस्तो काठ केमा प्रयोग हुन्छ ? जस्ता प्रश्नबाट शुरु गरेर यिनले मोहम्मदलाई आराले काठ चिर्न समेत सिकाउन थाल्दछन् । सामान्यतयाः एउटा दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई सिकर्मीजस्तो कठिन कलात्मक काम सिकाउलान् भनेर अनुमान गर्न कठिन हुन्छ । तर, यी जीवनको पाठशालाका शिक्षकमा त्योगुण छ, जसले मोहम्मदलाई चाँडै नै तानिहाल्छ । यी तीन शिक्षक छुट्टा–छुट्टै विशेषता छन्, जसले मोहम्मदलाई उनको आँखा अभावको आभास हुन दिँदैनन् । उनी सधैँ सिक्न पे्ररित गरिरहन्छन् । जीवनलाई निराशाको शिकार हैन कर्मठ तुल्याउने शिक्षा दिन तीनै जना शिक्षकको भूमिका सफल छ । - यज्ञश



