समाचारमा शिक्षक

शिक्षक खोई ?

विद्यार्थी २५० जना, शिक्षक २ जना । अर्थात् एकजना शिक्षकका भागमा १२५ जना विद्यार्थी । क्लास पाँचवटा, शिक्षक दुई जना । अर्थात् एकजना शिक्षकले एकै पटकमा अढाइ वटा क्लास चलाउनुपर्ने । कान्तिपुर दैनिकले २०६४ माघ ९ गते ‘अढाइसय विद्यार्थीलाई दुई शिक्षक’ शीर्षकमा यस्तै व्यहोराको समाचार छापेको छ । कुरा हो रौतहटको बलुवा प्राथमिक विद्यालयको । समाचार अनुसार, यो समस्या एक महिना, दुई महिना देखि को होइन सात वर्ष देखि को रहेछ । २०५७ सालमा दुई जना शिक्षक सरुवा भएर त्यहाँबाट हिँडेपछि समस्या शुरु भएको रहेछ । एक जना शिक्षक तलब लिन वा तालिम/गोष्ठीमा जाँदा वा बिरामी भएर वा अरू कारणले विदा बस्दा विचरा एकजना शिक्षकले के गरी पढाउँदा हुन् ! विद्यार्थीले के सिक्दा हुन् ? त्यस्ता स्कूलमा छोराछोरी पढाउन बाबुआमालाई के जाँगर चल्दो हो ?

पहाड–मधेश बराबर

मधेशको माथिको समाचार छापिएको तीन दिनअघि पहाडबाट पनि यस्तै समाचार आएको थियो । नेपाल समाचारपत्र ले लेखेको थियो– ‘अढाइ सय विद्यार्थीका लागि एक शिक्षक’ । काभ्रेको लाम्बोटेको लक्ष्मी नारायण माध्यमिक विद्यालयको माध्यमिक तहमा २३९ जना विद्यार्र्थीका लागि एक जना मात्र शिक्षक रहेछन् । धेरै कक्षाका २३९ जना विद्यार्थीलाई एक जनाले पढाएको दृश्य कस्तो हुन्छ होला ? सानोतिनो आमसभा जस्तो पो हुन्थ्यो कि !

शिक्षक धेर भए शिक्षक नपुगेको मात्र समाचार कति लेखौं भनेर हो कि एकजना रिपोर्टरले शिक्षक बढी भएको समाचार पनि लेखेका छन् । कान्तिपुर मा माघ ८ गते छापिएको समाचार अनुसार, बाग्लुङको शिव प्राविमा २४ जना शिक्षक रहेछन् । एकजना शिक्षकका भागमा ४ जना विद्यार्थी !

शिक्षा ऐन अनुसार यति विद्यार्थी पढाउन आधा शिक्षक भए पुग्ने रहेछ । थोरै विद्यार्थी भएपछि पढाइ त रराम्रो हुँदो हो ? के को हुनु ? पढाइ नरराम्रो भएर त विद्यार्थी धमाधम घटेका रहेछन् ! अलि पछि स्कूलमा शिक्षक मात्रै छन्, विद्यार्थी छैनन् भन्ने समाचार पो पढ्नुपर्ने हो कि !

स्कूल लामाबगरमा, शिक्षक कता ?

६ वर्ष भएछ एउटा स्कूलले शिक्षकको अनुहार नदेखेको ! नपत्याए २०६४ पुस ३० गते कान्तिपुर पढ्नुस् । दोलखाको लामाबगरको चम्ची गाउँको नुम्लाङ प्राथमिक विद्यालयका नाममा शिक्षकले तलब खाँदा रहेछन् (अझ् दुर्गम भत्ता समेत), स्कूलमा छात्रवृत्ति पनि जाँदो रहेछ, मसलन्द खर्च पनि जाँदो रहेछ । सबै कुरा गए पनि दुईवटा कुरा चाहिँ नजाने रहेछन्– शिक्षक र किताब । ३२ कोस टाढाको जिल्ला शिक्षा कार्यालयमा स्कूलबाट यस्तो रिपोर्ट आउँदो रहेछ– विद्यार्थी भर्ना भइरहेछन्, भयङ्कर पढाइ भइरहेछ, विद्यार्थी धमाधम पास भइरहेछन् । स्कूल नपुगी, स्कूल नखोली, पढाउँदै नपढाइ, जाँचै नलिई विद्यार्थीलाई पास गराउन सक्ने बेजोड प्रतिभाका धनी शिक्षकको नाम जान्न मन लागेको थियो । तर यति रराम्रो काम गर्ने शिक्षकको नाम कालो अक्षरमा किन छाप्ने भनेर होला संवाददाताले उनको नाम चाहिँ लुकाइदिएछन् । कसैलाई थाहा भए  नाम, वतन बताइदिनुहोला ।

छोरी पढाउन बढी लगानी

संखुवासभाका शिवप्रसाद चापागाईं छोरा पढाउन भन्दा छोरी पढाउन १६गुणा बढी खर्च गर्दा रहेछन् । छोरा पढ्ने सरकारी स्कूलमा मासिक शुल्क रु.५० तिरे पुग्ने रहेछ । तर छोरी पढ्ने निजी स्कूलमा महिनाको रु.८००
तिर्नुपर्दोरहेछ । कान्तिपुरमा पुस २२ गते छापिएको समाचार अनुसार उनको सिको अरूले पनि गर्न थालेछन् ।

उल्टो बानी !

कसै कसैको बानी नै उल्टो हुन्छ । अरूले गरे भन्दा ठीक उल्टो काम गर्ने । धेरैले नरराम्रो, नरराम्रो काम गरेका बेलामा रराम्रो काम गर्ने । २०६४ माघ २४ गते को कान्तिपुर अनुसार कास्की, हंसपुरको रामपुर उच्च माविलाई विद्यार्थीलाई थप सूचना र ज्ञान दिन कम्प्युटरको मद्दत लिन मन लागेछ । अमेरिकामा बस्ने नेपाली प्राध्यापक मुरारी सुवेदीले विभिन्न दाताबाट कम्प्युटरको व्यवस्था गरिदिएछन् । अहिले त्यस स्कूलका विद्यार्थीले कम्प्युटर चलाउन पाएका छन् । धेरै स्कूल ‘स्रोत– साधन छैन’, ‘सरकारले केही गर्दैन’ भनेर बसेका बेलामा उनीहरूलाई चाहिँ केही न केही गर्ने प्रेरणा कहाँबाट आयो होेला ?

किताब विस्तारै आउँछ, जाँच चाहिँ दिइहाल

कम्प्युटर छ भनेर स्कूलमा ऐच्छिक विषय रोज्दा कम्प्युटर विज्ञान चाहिँ नरोज्नुहोला । किताब जाँच पछि मात्र आइपुग्यो भने के गर्ने ? राजधानी दैनिकमा माघ १ गते छापिएको समाचार अनुसार, दाङका तीनवटा सामुदायिक र तीनवटा निजी स्कूलले ऐच्छिक विषयका रूपमा कम्प्युटर विज्ञान रोजेका छन् । तर त्यहाँका विद्यार्थीले टेस्ट दिनु सात दिनअघिसम्म पनि किताब देख्न पाएका रहेनछन् । शिक्षा मन्त्रालयले जनी गरेर जाँचका दिन प्रश्नपत्र बाँड्नुअघि विद्यार्थीलाई किताबको आवरण देखाइदिएको भए हुनेथियो । तर यस्तो सल्लाह दिन ढिलो भइसक्यो होला !

शहरमा भन्दा गाउँमै रराम्रो !

धेरैले भन्छन्– गाउँमा भन्दा शहरमा सुविधा पाइन्छ । तर पूर्वी तराईका गाउँको हालैको अनुभवले भन्छ– गाउँका मानिसलाई शहरका मानिसलाई भन्दा बढी फाइदा पुग्छ । कान्तिपुर को माघ २३ को समाचार पढेपछि यो कुरा मान्नै पर्छ । समाचारले भनेको छ– यो शैक्षिक सत्रमा विराटनगर बजार र त्यस वरपरका स्कूल ‘बन्द’ ले गर्दा ४० दिन बन्द भए !!!! ! गाउँमा चाहिँ दुई दिन मात्र !!!!

गानको धून चाहियो !

स्कूलमा के के कुरा पुगेका छैनन् ? शिक्षक, किताब आदि आदि । यस सूचीको अन्त्यमा थपिएको छ  धुन ! पढाउने धून होइन राष्ट्रिय गानको धून । अन्नपूर्ण पोष्ट ले पुस ३० गते छापेको समाचार अनुसार विराटनगर को आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरू मोबाइलको रिङटोन बनाएको राष्ट्रिय धून सुनेर प्रार्थना सभामा राष्ट्रिय गानगाउने रहेछन् ।

नयाँ नेपाल, नयाँ परिभाषा

विमलकृष्ण श्रेष्ठले केटाकेटीका लागि लेखेको एउटा पुस्तकमा को, कहाँ बस्छ भन्ने कुरा रोचक तरिकाले लेखेका छन् –गाईगोठमा, परेवागुँडमा आदि

आदि । त्यहाँ उनले प्रहरी/सशस्त्र कहाँ बस्छ भनेर लेखेका छैनन् । लेख्नु परेको भए यस्तो लेख्ने थिए होला– प्रहरी बस्ने ठाउँ चौकी, सशस्त्र प्रहरी बस्ने ठाउँ–गण । उनले यो कुरा नलेखेर ठीकै गरे छन् । किनभने यो पुरानो नेपालको परिभाषा हो । नयाँ नेपालमा सशस्त्र प्रहरी विद्यालयमा बस्छन् (नयाँ नेपालमा प्रहरीले पनि त ज्ञान गुनका कुरा सिक्नुपर्ने होला !) । नयाँ पत्रिका मा माघ १ गते छापिएको समाचार अनुसार, सप्तरीको ललिजा ठाकुर राष्ट्रिय प्राविमा सशस्त्र प्रहरी बस्दा रहेछन् । त्यहाँका एक हजार विद्यार्थीचाहिँ चौरमा बसेर पढ्दा रहेछन् । भएन त नयाँ परिभाषा ? विद्यालय भनेको सशस्त्र प्रहरी बस्ने ठाउँ । चौर भनेको विद्यार्थी पढ्ने ठाउँ ।

घरमै छन् शत्रु

शिक्षकको अघिल्लो अङ्कमा शिक्षकलाई कहाँ कहाँबाट खतरा छ भनेर लेखिएको थियो । अहिले पो थाहा भयो त्यो अपूरो भएछ भनेर । शिक्षकलाई ठूलो खतरा घरबाट रहेछ । २०६४ माघ ७ गते राजधानी मा प्रकाशित समाचार अनुुुसार, कैलालीकोगुहेश्वरी माविका शिक्षक मीनालाई उनका लोग्ने, सासू, ससुरा, देवर र आमाजूले कुटेर आवास गृह मा शरण लिनु परेछ । उनी माथि बोक्सी भएको आरोप लगाएको रहेछ ।

बिजुली–विद्यार्थी

बिजुली नभएपछि के गरी पढ्ने ? अरू विद्यार्थीले त नपढे पनि हुन्छ, तर एसएलसी दिने विद्यार्थीले त पढ्नै परयो । त्यस माथि परीक्षा चाँडै आउँदैछ । अन्नपू र्णपोष्ट ले माघ २ गते यसै चिन्तालाई लिएर समाचार बनाएको छ । समाचार अनुसार काठमाडौँको एउटा निजी स्कूलले त जेनेरेटर किनेर लगेछ । विचरा सरकारी स्कूलले के गर्ने ? संवाददातालाई चिन्ता लागेछ । उनले लेखे– ‘कतिपय यस्ता स्कूल पनि छन् जहाँ आधारभूत सामग्रीको अभाव छ । त्यस्ता स्कूलमा पढ्ने विद्यार्थीले के गर्ने ? संवाददाताको कुरा विद्युत् प्राधिकरणले सुनेछ क्यार ! त्यसपछि लोडसेडिङ दिनको ६ घन्टाबाट बढाएर ८ घन्टा पु¥यायो ! !

 

 

 

 

commercial commercial commercial commercial